16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आफ्नो सुरक्षा आफै गर्नुपर्छ

हास्यव्यङ्ग्य नगिता राई लेप्चा September 4, 2023, 10:38 am
नगिता राई लेप्चा
नगिता राई लेप्चा

नौ महिनासम्म आमाको तातो गर्भमा न्यानो भई बसी यो संसारमा आउनु भनेको बाँच्ने अघिकार हासिल गऱ्यो भन्ने कुरो म मान्दिनँ । तपाई आमाको गर्भबाट भूमिष्ट हुनुभयो ... भेरी गुड । अ बिग..बिग कङ्ग्र्याचुलेसेन । जुन परिवारमा आउनुभयो त्यसको पालन-पोषणको जिम्मावारी उनैको हो जसले तपाईलाई जन्म दिनुभयो। उनीहरू नै तपाठईको माता-पिता । उनीहरू बिग शट भए तपाई पनि बग शट । ठूला मान्छेको सन्तान भएर आएपछि दसवटै औंली घिउमा । तर मातापिता दरिद्र असहाय भए तपाई पनि त्यै । यी दरिद्र पनि प्रकार प्रकारका हुन्छन् । भाड़ा घर, झोपड़ी, छप्पर, फुटपाथ, पुल मुनि । रेलस्टेशनतिर । जीवनमा घस्रिँदा घस्रिँदै सिकिन्छ, बाँच्ने अधिकार हासिल कसरी गर्नुपर्छ ।

जसरी नै होस् कसैले तपाईलाई दिने होइन बरु दाउ पऱ्यो भने तपाईकोबाट खोस्छ । मानिसले धेरै प्रकारका तन्त्र मन्त्र, साइन्स टेक्लोनोलोजीको कुरा भन्छन्, सुनाउँछन् । तर जतिनै रामायण महाभारत सुनाए पनि तपाईले तपाईको व्यवस्था तपाई आफै गर्नुपर्छ ।

यस्तो भएको भए कस्तो हुनेथियो होला ? सबैको लागि एउटै प्रकारको व्यवस्था होस् । संसार परिपूर्ण छ । कुनै प्रकारको अभाव छैन । धनी गरिब छैन । कसैको गाड़ी छैन । त्यसो भएको भए के हुनेथियो होला ? तर यो संसारमा भने कसैको थुप्रै छ, चाहिएको भन्दा बढ़ता । कसैको भने केही छैन । जहिले पनि डिबडिब । लुटी ल्यायो भुटी खायोको संसार । हुनेहरूले नहुनेहरूप्रति घृणा गर्छन् । हेप्छन्, छिःछि र दूर-दूर गर्छन् । चिनेको पनि नचिनेको जस्तो गरी साइड काटेर जान्छन् । मानिस भएर पनि मानौं मानिस होइन । अर्कै ग्रहको जन्तु । धनीहरूको इलाकामा कोही गरिब मान्छे पसे त्यस फ्ल्याटका सेक्युरिटी गार्डले धम्की साथ के चाहियो ? कसलाई खोज्नु आएको ? आई कार्ड देखाउनुहोस् । गेटबाट निस्क । गेट लस्ट । जसले धम्की लगाउँछ उसको घरको अवस्था कस्तो छ होला ? जेसुकै होस् तिनी धनीहरूका फ्ल्याटका मामुली सेक्युरिटी गार्ड ।

