17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लघुकथामा सम्प्रेषणको प्रयोग

विचार डा. विदुर चालिसे August 24, 2023, 11:56 pm
डा. विदुर चालिसे
डा. विदुर चालिसे

वर्तमान नेपाली साहित्यमा लघुकथा लेखनको अवस्था निकै अगाडि बढेको छ । यो खुसीको कुरा हो । नेपाली साहित्य लेखनका क्षेत्रमा लघुकथा कान्छो विधाको रुपमा रहेको देखिएको भए तापनि यसबारे हुने गरेका विभिन्न्न कोणका चिन्तन मनन ज्यादै कम मात्रामा रहेको छ । यस सम्बन्धमा साहित्यिक लेखकमार्फत पाठक वा पाठकको अनुभूतिमा लेखकको ज्ञानको एकाकार चित्र प्रस्तुत गर्न सम्प्रेषण प्रक्रियाका सन्दर्भ प्रयोगलाई आई. रिचर्डसले सम्प्रेषण सिध्दान्त (कम्युनिकेशन थ्योरी) का रूपमा उल्लेख गरेको पाइन्छ । उनकाअनुसार साहित्यमा कुनै सङ्घटनाभित्रका क्रिया(कार्य)हरूको सामन्जस्यताबाट नै लेखकको प्रतिभा, समीक्षकको निरिक्षण र पाठकले प्राप्त गर्ने उपयोगिताका साथै समग्र ज्ञानको अवधारणामा पुगिन्छ । यस्तै लघुकथा साहित्यको मूल्यधारणमा पनि सम्प्रेषण सैध्दान्तिक प्रणालीको माध्यमबाट लघुकथाको प्रभावकारिता समेत पुष्टि हुन्छ ।

उपयोगिताको आधार र प्रभाव मनोवैज्ञानिकताको उद्बोधनका साथमा प्रकट हुने मानसक्रियाका अनुभूतिबाट सिद्धान्तका स्वःस्फूर्त कल्पनामा पुगेपछि त्यसलाई साहित्यमा जस्तै लघुकथामा पनि त्यति नै मात्रामा प्रयोग गर्न सकिन्छ । विधागत महत्ताका कडीमा साहित्यका अन्य विधामा जस्तै लघुकथाको प्रभावकारी सम्प्रेषण पनि त्यसरी नै उन्नत रहन्छन् । कार्यहरूको विशेष निरिक्षण र प्रकार्यहरुलाई मानवीय सङ्घटनामा आधारित रहेर मानव जगतको उन्नयनका लागि साहित्यको हेतु प्रकट गरिनेहुँदा लघुकथाको प्रयोजनीय हेतु पनि मानव सापेक्ष सन्देशको उन्नयनमा गएर अनिवार्य रुपमा प्रकट हुने गर्दछ । मनोविज्ञानको परिचालन विशिष्ट रुपमा मानव जगतको विशेषधिकारभित्र रहेको तथ्यलाई मनन गर्दा मानवेत्तर प्राणीमा यसप्रकारको साहित्य सम्प्रेषणको योग्यता अन्य प्राणीहरुले राखेको पाइँदैन । विषयवस्तु एवं घटना, पात्र, परिवेश एवं दृष्टिविन्दुमा प्रयोग हुने द्वन्द्वका उभार पनि मानव र मानीकरणको सार संक्षेपमा कल्याणकारी भूमिकामा नै देखिन्छ ।

सम्प्रेषण सिद्धान्तलाई सङ्घटनाका आधारमा प्रभाव पार्ने बाहिरी वस्तुहरूमा पनि लागू गर्न सकिन्छ । तथापी विधागत स्वरुप (बाह्य एवं आन्तरिक)मा प्रभाव पार्न बनेको आधार के ? भन्ने सन्दर्भमा लेखक, समीक्षक या समालोचक एवं पाठक दुवैमा यसको आँकलन र अनुमान यथातथ्यको नजिक र सत्यको प्रकाश गर्ने कर्ममा आधारित हुनुपर्दछ । के साहित्यले साँच्चै नै मनका अवस्थाहरूलाई घटित पार्न सक्तछ ? जस्ता प्रश्नहरूको उत्तर दिनका लागि आई.ए. रिचर्डसले- ‘उपयोगिताको विचारबाट साहित्यले कसरी उपयोगिताको सिर्जना गर्नसक्छन् ?’ र ‘पदहरूले कसरी पाठकको हृदयमा महत्वपूर्ण मनोवैज्ञानिक अवस्थाको सिर्जना गर्नसक्ने अभिवृत्तिहरू सम्प्रेषित गर्न सक्छन्’ भन्नेतर्फ चिन्तन गरेको पान्छन् । यसैले साहित्यका अन्य विधामा झैं लघुकथामा पनि अर्थ र सम्प्रेषणका यावत् समस्याहरूको प्रारम्भ यहींबाट हुन्छ । यसका कार्यकारण रुपमा प्रकट हुने पठन क्रियाका अनुभूतिजन्य तरङ्गहरुमार्फत प्रारम्भिक प्रणालीका प्रत्यक्ष तरङ्गबोधको आफ्नो बुझाइ व्यक्त गर्न पुग्दछन् । साङ्केतिक परिघटना, दृश्य वा अवस्थाहरुले लघुकथाको मार्मिक उद्देश्यलाई सङ्केत गरेको हुन्छ । सम्प्रेषण सिध्दान्त मानव जगतको मनोआकाङ्क्षी प्रशारणको साधन भएकोले यसमा प्रयुक्त हुने भाव वा विचारका साथै आयाम, संरचना, सैध्दान्तिक अवधारण एवं तत्व घनीभूत प्रयोगको भूमिका पनि त्यत्तिकै आवश्यक रहन्छ ।

