17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राष्ट्रियताका कसीमा कुलबहादुर के.सी.का मुक्तकहरू

कृति/समीक्षा नारायण मरासिनी August 24, 2023, 11:50 pm
नारायण मरासिनी
नारायण मरासिनी

कुलबहादुर के.सी. (वि.सं. २००३–२०६९) कविताका क्षेत्रमा लामो समयसम्म साधना गरेका कवि हुन् । पोखरेली परिवेशमा यिनी शास्त्रीय छन्दमा सुन्दर कविता सिर्जना गर्ने कविका रूपमा परिचित छन् । लगभग चार दसकको साहित्यिक यात्रामा यिनका ‘मुटुका झिल्का’ (कवितासङ्ग्रह) २०३९, ‘गरिब उस्तै छ’ (लघुकाव्य) २०४०, ‘गाउँले’ (कवितासङ्ग्रह) २०५२, ‘आशौच बार्दै छन् कविताहरू’ (कवितासङ्ग्रह) २०६१, ‘विजय उन्मुख अक्षरहरू’ (कवितासङ्ग्रह) २०६४, ‘समय तरङ्ग’ (मुक्तकसङ्ग्रह) २०६७, ‘आलोक’ (खण्डकाव्य) २०६७, ‘समयका सौगातहरू’ (कवितासङ्ग्रह) २०६७, ‘समय तरङ्ग’ (मुक्तकसङ्ग्रह, दोस्रो भाग) २०६८ लगायत अन्य फुटकर कविता, लेख, समालोचना पनि प्रकाशित छन् ।
पोखराबाट प्रसारण हुने ‘रेडियो तरङ्ग’मा २०६७-०६८ सालतिर प्रत्येक बिहान पाँच बजेर दस मिनेट जाँदा ‘समय तरङ्ग’का नाममा मुक्तककारकै वाचनमा प्रसारित मुक्तकहरू समेटिएका मुक्तककार कुलबहादुर के.सी.का दुई मुक्तकसङ्ग्रह प्रकाशित छन् । ‘समय तरङ्ग’– २०६७ मा सङ्कलित ९५, ‘समयका सौगातहरू’ (कवितासङ्ग्रह) २०६७ भित्र सङ्कलित ४६ र ‘समय तरङ्ग’ (मुक्तकसङ्ग्रह, दोस्रो भाग) २०६८ मा सङ्गृहीत १३२ गरी के.सी. का जम्मा २७३ वटा मुक्तक प्रकाशित भेटिन्छन् ।
‘मुच्’ धातुमा ‘त’ प्रत्यय गाँसिएर ‘मुक्त’ शब्द बन्छ । ‘मुच्’को अर्थ बन्धनबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ र ‘मुक्त’ शब्दको अर्थ पनि बन्धनमा नपारिएको वा स्वतन्त्र भन्ने हुन्छ । यही ‘मुक्त’ शब्दमा ‘क’ प्रत्यय जोडिएर ‘मुक्तक’ शब्दको निर्माण भएको हो । अग्निपुराणमा मुक्तकलाई ‘मुक्तकं श्लोक एवैकश्चमत्कारक्षमः सताम्’ भनेर एउटै श्लोकमा पनि चमत्कार उत्पन्न गराउने क्षमता भएको रचना मानिएको छ (वर्मा, १९८५ ई., ५०२ ) । वामन शिवराम आप्टेको संस्कृत हिन्दी कोशमा ‘एक पृथककृत श्लोक जिसका अर्थ स्वयम् अपनेमे पूर्ण हो’ (आप्टे, २००७ ई., ८०३ ) भन्ने उल्लेख छ । हिन्दी साहित्य कोशमा आधुनिक युगका उर्दू, फारसीका केही काव्य रूपहरू जस्तैः गजल, रुबाई वा चतुष्पदी तथा अङ्ग्रेजी साहित्यको प्रभावबाट पाश्चात्य गीती काव्यका विविध रूपहरू जस्तैः सम्बोध गीत, शोक गीत आदिलाई पनि मुक्तक काव्यअन्तर्गत राखिएको छ (वर्मा, १९८५ ई., ५०२ ) । नेपाली बृहत् शब्दकोशले मुक्तकलाई कथासूत्रमा आबद्ध नभएको, हृदयका भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी तथा निरपेक्ष स्वतन्त्र कविता मानेको छ (पोखरेल र अन्य, २०४०; १०८१) । मुक्तक शब्दको व्युत्पत्ति तथा उपर्युक्त भनाइहरूलाई आधार बनाउँदा संस्कृत भाषामा लेखिएका कतिपय सूक्तिमय श्लोक, नीति श्लोक तथा एक श्लोकमा रचना गरिएका स्तुतिहरूलाई पनि मुक्तकअन्तर्गत राख्न सकिन्छ जसमा पूर्व प्रसङ्गहरू हुँदैनन् । यसरी नै नेपाली भाषामा पाइने कविताका लघुतम रूपहरूको अध्ययन गर्दा मौखिक परम्पराका केही उखान, चुड्का, गाउँखाने कथा, झ्याँगा आदिमा पनि मुक्तकीय प्रारूप भेट्न सकिन्छ ।
