आज आफै पढेको स्कुलमा जानै पर्ने काम भयो । हुन त म पनि उस्तो नै हो , घर नजिकैको स्कुलमा कहिल्यै खुट्टा नटेक्ने म नै हुँ । तर पनि कामै परिहालेपछि जान त गै हाल्न प¥यो । गेटैमा एक जना पालेदाई देखिए । ओहो बाबु, स्कुल आउनु भएको, एकै छिन अघि आएको भए त हाफ टाईमको खाजा खान हुन्थ्यो, अहिले त सकिई हाल्यो ....—यति भनेर उहाँ स्कुल बाहिरको आफ्नै पसलमा सामान बेच्न जानु भयो । मैले हातको घडि र स्कुलको घडि जुधाएर हेरेँ — दुबैमा दिउँसोको २ बजेको थियो ।
हेडसर भएको ठाउँ नै त पुग्नु पर्ने मेरो काम थियो । उपल्लो तलामा रहेको हेडसरको कोठा पुग्न नपाउँदै डिजिटल हाजिरीको लागि तुर्लुङ्ग झुण्डिएको बिद्युतिय हाजिरी मेसिनको तार चुँडिएर असरल्ल परेको थियो । तै पनि यहाँको हाजिर चल्छ कि भनेर व्यबस्थापन बिषय पढाउने सरलाई सोधेपछि थाहा लाग्यो त्यो हाजिर गर्ने मेसिन ३ बर्ष अघि नै बिग्रिई सकेको रहेछ । मेसिनमा हेरेँ अनि बिस्तारै पढेँ — सौजन्य ः .... नगरपालिका, शिक्षा शाखा .... । गज्जब, थियो, नगर शिक्षा समितिका अध्यक्ष तिनै वार्डका वार्ड अध्यक्ष थिए भने ।
भित्र असरल्ल किताबहरुले शिक्षकले निकै पढेको कुरा जनाउ दिन्थ्यो । एक जना शिक्षक शिक्षक सेवा आयोग र अर्का जना शिक्षक लोकसेवा आयोगको किताब पढेर खालि समयलाई व्यबस्थापन गर्दै हुनुहुँदोरहेछ । मलाई पत्तै भएन यो गर्न पाईन्छ या पाईदैन भनेर । आडैको कोठामा हेडसर बिराजमान हुनुहुँदो रहेछ । पहुँचले होला श्रेणी तल्लो भए पनि उहाँ हेडसर हुनु भएको रहेछ , अर्को कोठामा बसेका एकजना उपल्लो श्रेणीको हेडसरले खुसुक्क मलाई कानमा सुनाए ।
हेडसरको कोठामा म जानै पर्ने थियो । ह्वात्तै जाँदा हेडसर अर्धनिद्रामा हुनुहुँदो रहेछ । उहाँको टेबलमा शिक्षकले पढाउने तालिकामा मेरो सर्सती आँखा पुग्यो, उहाँ त हेडसर मात्र हुनुहँुदो रहेछ । उहाँलाई कुनै पिरियड नै छुट्याईएको रहेनछ । आखिर व्यबस्थापन गर्नको लागि हेडसर हुनु पनि सरकारी बिद्यालयको लागि राम्रो नै हो । हाई काड्दै उहाँले मेरो नमस्कारको प्रत्युत्तर फर्काउनुभयो । अनि मेरो गोडामा हेरेर भन्नुभयो — सुन्नुस् न तपाईको जुत्ता बाहिर फुकाल्नुस् न, यहाँ भित्र जुत्ता लगाउन पाईन्न नि । म झसंग भएँ, आडैको शिक्षकको कोठाबाट हेडसरको कोठामा जाँदा बिभेद पो पत्ता लाग्यो । हेडसरको कोठामा अलिक महंगो कार्पेट रहेछ भने शिक्षकको कोठामा साधारण कार्पेट रहेछ । आखिर हेडसर हुनुको काईदा यहि रहेछ । गज्जब लाग्यो ।
हेडसरले गुनासो गर्नु भयो बिद्यार्थी घटेको भनेर । शिक्षकले पढाउन नमानेको भनेर पनि गुनासो उत्तिकै थियो । केही बेरको काम पश्चात हेडसर सँग म बिदाबारी भएर फटाफट बाहिर निस्केँ । गेटमा पालेदाइ हतार हतार गर्दै छिर्नु भयो अनि अर्को पिरियड लागेको घन्टि बजाउनु भयो । अनि फेरी पसल तिर नै फर्कनु भयो । म फटाफट बाटोमा हिँडिरहेँ । एकै छिनमा आडैमा एक मोटरबाईक हुँईकियो , हेडसर घर तर्फ जाँदै हुनुहुँदो रहेछ । फेरी एकछिन पछि १ जोडी मोटरसाईकल पनि शिक्षकको पोषाककै बाईकमा हुत्तिए । मैले घडि हेरेँ, झण्डै ३ बज्न लागेको रहेछ । मलाई ३ फन्का चक्कर लाग्यो बिद्यालयको अवस्था देखेर ।
यस्ता बिद्यालयहरु हाम्रो वरपर वग्रेल्ती रहेको छन् भन्ने सुन्नमा आएको छ । के यो कुरा साँचो हो त ? लौ न बताईदिनुस् । तारेमाम् !