लघुकथा कृतिले पाठकमा एक प्रकारको मनस्थितिको सिर्जना गर्नुपर्छ भने समीक्षा या समालोचनात्मक पाठ्यशक्तिले ग्यानको नयाँ उर्जा उत्पादन गरेको हुनुपर्छ । यसै सन्दर्भमा आई.ए रिचर्ड्सले साहित्यिक आलोचना र अर्थविज्ञानका बिच सम्बन्ध स्थापित नभई साहित्यमा सम्प्रेषणको गरिमा र उत्कर्ष कायम हुन नसक्ने कुरा बताएका छन् । साहित्यिक रुपमा प्रतिभाको मनबाट कथिने लघुकथा एक कथ्यता संसक्ति भएको विभिन्न स्तरको बुनौटमा तयार हुने कल्पना स्वरुपको ढाँचा हो । त्यसैले कल्पनामूलक साहित्य के हो ? भन्ना साथै लेखकको प्रस्तुती क्षमता र प्रभावकारिताको मापन सिर्जित रचनाबाट हुनपुग्छ । शैलीय प्रभाव वा विषयवस्तुमाथि रहेको प्रचलित धारणा एवं लेखकीय र पाठकीय बुझाइले भाषाको प्रभावकारिता कस्तो प्रयोग गरिएको छ भन्ने आधार तथार हुन्छ । बोधगम्यता र अबोधगम्यताको शैलीय स्वरुपमा लघुकथामा पनि मनोवैज्ञानिक चेतहरु भाषिक प्रयोगबाट सिर्जनाका कार्यकारण आधारमा अग्रसरण भएर आएका हुन्छन् भने तिनै अग्रसरण भएका सघटनाहरू प्रभाव योग्य बन्न सक्दछन् । लघुकथाको सन्दर्भमा प्रयोग हुने गुरुत्वपूर्ण भाषिक छनौट र प्रयोगले लघुकथाको सम्प्रेषणीतालाई निकै नजिकबाट आत्मसात् गरिरहेको छुन्छ । त्यसैले सम्प्रेषण सिध्दान्तले लेखक र पाठकको बिचको आत्मअनुरागको अवसरलाई अरु विधामा झैं मूल्यबोधमा लगेर छोडिदिन्छ । लघुकथा प्रशारणमा पाठकसँगको बोध एवं अबोधगम्यताको भिन्नतामा यसका विशेष कार्य र उपयोगिता के हुन् ? भन्ने विषयमा स्पष्ट निचोडमा आइपुग्नका लागि मूलत लेखक र सामान्यत पाठकमा प्रस्तुत विषयको सामान्य अनुसन्धान प्रक्रिया, कल्पनामूलक साहित्यको सन्तोषजनक प्रष्टता एवं कृतिले लेखकमा रहेको एक प्रकारको मनोवैज्ञानिक सन्तुलनलाई जनाएको हुनुपर्दछ ।