मुक्तक कविताको लघुतम रूप हो । कविताको लघुतम रूपअन्तर्गत दुई पङ्क्तिका उखान, लोकपद्य, हाइकू, शायरी, मुक्तक, छोटा स्तुति पद्य, रुवाईलगायतका सङ्क्षिप्त काव्यात्मक अभिव्यक्तिहरू पर्दछन् । मुक्तकमा कुनै एक क्षण विशेषको अभिव्यक्ति हुन्छ । आकारगत दृष्टिले मुक्तक सानो हुन्छ । आठ पङ्क्ति अर्थात् दुई श्लोकको कवितालाई युग्मक तथा सन्दानितक मानिने हुँदा मुक्तक जुन एक श्लोकको हुन्छ त्यसलाई युग्मकको आकारमा पुर्याउनु राम्रो हुँदैन । मुक्त छन्द अर्थात् गद्य छन्दमा चार पङ्क्तिको एक श्लोक नभएर अनुभूति अथवा भावको अडानका लागि अनुच्छेदको आवश्यकता पर्दछ । गद्य छन्दमा एउटा भावका लागि मुक्तक सात पङ्क्तिसम्म फैलनु स्वाभाविक पनि छ । आकार सानो भए पनि यो आफैमा पूर्ण हुन्छ । सङ्क्षिप्ततामा विस्तृतता मुक्तकको विशेषता हो । यसको अभिव्यक्ति सटीक हुन्छ । शालीन अभिव्यक्ति पाइने हुँदा मुक्तक श्रुतिमधुर र सम्प्रेषणीय पनि हुन्छ । मन तथा मस्तिष्कलाई अति छिटो प्रभाव पार्ने तीक्ष्ण व्यङ्ग्ययुक्त कविताको लघुतम रूप मुक्तक हो जसमा जीवन अनुभूतिको एक झिल्को रहेको हुन्छ । जीवन र जगत्लाई यथार्थपरक एवम् कलात्मक ढङ्गले प्रतिबिम्बन गरिएका मुक्तकहरू बढी प्रभावशाली हुन्छन् । परम्परागत छन्दोबद्ध शिष्ट लेख्य नेपाली कविता ढाँचामा मुक्तकको अधिकतम संरचना चतुष्पदी अर्थात् चार पङ्क्ति देखिन्छ भने संस्कृत काव्यशास्त्रीय मान्यतालाई परित्याग गरी लेखिने आधुनिक मुक्तकहरू भने दुईदेखि सात वा आठ पङ्क्तिसम्म पनि तन्किएको पाइन्छ । कतिपय फुटकर कविताहरू सात÷आठ पङ्क्तिका हुने र केही मुक्तकहरू पनि त्यति नै पङ्क्तिमा लम्बिने हुँदा यी दुईमा कतै समानता पो छ कि भन्ने आशङ्का पैदा हुन्छ तर कविताको लघु रूप र लघुतम रूपमा फरक छ । कविताको लघुतम रूप मुक्तकका आफ्नै निजी पहिचान तथा विशेषताहरू छन् । मुक्तकमा भावको आवेग प्रबल हुन्छ भने लघु कवितामा अनुभूतिको तरलता हुन्छ । मुक्तकमा जीवनको कुनै विशेष क्षणको अभिव्यक्ति रहन्छ भने फुटकर कवितामा जीवनको कुनै विशेष घडीको अभिव्यक्ति रहेको हुन्छ । मुक्तकमा सूक्ष्मता, अमूर्तता तथा आत्माभिव्यक्तिको तरलता रहने हुँदा यसको सहज एवम् स्वतन्त्र सत्ता रहेको हुन्छ भने फुटकर कवितामा स्थूलता, अर्धमूर्तता र वस्तुताको सामान्य प्रकटीकरण भई तुलनात्मक रूपमा केही सघनता अनुभव गर्न सकिन्छ । यी दुईलाई फरक विधाका रूपमा स्पष्ट पार्ने सन्दर्भममा समालोचक नरेन्द्र चापागाईंले मुक्तक तथा फुटकर कविता दुवैमा अनुभूतिको विशुद्धपन र भावचेतनाको तरलता रहे पनि पहिलो वस्तुताको आभास मात्र रहने हुँदा दुधजस्तो पातलो र दोस्रो प्रकटीकरण सामान्यतः वस्तुताको हुने हुनाले दही जस्तो बाक्लो अनुभव गर्न सकिन्छ भनेका छन् (चापागाईं, २०५७ः १५०) ।
आधुनिक गद्य संरचनामा मुक्तक श्लोकमा नभएर अनुच्छेदीय पक्तिपुञ्जमा अभिव्यक्त छन् । एउटा अनुच्छेदीय पङ्क्तिपुञ्ज दुई ÷ चार पङ्क्तिको मात्रै नभएर छ ÷ सात पङ्क्तिसम्मको पनि हुन सक्छ । एक श्लोक अर्थात् एक पङ्क्तिपुञ्जको हुने हुँदा अहिले आएर मुक्तकलाई विभिन्न नामले पुकारिएको पाइन्छ । मुक्तकहरू विभिन्न संरचनामा लेखिएका छन् । फारसीका रुबाई, उर्दूका शायरी एवम् जापानी भाषाका हाइकूको प्रभाव अहिले प्रचलित नेपाली मुक्तकहरूमा देखिन्छ । कतिपय नेपाली स्रष्टाहरूले हाइकुलाई हाइकुकै नाममा लेखन र प्रकाशन गरेको देखिन्छ तर रुबाई र शायरीलाई भने प्रायः सबै स्रष्टाले मुक्तकका नाममा लेखन एवम् प्रकाशन गरेको देखिन्छ । आधुनिक नेपाली कवितामा फारसी, उर्दू परम्पराका रुबाईको प्रयोग उमरखैयामका लोकप्रिय आकर्षणबाट भित्रिएको हो (मरासिनी, २०६८ः १०९) । फारसीमा प्रचलित छन्द रुबाईको शाब्दिक अर्थ चतुष्पदी हो । चार पङ्क्ति हुने एउटा रुबाईमा एउटा भाव अभिव्यक्त हुन्छ । रुबाईका चारमध्ये तेस्रो बाहेक अन्य पंक्तिको अन्त्यानुप्रास मिल्नुपर्छ । यसको सुरुका दुई पङ्क्तिमा कुनै भावना, भाव वा विचार प्रकट गर्नका लागि सांसारिक वातावरणको सिर्जना गरिएको हुन्छ । तेस्रो पङ्क्तिले चौथो पङ्क्तिमा उद्घाटन हुने चमत्कारपूर्ण परिणामका लागि पूर्ण तयारी गर्छ र अन्तिम पङ्क्तिले चाहिँ समग्र चतुष्पदीको भावलाई घनीभूत पार्छ । प्रत्येक पङ्क्तिमा सामान्यतः बराबर सङ्ख्यामा अक्षर रहेका हुन्छन् । तर कुनै पङ्क्तिमा दुईचार अक्षरको घटीबढी हुँदैमा दोष लगाउन मिल्दैन । मुक्तकको सारभूत तत्व भनेकै चौथो पङ्क्तिमा हुने भएकाले चौथो पङ्क्ति विशेष प्रभावकारी हुनु आवश्यक छ ।
