बिहान सरक्क दिउसो बन्छ
दिउसो सरक्क साँझ
साँझ रात्रि भएर
बन्छ अर्को बिहानी |
बिरुवाले फूल दिन्छ
दिन्छ फूलले बीज
बीज अङ्कुर भएर
बन्छ अर्को बोट |
वसन्त बन्छ ग्रीष्म
ग्रीष्म बन्छ शरद्
शरद् शिशिर भएर
बन्छ अर्को वसन्त |
एउटा बिहानी सकिएको होला
त्यस्तै बिरुवा र वसन्त,
वर्तुलाकारमा आउँदै छ अर्को
बिहानी, बिरुवा र वसन्त ।