सम्प्रेषण सिध्दान्तअनुसार साहित्यिक विधाको ज्ञानार्जनका लागि ग्रहण गर्न लेखकले सन्तुलित धर्मको रचना प्रक्रिया एवं उपयोगी विषयको प्रकटीकरण र पाठकले आफ्नो क्षमताअनुसारको अभिधारणामार्फत आत्मसात गर्नु यसको प्रबल पक्ष हो । त्यसैले लेखकले ‘‘कसरी उचित तरीकाले लेख्ने ?’ तथा ‘पाठकले ‘कसरी उचित तरीकाले पढ्ने ?’ भन्नेकुरा थाहा पाएमा सम्प्रेषण सिध्दान्तले परिभाषित गर्न खोजेको गुरुत्वपूर्ण मूल्य लघुकथाको क्षेत्रमा पनि प्राप्त गर्न सकिन्छ । लेखक र पाठकको बिचमा कायम हुने ज्ञान, विवेक, शैलीयता, विषयवस्तुको गहिराइको पहिचान र कोमल भाषिक चयनको सन्तुलनले नै साहित्यका साथै लघुकथाको सम्प्रेषण गर्नमा मुख्य भूमिका रहेको हुन्छ । यसै सन्दर्भमा उचित तरीकाले पढ्ने भन्ने शर्त पनि अतिमहत्वपूर्ण रहन्छ, । उचित बोधक्षमताको उपलब्धी पठन प्रक्रियाबाट मात्रै पाइनेहुँदा कुनै पनि कृतिको वास्तविक उपयोगिता (मूल्य) प्राप्त गर्न त्यसभित्रको आत्मशक्तिलाई छिचोलेको हुनुपर्छ । त्यसै कारणले साबधानी तथा संवेदनशीलताका साथ पठन गर्ने शैली या पद्दतिले उपयुक्त शिक्षा (सन्देश) आर्जनमा बल पुग्छ । आधुनिक समालोचना गर्नमा समेत यस प्रकारका प्रयास र बानीहरुले निकै ठूलो प्रभाव पारेको हुन्छ । यस्तो प्रकारको प्रयत्नबाट लघुकथाको क्षेत्रमा गरिने समालोचकीय दृष्टिकोणहरु मूल्यवान भएर आउँछन् । यस अवस्थामा सतही झन्झटबाट मुक्त भई लघुकथाको आलोकीय बैशिष्ट्यमा समालोचकीय धर्मको गुरुत्व प्राप्त हुने गर्दछ ।

लेखकबाट पाठकमा हुने विचारको सम्प्रेषण प्रणालीका लागि प्रत्यक्ष सम्बन्धमा पाठक र समालोचकमा व्यवधान खडा गर्ने स्वाभाविक कठिनाइहरू रहन्छन् । कठिनाइहरूलाई जित्नको निम्ति लेखकले प्रायः आफ्ना लेखलाई प्रारम्भदेखि नै पाठक र आफ्नो बिचमा सामीप्य ल्याउने प्रयत्न गर्न सम्प्रेषणको आधारलाई मनोवैज्ञानिक स्वःसामीप्यतालाई आत्मसात गर्दै ममन गर्नुपर्दछ । प्रायः गफगाफबाट मैले भन्न लागेको कुरा सुन्न योग्य छ भन्ने विश्वास दिलाउनुभन्दा पाठकलाई आफ्नो विश्वास पात्र बनाएर समालोचनाको गुणवतालाई हासिल गर्न समालोचक प्रयत्नशील हुनुपर्दछ । समालोचकका लागि पाठकसँग सामीप्यता ग्रहण र वचन सम्प्रेषण –स्थापना गर्नका लागि सहयोगी हुने दुई मुख्य शक्ति हुन् । कहिलेकाँही लेखक र पाठकबीच कायम हुने सम्बन्ध कागजका पानामा कोरिएका शब्दहरू मात्रै पनि बन्न पुग्छन् । ती शब्दहरूका अर्थले लेखकको आशय सकेसम्म जस्ताको तस्तै पाठकको मनमा सार्न या अनुचित्रित गर्न नसक्दा कुनै प्रभावकारी अर्थ उत्पन्न भएको हुँदैन । विधागत समायोजनको सरलीकरणका लागि पाठकको हृदयलाई समात्न सकेमा मात्रै लेखकको विश्वास र पाठकको मन जित्न समालोचकले सकेको अनुभूति हुन्छ । नत्र समालोचनात्मक लेखले लेखकसँग समालोचकीय प्रभुत्वको प्रभावलाई ग्रहण गर्दैन । लेखक र पाठकको बिचमा हृदयत विधागत वर्णनको विषयको अनुभूति हुँदैन । लेखकसँगको मैत्रीभावको अनुभव र पाठकबोधको प्रत्यक्ष आँकलन भएको अवस्थामा सन्तोषप्रद सम्प्रेषण भएको ठान्नुपर्दछ एवं लघुकथाको समालोचकीय धर्म प्रकट भएको मान्नुपर्दछ । पाठकलाई दिक्क लाग्ने या उसलाई कृति निरर्थक लाग्ने भएमा वा भरपर्दो लागेन भने वा लेखकका शब्द र विचारहरूप्रति मैत्रीभाव जागेन भने सम्प्रेषण असफल भयो भन्ने मान्नुपर्छ । यसका लागि समालोचकले आफुले गर्ने गहन विधागत साहित्यिक सर्बेक्षण एवं विश्लेषणमार्फत समिक्षीत वा समआलोचित विषयको व्याख्यानको गहिराइमा पुग्नु जरुरी हुन्छ ।

