16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चिन्तु गिरीको ‘आमा जन्मेको देश’

कृति/समीक्षा नारायण मरासिनी September 1, 2023, 12:06 am
नारायण मरासिनी
नारायण मरासिनी

चिन्तु गिरी (वि.सं. २०११) स्याङ्जाको भूगोलमा बसेर साधना गर्नेहरूमध्ये अब्बल दर्जाका प्रतिभा हुन् । २०२८ सालमा ‘मातृभूमिको गोरेटो’मा पहिलो रचना प्रकाशन गरेका चिन्तुका ‘मरो धर्ती’ (कवितासङ्ग्रह– २०५०), ‘बिरामी वर्तमान’, (कवितासङ्ग्रह– २०५९), ‘गोलैंचीका फूलहरू’ (गीति कवितासङ्ग्रह– २०६१), ‘वंशको खोजी (दशनामीको खोजी– २०६३)’, ‘छन्दका पत्करहरू’ (गीत–कविताहरूको सङ्ग्रह– २०६६), ‘पछुतो’ (कथासङ्ग्रह २०६९) यसअगावै प्रकाशित कृतिहरू हुन् भने यसपटक उनको ‘आमा जन्मेको देश’ (कविता र गीतहरूको सङ्ग्रह– २०८०) प्रकाशन भएको छ । यी कृतिहरूका अतिरिक्त उनका विभिन्न पत्रपत्रिकामा लेखरचनाहरू पनि प्रकाशित पाइन्छन् । कथाकारका रुपमा समेत आपूmलाई उभ्याउन खोजे पनि उनको साधनाको मुख्य क्षेत्र भनेको कविता नै हो । कवितामा पनि वर्णमात्रिक छन्दका कविताकै साधनाका माध्यमबाट उनी नेपाली काव्यका फाँटमा परिचित छन् । तीलाकुमारी साहित्य पुरस्कार– २०५८, शङ्खनारायण साहित्य पुरस्कार– २०५८, कालीगण्डकी साहित्य कला पुरस्कार– २०६०, गण्डकी वाङ्मय पुरस्कार– २०७७, ज्याग्दीखोला साहित्य कला पुरस्कार– २०७९ बालनरसिंह– सुवर्णकुमारी स्मृति साहित्य पुरस्कार– २०७९ लगायतका मानसम्मान तथा पुरस्कारहरूद्वारा सम्मानित तथा पुरस्कृत चिन्तु ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ मा आबद्ध प्रतिभा हुन् ।
लामो समयसम्म शिक्षण पेसा अँगालेर अवकाश प्राप्त गरेका चिन्तु साहित्यिक र अन्य सङ्घसंस्थागत संलग्नता र क्रियाशीलतामा पनि अग्रपङ्क्तिमै छन् । आजभोलि हप्तामा एक–दुईवटाका दरले एक श्लोकदेखि चार–पाँच श्लोकसम्मका कविता एवम् गीतहरू फेसबुकमा पोस्ट गरेर पनि उनले आफ्नोे काव्यकर्मलाई निरन्तरता दिइरहेका छन् । यस क्षेत्रका प्रायः सङ्गोष्ठीहरूमा उनी भाग लिन पुग्छन् र आफ्नो रचना सुनाउँछन् । यसबाट पनि उनी साहित्यप्रति समर्पित प्रतिभा हो भन्ने सहजै अनुभव गर्न सकिन्छ । मैले उनका प्रकाशित प्रायः पुस्तकहरू पढेको छु । ती पुस्तकभित्र सङ्कलित रचनाहरू पढ्दा मलाई लागेको कुरा– उनी जनताकै साथमा रहेर जनताकै सुखदुःखलाई विषय बनाउने स्रष्टा हुन् । कतिपय रचनामा प्रकृतिलाई विषय बनाए पनि उनले प्रकृतिको कोरा वर्णन मात्रै गरेका छैनन्, त्यसमा अपूर्ण पक्षलाई पूर्ण बनाउने सौन्दर्यको समेत खोजी गरेका छन् । प्रकृतिमा पनि जीवनको खोजी गर्नु उनको सिर्जनामा पाइने उल्लेख्य विशेषता हो ।
