16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्लब क्रौलिंगमा एक नजर

कृति/समीक्षा अरुणबहादुर खत्री “नदी” September 13, 2023, 2:52 am
अरुणबहादुर खत्री “नदी”
अरुणबहादुर खत्री “नदी”

कथाकार अरुणा सब्बरवालको क्लब क्रोलिंग नामक कथासङ्ग्रह २०७८ सालमा प्रकाशित भएको छ । यस कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका इङ्लिश रोज, राकिङ चेयर, स्वयं, सुगन्धित हावा, सानो शीश महल लगायत विभिन्न शीर्षकका १५ वटा कथाहरु राखिएका छन् । यस कथासङ्ग्रहभित्रको इङ्लिश रोज शीर्षकको पहिलो कथामा शैयर काउन्टीको एक गाँउसम्म समेटिएर रहेको छ, उसको जिन्दगी । आफ्नो आराम कुर्सीमा बसेर ऊ ती पूmल पूरा जीवन आफ्नै आँखाले मजा लिन्छे । वसन्तदेखि पतझडसम्म पूरै यात्रा...हर ऋतुका साथ उसको चेहराको भाव पनि बदलिन्छ । कहिले मुस्कुराहट त कहिले उदासी । अचानक घण्टीको आवाज सुनेर ऊ अचम्म भएर दैलोतिर दौडन्छे । सामुन्ने नीलो आँखा तथा घुस्रो जिङ्ग्रिङ्ङ परेको कपाल भएको बालक खडा छ । एउटा देशी चेहरा देखेर ऊ हडबडायो । फेरि हात अघि सार्दै बोल्यो– आई एम शान । तपार्इंको गार्डनमा मेरो बल खसेको छ । के म लिन सक्छु ? भनिएको छ ।
अरूणा सब्बरवाल लन्डन निवासी विशिष्ट कथाशिल्पी हुन् । उनका कथाहरूमा समाजले किनारीकृत गरेका पात्रहरूको मनोदशा इमानदारपूर्वक चित्रित भएका छन् । वस्तुतः उनका कथाहरूले पाठकको मनलाई भित्रैदेखि घचघच्याउने गर्छ । मान्छेको मनका सूक्ष्म संवेदनाहरूलाई जागृत पारिदिन्छ । मान्छेका कमी कमजोरी, अन्तद्र्वन्द्व, विवशताहरूलाई कथाका पात्रहरूद्वारा सफल उद्घाटन गरिएका छन्, उनका कथाहरूमा । उनका कथाहरू केवल कोरा कल्पनामात्रै होइनन्, समाजका जिउँदा जाग्दा पात्रहरूले भोगिरहेको जिउँदो व्यथाहरूको सँगालो पनि हो । त्यसैले उनलाई कथाकार नभनेर यहाँ कथाशिल्पी भन्न खोजिएको हो ।
‘उडान’ शीर्षकको कथामा छोराछोरीहरू ठूला भएर आआफ्नो कर्म–व्यवसायमा लागेपछि एक्लो भएका वयस्क महिलाहरूको मनको अन्तद्र्वन्द्वको सजीव चित्रण भएको छ । कथाकी पात्र राधिका आफ्नो सम्पूर्ण जीवनमा भोगेका प्रेमका प्रसंगहरूको याद गर्दै मनोविश्लेषणात्मक द्वन्द्वात्मक परिवेशमा सोह्रवर्षे जवानीको उत्ताप अनुभव गर्दछिन् । तर, समाजको डर पनि उत्तिकै हाबी भएको हुन्छ, उनको मनमा । इङल्यान्डमा बसेर वहीँको सामाजिक परिवेशलाई लिएर लेखिएका कथाहरूमा भारतीय उपमहाद्वीपको समाज र परम्पराहरूले पनि कथाहरूमा स्थान पाएका छन् । आपूmलाई समाजमा स्थापित गर्न चाहने महिलाहरूको अवस्थितिलाई पनि उनको कलमले चित्रित गरेको छ ।
‘राकिङ–चेयर’ कथामा कथाकारले तृतीय लिंगहरूको सामाजिक स्थिति र उनीहरूको आत्मपीडामाथि प्रकाश पारेकी छन् । पुरूष र महिलाहरूबीच सहज रूपमा विकसित हुने भावनात्मक सम्बन्धको विषयलाई एक चिकित्साकर्मी र रोगीको माध्यमबाट प्रस्फुटन भएको छ ‘भने न भनेको’ कथामा । उनले हिन्दी भाषामा लेखेका कथाहरूको नेपाली रूपान्तर गर्दै जाँदा लेखकले कथाहरूसँग भावनात्मक सम्बन्ध जोडिएको अनुभव गरेका छन् ।
उनका कथाहरुमा नेपाली समाज, अझ नारीको तन र मन, विकृति र बिसङ्गति, सम्बन्धहीन सम्बन्ध, भाव मनोभावहरु सरल र श्लील भाषा शैलीमा प्रस्तुत भएका छन् । उनले हाम्रो समाजमा भएका सामाजिक विकृति, विसंगति र रुढिवादी परम्परालाई बडो राम्रोसंग उन्ने काम गरेकी छिन् । उनले लेखेका कथाहरुले मानिस र समाजका विविध पक्षलाई उजागर गरेको छ । यो कथा पढेपछि कथाका पात्रहरु आँखा अगाडि हुंदै मनभित्र बस्छन् । समाजको दैनिकीभित्रको प्रेम र पीडा अनि मानवीय सम्बन्धका विविध आयाम नै अरुणाको कथालेखनको केन्द्र हो । वर्तमान समयमा कथा लेखनमा अत्याधुनिक सोच र नवीनशैली प्रस्तुत हुने गरेका छन् । यस दृष्टिले हेर्दा अरुणाद्वारा लेखिएका कथाहरु अध्ययन गर्दा शीर्षक, संरचना, विषयवस्तु र प्रस्तुतिमा पनि त्यसको आभाससम्म पाइँदैन ।
