18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेथामालिका

नियात्रा भेषराज रिजाल September 15, 2023, 11:39 am
भेषराज रिजाल
भेषराज रिजाल

कर्तव्य र रहरको दुुइटा कुटुरी बोकेर जैरको माझगाउँबाट उकालो लागेँ म ! हिजो अदानचुली गाउँपालिकाबाट सल्लिसल्ला हुँदै हुम्ला कर्णाली तरेर जैर गाउँ आइपुुगेका थियौँ हामी ।
तल्लो हुम्लाको सर्केगाडमा पर्छ जैर गाउँ । करिब ५०० घरधुरीका मान्छेको ढुकढुकी हो यो गाउँ । माटाका छत भएका गुजुप्प जोडिएका पुराना घरहरू छन् । एउटै लिस्नो उक्लेर जोडिएका सबै घरको छतमा पुुग्न सकिन्छ । माटो बेस्सरी खाँदेर ढलान गरिने हुँदा पानी समेत छिर्दो रहेनछ यस्तो छतबाट । छतमा बसेर घाम ताप्न, बिस्कुन सुकाउन मिल्दो रहेछ । हिउँ पर्दा छतबाट हिउँ सोहोरेर फाल्न पनि सहज हुँदो रहेछ । अझ बुढापाकाहरू त भन्दै थिए, छुट्टा छुट्टै घर बनाउँदा सर्किदेउले सहँदैनन् ।
कोदो, चिनु, घैया र भट्टमास पाक्न लागेको छ गाउँमा । ओखरका रुख, स्याउका डालीले थपिएको छ गाउँको सुन्दरता । हरिया मकै, टिपेर राखेका स्याउ र काँक्राले दिइरहेका छन् रसिलो हिमाली गाउँको परिचय । सिस्नोका लहलहाउँदा मुन्टा देखिन्छन् गाउँभर । गाउँमा आइपुुग्न लाग्दा हिजो हिलोमा लर्केर सिस्नो बिझेको अझैँ झम्झमाइरहेको छ मेरो शरीरभर । तथापि, हिमाली गाउँको सुन्दरता, चोखो गाउँले मन र मिठो बोलीवचन सुनेर आफैलाई पनि बिर्सिएको छु मैले । रोइरहेको बच्चाले आमालाई देख्दा झैँ भइरहेछ मलाई ।
गाउँको बीचमा एउटा मन्दिर छ । मन्दिरको आँगनमा अग्लो लिङ्गो ठडिएको छ । लिङ्गोलाई लुुङ्गो भन्दछन् स्थानीयहरू । घरका छतछतमा केटाकेटीहरू खेलिरहेका छन् । बुढापाका मान्छेहरू टहलिएका छन् । कुनै छतमा अलि छिटो पाकेको चिनु माडिरहेका छन् महिला । कतै हाते मुुङ्ग्रो र ओखलमा जुटिरहेछन् युुगल महिला । हेरिरहुँ झैँ लाग्ने त्यो गाउँमा आधा आकासले मात्र लहरी फहरी गरिरहेको र बाँकी आकास अन्धकारमा सुतिरहेको देखेर भने मनमा अलिकति बिझाएको छ ।
२३०० मिटर उचाइमा भए पनि उत्तर फर्केको यो हिमाली गाउँमा मुटु कमाउने जाडो छ । दाँत बजाउने शक्ति छ सिरेटोमा । हुन त हिउँद लागिसकेकै छैन । आज २०७८ सालको असोज १९ गतेको दिन ।
“यो वर्षको दशैँ तिहार आउन बाँकी नै छ । कसरी छिरिसक्यो यो गाउँमा यति बिछट्ट जाडो ?” लुुगाले नछोपिएको शरीरको भागमा आगोले पोले झैँ हुँदा मनको खसखस पोख्छु म ।
“यो ठाउँको जाडो त अलि माथि उक्ले पछि पो थाहा हुन्छ ।” मन बहादुर बोल्नुहुन्छ ।
बड्डीगाड तरिसक्दा झन् उकालिन्छ बाटो । गाउँ छोडिसक्दा पनि बस्तीमा झैँ देखिन्छन् ओखरका हरिया बुटाहरू । केही सल्लाका रुखहरू सग्ला छन् । अधिकांश रुख एकमेसे काटेर ठुटा मात्र बाँकी छन् । खोटो सङ्कलन गर्नेले बेपरवाह ताछेर केही रुख सुकिसकेका छन् । जङ्गलको त्यो हालतले शायद मुर्छित छ पर्यावरण । लोकलज्जा बचाइ दिन भुुइँ–भुुइँ छरिएको छ भुुइँकुहिरो । तर कतिबेर ढाक्न सक्छ र हत्केलाले सूूर्य ? कतिबेर लुकाउन सक्छ र कुहिरोले उज्यालो ? भुुइँ कुुहिरो पातलिँदा वा उडी जाँदा त देखिहालिन्छ मान्छेको कालो मन र उजाडिएको वन !