अहिले मेरो हातमा ‘आमा जन्मेको देश’ (कविता र गीतहरूको सङ्ग्रह) छ । यस सङ्ग्रहमा कविता खण्ड र गीत खण्ड गरी दुई खण्ड छन् । कविता खण्डमा ४५ वटा कविता सङ्कलित छन् भने गीत खण्डमा १२ वटा गीत सङ्कलित छन् । कविताहरू वर्णमात्रिक छन्दमा सिर्जित छन् भने गीतहरू लोक लयमा छन् । वर्णमात्रिकमा पनि शार्दूलविक्रीडित, मन्दाक्रान्ता, उपजाति, अनुष्टुप्, इन्द्रबज्रालगायतका छन्दमा सिर्जित कविताहरू यस सङ्ग्रहमा छन् । विभिन्न गोष्ठी तथा सभासमारोहमा वाचन गरिएका गीत, कविताहरू नै यसमा बढी छन् ।
कवि चिन्तुले यस सङ्ग्रहका कविताहरूमार्फत नेपाल मात्र नभई समसामयिक विश्वपरिवेशलाई निकै नजिकबाट नियालेका छन् । समाजमा देखिएका अनेक किसिमका विकृति तथा विसङ्गतिहरूप्रति चोटिलो प्रहार गर्नु उनको काव्यिक विशेषता हो । उनी मूलतः प्रगतिवादी कवि हुन् । उनका कवितामा सामन्तवाद र साम्राज्यवादविरोधी जनगणतान्त्रिक चेतनाको अभिव्यक्ति पाइन्छ । आज पनि नेपाली जनताको दुर्दशा हिजोकै जस्तो छ । हजारौंको बलिदानबाट प्राप्त परिवर्तनमाथि घात भएको छ भन्ने आशयसहित चिन्तुका कवितामा आवेग र आक्रोशको अभिव्यक्ति पाइन्छ । सर्वसाधारण नेपाली जनताको बेहाल, मानिसमा मौलाएको भ्रष्टाचारी प्रवृत्ति, राजनीतिक क्षेत्रको विकृति तथा नेताहरूमा देखिएको स्वार्थीपन, २०७२ सालको भूकम्प, कोभिड– १९ को महामारी र यसले उत्पन्न गराएको भयावह परिवेश, परिश्रमी श्रमिक–किसानहरूको महिमागान आदि यस सङ्ग्रहका कवितामा विषय बनेर आएका छन् । सङ्कलित अधिकांश कवितामा राष्ट्रियताको भावना एवम् जन्मभूमिप्रतिको स्नेह प्रबल देखापर्छ अर्थात् जन्मथलोप्रतिको सद्भाव छताछुल्ल छ । मूलतः धर्तीको गीतगायनमा नै कवि रमाएका छन् । हृदयमा आमाको माया सँगालेर गाउँबेसीका सुखदुःखलाई आत्मसात् गर्दै कविले यस सङ्ग्रहमार्फत माटाको महिमागान गरेका छन् ।
यसै गरी नेपालको राजनीतिक परिवेशमा पछिल्लो समयमा नेताहरूको कुर्सीमोहका कारण देश भताभुङ्ग तथा लथालिङ्ग अवस्थामा पुगेकामा कवि गिरी चिन्तित छन् । नेपालीहरूमा उद्यमशीलता, नव सिर्जना, वीरता, साहसजस्ता पक्षहरू कमजोर हुँदै गएकामा पनि उनलाई चिन्ता छ । कवि चिन्तुले यस सङ्ग्रहका कवितामार्फत कतै नेपाली प्राकृतिक सौन्दर्यको मनोरम चित्र उतारेका छन् भने कतै समसामयिक बेथितिहरूमाथि आक्रोश व्यक्त गरेका छन् । शक्तिको आडमा कथित ठुला भनिने मान्छेहरूले सर्वसाधारण मानिसहरूप्रति गर्ने निकृष्ट व्यवहारको धज्जी उडाइएका केही कविता पनि यस सङ्ग्रहमा सङ्कलित छन् । आजको मान्छे स्वार्थी, लोभी तथा दम्भी बन्दै गएकामा कविलाई चिन्ता छ । मान्छेहरू कर्तव्यपथबाट विचलित हुँदै गएका छन् । आजको मान्छेमा सामूहिक संस्कृति हराएर वैयक्तिक पक्ष हाबी भएको परिवेशमा कवि गिरी लेख्छन्ः
छोरानाति अझै आठ पुस्तालाई पु¥याउन
सधैं ऊ पिरलो बोकी हिँडिरहन्छ व्यर्थमा !