मनोवैज्ञानिक संवेग र विषयवस्तुमा रहेको उन्नत आवेगले सम्प्रेषणमा प्रभाव पार्ने कुरा आई.ए. रिचर्डसले उल्लेख गरेका छन् । सम्प्रेषण जति प्रभावकारी भयो त्यति नै मात्रामा त्यसको प्रभाव मानिसको मनमा गहिरो छापको रुपमा रहेको हुन्छ, । सम्प्रेषणको प्रभाव र प्रस्तुतीको गहिराइले नै साहित्यिक विधाका सबै विधाहरुलाई उच्चप्रतिफलको उचाइतर्फ पुर्याउँछ । यसैले लघुकथा एक सानो आयामी धर्ममा रचना हुने एवं आफ्नै विशिष्ट अधिकार बोकेको विधा भएकोले संक्षिप्तताको सन्देशमार्फत पाठकलाई समाज सापेक्ष प्रतिफलका लागि लालायित गर्दछ । लघुकथामा प्राय लेखकले प्रतिकूलताको विरुध्द अनुकुलताको अपेक्षाको कथनी प्रयोग गरेको हुन्छ । तथापी अनुभूति र आदर्शमा सम्प्रेषण भएको अवस्थामा पाठकले यसलाई न्यूनतम रुपमा ग्रहण गर्दछ ।

लघुकथाका क्षेत्रमा कलम चलाइरहेका आजका केही लघुकथाका समालोचक, समीक्षक र सिध्दान्तकारहरु के भन्दछन् भने प्रत्येक व्यक्ति आफ्नो छुट्टै संसारमा बाँचेका हुँदैनन् । उसका कुनै पनि दुइटा संसार उस्तै पनि हुँदैनन् । कलाको उद्देश्य तिनीहरू बिच सम्प्रेषणको स्थापना गर्नु हो तापनि अन्य समालोचकहरूमा कलाका सबै उद्देश्यको सम्प्रेषण नहोस भन्ने चाहन्छन् । सम्प्रेषण कलाको बन्धनको प्रयोग र त्यसमाथि गरिने बन्देजले कलालयको प्रभावलाई अभिग्राहकहरूमा कुनै विचार वा सौन्दर्य बोध जगाउन होइन, बरु तिनमा कुनै खास संवेग, कुनै अस्पष्ट उत्तेजना या कुनै प्रकारको गतिशीलता या अझै सम्मोहक प्रतिक्रिया जगाउन चाहेको देखिन्छ । यस्ता प्रतिक्रियाहरू पनि लघुकथा साहित्यिक विधाको सम्प्रेषण प्रणालीभित्र पर्न नसकेको अवस्था छ । अझै केही आलोचकहरू आफ्नै लागि मात्र समीक्षा र समालोचनाको सिर्जना गर्छन् र व्याख्यानमा तत्पर भएका देखिन्छन् । कालजयीता र सार्वभौमिकताको गन्तव्य बोक्न नसकेका लघुकथामाथिको समीक्षा या समालोचना निष्प्रभावी र आत्मविलाप बाहेक केही देखिन्नन् । उसोभए ‘त्यस्ता समीक्षक या समालोचकहरू आफ्ना समीक्षात्मक या समालोचकीय लेखहरूमा किन अध्ययनको गहनता र अनुभवको गाम्भीर्थतालाई वास्ता गदैनन् ?’ आजकल यो प्रश्न सधै र सबैका लागि अनुत्तरित बनेको देखिन्छ । नेपाली लघुकथाको क्षेत्रमा आएको आजको बाढीको यो युगमा गम्भिर प्रश्न बनेर आएको यस्तो अवस्थाले आजको लघुकथाका लेखनका क्षेत्रमा प्रस्तुत भएका मान्यतामा एकरुपता नहुनु, एकात्मकता नहुनु, व्यक्ति बुझाइको मठाधीस शैली प्रस्तुत हुनु, सामूहिकता र सार्वजनीनतामा अविश्वास र व्यक्तिपरस्त कुण्ठाले उत्पन्न गरेका मपाइत्वको प्रभाव वर्तमान नेपाली लघुकथाको लेखन र यसको समीक्षा एवं समालोचनामा स्पष्ट रुपमा प्रभाव रहेको देखिन्छ । गहन अध्ययनको अभाव र सतही प्रभावमा मात्रै वर्तमान नेपाली लघुकथाको लेखन, समीक्षण र पठन प्रक्रियालाई बुझिराख्नुले यो एउटा साहित्यिक जोडबलको परिबन्द मात्रै हुनपुग्छ ।