घण्टी बजाउँदै चरिरहेका घोडातिर छ सहयात्रीको नजर । झोला झाम्टा घोडालाई बोकाउन पाए फुक्लो ज्यान उकालो उक्लन सजिलो हुन्थ्यो भन्ने अभिलाषा रहेछ । तर घोडाहरू कस्ता चलाख ! त्यो सब पहिल्यै थाहा पाएझैँ टाट्–टाढा बुर्कुसिए ।
“यहाँ महिलाहरूले मात्र हो काम गर्ने ? पुरुषहरूले घरायसी काममा महिलालाई सघाउँदैनन् यहाँ ?” मेरो अप्रत्याशित र अनपेक्षित प्रश्नले तर्सिए स्थानीयहरू ।
गाउँमा घाँस, दाउरा, पानी पधेँरा, चिनुु माड्ने, धान चुुट्ने निफन्ने जे जति काम गरिरहेका मान्छेहरू देखिए ती सबै महिलाहरू मात्रै थिए । हुुम्ली पुरुषलाई यत्ति सोध्न पाएर पनि हुम्ला टेके देखिको मनको औडाहा केही शान्त भएको छ मलाई ।
“पहिला पुरुषहरूले पनि उत्तिकै काम गर्थे । महिला पुरुष सँगै काम गर्थे । अचेल बाउन्ने त्रिपन्नेले बिगा¥यो !” केही अन्कनाउँदै बोले स्थानीयहरू । यस्तै टिमल टामल जवाफ आउँछ भन्ने त लागेकै थियो मलाई ।
“बाउ बित्दा पनि यहि बाटो त ल्याउलान् नि भन्दै जुवा खेलिरहने बाउन्नेहरूका अनेक कथा त सुनेको थिएँ, यो त्रिपन्ने चाहिँ के रहेछ ?” शंकित व्यक्तिलाई झैँ उनीहरूका नजर केलाउँछु म ।
“अरु के नि, गाँजा चरेश !”
एक त बेरोजगारको बतासले सोत्तर पारेको छ गाउँघरलाई । अझ मेहनत र जाँगरको बाटो छोडी लठ्ठिएर बस्ने कुलतको कहानी सुनेर मर्माहत भएँ म । गँजडीलाई भन्दा बढ्ता नशा लागे झैँ भयो मलाई । धर्मराए पाइला, धमिलिएर नजर, हरायो बोली, हरायो होश !
