प्रस्तावना-
शिवकुमार राई (२६.०४.१९१९-२२.०७.१९९५) नेपाली साहित्य जगतका एकजना चर्चित व्यक्तित्व हुन्। भारतेली नेपाली साहित्य र समाजमा शिवकुमार राई कथाकार, उपन्यासकार, नाटक-एकाङ्कीकार, कवि, निबन्धकार तथा सम्पादकको रूपमा सदा परिचित र प्रतिष्ठित छन्। पाँच दशक लामो साहित्य लेखनयात्रामा राईले जम्माजम्मी दुइ दर्जनको हाराहारीमा साना-ठूला, विविध स्वरूप र बान्कीका निबन्धपरक लेखहरू लेखी विभिन्न साहित्यिक पत्र-पत्रिकामा प्रकाशित गराएको साथै आफू कार्यरत् आकाशवाणी खरसाङ केन्द्रबाटसमेत विभिन्न अवसरमा प्रसारण गराएको जानकारी पाइन्छ। निबन्धकार राईका निबन्धात्मक लेखहरूको स्वरूप-संरचना, शिल्प-शैली, स्वर र रागहरू एकै प्रकृति र प्रवृत्तिका नभएर ती निबन्धहरूले विविधता अँगालेको पाइन्छ। प्रस्तुत सङ्गोष्ठी पत्रमा निबन्धकार शिवकुमार राईका हालसम्म प्रकाशित विविध विषयक लेख-निबन्धहरूमा अन्तर्निहित विषयवस्तुगत स्वरूप र संरचना तथा शिल्प-योजनाबारे सङ्क्षेपमा अध्ययन-अनुशीलन गरिनेछ।
शिवकुमार राईले समालोचना विधा छोडेर अन्य प्रायः सबैजसो विधामा आफ्नो कलम चलाएको भए पनि आफूले कलम चलाएको विविध विधाहरूमध्ये कथा विधामा नै उनलाई सर्वाधिक प्रतिष्ठा प्राप्त भएको देखिन्छ। उनको साहित्यमा प्रवेश कविता र कथा लेखनबाट भए पनि साहित्यलेखनको प्रथमार्द्धमै कवितात्मक भाव र कथात्मक शैलीमा अनन्तसित, हृदयको जाँच, सेतो भालूको पित्त प्रभृति निबन्धहरू लेखी त्यसताकका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशनसमेत गराएको देखिन्छ। विषय वा भावप्रधानताका आधारमा यी निबन्धहरू वस्तुपरक प्रकृतिका छन् भने लेखनशिल्प-शैलीका आधारमा कथात्मक स्वरूपका छन्। तथापि यी निबन्धहरूमा जातीय उन्नयन र जातीय अन्तर्चेतनाका भाव अभिव्यक्त भएको बुझिन्छ। निबन्धकार राईले पचासको दशकदेखिनै विविध विषयवस्तुलाई आत्मसात् गर्दै विभिन्न प्रकारका निबन्धहरू नेपाली साहित्यलाई प्रदान गर्दै आएका छन्। भाषा-साहित्यका क्षेत्रमा आफ्ना प्रगतिशील दृष्टिकोण प्रस्तुत गर्नु नै निबन्धकार राईको निबन्धलेखनगत मूलभूत प्रवृत्ति र विशेषता रहेको देखिन्छ।
शिवकुमार राईका हालसम्म उपलब्ध विविध विषयक निबन्धात्मक लेखहरू-
निबन्धकार राईले निजात्मक र परात्मक दुवै प्रकारले कथ्य विषयवस्तुहरू चयन गरी आफ्ना निबन्धहरूमा नवीन दृष्टिकोण प्रदान गर्न खोजेका छन्। उनका निबन्धहरूमा कथ्यविषयलाई सुहाउँदो सरल, सहज र सरस भाषा-शैलीको प्रयोग गरिएका हुनाले ती निबन्धहरू आकर्षक, पठनीय र ज्ञानवर्द्धक किसिमका लाग्छन्। छोटा-छरिता वाक्यविन्यास, सर्वजनिन र स्वभाविक विषयवस्तुको चयनले उनका प्रायः सबैजसो निबन्धहरू