कवि शिव गौतम समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनी २०३० को दशकबाट साहित्य सृजनामा प्रवृत्त साधन हुन् । उनको पाँचौ कृति शीतांशु नामक कवितासङ्ग्रह २०७८ मा बजारमा आएको छ । यसभन्दा अगाडि चारओटा कवितासङ्ग्र्रह निस्किसकेका छन् । यसभित्र अपरिग्रह, बनफूल, तिमी, तिमीबिनाको जीवन, तिम्रो चित्र, परीक्षाफलको दिन, तिमी कतै गएपछि, प्रमीथीअस्, सम्राट अशोक, भोकभोकै, जूनतारामा भेटौं ल लगायत विभिन्न शीर्षकका १२२ वटा कविताहरु रहेका छन् । यस सङ्ग्रहभित्रको अपरिग्रह शीर्षकको पहिलो कवितामा तिमीले जान्छु भनेपछि मैले पनि तिमीलाई रोकिनँ कवि गौतमले भनेका छन्् । बनफूल शीर्षकको कविताभित्र न त कसैले देउताका खुट्टामा चढायो न त कसैले आपना चुल्ठामा सजायो भनेर गौतमले लेखेका छन् ।
हिमालको हिसी
पूर्णिमाको तिथि
तिम्रो मुहार ।
आकाश–पाताल सोच्ने यो मेरो मनले सोच्नै सकेन कस्तो होला तिमीबिनाको जीवन भनेर तिमीबिनाको जीवन शीर्षकको कवितामा कवि गौतमले लेखेका छन् । भित्ताले, छतले मलाई रातभरि टकटकी लाएर हेरिरहे अनि सिरानी लुसुक्क मसँग आएर सुत्यो तिमी कतै गएपछि तिमी कतै गयपछि शीर्षकको कवितामा उनले लेखेका छन् । उनका यसभित्र सबैजसो कविताहरु छोटा छोटा छन्् ।
आफ्नो भावनालाई आफ्नै शिल्प शैलीमा व्यक्त गर्ने एउटा छुट्टै विशेषता बोकेका गौतम देशको बारेमा धेरै चिन्तित देखिन्छन् ।
के खानु भयो आमै ?
पकाउने केही थिएन
अलिकति उमेर खाइयो आफ्नै ।
उनका अधिकांश कविता सकारात्मक चिन्तनका छन् सुखद बिम्बका छन् । युगीन चेतना, नेपाली समाज, संस्कृति, प्रकृति अनि नेपाली राष्ट्रियताप्रतिको गहिरो आस्था र प्रेम साथै जीवनवादी जीवनदृष्टि यस सङ्ग्रहका कविताका आधारभूत प्रवृत्ति हुन् । संसारका कुनैपनि कविका लागि सबैभन्दा गाह्रो काम नै सरल कविता लेख्नु हो । किनभने सरल भन्ने शब्दको काव्यिक अर्थसित एकातिर कविता कसका लागि ? भन्ने सैद्धान्तिक प्रश्न जोडिन्छ । जसले कविको वैचारिक एवं दार्शनिक पक्षलाई सङ्केत गर्छ भने अर्कातिर यसले कविको काव्यिक भाषाको स्वरुपको पनि सङ्केत गर्छ । उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन् ।
मिराको माया के बुझोस् कृष्णले
उ त गोपिनीका पछि कुदिरह्यो हरदम
कृष्ण–कृष्ण कराइरही मीरा
राधा–राधा रोइरह्यो कृष्ण एकदम ।
जीवनको इतिहास शीर्षकको कवितामा रगतले, पीपले, पापले इतिहास गन्हाइरह्यो रोकिएन जीवन फुलिरह्यो तर हिलोमा कमल फुलेसरि भनेर कवि गौतमले लेखेका छन् । कविता लेख्नुका पछाडि सायद यस्तैयस्तै केही होला जस्तो लाग्छ, एउटा सम्वादको प्रस्ताव राखेको, एउटा आग्रह व्यक्त गरेको होलाजस्तो लाग्छ कवि गौतमलार्ई । कविताका कति कुरामा जिल्ल पर्छु, केही भेउ पाएको छैन । उही कवितालाई विभिन्न पाठकले विभिन्न ढङ्गले पढ्न, बुझ्न सक्छन् । उनै आँसुले लेखेका कवितामा कहिले हर्ष अनि कहिले विषाद अटाउने गरे जस्तै होला कि यो ? कविले भनेका छन् ।
विधिको प्यालामा यतिविधि
प्यास पिलाइदियो कि
त्यही प्यास मार्ने आशमा
जिजीविषा छ जिइरहेकी ।
उनले लेखेका कविता पहिले पनि तुलनात्मक रूपले छोटै हुनेगर्थे । त्यसमाथि वि.सं. २०३० को दशकको मध्यतिर उनी पोखरामा काम गर्दा स्व. विजय बजिमयको गोजी पत्रिका आँखीझ्यालमा केही कविता मुक्तकको रूपमा छापिएपछि अलिक हौसिएका पनि थिएँ । स्व. भूपि शेरचनका कविता विशेषतः मुक्तकले पनि उनलाई निकै आकर्षित पारेका थिए । तर पछि गएर मुक्तकप्रतिको मोह बिलाउँदै गयो । कवि गौतमका कविताहरु भावनात्मक मात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । मानवीय संवेदनालाई व्यावहारिक रुपमा लेख्न खप्पिस कवि गौतम मध्यमवर्गिक मानिसका पीडाहरु बोल्ने कवि हुन् । उनका कवितामा अक्सर मानिसले पूरा गर्न नसकेका सपना, आर्थिक अभाव र नासिएको सम्बन्ध र जीवनमा तक्माजस्तो पटक पटक मिलेका हारहरु भेटिन्छन् । कवि गौतमले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन् । उनले लेखेका कविताहरु सरल छन् । शब्द र वाक्य विन्यास पनि सामान्य छ । त्यसकारणले उनले लेखेका कवितालाई आम पाठकले ज्यादै सरल भयो पनि भन्न सक्छन् ।
कानमा घोलिदिन्छ मह
दृश्यमा पोतिदिन्छ मधुमास
बाजाबाट ब्युँझेर सङ्गीतले ।
यो कवितासङ्ग्रहले नेपाली साहित्यमा राम्रो स्थान र नाम राख्नेछ । कवि शिव गौतमको लेखन क्षेत्र अगाडि बढ्दै जान सकोस्् भन्न चाहान्छु । जीवन भोगाइका क्रममा विभिन्न घात–प्रतिघात सँहदै अगाडि बढेका कवि गौतमका यस सङ्ग्रहका कवितामा जीवन यथार्थका विविध पक्षको अभिव्यक्ति छ । आगामी दिनमा उनका थुप्रै कृतिहरु प्रकाशित भईरहुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
कृतिः शीतांसु
लेखकः शिव गौतम
प्रकाशन वर्षः २०७८ पुस
प्रकाशकः समकालीन साहित्य प्रतिष्ठान, बेलायत
मूल्यः रु.१५०।–
पृष्ठः १२२