राज्यो पड्का ! एउटा बिसौनीमा बिसायौँ हामी । रेशम वली र दीपेन्द्रकेशर खनाल छन् मसँग । स्थानीयहरू अक्क, मन बहादुर, काली बहादुर र झुल बहादुरले बाटो देखाइरहेछन् हामीलाई । मेथामालिकामा जनै पूर्णिमामा मेला लाग्दा बाजा बजाउने ठाउँ रहेछ त्यो । धामीहरू बास बस्ने ठाउँ भने करपानी रहेछ । ठूल्ठूला तीनवटा काठे गोठ रहेछन् करपानीमा ।
अब सल्लाका रुखहरू बाक्लिए । सल्लीपीरमा लर्किन्छ कि भन्दै हिँडिरहेछौँ हामी । चिसो छोइन्छ बेस्सरी । लेकाली चिसो हावामा छ, पानीमा छ । लेकमाथि आइपुुग्दा घाम पनि चिसै हुँदो रहेछ । आफ्नै शरीरका सुकिनसकेका पसिनामा पनि टाँस्सिएको छ चिसो ।
अनौठो स्वर निकाल्दै नजिकैबाट वेगिन्छ एउटा चरो । स्थानीयले कर्र भन्छन् त्यसलाई । हामी ढिकबाँझमा छौँ यतिबेला ।
डढेलोले डढाएका ठुटाहरूलाई झन् विरूप पारिरहेछ टाटेपाङ्ग्रे घाम छायाँले । बोल्न पनि गाह्रो भइरहेछ सबैलाई । स्याँस्याँ, अहँ, उहुँ र लठ्ठीका ट्याकटुक मात्र सुनिएको छ बाटोभर । यस्तो मौका पारेर बिना दकस उडिरहेछ भुइँकुहिरो । आफ्नो–पराइ केही नभनी सबैका टाउकोमा टेकेर सर्वाङ्गमा चलाइरहेछ स्याँठको लठ्ठी ।
“लाटोकोशेराले खाएको हाडेओखर । भेट्नु खसेको ठाउँमा ठुंगेर खान्छ ।” मन बहादुर बुढाले एउटा ओखरको कप्टेरो भुइँबाट उठाउँदै देखाउनुहुन्छ ।
“अहिले एउटा चराले स्याउ पनि खोब्न थालेको छ ।” अक्क पनि सुनाउनुहुन्छ लेकालीका व्यथा ।
“स्याउ हालियो त झोलामा ?” बिहान हिँड्नु भन्दा पहिला सम्झनुपर्ने कुरा प्रसङ्गवश बल्ल सम्झिए गाउँलेले ।
“अब बसौँला अलि माथि । र, थकाइ मार्दै खाउँला स्याउ !” झोला बोक्ने चाहिँले हामीतिर फर्केर सान्त्वना पस्किए ।
अलि दह्रो पाइलो टेकियो । ओहो, सान्त्वनामा पनि कत्रो बल हुँदो रहेछ ।
किँ किँ गर्दै उड्यो एउटा चरो । वेग मार्दै होचिँदै जाँदै थियो । सल्लाका चेपबाट पर पुगिसक्दा बल्ल देखेँ मैले ।
गाउँलेहरू एकै स्वरमा बोल्छन्– “डाँफे हो त्यो ।”
“हत्तेरिका, पहिल्यै भन्दिएको भए, नजिकबाट डाँफे उडेको देखेर सप्तरङ्गी खुसी मनमा सजाउँथेँ नि मैले पनि ।” टाढाबाट देख्दाको खुसीभन्दा नजिकबाट देख्न नपाएको विष्मय भावले विक्षिप्त बनाउन खोज्छ मलाई । सम्झाउँछु मनलाई– जीवनसँग जम्काभेट भइरहने संयोगहरूसँग सधैँ खुसी हुनुपर्छ । गीतै छ नि– जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना !
सँगसँगै हिँडेपछि परिचय र रहेबसेको गाउँठाउँ बारे सोधनी भइहाल्छ नेपालीहरूबीच । यो त हाम्रो संस्कारै भइहाल्यो ।
“निलमका मामा भाञ्जालाई चिन्नुहुन्छ ? उनीहरूले पढाउँथे हाम्रो गाउँको स्कुलमा ।” अक्क सोध्नुहुन्छ अनायास ।
“किन नचिन्नु, यी त मेरा गाउँले र आफन्त नै हुन् नि । बरु निलम त बितिसक्नुभयो ।” सद्भाव राख्ने गाउँलेलाई पनि दुखद खबर सुनाउन प¥यो मैले ।
गाउँलेहरू रोलान् झैँ गर्छन् । निलमले गाउँमा पढाउँदाका, रहँदा बस्दाका अनेक प्रसङ्ग सुनाउँछन् । निलम मामालाई सम्झेर रुन्छ मेरो मन पनि । उमेर छँदै उहाँ बित्नुभएको कुरा मैले पनि विश्वासै गरेको थिइनँ पहिले त ।
मैले एसएलसी पास गरेपछि मामाले एकदिन सोध्नुभएथ्यो– “कतै दुर्गमतिर पढाउन जाने हो त भाञ्जा ?”
“हुन्छ मामा, एकदुई वर्ष पढाएर आफ्नो पनि पढाइ अगाडि बढाउनुपर्ला !” सहर्ष भनेथेँ मैले ।
उहाँले भन्नुभएथ्यो– “पढाउँदै प्राइभेट पढ्दै गरे पनि हुन्छ नि ।”
जागिर खानपर्ने बाध्यताले बाँधिएको, निचोरिएको र पिल्सिएको थिएँ म त्यतिबेला । बाध्यताको त्यो गह्रौँ भारी थाहै नपाई कसैले झिकी दिएझैँ भएथ्यो मलाई तत्क्षण । निलम मामा पछि कहिले कहाँ जानुुभयो थाहा भएन । दुुर्गमतिर जानुुभयो भन्ने मात्र सुनेथेँ अलिपछि । उहाँसँग भेटै भएन त्यसपछि । तथापि, उहाँसँगको त्यो सम्वादले जागिर खाँदै पढ्न सकिन्छ भन्ने चेत खुल्यो मेरो । मैले सङ्घर्ष गरेँ, परीक्षा उत्तिर्ण गरेर आफ्नै जिल्लामा शिक्षक भएँ । पढ्दै पढाउँदै मेहनतको त्यहि पथ नछोडी निजामती सेवातिर डोरिएँ । ती दिनहरू सम्झँदै मलाई बाटो देखाउने मृदुभाषी, इमान्दार, एक असल गुरु निलम मामाप्रति उहाँको कर्मथलोमा पुगेर श्रद्धा सुमन चढाएँ मैले । मन केही हल्का भयो ।
थुम्डिलमा एकछिन सुस्तियौँ हामी । एकेक दाना स्याउ खायौँ । दिपेन्द्रले ल्याएका भुटेका मकै खायौँ एकेक मुठी । र, बिस्तारै उकालो लाग्यौँ फेरि । पहाडको पानीढलोमा पानी बग्दा पानीले नै खनी खोस्री सम्याई बनाएको जस्तो छ बाटो । यो लेकाली उकालोमा मान्छेका पाइलाका डोबले मात्र त कसरी बन्ला र बाटो ? सल्ला, खर्सुङ आदि लेकाली रुखमा झ्याउका लहरा झुण्डिएका छन् । झ्याउँकिरीले कानै खाइरहेछ ।
“यतिबेला माथि पुगेर फर्किसक्थ्यौँ हामी त । एक्लै हिँड्दा ज्याकेट फुकाल्न पथ्र्यो, हजुरहरूसँग हिँड्दा लुगा थपौँ कि झैँ भइरहेछ ।” धक नमानी सत्य कुरा बोल्नुहुन्छ काली बहादुर ।
“के खोज्दै हुनुहुन्छ पाखोतिर ?” आफू छिटो हिँड्न नसक्दा पर्खिपर्खी हिँडिरहेका गाउँलेको स्नेहले द्रवित भएर अक्क धामीलाई सोध्छु म ।
“डाँफेको चारो चुमफुले र तेलाली । भेट्टाए हजुरहरूलाई चखाउने भनेको ।” मतिर नहेरी पाखोमा नजर घुमाए पनि केहीबेरपछि रित्तै हात फर्कनुहुन्छ अक्क ।