माथिको अनुच्छेदमा रुबाई शैलीका लक्षणहरू उल्लेख गरियो । तर मुक्तककार कुल बहादुर के.सी. ले लेखेका मुक्तकहरू रुबाई शैलीभन्दा भिन्न छन् । यिनका अधिकांश मुक्तक दुई प्रकारका लोकलयमा संरचित छन् । लोक लयमा पनि अझ नेपालीमा बढी प्रचलित सवाई लयमा संरचित मुक्तकहरू धेरै छन् । यिनका प्रकाशित २७३ वटा मुक्तकहरूको अध्ययन गरी यी मुक्तक मार्फत मुक्तककारले राष्ट्रवादी भावनालाई कुन रूपमा प्रस्तुत गरेका छन्, त्यसलाई नै केलाउने प्रयत्न यहाँ गरिएको छ । प्रथमतः जनता, सरकार वा सार्वभौम सत्तासम्पन्न मुलुक राष्ट्र हो भने राष्ट्रप्रतिको आस्था वा बफादारिता नै राष्ट्रियता हो । राष्ट्रियता भन्नु राष्ट्रप्रेम हो, राष्ट्र हितको भावना हो । कुनै पनि राष्ट्रअन्तर्गत भूगोल हुन्छ, त्यहाँको जीवन पद्धति अर्थात् आफ्नै किसिमको मौलिक संस्कृति हुन्छ । मानिस र निश्चित माटाका बिच भावनात्मक सम्बन्ध हुन्छ जुन सम्बन्धमा विचारको उन्नत रूप फक्रिएको हुन्छ ।
मुक्तककार के.सी.ले आफ्ना मुक्तकहरूमार्फत मुख्य रूपमा राष्ट्रियताको सवाललाई उठाएका छन् भने जनजीविका, स्वतन्त्रता, मानवता, समयको उपयोगिता, प्राकृतिक सौन्दर्य लगायतका विविध विषयलाई पनि स्थान दिएका छन् । जीवन भनेकै सङ्घर्षको अर्को नाम हो । बिना सङ्घर्ष जीवनले गति लिन सक्दैन । जति बढी सङ्घर्ष गर्न सक्यो जीवन उति नै बढी फल्नेफुल्ने गर्छ । आशावादी सोचले जीवनलाई अगाडि बढाउँछ । मान्छे आशावादी हुनुपर्छ, जीवनवादी बन्नुपर्छ । निराशाले व्यक्तिलाई मात्र होइन, परिवार र समाजलाई समेत हानि पुर्याउँछ । यसले कसैको भलो गर्दैन । प्रगतिशीलताका सन्दर्भमा स्रष्टा जीवनवादी हुनु आवश्यक छ । जीवन सङ्घर्षदेखि पलायन हुनेहरूले सामाजिक जिम्मेवारी बहन गर्न सक्दैनन् । जसरी रात हटेपछि घाम झुल्कन्छ त्यसरी नै त्याग र सङ्घर्षको परिणाम जीवन उज्यालिन्छ भने सोचका केही मुक्तकहरू मुक्तककार के.सी.ले सिर्जना गरेका छन् । ‘समय तरङ्ग’– दोस्रो भागको पहिलो, तेस्रोलगायत केही मुक्तकमा यिनी जीवनवादी देखिएका छन् ।
मुक्तककार कुलबहादुर के.सी.ले आजको काम आजै गरेर समयको सदुपयोग गर्नुपर्छ भन्दै हामीमा नयाँ जोश तथा जाँगर भर्न चाहन्छन् । नेपालको पुख्र्यौली गरिमामा खिया लाग्दै गएकामा मुक्तककार चिन्तित छन् । पहिले नेपालीहरूको नाम मात्रै सुन्दा पनि सिङ्गो संसार नै डराउँथ्यो भने अहिलेका नेपालीको व्यवहार देखेर अन्य सम्पन्न राष्ट्रका सभ्य नागरिकहरूले हामीलाई घृणा तथा तिरस्कारको भावले हेर्न थालेका छन् । दार्जिलिङ, टिष्टा र नालापानीका यथार्थपरक इतिहासहरू अहिले छोरानातिलाई सुनाउने दन्त्यकथामा परिणत भएकामा मुक्तककार के.सी. लाई दुःख लागेको छ । पुर्खाको गरिमा बचाउन नसकेको यथार्थलाई यिनले आफ्ना केही मुक्तकमा सङ्केत गरेका छन् । ‘समय तरङ्ग’– दोस्रो भागको चौथो मुक्तकलाई यसको साक्ष्यका रूपमा पेस गर्न सकिन्छ ।
नेपालमा बहुदलीय शासनको स्थापना भएपछि अर्थात् २०४६ सालपछिका वर्षहरूमा दलका नेताहरूमा देखिएको विचलन एवम् स्वार्थी प्रवृत्तिप्रति मुक्तककार के.सी. आक्रोशित बनेका छन् । कथित नेता भनाउँदाहरूको यिनले आफ्ना मुक्तकमार्फत उछित्तो काढेका छन् । खराब नियतका स्वार्थी नेताहरूलाई चेतावनी दिन यिनी पछि परेका छैनन् । दलका नेताहरूले नै हाम्रो देशको राजनीतिलाई गलत दिशामा लगेका हुन् भन्ने यिनको ठम्याइ छ । पदलोलुप भई जनाकाङ्क्षा डस्ने, जालझेल र षडयन्त्र गरी शासन चलाउने, मजदुर किसानहरूका नाममा राष्ट्रिय ढुकुटीलाई स्वाहा पार्ने, आफू र आफ्नैलाई मात्र भरणपोषणको व्यवस्था गर्ने अदूरदर्शी नेताहरूप्रति यिनले बढी नै मात्रामा प्रहार गरेका छन् । नेताहरूको स्वेच्छाचारी प्रवृत्तिमाथि व्यङ्ग्य गर्दै ‘जनताको नाममा’ शीर्षकमा मुक्तककार के.सी.ले लेखेका छन्–