कुनै कथाको खाका बनाइसकेपछि शब्दमा नउतारुञ्जेलसम्म कथाकार अरुणालाई एकप्रकारको छटपटी भइरहन्छ । विशेष गरी तिनका पात्रहरुले उनका आँखावरिपरि ओहोर–दोहोर गरेर र अनेक उतार–चढावबाट परिस्थितिहरु गुज्रिएर मनलाई पीडादायी बनाइदिन्छन् । उनले उनका कथाका पात्रहरुसँग धेरैपटक खुसी साटेकी छिन् र कहिलेकाही आँखाभरि आँसु पारेर साँझहरुमा उदास पनि बनेकी छिन् । उनलाई लाग्दो रहेछ कथा लेख्नु एउटा पीडादायी अनुभूति पनि हो । कहिलेकाही उनी सोच्छीन् जीवन आफूले सोचे, भोगेजस्तो र अरुले देखेजस्तो हुँदैन शायद । मानिसको प्रवृत्तिलाई एउटै परिभाषामा समेट्न नसकिए पनि जीवनका कतिपय उतार–चढावहरु कही न कहीँ मेल खाइरहेका हुन्छन् । तिनै परिभाषित, अपरिभाषित सम्बन्धहरुलाई उनी कतिपय कथाहरुमा केलाउने कोसिस गर्दछिन् ।
स्वयं शीर्षकको कथाभित्र रातभरि उसको मस्तिष्क भुइँचालोजस्तै दौडिरह्यो । बडबडाई रही, सुनेकी थिएँ आधा उमेरमा शरीरका गतिविधिहरू मध्यम हुन्छन्, यहाँ त मामला उल्टो चल्दै छ । मानौं, कुनै ऊर्जा प्रदायक गोली खाएकी हो । अब ऊ चिन्तामुक्त थिई । उसले प्रण गरेकी थिई कि अब ऊ रोबोट बनेर जिम्मेदारीहरूलाई वहन गर्ने छैन, परिवारको शोफर बन्ने छैन । जबदेखि आइल आफ बाइटबाट के आएकी थिई, उसले आफ्नो सोचाइलाई नयाँ दिशा प्रदान गरेकी छे । अब ऊ आकाशमा स्वतन्त्र उड़न चाहन्छे भनिएको छ ।
कथाकार अरुणाका कथाहरुले पाठकको संवेदनालाई जुरमुराइदिएको पाइन्छ । कथाले पाठकको सोचाइमा श्रीपेच लगाएर स्पन्दनमा राज गर्न सकेको देखिन्छ । कथाकार अरुणामा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेकी छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरुको उपयुक्त संयोजनबाट राम्रा कथाहरु सिर्जना गर्न उनी सफल छन् । अरुणा साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएकी नारी हस्ताक्षर हुन् । साहित्य लेखनमा डुब्ने लेखकहरु खाली बस्न सक्दैनन् । केही न केही लेखिरहेका हुन्छन् ।
यस कथासङ्ग्रहभित्र रहेको अँध्यारोकोे बीचमा शीर्षकको अन्तिम कथामा रोहन तिमीले आफ्नो स्वीमिङ तथा पी.ई किट राख्यौ ? उसले जवाफमा सिर हल्लाइदियो । निस्कँदानिस्कँदै दस मिनेट अझै लाग्यो । सडकमा बिहानको ट्राफिकलाई कसले जान्दैनथ्यो र । निस्कनमा एक मिनटको ढिलो भयो भने मानौं आधा घण्टा त्यसै खेर गएजस्तो लाग्दछ । स्कुल जाँदा बाटामा तीनवटा सुरुङ पर्छन् । ती सुरुङमा ट्राफिक कम नै हुन्थ्यो । एउटा सुरुङ पार गरेर दोस्रोमा पुग्दा एउटा कार बिग्रिएर राखिरहेको थियो । यसलाई पनि आजै बिग्रिनुपरेको भन्दै उनी बर्बराइन् । बाटो बदल्नुको अतिरिक्त उनीसँग कुनै अर्को विकल्पै थिएन भनिएको छ । तीन दशक बेलायतको स्कूलमा पढाएर सेवा निवृत्त भएपछि कथा लेख्न सुरु गरेकी अरुणा सब्बरवालका कथा हाम्रो घरदेश र परदेशका परिवेशसँग मिल्दाजुल्दा छन् । चित्रकला, गायन र लेखनमा उत्तिकै अब्बल बहुमुखी प्रतिभाका धनी अरुणा सब्बरवालको कथासङ्ग्रह सबैले पढ्नैपर्छ । कथाकार अरुणाको कथालेखन अगाडि बढदै जाओस् । आउँदा दिनमा अरु कथासङ्ग्रह जन्मन सकोस् भन्न चाहन्छु ।

कथाकारः अरुणा सब्बरवाल
कृतिः फूल फुलाउने गमला
प्रकाशनः समकालीन साहित्य प्रतिष्ठान, बेलायत
मूल्यः रु.२००।–
पहिलो संस्करणः वि.सं. २०७८ माघ
पृष्ठः १३४

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।