डाँफेको चारो कस्तो हँुदो रहेछ भन्ने कौतुहलता पुरा नभए पनि लेकाली सभ्यताका नालीबेली जान्न पाएरै मख्ख छु म ।
विनायक चौरमा पुग्छौँ हामी । बर्खा गाईवस्तु राखिँदो रहेछ त्यहाँ । हलहले र नरम घाँसले ढाकिएको छ त्यो चौर । एकाध घोडा चरिरहेछन् । त्यहि चौरमा बसेर आलुको तरकारी र लेकाली गहुँका रोटी खान्छौँ हामीले । छेवैमा बगेको कुलोको पानी खान खोज्छु तर दाँत झर्ला झैँ भएर जिब्रो मात्र भिजाउँछु मैले ।
त्यहि कुलो पच्छ्याउँदै अघि बढ्छौँ हामी ।
लोठसल्लाका राता दाना लिएर आउनुहुन्छ स्थानीय । रातो भाग खान र टर्रो बियाँ थुक्न सिकाउनुहुन्छ । निकै गुलियो हुँदोरहेछ लोठ सल्लाको पाकेको दाना ।
“टर्रो बियाँ खान मिल्दैन र ?”
“मिल्छ, पेटको औषधि हुन्छ तर धेरै खाए लाग्न सक्छ !”
मेरा हरेक खुल्दुली मेटाउने स्थानीयहरूका यस्तै जानकारीले रोमाञ्चित छु म ।
गोबे्रका लडेका रुख फड्कँदै हिँड्यौँ हामी फेरि ।
पावे, गोब्रे, ठिम्रे, लोठ, धुपी आदि जातका सल्ला राम्ररी चिनाउनुहुन्छ स्थानीयले । गोब्रेका पात झुप्प बाक्ला र लोठ सल्लाका अलि पातला हुँदा रहेछन् । धुपीको काठ झन् चाम्रो हुँदो रहेछ । लोठ सल्ला र धुपी सल्लालाई त निकै बलियो काठमा गनिँदो रहेछ यता ।
पाकेका लोठ सल्लाका दाना खोज्दै थिएँ, भुइँभर राता दाना देखिए । भुइँ काफल पो रहेछ त्यो । बाँकोका दाना पनि देखिन्छन् । दुम्सी र चराहरूले खान्छन् रे बाँकोका दाना । अनिकाल लाग्दा बाँकोको पिँडालु पनि उसिनेर खान्थे रे मान्छे । चपाउँदा कोक्याउने हुँदा मुखमा राखेर सिधै निल्थे रे ।
“भोजपत्रको भित्री भाग बेहुलीपात निकाल्न हुँदैन । नत्र मर्छ भोजपत्रको बोट ।” अक्क अनुुभव हो यो ।
“अन्नको भकारी वरिपरि भोजपत्रले बेरेमा अन्न कुहिँदैन । आगलागी हुँदैन । पितृलाई पिण्ड दिन पनि भोजपत्र प्रयोग गरिन्छ ।” मनले मन खोल्नुहुन्छ ।
“भोजपत्रको रुखमा चढ्न अटेला लगाइन्छ । लठ्ठी तर्सो बनाएर बाँध्दै उक्लिइन्छ ।” काली कहनुहुन्छ ।
निगालाको कलममा असारे, आँप, कटुस आदिको मसी प्रयोग गरेर भोजपत्रमा लेखिन्थ्यो भन्ने मात्र थाहा थियो मलाई त । भोजपत्रसँगै हुर्किरहेका सभ्यताका पत्रपत्र जानकारीले आह्लादित भएको छु म ।
भैँसीले मन पराउने डाले घाँस रहेछ तिलाइतो । उन्यु जस्तो देखिने दालु पनि खान्छ रे भैँसीले । खर्सुङका पात भेडा बाख्राले बढी मन पराउँछन् रे ।
सुकेका गोब्रेका अजङ्गका रुखहरू ठडिएका छन् माझपातलमा । आकास छुन उचालिएका यी रुखहरू हिउँपात सहन नसकेर सुकेका हुन् कि ? कृष्णको सुदर्शनले काटिएको बर्बरिकको शीरले महाभारतको लडाइँ देख्न पाएझैँ यी निष्प्राण गोब्रेले पनि अझै एक युग हेर्ने भए हिमाली उचाइ !