रोचक हुन पुगेका छन्। वस्तुपरक भनिएका अर्थात् परात्मक वर्गमा वर्गीकृत गरिएका निबन्धहरूमा पनि कहीँ न कहीँ, कतै न कतै आत्मपरकताको प्रभाव भने परेकै देखिन्छ। यसर्थ वस्तुपरक भनेर वर्गीकृत गरिएका राईका निबन्धहरू दुई-तीनवटा अपवाद छोडेर शतप्रतिशत नै वस्तुपरक प्रकृतिका बन्न सकेका छैनन्। निबन्धकार राईका फुटकर रूपमा विविध पत्र-पत्रिकामा प्रकाशित निबन्धात्मक रचनाहरू यस प्रकार छन्-
अनन्तसित- (क, भारती, वर्ष-१,अङ्क-१,सन् १९४९, दार्जीलिङ, सम्पा. पारसमणि प्रधान) र (ख) प्रभात, वर्ष-१, अङ्क-१, सितम्बर १९५०, कलकत्ता, सम्पा. लैनसिंह वाङदेल)
अन्तिम महायात्रा-( गोर्खा, वर्ष-४, किरण १५-१६, शनिबार, २४ अप्रेल १९४८, सम्पा. टीकाराम शर्मा)
वापूजीसित भेट-(गोर्खा, ७ फरवरी, सन् १९४९, अखिल भारतीय गोर्खालीग, कालेबुङ, सम्पा. टीकाराम शर्मा)
दशैँको सम्झनामा- (गोर्खा, वर्ष-५, किरण-३८-३९, ४ सितम्बर १९४९, शनिबार, अखिल भारतीय गोर्खालीग, कालेबुङ, सम्पा. टीकाराम शर्मा)
हृदयको जाँच- (क, गोर्खा-५, किरण-३८-३९, २४ सितम्बर, १९५०, शनिबार, अखिल भारतीय गोर्खालीग, कालेबुङ, सम्पा. टीकाराम शर्मा, (ख.) हिमालय दर्पण, वर्ष-३, अङ्क-२, २५ जुलाई २००४, दर्पण पब्लिकेशन, सिलगढी)
सेतो भालुको पित्त- (गोर्खा-६, किरण-८, २५ फरवरी, १९५०, शनिबार, अखिल भारतीय गोर्खालीग, कालेबुङ, सम्पा. टीकाराम शर्मा)
नेपाली माध्यमको बारेमा- (भारती, वर्ष-५, अङ्क-४, सन् १९५३, सम्पा. पारसमणि प्रधान)
अनुकरण शब्द-(दियालो, वर्ष-२, हाँगो-५, जनवरी-मार्च सन् १९६१, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ)
केही नेपाली शब्द, वाक्यांश र वाग्धाराको प्रयोग विचित्रता-( दियालो, वर्ष-१०, हाँगो-२७, सितम्बर १९६९, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ)
महाकवि लक्ष्मीप्रसाद देवकोटाः एक संस्मरण- (दियालो, वर्ष-१०, हाँगो-२८, सन् १९६९, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ)
भनी बिसाउने थेगो-(क, दियालो, वर्ष-११, हाँगो-३२, जुलाई-१९७२, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ, ख. अकादमी निबन्धवाली, अगस्त, सन् १९७६, नेपाली अकादमी, उत्तर बङ्गाल विश्वविद्यालय, दार्जीलिङ, सम्पा. लक्खीदेवी सुन्दास)
रेडियो नाट्य-शिल्प- (दियालो, वर्ष-१३, हाँगो-६३, जनवरी-फरवरी, सन् १९७३, नेपाली साहित्य सम्मेलन, दार्जीलिङ)
नेपाली भाषाः एक निरूपण-(पश्चिम बङ्गाल-नेपाली भाषा-विशेषाङ्क, वर्ष-२, अङ्क-३०, दिसम्बर, सन् १९७७, सूचना अनि संस्कृति विभाग, पश्चिम बङ्गाल सरकार)
नेपाली लोक साहित्यको एक अङ्गः अड्को- (नेपाली अकादमी जर्नल, वर्ष-१, अङ्क-१, जनवरी १९७४, नेपाली अकादमी, उत्तर बङ्गाल विश्वविद्यालय, दार्जीलिङ, सम्पा. देवाशिष राय)
