जन्मदा उ अरुको आश्रित थियो । पर निर्भर थियो । आमाको लाम्टो लुछेर संसार नियालेर बस्थ्यो उ । उ सँगै उस्का आमाका बग्रेल्ती सपनाहरु पनि जन्मिएका थिए । सुँगुरको आमालाई लाग्थ्यो कि आफ्ना सन्ततीले प्रगती गरुन् , उन्नती गरुन्, त्यो रछ्यानको बसाँईबाट उन्नती होस् भन्ने सुँगुरको आमाको चाहना पनि थियो ।
सानो छँदा उ निष्फ्रिक्रि थियो । मज्जाले हुँईकिन्थ्यो गाउँघरमा । कहिलेकाँही घरमा खाना नदिएको झोकमा व्यबस्था बिरोधी आन्दोलन गरेर हुँकार निकाल्थ्यो उसले । उसले टोल नै थर्काउँथ्यो । खोरमा बसेको पिडालाई कहिलेकाँही मालिकले खोर बाट निकाल्दा गाउँ गाउँ उफ्रिएर हिँड्थ्यो । बेला बेलामा भूमिगत भै दिएर मालिकलाई निकै दुख दिन्थ्यो ।
समय बित्दै गयो । सुँगुर घोर्ले हुँदै गयो । जन्मदा मसिनो र पातालो सुँगुर मोटाएर अथुलाउन थाल्यो । बेला बेलामा टाङ उत्तानो पारेर अपान वायु निकाल्ने र घुर्नमा पनि माहिर थियो त्यो सुँगुर । एक दिनको कुरा हो, कसो कसो त्यो खोरको चुकुल उसले फुस्काउन सफल भएछ । दशैंको बेला परेकोले गाउँघर सफा भएकोले खानेकुरा खोज्दै खोज्दै बिभिन्न घरहरु डुल्दै हिँड्यो । थुतुनोले हुँडल्दै जाँदा उ एक घरमा पुग्यो जहाँ रंग लगाउनको लागि ईनामेल ठूलो ड्रममा ठिक्क पारिएको थियो । उ त्यहाँ जाँदा ईनामेल लगाउने पेन्टर घर भित्र थिए । सुँगुरले उफ्रिदै जाँदा त्यही ठूलो ड्रमको निलो ईनामेल खर्लप्पै परेर पल्टियो अनि सबै ईनामेलले उसको शरिर छताछुल्ल भयो । अब सुँगुरलाई डर लाग्यो । उ डरले पारि तिरको पाखामा गएर घाममा आफ्नो शरिर सुकाउन थाल्यो ।
जब बेलुका भयो । उसको मालिकले उसलाई खोरमा नभेटे पछि खोजी गर्न थाल्यो । कसै गरि पनि उसको कसैले सुईको पाएन । निलो ईनामेलले अनौठो देखिएको त्यो सुँगुरलाई पनि आफू अलौकिक भएको भान भयो । उ बिस्तारै गाउँमा हिँड्न के लागेको थियो , केही केटाहरुले त्यो सुँगुरलाई अनौठो जनावर देखेर समातिहाले । केटाहरु नेताको झोले भएकोले त्यो सुँगुरलाई नेताकोमा लगे । नेताको घरको बैठक कोठामा त्यो सुँगुरलाई राखेर यो के जनावर हो भन्ने कुरामा लामो बहस भयो । सुँगुर भए त किन निलो हुन्थ्यो भन्ने कुरामा पनि बहस भयो । उनीहरुले त्यो निलो सुँगुरलाई अनौठो प्राणी ठानेर बिदेशमा पठाउने र ठूलै रकम कमाउने योजना बनाए । नेताको गाडीमा हालेर राजधानी पठाए ।
त्यो सुँगुर ल्याएको सिँहदरबारमा पनि हल्ला पुगेपछि ति नेताले संसदभवनमा ईनामेलले लत्पतिएको अनौठो प्राणीलाई लिएर जाने सौभाग्य मिल्यो । मानिसको लसपसमा बसेको भएर त्यो सुँगुरले सबै भाषा बुझ्ने भएको थियो । जब उसलाई संसद भवनमा पु¥याईयो, उसलाई सबैले नियालेर हेर । उसले पनि संसद भवनमा नेताहरुको क्रियाकलाप हेर्न थाल्यो । उसलाई निरन्तर संसद भवन छिराईयो । उसले देख्यो — सुँगुरहरु जस्तै नेताहरु पनि झगडा गर्ने रहेछन् । समिति समितिको झुण्ड बनाएर उपलब्धिहिन हसुराई पनि उसलाई सुँगुरको जस्तै कुरामा समानता लाग्यो । बेला बेलामा माईकमा च्याँठ्ठिएर बोलेका नेता र सुँगुरमा उसले समानता देख्यो । बिभिन्न बिधेयक बनाएर देशलाई बर्बाद बनाउने नेता र आफैै बस्ने ठाउँमा खाने पनि हग्ने पनि सुँगुरमा उसले केही भिन्नता देखेन, उसलाई सबै उस्तै लाग्यो । पाताला पाताला नेताहरु पनि सिँहदरबारको खोरमा पुगेपछि बिस्तारै मोटाएको र सुँगुर जस्तै भएको देख्यो मात्र फरक सुँगुरमा पुच्छर थियो भने ति नेतामा पुच्छर नभए पनि बिदेशीको पुच्छर भने अवस्य नै थिए ।
सुँगुरको लागि संसद भवनमा यौटा सानो खोर बनाईयो । सुँगुरले नेताहरुको दैनिकी नियाल्न थाल्यो । उसलाई के गर्ने भन्ने बारेमा अधिकार कर्मीहरुले पनि निकै आवाज उठाए । सांसदहरुको ठूलै बहस पनि भयो तर निलो सुँगुर कहिल्यै नदेखेकोले त्यो सुँगुर नै हो भन्ने कसैले ठम्याउनै सकेका थिएनन् । उसले आफ्नो बिगत नियाल्यो । बेलामा नै रंग उसको जिउमा नपोखिएको भए उसले यत्तिको सुख नपाउने रहेछ । अनि ति सांसदलाई नियाल्यो र सोच्यो — आखिर नेताहरुपनि त जनताले थाहा नपाउने गरि जीवनको रंग बदल्ने रहेछन् , जब गाउँबाट सिँहदरबार पस्यो कि त बिदेशी रंगको आवरणले उनीहरुको सोच, जीवनशैली सबै बदलिने रहेछ । अन्त्यमा सुँगुरले नेतामा एक रोग लागेको पत्ता लगायो जुन रोग थियो — बिर्सने बानी र बर्बराउने बानी ।
आज पनि त्यो सँुगुर संसद भवनको नजिकै रहेको छ । उसले संसद भवनमा गएर रंग बदल्ने नेताहरुलाई हेरिरहेको छ,देशलाई फोहर बनाउने नेतालाई आफ्नो मोर्चामा कसरी ल्याउने भनेर सोचिरहेको छ भने नेताहरु संसद भवन भित्र बिभिन्न समिति बनाएर पनि त्यो सुँगुरको बिस्तृत अनुसन्धान गर्न सकेका छैन । तर आज सुँगुर मज्जाले चिच्यायो तर सिँहदरबार यस्तो ठाउँ रहेछ जहाँ चिच्याएर पनि चिच्याएका आवाजको गाम्भिर्यता कसैले भेउ पाउने रहेनछ । अनि सुँगुर अन्तिम निष्कर्षमा आयो — नेताहरु पनि हामीहरु जस्तै सुँगुर हुने रहेछन् । तारेमाम् !