मौरेगाड पातल छोडेर कुलाको डिलडिलै हिँडिरहेछौँ हामी । जति भित्र छि¥यो, उत्ति ढलेका, कुहिएका रुखहरु देखिन्छन् । जङ्गल झन् सेपिलो र अत्यासलाग्दो लाग्छ । झ्याउँकिरीले निर्जन एकलासमाथि साम्राज्य चलाइरहेको छ । भोजपत्रका रुखहरू मात्र टल्किएर अलिकति उज्यालो छरिरहेका छन् ।
एउटा कुइमुढ टेकेर पानी बगेको खोल्सो पार गरेँ मैले । घाम ओर्लिन सकेको छैन यहाँ । लगाएका लुगा छेडेर भित्र छिरिरहेछ चिसो । शरीरै चिसो भएको छ । टाउको दुखेको छ । केही तातो चिज खान पाए हुन्थ्यो भन्ने इच्छा मनमा पलाएर मनमै हराइसक्यो । चिसो सिरेटोले कटकटी काट्न थाल्दा त्यसैलाई मनतातो स्पर्श सम्झेर रमाउनुको विकल्प छैन यहाँ ।
मेथामालिका पुुगेपछि सारा संसारै देखिन्छ भन्दै स्थानीयले डो¥याई रहेछन् हामीलाई ।
लोठ सल्लाको एउटा रुख ढलेको रहेछ बाटोमै । त्यसका बोक्रा उप्काउँछन् स्थानीय । हामी पनि त्यसै गर्छौँ । अलिकति उक्लिएपछि पुगिन्छ गलैँचे चउरमा । यही गलैँचामा आनन्दले बस्न पाए छिटै मेटिन्थ्यो थकाइ । एकछिन सुस्तिन पाए आनन्दी लयमै फर्कन्थ्यो उचाइसँग धप्किरहेको छातीको धड्कन ।
यही सोचेर एकछिन गलैँचामा बसिरहेथेँ रेशम कराउनुभयो– “भालु लाग्न सक्छ, छिटै आउनुस् !”
“पाकेको लोठ खान लोठ सल्लाको रुखमा आइरहन्छ भालु । भैँसी समेत मार्ने खाले हुन्छ लेकाली भालु । होशियार भएर हिँड्नुस् है ।” स्थानीयले पनि सजग गराउनुहुन्छ हामीलाई ।
अनि जर्फराउँदै उठेर अगाडि गइसकेका सहयात्रीहरूलाई भेट्टाउन कुदिहाल्छौँ दिपेन्द्र र म पनि । अलि टाढाका रुखका काला टुटालाई पनि भालु आरोपित गरिरहेछन् नजर । कुहिएका गोब्रेका रुखको छेलमा भालु आक्रमण गर्न ढुकेरै बसेझैँ देख्छु म । थाकेको शरीर लतार्दै छिटो उकालो उक्लन प्रेरक भएको छ यही भालुको भय ।
घामले छोएर के गर्नु ? घामका न्याना किरणलाई निष्तेज पारिदिने दुुष्मन छ चिसो । महादुुष्मन भएर डुलिरहेछ हिमाली स्याँठ । उसमाथि झ्याउले ढाकिएको छ सबै ढुङ्गो माटो । छिटो पाइला चाल्न खोज्दा कयौँपटक लर्केँ म । साथीहरू पनि लर्के एकदुई पटक त ।