साहित्यको सेवा कुनै नाफाघाटामा सोचिनु हुँदैन । यसले समाजमा आदर्शमूल्य स्थापित गर्दै समाजलाई प्रफुल्ल बनाएर डोर्याउन साहित्यको उपयोग गर्नसके मात्रै साहित्यले दिने सामाजिक प्रतिफल दसाम्श भागमध्ये न्यूनतम तीनाम्श प्रतिफलसम्मले विषयवस्तुको बोधगम्यतालाई औसत रुपमा आदर्श मान्नसक्ने कुरा आई.ए. रिचर्डसले ठानेका छन् । यसै सन्दर्भमा वर्तमान नेपाली लघुकथाको लेखन प्रक्रियालाई हेर्दा संरचनागत आयामलाई आँकलन गरेर बान्कीकरण गरिएका देखिए पनि लघुकथाको वास्तविक गहिराइ र त्यको धरालाई पहिल्याएर लघुकथाको बैशिष्ठ्यपूर्ण उचाइलाई भेट्टाउन नसकेको हो कि भन्ने कतिपयका अन्यौलहरु पनि देखिन्छन् । यस्तै अन्यौलको प्रभावमा परेर नयाँ लेखकहरुमा देखिने गुणात्मकताको थैलोभन्दा संख्यात्मक सिर्जनशीलता र अराजक गतिविधिको मैलोलाई समेत संयोजन र परिष्कृत गर्न सम्प्रेषण सिध्दान्तले आफ्नो बाटो स्पष्ट तय गरेको हुनुपर्छ । तथापी अन्य विधामा जसरी समस्याको न्यूनीकरण भएको देखिन्छ त्यसरी नै नेपाली लघुकथाको क्षेत्रमा पनि समस्याको न्यूनीकरण गर्न सोचनीय विषय बनेको नै देखिन्छ ।

त्यसैले साहित्यिक सिर्जनाका क्षेत्रमा सम्प्रेषणीयता(कम्युनिकेशन)को प्रयोग लेखकका लागि पहिलो चुनौती हो भने दोस्रो चुनौती समीक्षक या समालोचकका लागि हो । तथापी पाठक यसको भोक्ता मात्रै भएकोले रुची अरुचीका आधारमा साहित्यको उपयोग गर्दछ । त्यसैले पाठकको तहसम्मको सम्प्रेषणीय प्रभाव छोड्न सक्ने साहित्य, उच्चकोटीको साहित्यिक कृतिको रुपमा रहेको हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । यसै आधारमा हेर्दा नेपाली लघुकथाको क्षेत्रमा लेखिने लघुकथाहरु र तिनको समीक्षाको सम्बन्धमा स्वयम् सर्जकले महसुस गरेर सिर्जनालाई उन्नत बनाएर प्रस्तुत गर्नसके अबोधगम्यताको कार्यकारण प्रभाव र बोधगम्यताको सामान्यीकरण प्रस्तुतीमा एकरुपता पाउन सकिन्छ । समाजमा हुने विचार र ज्ञानको आदान–प्रदान तथा सम्प्रेषणका बृहत्तर अभिरचना बिच सामान्यत परस्पर प्रभाव पार्दछन् । यसका सत्यतथ्य अभिरुचि, संस्कृति तथा जनसेवाका विचारहरूमा आधारित संस्थागत प्रभावहरु नीतिद्वारा परिष्कृत भएर अनुशासित हुनका लागि समन्वय धर्ममा पुग्छन् । यस प्रकारका प्रश्नहरूको समाधान खोज्नका लागि भाषिक सम्प्रेषण अनुसन्धान, सन्तुलन, परिमार्जन–कार्य र पूर्वाग्रहीतामा सुधारजस्ता बृहत्तर सामाजिक प्रश्नहरूसँग संलग्न हुन पुग्छन् । सम्प्रेषणीयताको प्रखर जगमा उभिएको लघुकथाको सिर्जन, समीक्षण र पठनलाई उभ्याउन सके यसको उचाइ अग्लिने र बोधगम्यता र अबोधगम्यताको खाडल पुरिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।