सत्य वा मनगढ़न्त कहानीः सोक्पा-(हाम्रो देवराली, वर्ष-६, अङ्क-६-७, जनवरी-अगस्त, सन् १९७९, सम्पा. बुद्ध सङ्गम)
मैले देखेको खरसाङ शहरः पचास वर्षअघिको- (खरसाङ नगरपालिका शताब्दी सोभिनियर, सन् १९७९)
यो आकाशवाणी खरसाङ हो- (आकाशवाणी खरसाङको रजत जयन्ती स्मारिका, सन् १९८७)
जब बालासनको एक सानो धारा ब्रह्मपुत्रसित मिल्न पुगेथ्यो- ( पदमसिंह सुब्बा स्मृतिग्रन्थ-मा तेजपुर असमबाट प्रकाशित, सम्पा. दुर्गाप्रसाद घिमिरे, सन् १९८८)
पुनरोत्थान- (माध्यम स्मारिका- गोर्खा जन पुस्ताकालयको हीरक जयन्ती अङ्क, सन् १९८९, गोर्खा जन पुस्ताकालय, खरसाङ)
आसामवासी नेपाली-चिन्हारीको खोजीमा-(असम गोर्खा सम्मेलन रजत जयन्ती स्मृतिग्रन्थ, सन् १९९२)
भवानी भिक्षु- एक संस्मरण-(उन्नयन-भवानी भिक्षु विशेषाङ्क, अङ्क-१०, सन् १९९२, सम्मा. अच्युतरमण अधिकारी)
श्री शारदा संगीतालयका अस्ताएका संस्थापकहरूप्रति श्रद्धा सुमन-( श्री शारदा संगीतालय स्मारिका-स्वर्णजयन्ती अङ्क, सन् १९९६,
गुरुजीसित मेरो सम्बन्ध-(चन्द्रिका-डा. पारसमणि प्रधान विशेषाङ्क, अङ्क-५, सन् १९९८, गोर्खा जन पुस्ताकालय, खरसाङ, सम्पा. लक्ष्मण श्रीमल )
ऐतिहासिक वाक्साद्वार किल्लाको थाप्लोमा साहित्यिक-गोष्ठीः एक संस्मरण-(भानु-डुवर्स विशेषाङ्क, वर्ष-२१, किरण-३३, वैशाख, वि. सं. २०४१, सम्पा.भवानी घिमिरे)
यसका अतिरिक्त राईका अनन्तसित, अन्तिम महायात्रा, दशैँको सम्झनामा, अध्यारोमा हिर्काएको, प्राथमिक संगठन कसरी गरियो, भारतका प्रधानमन्त्री गोर्खा र दार्जिलिङ शब्द, भारतको एकता र अखण्डता खण्डित हुनेछैन, सङ्गिनीसित शीर्षक निबन्धपरक विविध विषयक लेख-रचनाहरूलाई परिशिष्ट खण्डमा समेट्न सकिन्छ। वर्तमान समयमा लेखिँदै आएको निबन्धको स्वरूप, संरचना र शिल्प-शैलीमा पनि आमूल परिवर्त्तन आइ सकेको देखिन्छ। निबन्धलेखनमा नयाँ नयाँ स्वरूप र शैलीका निबन्धहरू देखिएका छन्। आज आएर निबन्धमा अन्तर्विषयकता, अन्तर्विधात्मकता, विधाभञ्जन, विधामिश्रणको प्रशस्त प्रयोग भएको भेटिन्छ।
शिवकुमार राईका निबन्धहरू तथा वर्गीकरणका आधारहरू-
शिवकुमार राईको साहित्यिक, कस्तो मानिस, छाता, म तिनीदेखि बाँच्न चाहन्छु- मेरा छिमेकीसित, प्रेमलालको बिहे, पञ्चामृत शीर्षक कथाहरूमा पनि कतै सुरुतिर त कतै भने मध्यतिर पनि निबन्धात्मक गुण र शैलीको प्रयोग भएको भेटिन्छ। वास्तवमा निबन्ध आफै पनि एउटा अन्तर्विधात्मक विधा भएकाले यसमा कुनै पनि विधाको मिश्रण सहजसाथ गर्न सकिन्छ। निबन्धमा वस्तुपरक र आत्मपरक अभिव्यक्तिको विशेष अर्थ र महत्त्व रहन्छ। कुनै पनि निबन्धकारले आफ्नो निबन्धमा विषयवस्तु प्रस्तुत गर्ने अभिव्यक्तिगत आधार आत्मनिष्ठ र वस्तुनिष्ठ नै दुई प्रमुख आधारको रूपमा रहने गर्दछ। उनका निबन्धहरूलाई भावको प्रधानता र प्रयुक्त विषयवस्तुको आधारमा निम्न दुई वर्गमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ-