जनताको नाम जपी कुर्सी समाइराख
देश ध्वस्त बनाएर पैसा कमाइराख
सर्वहारा जनताको हित गर्छु भनी
आफै बन सकेसम्म एशियाको धनी ।
(समयका सौगातहरू, पृष्ठ– ५३)
नेताहरू स्वाभिमानी बन्न नसकेकामा मुक्तककार चिन्तित छन् । आफ्नोपन भुलेर विदेशीको इशारामा नेताहरू नाचेको देख्दा मुक्तककारको मन खिन्न भएको छ । आफ्ना दुवै गोडा सद्दे हुँदाहुँदै पनि वैशाखी टेक्ने नेताहरूबाट नै मुलुकले दुर्दशा व्यहोर्नुपरेको यिनले ठहर्याएका छन् । आफ्नो उर्वर माटामा नभई पराईको गमलामा फुल्न चाहने नेताहरूप्रति मुक्तककारले विश्वास गरेका छैनन् । आफ्नो धरातल र वर्ग बिर्सनेहरूबाट मुलुक र जनताले अपेक्षा राख्नुको कुनै अर्थ छैन भन्दै गुनासो गरिएका मुक्तकहरू पनि मुक्तककार के.सी.ले सिर्जना गरेका छन् ।
चुनावका समयमा मिठामिठा आश्वासन बाँडेर जनताको मत बटुल्ने अनि सत्ताको स्वाद चाख्न थालेपछि आश्वासनको कार्यान्वयन नगर्ने नेताहरूलाई मुक्तककारले राक्षसको संज्ञा दिएका छन् । सोझा निमुखा जनतालाई ढाँटेर राज गर्नेहरू नेता हुन सक्दैनन् भन्दै मुक्तककारले त्यस्ता नेताहरूलाई घृणाको भावले हेरेका छन् । हाम्रा अधिकांश नेताहरू छिमेकी राष्ट्र भारतको दास बन्न पुगेकाले नै नयाँ नेपालको निर्माण हुन नसकेको हो भन्दै मुक्तककार ‘नयाँ नेपाल’ शीर्षकमा लेख्छन्–
निकै धेरै नेता रै’छन् भारतका दास
यिनले गर्दा नेपालको भयो सर्वनास
भारतीय दलाल यी हावि हुँदासम्म
कैल्यै पनि हुन्न नयाँ नेपालको जन्म ।
(समयका सौगातहरू, पृष्ठ– ७५)
हामी दिन प्रतिदिन अल्छी हुँदै गएका छौँ । आफ्नो कर्तव्यप्रति सचेत हुन छाड्दै छौं । निकै अधम बन्दै गएका छौँ । आफ्नो घर अगाडिको बाटो सफा गर्न पनि विदेशी सहयोगको आशा गर्छौं । हामी हातगोडा सबल हुनेहरूले समेत काम नगरी बसी बसी खान खोज्छौँ । मिठो खान र राम्रो लगाउन पनि हामीलाई नै चाहिने भएको छ । आफ्नो खेतबारी बाँझै राखेर विदेशी भूमिमा हलो जोत्छौँ हामी । हामी घरमा आफूले खाएको थाल माझ्दैनौँ बुढी आमालाई माझ्न लगाउँछौँ तर विदेशमा अर्काले खाएको थाल माझ्छौँ, अर्कैकी आमाको साडी धुन्छौँ । यस्तो पाराले पनि कसरी उँभो लागिन्छ भन्दै मुक्तककार के.सी.ले हामी नेपालीहरू अल्छी र अधम बन्दै गएकामा केही मुक्तकहरूमार्फत व्यङ्ग्य गरेका छन्, यस किसिमको विडम्बनाप्रति खेद व्यक्त गरेका छन् ।
राष्ट्रमा विष्णुमतीको मूला मौलाएझैँ भ्रष्टाचार र घुसखोरीको खेती मौलाएकामा मुक्तककार के.सी. निकै चिन्तित देखिन्छन् । जता हेर्यो उतै भ्रष्टाचारको जालो छ । कर्मचारी तन्त्र, राजनीतिक संयन्त्र कहाँ छैन र भ्रष्टाचार ? घुस नदिएसम्म सानोभन्दा सानो काम पनि नबन्ने अवस्थाका कारण राष्ट्रले अधोगति लिएको हो भन्दै मुक्तककारले घुस खाने र भ्रष्टाचार गर्ने प्रवृत्तिको विरोध गरेका छन् । घुससित राष्ट्रियता साट्नेहरूले नै देशको अर्थतन्त्र तहसनहस पारेका हुन् भन्ने मुक्तककारको ठहर छ । बाढीपहिरो र आगलागीजस्ता प्राकृतिक प्रकोपमा परेका पीडितको राहत लुट्नेहरू पनि यस देशमा सम्मानित हुँदै शिर ठाडो पारेर हिँडेका छन् । मर्नेहरू मरेर गए पनि बाँचेकाहरूका लागि आएको राहतमा समेत भ्रष्टाचार हुनु निकै दुःखपूर्ण कुरा हो । मुक्तककारले यसै कुरालाई सङ्केत गर्दै हाम्रो विकृत सामाजिक यथार्थलाई ‘राहत’ शीर्षकमा यसरी प्रस्तुत गरेका छन्–
देशमा कतै बाढी र कतै पहिरो गयो
निकै नै धनजनको क्षति भयो
मर्ने त मरेर गयो
बाँच्नेहरूका निम्ति राहत आयो
आएर मात्रै के गर्ने !