मानिस अर्कै प्रकारको जनावर हो । आफैले बुद्दिमान ठाऩ्ने जनावर । यिनै बुद्धिमान ठान्न जनावर नामको मानिसको खोपड़ीभित्र सुबुद्धिर दुर्बुद्धिले रोटेपिङ खेलिरहेको ङुन्छ । हुइय्य....हुइय्य....। मान्छे जति नै पिङमा हुर्रे पनि मानिस नै बन्न सक्दैन । केही पनि विश्वासिलो मित्र हुन सक्दैन । निस्वार्थ प्रेमि वा प्रेमिका हुनै सक्दैन । आदर्श पति आदर्श पत्नी पनि हुन सक्दैन । सत्यवादी हुनु सम्भव छैन । कर्तव्यपरायण हुनेछ भन्ने कुरो पनि आशा गर्न सकिँदैन । त्यसो हो भने के गर्ने अब, कसो गर्ने ? बाँच्नुपर्छ भन्ने जिद लिएरै बाँच्नुपर्छ । दुःख मनाउऩे कुरो केही छैन, कारण म पनि विश्वासघातक तपाई पनि विश्वासघातक । अर्थात् तपाई र म एकैजना ग्वालाका गाई । म सत्य कुरा गर्दै गर्दिनँ, तपाई पनि गर्नु हुन्न । तपाईले मेरो निम्ति केही गर्नुहुन्न । म पनि तपाईको निम्ति केहीगर्दिनँ । म आफ्नै हेर्छु तपाई तपाईको आफ्नै हेर्नुहुन्छ ।
तपाई धार्मिक, ईश्वरप्रति आस्थाराख्ने भक्त । म पनि त्यै हुँ । म झन् के कम्ति र ! ईश्वर छोड़ेर यो संसारमा केही छैन । चारैतिर ब्ल्याक मनी, ह्वाइट मनी । यो के हो फेरि ? मनी इज मनी । मनी नै यस संसारको एकमात्र सेवक । गरिबहरूलाई काम लाग्छ । अनुहारमा हाँसो भरिन्छ । भात खान पाइन्छ ।

मान्छे नामको जनावर पीर भुल्न पिउँछन् । कोही विषमद पिएर मर्छन् । मृत परिवारलाई साथ साथै एक लाख घोषणा गरिन्छ सरकारबाट । त्यसैले मातेर मर्नु नै असल भनी यहाँ मात्नेहरूको सङ्ख्या चौगुणा बढ़ेको हो । यसलाई आत्मबलिदान भनिन्छ । यस्तो अवस्था देखेर ईश्वरलाई एउटा प्रश्न सोध्न मन लाग्छ – सृष्टिको अन्तमा मदिराको फर्मुला यो संसारमा किन छोड़ी गयौ प्रभु ?

मान्छे भएर खानुपर्छ । बिहान उठी हातमुख धोएपछि के गर्ने ? एक कप ब्ल्याक टी र बिस्कुट । त्यसपछि दबाई । त्यसपछि गतिलो खाजा । हुने खानेहरू भन्छन् ब्रेकफास्ट । अझ जसले मसिनले रुपियाँ गन्छन् उनीहरूको कुरै अर्कै हुन्छ । फलको जुइस, ओट्स, ब्रेड, बटर, चिज, बोइल्ड हाफ बोइल्ड एग । कतै कतै फेरि दूध, फ्रुटस लामा-लामा केरा, पुरी, घुगुनि । जसको छैन उनीहरूले मन बुझाउँदै भन्नुपर्छ, उनीहरूको छ हामीसित छैन । यो उनीहरूको स्टाटस हो । हामीलाई त्यस्तो कुरो केही पर्दैन । जे छ त्यसैमा सन्तोक ।

यो संसारमा आएपछि रुपियाँ पैसा कमाउनुपर्छ भन्ने सिक्नुपर्छ । बिना पैसा कसैले एक कञ्ची दिने होइन । बिना पैसा एउटा सियो समेत पाइँदैन । आफ्नो लागि आफै ग्रनुपर्छ । जसले जे पाउँछन् लुटपाट गरेर लाने चेष्टा गर्छन् । मान्छे नामको जन्तु हिँस्रक भएको छ । चेलीबेटी अपहरण, अपहरण पछि ग्याङ्ग रेप अनि रेप पछि मर्डर । प्रमाण नरहने उपाय । विरोध हुन्छ, जुलूस निकालिन्छ तर बलात्कारी हत्यारा फेरि अर्को दाउमा ब्वाँसोको रुप लिएर राल चुहाउँदै दुगुरिरहेका हुन्छन् । खै शास्ति ? खै फाँसी ? हाँस्दै हाँस्दै रेप गर्छन्, पुलिसको खातामा आत्महत्या लेखिन्छ ।

यसकारण यो संसारमा आफैले लड़ाइँ गर्नुपर्छ...आफ्नो सुरक्षा आफै गर्नुपर्छ ।

खोलाचन्द फाप्री, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।