१. आत्मपरक (निजात्मक) प्रकृतिका निबन्धहरू-
(क) भावात्मक र विचारात्मक प्रकृतिका निबन्धहरू-
(ख) संस्मरणमूलक शैलीका निबन्धहरू-
२. वस्तुपरक (परात्मक) प्रकृतिका निबन्धहरू-
(क) नेपाली भाषा-साहित्य विषयक निबन्धहरू-
(ख) नेपाली समाज-सङ्गठन विषयक निबन्धहरू-
आत्मपरक प्रकृति र प्रवृत्तिअन्तर्गत उनको अनन्तसित, हृदयको जाँच, सेतो भालुको पित्त, सत्य वा मनगढन्त कहानी- सोक्पा, वापुजीको स्मृतिमा, अन्तिम महायात्रा, दशैँको सम्झनामा, अँध्यारोमा हिर्काएको प्रभृति शीर्षक निबन्धहरूलाई भावात्मक र विचारात्मक प्रकृतिका निबन्धका रूपमा समेट्न सकिन्छ भने निबन्धकार राईका संस्मरणमूलक शैलीका निबन्धहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, गुरूजीसित मेरो सम्बन्ध, यो आकाशवाणी खरसाङ हो, मैले देखेको खरसाङ शहर-पचास वर्षअघिको, ऐतिहासिक वाक्साद्वार किल्लाको थाप्लोमा साहित्यिक-गोष्ठीः एक संस्मरण, भवानी भिक्षुः एक संस्मरण शीर्षक निबन्धहरूलाई लिन सकिन्छ।
वस्तुपरक प्रकृति र प्रवृत्तिअन्तर्गत नेपाली भाषा र साहित्यलाई केन्द्रगरी लेखिएका उनका वर्णनात्मक र विवरणात्मक शैलीका निबन्धहरूमा अनुकरण शब्द, नेपाली भाषाः एक निरूपण, नेपाली माध्यमको बारेमा, केही नेपाली शब्द, वाक्यांश र वाग्धाराको प्रयोग विचित्रता, भनी विसाउने थेगो प्रभृति शीर्षक निबन्धहरूलाई समेट्न सकिन्छ। यसै क्रममा आसामवासी नेपाली –चिन्हारीको खोजीमा, जब बालासनको एक सानो धारा ब्रह्मपुत्रसित मिल्न पुगेथ्यो, पुनरोत्थान, रेडियो नाट्य-शिल्प, प्राथमिक सङ्गठन कसरी गरियो, श्री शारदा सङ्गीतालयका अस्ताएका संस्थापकहरूप्रति श्रद्धा सुमन शीर्षक निबन्धहरूले नेपाली समाज र सामाजिक संस्था-सङ्गठनहरूसितको संलग्नताका साथसाथै सामाजिक, समाजभाषिक, लोकसाहित्यपरक विषयलाई समेट्न खोजेको देखिन्छ। यस कोटीका निबन्धहरूमा शिवकुमार राईले नेपाली भाषाको मौलिक भाषिक स्वरूप-संरचना तथा भाषिक विशेषताबारे प्रकाश पारेका छन्। भाषाको समुचित प्रयोग र संरक्षणद्वारा मात्र हाम्रो नेपाली भाषा, साहित्य र समाजको उन्नति सम्भव हुन्छ भन्ने निबन्धकार राईको मत रहेको पाइन्छ।
शिवकुमार राईका केही निबन्धहरूको वस्तुतात्त्विक अनुशीलन-