बाँड्ने मान्छेले आधै खायो ।
(समयका सौगातहरू, पृष्ठ– ६८)
छिमेकीहरूका बिच एकापसमा सौहार्दपूर्ण वातावरण विकसित हुनु पर्ने हो, छिमेकमा एकले अर्काको हित चिताउनु पर्ने हो, सम्पन्न छिमेकीले विपन्न छिमेकीलाई सहयोग गर्नु पर्ने हो तर भारतले इतिहासका कालखण्डहरूदेखि अहिलेसम्म कहिल्यै पनि नेपाललाई सकारात्मक दृष्टिले हेरेको छैन । उसको विस्तारवादी नीतिका कारण नेपाल जहिले पनि अप्ठेरोमा पर्दै आएको छ । एउटा भूपरिवेष्ठित राष्ट्रले पाउनु पर्ने पारवहन सुविधामा पनि भारतले पर्खाल तेर्स्याउने गरेको छ । अङ्ग्रेजहरूको उपनिवेश बनेको भारतले अङ्ग्रेजहरूकै नीतिअनुरूप ‘फुटाऊ र राज गर’ लाई अङ्गीकार गरेको छ । आफूले चाहेअनुरूप भएन भने नाकाबन्दी गरेर छिमेकीलाई सताउनुसम्म सताएको छ । उसको दास नबनेर स्वाभिमानपूर्वक बाँच्न चाहने राष्ट्रमाथि भारतले वक्रदृष्टि लगाउने गरेको छ । भारतको सम्बन्ध नेपाल बाहेकका अन्य छिमेकी देशहरूसँग पनि राम्रो छैन । पाकिस्तानसँग सम्बन्ध राम्रो छैन । बङ्गलादेशसँग उस्तै छ । श्रीलङ्कामा त झन् आफ्नो सेना हुलेरै सिध्याउन उद्यत रहेको थियो । सिमानामा बढी विवाद छ । भारत हिमालय पर्वतदेखि हिन्द महासागरसम्म एकछत्र राज गर्न चाहन्छ । यसैकारण उसले नेपालको दक्षिणी भेगबाट मुसाले सुरुङ खनेझैं सीमा अतिक्रमण गर्न थालेको छ । रातारात नेपाल र भारतको सीमास्थित जङ्गे पिल्लरहरू हराएका छन् । ठुलो माछाले सानो माछो निलेझैँ छिमेकका साना देशहरू निल्न चाहन्छ भारत । यसै सन्दर्भमा भारतलाई चेतावनी दिँदै मुक्तककारले ‘होस गर’ शीर्षकमा लेखेका छन्–
जताततै भत्काएर सिमानाको आँठो
मिच्यौ किन भारतले नेपालको माटो ?
हेप्न हुन्न सानो भनी हेपेकै छौ तर ...
होस गर तिम्रो पनि जल्न सक्छ घर ।
(समय तरङ्ग, पृष्ठ– १)
नेपालमा भारतको सूचना-साम्राज्य एकछत्र छ । उसले सिनेमाहरू पठाउँछ । टेलिभिजनका च्यानलहरू पठाउँछ । नेपालको सार्वभौमिकतामा आँच पुग्ने काम धेरै गरेको छ भारतले । आर्थिक शोषणका निम्ति उसले यहाँ साम्राज्य खडा गरेको छ । शक्तिशाली राष्ट्रको बल मिच्याइँमा नेपाली जनता परेका छन् । विस्तारवादको नग्न हस्तक्षेप हुँदा पनि कतिपय नेपालीहरू समेत आफ्नो मातृभाषा र राष्ट्रभाषालाई बेवास्ता गर्दै हिन्दी भाषा र त्यसैको संस्कृतिमा रमाएर आफैलाई धोका दिइरहेका छन् । राष्ट्रियतामाथि आँच पुर्याइरहेका छन् ।
भारतले नेपालमा आफ्नो इशारामा चल्ने कठपुतलीहरू पालेको छ । नेपालको आन्तरिक मामिलामा भारत सदैव हस्तक्षेप गर्छ । नेपालमा सरकार ढाल्न र नयाँ सरकारको निर्माणमा भारतको हस्तक्षेपकारी भूमिका रहन थालेको छ । ब्वाँसो बनेर नेपालको आन्द्राभुँडी छ भारतले । मुटु तान्न खोजिरहेको छ भन्दै मुक्तककार के.सी.ले भारतले नेपाललाई आफ्नै एउटा प्रान्त ठानेको अनुभव गरेका छन् । मुखले राम राम भन्दै बगलीमा छुरा लिएर आउने भारतीय शासकहरूको हैकमवादी मानसिकताका कारण नेपाली स्वाभिमानमा गहिरो चोट पुगेको छ । हाम्रा कतिपय नेताहरूसमेत उनीहरूकै हातबाट चङ्गा बनेर नेपाली आकाशमा उडिरहेकामा मुक्तककार दङ्ग परेका छन् । चङ्गा उडाउनेवालाले दिल्लीको मैदानमा बसेर धागो तान्ने र चङ्गाहरू त्यतैतिर तानिने गरेको व्यङ्ग्यले हाम्रा दास मनोवृत्तिका नेताहरूमाथि प्रहार गरेको छ । हाम्रा नेतृत्व पङ्क्तिका केही नेताहरू भारतीय दलाल बनेका छन् भन्दै मुक्तककार के.सी.ले त्यस्ता नेताहरूको पनि झ्याँको झारेका छन्, उछितो काढेका छन् । मुक्तककार के.सी.का लगभग एक दर्जन जति मुक्तकहरू भारतपरस्त नेताहरूका विरुद्धमा लक्ष्यित छन् । ‘गमलामा फुल्यौ’ शीर्षकमा के.सी.ले लेखेका छन्–
आफ्ना सद्दे दुवै खुट्टा बिर्सिएछौ तर
उभ्याउँदै छौ आफूलाई वैशाखीको भर !
देश भुल्यौ, काम भुल्यौ, नाम आफ्नै भुल्यौ
माटो भुल्यौ, पराईको गमलामा फुल्यौ !
(समय तरङ्ग, पृष्ठ– ८)
मुक्तककार कुलबहादुर के.सी. हाम्रो देशभित्र मौलाउँदै गएको हत्याआतङ्कको शृङ्खलाका विरुद्धमा देखिन्छन् । जनताले शान्तिको सास फेर्न नपाएको अवस्थाप्रति के.सी. चिन्तित छन् । राजनीतिक परिवर्तनका नाममा हत्याआतङ्कलाई मलजल पुर्याउने प्रवृत्तिको यिनले विरोध गरेका छन् । यी र यस्तै किसिमका जीवनविरोधी क्रियाकलापहरूका कारण नेपाल असफल राष्ट्र बन्न लागेकामा मुक्तककारलाई निकै दुःख लागेको छ । देश असफल बन्दै जाँदा पनि नेताहरूमा लाजको भाव रतिभर देखिँदैन, न त संवेदनशील नै बनेका छन् । बाहिरी परिवेश उन्नतिको उकालो चढिरहेको छ तर हाम्रो परिवेश अवनतिको ओरालो झरिरहेको छ । यस्तो अवस्थामा सरकार कानमा तेल हालेर पाहार तापिरहेको छ, मानौं त्यो मौन व्रत बसिरहेको छ !