– आजको मान्छे, पृ. ८
घोषणा–पत्रमा मिठो भाषामा आश्वासनका पदावलीहरू कुँद्ने, जनतालाई आशा देखाउँदै आफ्नो भोटका लागि गर्नै नसक्ने खालका कामहरूको फेहरिस्त तयार पार्ने र चुनाव जितेपछि जनता बिर्सने अर्थात् झूटको खेती गर्ने नेताहरूबाट सतर्क रहनका लागि आह्वान गर्दै कविले पार्टीका घोषणा–पत्रहरूलाई भोट बटुल्ने कागजी खोस्टाको संज्ञा दिएका छन् । देशभित्र रोजगारीको वातावरण सिर्जना हुन नसकेकामा कवि चिन्तित छन् । समृद्धिका लागि भाषणमा नभई व्यवहारमै उत्रनुपर्ने उनको सुझाव छ । समृद्धिका लागि कर्मशील हुनुपर्छ, कर्मठ युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्छ भन्दै उनी लेख्छन्ः
बढेका र पढेका ती छोरा नाति विदेशिए
कोही रहरले लागे, बाध्यताले कुनै गए ।
..........
माटामा पसिना पोख्न सर्म लाग्ने भयो भने
खुम्च्याई हातका औँला हत्केला रोकिए भने

पट्याएर बसेका छौं बलिया पाखुरा भने
समृद्धि कसरी हुन्छ यस्तै चाल रह्यो भने ?
– समृद्धि कसरी हुन्छ ?, पृ. २५
कवि चिन्तुमा समाजलाई नियाल्ने आलोचनात्मक चेत छ । दलका नेताहरू एकापसमा बाझाबाझ गरेको कविलाई मन परेको छैन । गाली प्रतियोगितामा भाग लिएजसरी दन्तबजान गरेको उनलाई सह्य छैन । नेताले निकृष्ट तथा तुच्छ भाषाको प्रयोग गर्दा कार्यकर्ताहरू खुसीले मत्त हुँदै ताली बजाउनु कविका लागि मात्र नभएर स्वाभिमानी नेपालीहरूका लागि पनि चिन्ताको विषय बनेको छ । दलको नेतृत्व गरेको उच्च ओहोदाको मान्छेले अरूको अस्तित्वलाई स्वीकार गर्न नसक्नु र हेपेर बोल्नु कदापि राम्रो होइन । नेतृत्वमा रहेको नेताले आफूलाई सर्वेसर्वा र सर्वज्ञाता ठानी अरुलाई मान्छे नगन्ने प्रवृत्ति राम्रो होइन । यस्तो प्रवृत्तिले नेताहरू आफै सकिन्छन् भन्दै कविले व्यङ्ग्य गरेका छन्ः
बसेको घरमा आफै झोसी आगो लगाउँछन्
हनुमानहरू उफ्री चर्का ताली बजाउँछन् !
...
छ्यापाछ्याप गरेका छन् हिलामा वस्त्र च्यातिए
लँगौटी मात्र छन् बाँकी यी त नाङ्गै हुने भए !
– गाली प्रतियोगिता, पृ. ३९
कविलाई पार्टीका नेता तथा राज्यका सञ्चालकहरू विदेशीको इशारामा चलेको पटक्कै मन परेको छैन । केही कवितामा उनले भारतीय हेपाहा तथा मिचाहा प्रवृत्तिको खुलेरै विरोध गरेका छन् । कविले दुई देशका बिच भएका असमान सन्धिसम्झौताको विरोध गरेका छन्, मुख्य गरी भारतले नेपालको साँधसीमा मिचेकाप्रति औंलो ठड्याएका छन् । उनले विस्तारवादलाई मात्रै होइन, केही कविताका माध्यमबाट साम्राज्यवादलाई पनि चुनौती दिएका छन् । यसको साक्ष्यका रुपमा ‘कस्ले लिएको छ रिमोट हातमा ?’ शीर्षकको कवितालाई लिन सकिन्छ । अर्काको भरमा बाँच्नुको सट्टा स्वाभिमानपूर्वक आफ्नै खुट्टामा उभिनुपर्छ भन्नेमा जोड दिँदै उनले लेखेका छन्ः
नाका बन्द गरे कुहिन्छ उसकै बन्दा, मुला, काउली
आफू ढुक्क भएर बाँच्छु जलुको, न्यूरो र सिस्नो निली
सम्मो फाँट, हिमाल, पर्वत, नदी के छैन हाम्रा घर ?