पातलमा पानीको के दुख्ख भन्दै कुलकुलाएर बगेको सङ्लो पानी देखाउनुहुन्छ र घटघटी पानी खानुहुन्छ मन बहादुर । यो पानी त अनेक जडिबुटीका जरा पखाल्दै बगिरहेछ भन्नुहुन्छ सहयात्री । अनि दाँत झार्ने चिसोको पर्वाह नगरी अमृतै ठानेर एकअञ्जुली पानी खाइदिएँ मैले पनि ।
चिमालको झाडी तेर्सियो हाम्रो सामु । भीरैभीर तेर्सियौँ हामी पनि । गोरेटो पहिल्याउँदै हिँडेका हामीलाई भीरमा अडिँदै हिँड्न निकै सकस भएको छ ।
समथर चौरमा पुुग्दा गलिसकेछौँ हामी । तर, मेथामालिका नउक्ली मनले कहाँ चैन दिन्थ्यो र ! कछुवाझैँ घस्रेर डाँडाको ढाडमाथि पुुगियो । जैर गाउँ माथिको भीरमा पो पुुगेका रहेछौँ हामी । आफ्नो अवस्थिति थाहा पाउनुमा पनि असीम आनन्द हुँदो रहेछ !
होचा थुम्का पल्तिर निलो आकास देखियो । पसारिएर आकासमै पुगेको छ मेथामालिकाको चुली । मेथामालिका र आसपासका चुलीहरूमा बादल लागिसकेको छैन कि ? रोमाञ्चक दृश्य देख्न पाउने यही लालषाले छिट्छिटो कुदाउन खोज्छ हामीलाई । काछ लागेर काटेको घाउझैँ दुखिरहेछ । कैँडा लागेर पिँडौला फर्केला झैँ भएको छ । तर जसोतसो चुलीतिरै घिसिन मन लागिरहेछ । बल्ल थाहा भो, सुखानुभूति भए शरीर जति थाके पनि क्रियाशील हुँदो रहेछ मान्छे । यो पहाडले जीवन दर्शन पो पढायो मलाई ! सङ्घर्षमा डटिरहन उत्प्रेरित पो ग¥यो मलाई ।
डाँडैभर धुपीको बास्ना छ । चिमालका पोथ्रा पनि कस्ता साहसी– भीर उक्लेर थुम्का जत्तिकै अग्लिएका छन् । गोब्रे सल्लाका त्रिशुलझैँ देखिने सुकेका टुप्पा हिमालभन्दा उँचा लाग्छन् । अग्ला डाँडामाथि ऐजेरु झैँ थुप्रिन थालेका छन् बादलका थुम्का । थुम्काको लस्करमा सामेल भइसकेका छौँ हामी पनि ।
शिखर नजिकै एउटा पानीको कुवा रहेछ । त्यसको जल आचमन गरेर शीरमा चढाउनुभयो मनले । हामीले पनि त्यसै ग¥यौँ । हजार चुलीकी देवी मेथामालिकाको शिखरमै पुग्यौँ हामी । मेथामालिकाको चिटिक्कको मन्दिर बनाइएको रहेछ त्यहाँ । मेथामाई पनि भनिने मेथामालिकालाई नमन ग¥यौँ सबैभन्दा पहिला । संसार हेर्ने आधार दिनेलाई मनले ग¥यो लाख वन्दना !