मुक्तककार के.सी.ले नारी चेतनासँग सम्बन्धित मुक्तकहरू पनि लेखेका छन् । यिनले नारीलाई मातृत्वको खानी भन्दै लोभीपापीहरूलाई तह लगाउनका लागि जागरुक हुन आह्वान गरेका छन् । पुरुषहरूभन्दा पछि बसेर हुँदैन, अब त देश निर्माणका लागि नारी शक्ति एकजुट हुनुपर्छ भन्ने आशयका केही नारीवादी चिन्तनयुक्त मुक्तकहरू यिनले लेखेका छन् । यसै गरी हजारौंको बलिदानबाट प्राप्त लोकतन्त्रप्रति मुक्तककारको अगाध आस्था छ । यिनी शिशु लोकतन्त्रलाई हुर्काएर बढाउन चाहन्छन् । केही मुक्तकमा यिनले देशलाई राजनीतिक प्रयोगशाला बनाइएकामा चिन्ता व्यक्त गरेका छन् । विभिन्न थरी परीक्षणका लागि बिरामीको शरीरलाई छियाछिया पारेजस्तै राजनीतिक परीक्षणका लागि राष्ट्रियतालाई तहसनहस पार्नु हुँदैन भन्ने यिनको राय छ ।
निर्धा निमुखा श्रमजीवीहरूको पसिना लुट्ने प्रवृत्तिको मुक्तककार के.सी.ले विरोध गरेका छन् । श्रमजीवीहरूले श्रमको यथोचित मूल्य नपाएकामा यिनले आफ्ना मुक्तकमार्पmत क्रान्तिका लागि आह्वान गरेको पनि पाइन्छ । श्रमजीवीहरू सामूहिक रूपमा शोषणका विरुद्धमा उठेसम्म समाजले कोल्टे फेर्न सक्दैन भन्दै मुक्तककारले शोषित वर्गका पक्षमा आवाज उठाएका छन् । सामन्तको नाइके ढले पनि त्यसका अवशेषहरू अझै बाँकी रहेको कुरालाई यिनले आफ्ना केही मुक्तकमा उल्लेख गरेका छन् । सामन्तवादको जरा उखेलेर फाल्न बाँकी छ भन्दै यिनले मेचीदेखि महाकालीसम्मका जनतालाई जगाउन चाहेका छन् । श्रमिक, मजदुर, किसानहरूलाई एकजुट भई सामन्तवादको जरा उखेल्नका लागि आह्वान गरेका छन् । छोटा राजाहरूको हैकम तथा बिगबिगी बढ्न थालेकामा मुक्तककारले तीव्र रोष प्रकट गरेका छन् ।
अधिकांश कार्यालयका हाकिमहरू खराब भएका कारण जनताले सास्ती भोग्नुपरेको छ भन्दै मुक्तककार के.सी.ले बदमास हाकिमहरूप्रति व्यङ्ग्य गरेका छन् । प्रशासन चुस्तदुरुस्त बनाउन नसक्ने खराब नियतका हाकिमहरूले पनि गलत मनोवृत्तिका नेताहरूले झैं राष्ट्रलाई कङ्गाल बनाउनमा मलजल पुर्याइरहेका छन् । भ्रष्टाचारी हाकिमहरूकै कारण भ्रष्टाचार संस्थागत बन्दै गएको हो भन्ने निक्र्यौल मुक्तककारले निकालेका छन् । कर्मचारीहरूले आफ्नो जिम्मेवारी सही ढङ्गले पूरा गरेका छैनन् । जनताप्रति उत्तरदायी छैनन् । आफूले गलत गर्छन्, दोष अरुमाथि थोपर्छन् । उच्च अहोदामा बस्नेहरूलाई नियमकानुनले पनि केही नगरेकामा मुक्तककार आक्रोशित देखिन्छन् । निर्धाहरूका लागि कानुन हतकडी बनेको छ तर ठुलाबडाका लागि कानुन हँसीमजाक गर्ने चुट्किला बनेको छ भन्दै मुक्तककारले कानुनको व्याख्या र प्रयोग पनि गलत रूपमा हुँदै आएको उल्लेख गरेका छन् । ‘सानालाई ऐन ठुलालाई चैन’ भन्ने लोकोक्तिसँग यिनका कतिपय मुक्तकहरू सम्बन्धित छन् र ती मुक्तकले मत्स्यन्याय अर्थात् न्याय दिने गलत परिपाटीको विरोध गरेका छन् ।
आवारा केटाहरू जो हिजो गाउँघरमा कुखुरा चोर्दै हिँड्थे, बजारतिर बस्न थालेपछि जाँडले टिल्ल परेर परेर नालीमा जोतिन्थे, अर्काका छोरीचेलीहरूलाई जिस्क्याउँदै हिँड्ने तिनै केटाहरू मन्त्री प्रधानमन्त्रीका सल्लाहकार भएकामा मुक्तककार दङ्दास छन् । यस्ता ठेट्नाहरूबाट लिइएका सल्लाहसुझावले देश चलाउनु मूर्खतासिवाय अरु के हुन सक्छ र भन्दै मुक्तककारले नीति निर्माताहरूप्रति व्यङ्ग्य गरेका छन् । राम्रा मान्छेलाई हटाएर आफ्ना मान्छेलाई अगाडि सारैकै कारण परिवर्तनले गति लिन नसकेको र रूपान्तरणमा सहयोग नपुगेको निक्र्यौल मुक्तककारका केही मुक्तकमा पाइन्छ ।
मुक्तककार के.सी.का मुक्तकहरू पढ्दा यिनमा केही वर्गीय सचेतता पनि भेटिन्छ । यिनी श्रमजीवी वर्गको मुक्ति चाहने मुक्तककारका रूपमा देखिन्छन् । वर्गीय मुक्तिपश्चात् जातीय मुक्ति स्वतः हुन्छ भन्दै यिनले केही मुक्तकमा जातीयताको विरोध गरेर वर्गीयताको पक्षपोषण गरेका छन् । फूलको सौन्दर्यले गरिबी टालिँदैन । गुलिया-गुलिया वचन र आश्वासनले भोकाहरूको पेट भरिँदैन । भोको मान्छेलाई दर्शन र सिद्धान्तको पाठ घोकाउनुभन्दा खाना र नानाको व्यवस्था गर्नु राम्रो हो । भोकाएकाहरूका निम्ति सबैभन्दा उत्तम भात हुन्छ भन्दै मुक्तककारले ‘भातको सीता’ शीर्षकमा लेखेका छन्ः
भोको मान्छेलाई केको आस्था ... ?