हत्केला जति यी खियाउन सके धर्ती सधैं उर्वर ।
– स्वाभिमान, पृ. १६
देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि श्रमिक–किसानहरूको जीवनस्तरमा उल्लेख्य सुधार हुन नसकेकाप्रति कविको गुनासो छ । ठग्नेहरूले ठगिरहेकै छन्, श्रममा जोतिनेहरू जोतिइरहेकै छन् । मान्छे मान्छेहरूका बिचमा विषमता छ । यद्यपि मानिसहरू शारीरिक श्रमबाट टाढिनु हुँदैन भन्दै कविले कमिला र माहुरीको परिश्रमबाट शिक्षा लिएर जीवनलाई श्रमशील बनाउनेतर्फ जोड दिएका छन् । श्रम गर्नेहरूले श्रमको उचित मूल्य पाउनुपर्छ । अधिकारका लागि लडाइँको मैदानमै होमिनुपर्छ भने पनि पछि हट्नुहुँदैन भन्ने आशयका क्रान्तिसम्बद्ध कविताहरू पनि यस सङ्ग्रहमा छन् । कवि विभेदका पर्खालहरू नभत्काएसम्म समतामूलक समाज बन्दैन भन्नेमा विश्वस्त छन्ः
... ...
सानो वर्ग उठी जुटी समयमै उर्लिन्छ बाढी जब
जस्ले जोत्छ अवश्य हुन्छ दुनियाँ जग्गा उसैको अब ।
... ...
गोरु भैकन बाँच्नु पर्दछ कुनै, कोही भने मालिक
आजैबाट समान देख्न अरूमा मान्छेहरूले सिक ।

आफ्नो भन्नु दिमाग–बुद्धि र गिदी हो पाखुराको भर
निर्धाको सहयोग–निम्ति उभिने छैनन् कुनै ईश्वर !
च्याती जाल चुँडाल बन्धन सबै डुक्राउँदै कुर्लंदै
भत्का बार विभेदका समयमै तोडेर धक्का दिँदै ।
– गोरू, पृ. १५
सङ्ग्रहका कतिपय कवितामा नैतिक सन्देशका कुराहरू छन्; कतिपयमा समयसापेक्ष जीवनपद्धति अँगाल्नुपर्ने कुराहरू छन् । आमाप्रतिको सम्मान र बुबाप्रतिको श्रद्धाभाव व्यक्त गरिएका कविताहरू पनि यस सङ्ग्रहमा छन् । सामाजिक कुसंस्कारका विरूद्धमा एकजुट हुनुपर्छ भन्ने आशयमा पनि उनका केही कविता यस सङ्ग्रहमा समावेश छन् । मान्छे अहङ्कारी बन्न नहुने, धनदौलतका लागि अन्धभक्त भई दगुर्न नहुने र व्यक्तिगत लोभलालचबाट माथि उठ्नुपर्ने जस्ता सन्देशहरू पनि कवितामा आएका छन्ः
सम्पति धनले अर्को अघि बढ्दै गयो भनी
धुरी चढ्न नखोज्नू है अरू घोडा चढे भनी ।

जो जोसँग यहाँ उच्च ज्ञान–विद्या विवेक छ
परिवार त्यही राम्रो सुखी–सम्पन्न बन्दछ ।

लोभले साँगुरो हुन्छ सधैँ मानिसको मन
इज्जत राख्नका लागि खर्च गर्नू बरु धन ।
– पिताजीको अर्ती– २, पृ. ३२
यस सङ्ग्रहमा सङ्कलित गीत अर्थात् गीति कविताहरू पनि सुन्दर छन् । देशप्रेम, प्रकृतिप्रेम, श्रमको महिमागान आदि विषयसम्बद्ध यस सङ्ग्रहका गीतहरू लयात्मक छन् । गीतहरूमा पनि कविताहरूमा जस्तै जागृतिकै स्वर छ, जन्मभूमिप्रतिको प्रेम छ । कविले प्राकृतिक सुन्दरतामा पनि मानवीय सौन्दर्यकै खोजी गरेका छन् । उनले यी गीतकविताहरूमार्फत आपूmलाई देश र श्रमजीवी जनताकै पक्षमा उभ्याएका छन् । २०६६–०६७ सालदेखि २०८० सालभित्र रचना गरिएका अर्थात् तेह्र–चौध वर्षको समयावधिका यी गीत–कविताहरू कवि चिन्तुको प्रौढ चिन्तनबाट सिर्जित छन् र देशभक्तिको भावबाट अभिप्रेरित छन् ।
पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।