पूर्वमा चंखेली उभिएको छ सगर्व । पश्चिममा गजधुम्म बसेको छ गर्विलो चुली अदानचुली । महतारा चौर जाने डाँडो र अदानचुलीको उचाइ साँच्चै लोभलाग्दो छ । उत्तरतर्फ खार्पुनाथ र सिमकोटको केही भू–भाग देखिन्छ । खार्पुनाथ वल्तिर देखिन्छ स्यालतडी, राहदेउ र रोडीकोट । घाँटी जोडिए झैँ नजिकै देखिन्छ उनापानी, त्यसमाथिको गुसाँ गाउँ, छेउछाउको मनमोहक चौर र जङ्गल । सिमकोटमाथि पञ्चमुखी हिमाल । दक्षिणतर्फ नजिकै सोरुकोट, जवलधारा र नेरको लेख । सैपालमाथि तेर्सिएको छ एकचौटा बादल ।
नेर गाउँ पछि पत्ता लागेको हो भन्नुहुन्छ स्थानीय । नेरगाउँ निस्कन छिर्ने दुलाबाट छिर्दाको रोमाञ्चक भोगाइ सुनाउनुभएको थियो रेशम । रेशमलाई त्यही दुलो देखाइदिन आग्रह गर्छु म यतिबेला । राहुलबाडा, फोतु, लिब्रु, मिमी, मेल्छाम, मासिधारा आदि धेरै गाउँ चिनाउनुहुन्छ रेशम र स्थानीयहरू । अलि पल्तिर रारा माथिको मुर्माटप । हुम्ला, मुगु र बाजुराका डाँडाका होचा अग्ला थुम्काको अद्वितीय दृश्यले मोहित बनाइरहेछ । ओहो, पहाडका सुन्दर श्रृङ्खलाहरू कसरी हातेमालो गर्दै मधेशतिर ओर्लिरहेछन् ! अनि उसरी नै सगर्व हिमालतिर उक्लिरहेछन् !
अदानचुली, मेथामालिका र चंखेलीमा कुन अग्लो ? हामीबीच विचार विमर्श हुन्छ एकछिन ।
“चंखेली नै अग्लो होला, अलिकति कुहिरोले छोपेको छ चंखेलीको शिखर ।” म बोल्छु निर्धक्क ।
“मेथामालिका ३८०० मिटर उचाइमा रहेछ ।” रेशमले मोबाइल हेर्दै बोल्नुहुन्छ ।
“अदानचुली र मेथामालिकामध्ये कुन अग्लो होला, छुट्याउन कठिन भयो !” अरू सहयात्रीहरू बोल्नुहुन्छ ।
तब मन बहादुरले सुनाउनुहुन्छ एउटा भनाइ– “कालान्तरमा मेथामालिकाले खुकुरी चलाउँदा अदानचुलीलाई लागेर पहिरो खसेछ । त्यसैले अलिकति होचो छ अदानचुली ।”
पश्चिमबाट गएको हुम्ला कर्णाली र उत्तरबाट हानिएको मुगु कर्णाली भेटिएका छन् दोमुखमा । दुर्गम छिचोल्दै एउटै प्रवाहमा समेटिएका छन् यी दिदी बहिनी । र, हातेमालो गर्दै क्षितिजतिर डोरिएका छन् । आहा ! त्यो अपूर्व मिलन त आँखामै टाँस्सिइरह्यो, मनमै वेगिइरह्यो, छातीमै छोइरह्यो ।
कैलाश पर्वतको टुप्पासम्म पुग्छ यो पहाडको जड । कैलाश पर्वतको जड भएकोले जैर भएको हो यो पहाड र यो बस्तीको नाम । केही दिनदेखि सुन्न पाएको यही भनाइ मनले पनि दोह¥याइरहेछ बारम्बार ।
मौका मिलेमा मानसरोवर र कैलाश पर्वत पनि पुुगौँला अवश्य । अहिले भने कैलाश पर्वतको चरण स्पर्श गरेँ मैले । म धन्य भएँ । हेर्न बाँकी पहाडी धरा केही रहेन अब । यो कैलाश छुने उचाइ, यो मुटु छुने हावा र यी मन छुने दृश्य दुनियाँ सजिए छातीमा । हे पहाडी सभ्यताका नायक शिखरहरू हो ! अब मलाई सुरक्षित फर्काइदेउ कर्णालीको तिरैतिर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।