सुन्न चाहँदैन भागवत गीता
उसलाई त्योभन्दा ठुलो हुन्छ
थोरै भए नि भातको सिता ।
(समयका सौगातहरू, पृष्ठ– ६३)
मुक्तककार कुलबहादुर के.सी.को मुक्तककारिताको उल्लेख्य पक्ष राष्ट्रियता हो । यिनलाई राष्ट्रप्रतिको माया छ । नेपाललाई असफल राष्ट्र बन्न दिनु हुँदैन । राष्ट्रलाई जोगाउनुपर्छ भन्ने सोचमा यिनका प्रशस्त मुक्तकहरू आएका छन् । राष्ट्रियतालाई सर्वोपरि ठान्ने राष्ट्रवासीहरू मिलेर नै यस राष्ट्रको निर्माण गर्नुपर्छ । राष्ट्रप्रेमीहरूको एकता र सद्भावबाट नै अगाडिको बाटो पहिल्याउन सकिन्छ । के.सी.का केही मुक्तकमा सत्ता तथा सरकारमा दलहरू भाइभाइमा अंशबन्डा गरेजस्तो लुछाचुँडीमा जाँदा राष्ट्रियता कमजोर बन्छ भन्ने भाव भेटिन्छ । के.सी.लाई आफ्नो जन्मभूमि असाध्यै प्यारो छ । यिनले कतिपय मुक्तकमा आफ्नो माटाको गीत गाएका छन् । ‘यै माटामा’ शीर्षकमा यिनको अभिव्यक्ति यस्तो छ–
बाँच्दासम्म यै माटामा मायाप्रीति लाऊँ
नेपालीका धुकधुकीमा बास बस्न पाऊँ
देख्न पाऊँ सिर्जना र शान्ति सजाएको
जताततै चेतनाको दीप जलाएको ।
(समय तरङ्ग– दोस्रो भाग, पृष्ठ– २१)
हृदयमा राष्ट्रियता नहुनेहरूलाई मुक्तककार राष्ट्रको नागरिक मान्न तयार छैनन् । देशप्रति माया नहुनेहरूमा मानवता पनि हुँदैन भन्ने ठान्छन् यिनी । युवाहरूलाई यही राष्ट्रको निर्माणमा जुट्न आह्वान गर्दै विदेशतिर पलायन हुने प्रवृत्तिको यिनले विरोध गरेका छन् । मुक्तककार यही माटामा पसिना रोप्न चाहन्छन् । श्रम फुलाउन चाहन्छन् । उनी नेपाललाई सिप र सिर्जनाको सुन्दर फूलबारी बनाउन चाहन्छन् । आफू र आफ्नी आमालाई समेत जन्म दिएर हुर्काएको, पालनपोषण गरेको माटो नै देश भएको हुँदा मुक्तककारले आमाभन्दा पनि देश महान् हुन्छ भन्ने तर्क अगाडि सारेका छन् । छातीमा हिमाल, पहाड र तराईको माया सँगालेका मुक्तककार के.सी.ले नेपालका लागि मर्न तयार भएको भाव व्यक्त गरेका छन् तर नेपालको माया मार्न सक्दिन भनेका छन् । देश रोइरहेकामा यिनी चिन्तित छन् । ‘होसियार’ शीर्षकमा यिनले लेखेका छन्–
देश रोइरहेको छ सीमा वारिपारि
स्यालभाका मिलाउँछन् विखण्डनकारी
निस्कँदै छन् देशघाती दलबलहरू
होसियार तराईका देशवासीहरू !
(समय तरङ्ग, पृष्ठ– १७)
देशभक्तहरू भारतीय शासकहरूको मतियार बन्नु हुँदैन भन्दै मुक्तककारले नेपाली आस्था जोगाउनका लागि आग्रह गरेका छन् । मुक्तककारका लागि नेपालका लेकबेसीहरू प्यारा छन् । डाँडाकाँडा, भन्ज्याङ र चौतारीहरू प्यारा छन् । यहाँको हावापानी प्यारो छ, यहाँको वनजङ्गल प्यारो छ । दुःखसुख, रुखोसुखो जे भए पनि आफ्नै गाउँ प्यारो छ । पहाडी खोंच-कन्दरा एवम् हिमाली दृश्यहरू सुन्दर लाग्छन् । आफैले उब्जाएको आँटोढिँडो, रोटोपिठो जे छ त्यही मिठो लाग्छ यिनलाई । राष्ट्रियता कमजोर हुँदा पराइले वक्रदृष्टि लगाउन सक्छन् । यस अर्थमा देशको रक्षार्थ राष्ट्रियता बलियो हुनुपर्छ भन्दै मुक्तककारले व्यक्ति स्वार्थलाई नहेरी राष्ट्रिय स्वार्थलाई जोड दिएका छन् । ‘देश हेरौं’ शीर्षकमा यिनले लेखेका छन्–
आफ्नो आफ्नो अधिकार खोजेका छौं सब
देश ढल्न लागिसक्यो के गर्ने हो अब ?
प्रथमतः देश हेरौं, माया गर्न सिकौं
सिङ्गो देश अँगालेर आफ्नो कुरा झिकौं ।
(समय तरङ्ग, पृष्ठ– २९)
कुलबहादुर के.सी.का कतिपय छन्दोबद्ध कवितामा जुन मात्रामा कला र विचारको उचित संयोजन पाइन्छ त्यही मात्रामा कला र सुन्दर विचारको संयोजन कतिपय मुक्तकमा पाइँदैन । केही मुक्तकहरू व्यङ्ग्यार्थमा पुग्न सकेका छैनन् । सोझो र ठाडो भाषामा पनि केही मुक्तकहरू आएका छन् । आवेगलाई संयमित रूपमा प्रस्तुत गर्न नसक्नु मुक्तककार के.सी.को कमजोरी हो । एउटा प्रौढ र गतिशील स्रष्टाबाट यस किसिमका मुक्तकको लेखन र प्रकाशन उपयुक्त हुँदैनथ्यो तर मुक्तककारले कतिपय सन्दर्भमा कलाभन्दा बढी विचारलाई जोड दिएकाले यसो भएको मान्न चाहिँ सकिन्छ । राष्ट्र र जनताप्रतिको मायाका कारण कलात्मक पक्षलाई बिर्सेर यिनी ‘यी गुण्डाहरू’ शीर्षकको मुक्तकमार्फत गाली गलौजकै स्तरमा यस रूपमा खनिएका छन्–
कोही भन्छन्– लोकतन्त्र आयो
कोही भन्छन्– गणतन्त्र आयो
मात्र यो आयो, त्यो आयो
यहाँ त सत्य नै हरायो, शान्ति सुरक्षा नै हरायो
मात्र हराएनन् यी डाँका, डकैत र गुण्डाहरू
गाली पनि लाग्छ कि लाग्दैन कुन्नि !
यी दैवले चुँड्नाहरू !
(समयका सौगातहरू, पृष्ठ– ६६)
केही मुक्तकमा मुक्तककारले पालनपोषण गर्न सक्ने सामर्थ्य नहुनेले सन्तान जन्माउने अपराध नगर्न आग्रह गरेका छन् । जीवनवादी सोच नभएको उनको यस किसिमको आग्रहलाई उपयुक्त मान्न सकिँदैन । संरचनाका दृष्टिले पनि यिनका ‘समयका सौगातहरू’ भित्रका अधिकांश मुक्तकहरू प्रचलित संरचनाहरूभन्दा पृथक छन् । कुनै कुनै मुक्तकमा भाग्य, अर्तिउपदेश तथा आध्यात्मिकताको पनि गन्ध आउँछ । कतिपय अनुप्रासविहीन मुक्तकहरू पढ्ने क्रममा रसबरीमा ढुङ्गो टोकिएको अनुभव हुन्छ । मुक्तककारले वैचारिक दौरानका क्रममा शिल्प पक्षलाई बिर्सनाले मुक्तकहरूमा यस अवस्थाको सिर्जना भएको हो ।
मुक्तककार के.सी. राष्ट्रलाई माया गर्ने मुक्तककार हुन् । यिनको देश र जनताप्रतिको प्रेमको भावनालाई सङ्केत गर्दै समीक्षक घनश्याम ढकालले लेखेका छन्– कुलबहादुर के.सी.का रचनामा राष्ट्रियता र आफ्नो माटाप्रतिको शङ्खघोष छ, जनपक्षधरताको प्रवाह छ, भ्रष्टाचार विरुद्धको हुङ्कार छ र साम्राज्यवादको विरोध छ (ढकाल, २०६२ः १३५–१३६ ) । यिनका अधिकांश मुक्तकहरू राष्ट्रप्रेमसँग सम्बन्धित छन्, जनजीविकासँग सम्बन्धित छन् । आफ्ना मुक्तकमार्फत विस्तारवाद र साम्राज्यवादको विरोध गर्नु भनेको पनि देशप्रेमलाई नै मलजल पुर्याउनु हो । यसै सन्दर्भमा समीक्षक पशुपतिनाथ तिमल्सेनाका अनुसार राष्ट्रिय स्वाधीनता कमजोर बन्दै गएकामा के.सी. निकै संवेदनशील बन्न पुगेका छन् । आफ्नो माटाको एक चिम्टी क्षति हुँदा चिन्तित बन्ने के.सी.को राष्ट्रिय भावना कदर गर्न योग्य छ । राष्ट्रियताको संरक्षणमा यिनको विशेष जोड रहेको छ (तिमल्सेना, २०६५ः ४४–४६) । मुक्तककार के.सी. आफ्ना मुक्तकहरूमार्फत राष्ट्रियताका पक्षमा बलियोसँग उभिएका छन् । यिनका लागि आफ्नो प्राणभन्दा यो देश र यहाँका जनता प्यारा छन् । यही नै मुक्तककार के.सी. का मुक्तकहरूको मुख्य प्राप्ति हो ।
सन्दर्भ सामग्री
आप्टे, वामन शिवराम (२००७ ई.). संस्कृत–हिन्दी कोश. जयपुरः रचना प्रकाशन ।
के.सी., कुलबहादुर (२०६७). समय तरङ्ग. (मुक्तकसङ्ग्रह). पोखरा– १६ः मानबहादुर के.सी., हरिकला के.सी. ।
के.सी., कुलबहादुर (२०६७). समयका सौगातहरू. (कवितासङ्ग्रह). पोखरा– १६ः मानबहादुर के.सी., हरिकला के.सी. ।
के.सी. कुलबहादुर (२०६८). समय तरङ्ग– दोस्रो भाग. (मुक्तकसङ्ग्रह). पोखरा– १६ः मानबहादुर के.सी., हरिकला के.सी. ।
चापागाईं, नरेन्द्र (२०५७). ‘नेपाली मुक्तक संरचना, प्रवृत्ति र भावी दिशा’. समकालीन साहित्य– ३८. काठमाडौंः ने.रा.प्र.प्र. ।
ढकाल, घनश्याम (२०६२). ‘पश्चिमाञ्चलको कवितात्मक परिक्रमा’. यथार्थवादी नेपाली समालोचना. पोखराः गण्डकी साहित्य सङ्गम ।
तिमल्सेना, पशुपतिनाथ (२०६५). ‘कुलबहादुर के.सी.का कविताको मूल स्वर’. पोखरेली समालोचना. पोखराः गण्डकी साहित्य सङ्गम ।
पोखरेल, बालकृष्ण र अरु (२०४०). सम्पा. नेपाली बृहत् शब्दकोश. काठमाडौँः ने.रा.प्र.प्र. ।
मरासिनी, नारायण (२०६८). ‘मुक्तक परिचय र पोखरामा मुक्तकको विकास’. गण्डकी सङ्गम– ९. पोखराः गण्डकी साहित्य सङ्गम ।
वर्मा, धीरेन्द्र र अरु (१९८५ ई.). हिन्दी साहित्यकोश. दिल्लीः ज्ञानमण्डल लिमिटेड ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।