वास्तवमा निबन्ध आत्मप्रकाशनको सहज माध्यम भएकैले यसमा अनुभूतिको रोमाञ्चक प्रस्तुति पाइन्छ। साँच्चै भन्ने हो भने निबन्ध आत्मतत्त्वप्रधान निर्बन्ध रचना हो। निबन्धको सर्वप्रमुख विशेषता भनेकै आफूले भन्न चाहेको कुरामा पत्यार पार्न खोज्ने आग्रह अर्थात् अनुनय हो। निबन्ध लेखकलाई आफ्नो कुरा, विचार वा अनुभूतिबाट अन्य मानिस छिटो प्रभावित बनुन् भन्ने उद्धेश्य र चाहना रहेको हुन्छ।
अनन्तसित- दार्शनिक भावभङ्गिमा लेखिएको छ। अनन्तलाई निबन्धकार राईले ईश्वरको प्रतीकको रूपमा लिएका छन्। संसारमा जन्म लिनु र मर्नु सृष्टिकर्ताको हातमा छ, यसर्थ जन्मनु-मर्नुको सोझो सम्बन्ध विश्वस्रष्टा ब्रह्म र विश्वमालीको हातमा रहेको हुन्छ। ईश्वरले मानिसलाई कहिले खोलाको किनारमा, कहिले समुन्द्रको तरङ्गमा, कोही बेला भने तोरी फूलेको देशमा समेत निम्तो दिँदछन्। निबन्धमा ईश्वरका दूतहरू उनलाई लिन आएको र अनन्तसित मिल्न गइरहेको बोध गरेका छन्। अनन्तसित-लाई कतिपय अध्येताहरूले कथा र गद्यकविता भनी उल्लेख गरेका छन्।
अनुकरण शब्द- निबन्धमा अनुकरण शब्दको व्यावहारिक पक्ष र प्रयोगको औचित्य र उपयोगितामाथि रोचक प्रसङ्ग उल्लेख गर्दै नेपालीमा अनुकरणात्मक शब्दहरूलाई लिएर एउटा गहकिलो निबन्ध लेखिएको छ। अनुकरण शब्दको बनोट-बुनोट छोटो-छरितो हुने हुनाले यसमा हाम्रो जातीय गुण समेत लुकेको हुन्छ भन्ने निबन्धकारको धारणा रहेको पाइन्छ। नेपाली भाषाका गहना मानिने अनुकरणात्मक शब्दहरू सङ्केतात्मक, ध्वन्यात्मक, चित्रात्मक अनि अभिनयात्मक हुने हुनाले यसमा अन्य संयोजक शब्दहरूको प्रयोग नगरीकनै पनि सफल कथा लेख्न सकिने बताउँदै यस निबन्धअन्तर्गत एउटा जालहारी बिहान उठेदेखि साँझ अर्थात् मृत्युको मुखमा पुगेको स्थितिसम्मको अवस्थालाई अनुकरणात्मक शब्दहरूको प्रयोगद्वारा कथा सिर्जना गरेका छन्। अनुकरण शब्दको प्रयोगले लेखन-शिल्प र शैली खँदिलो र गहकिलो हुन्छ साथै भाषालाई यसले तिख्खर, परिमार्जित र पुष्ट बनाउँछ भन्ने विचार प्रस्तुत निबन्धमा निबन्धकार राईले व्यक्त गरेका छन्।
यो आकाशवाणी खरसाङ हो- देशमा रेडियो प्रसारण कार्य थालिएको ३६ वर्षपछि मात्र आकाशवाणी खरसाङ केन्द्रको प्रसारण सेवा २ जून १९६२ सालको बेलुकी ४ बजेदेखि शुभारम्भ भएको तर त्यसताक केन्द्र निर्देशक एस सी. बासुका साथ आठ-दश जना मात्र प्रोग्राम एकज्युकिटिभ र प्रड्युसरहरू नियुक्त भएको अनि त्यी मध्ये शिवकुमार राई एक्लो नेपाली भाषी प्रोग्राम अफिसर नियुक्त भएको हुनाले उनीमाथि कामको भार बढेको कुरो प्रस्तुत निबन्धमा निबन्धकार राईले उल्लेख गरेका छन्। त्यसताकका प्रोग्राम अफिसर र अन्य क्याजुएल रेडियो आर्टिस्टहरूमा समर्पणको भाव भएकाले सबै आ-आफ्ना क्षेत्रमा उत्तरदायी प्रकृतिका थिए र सबैमा सहभागिता र सहयोगिताको भाव रहेकोले गर्दा नै सङ्कटकालिन समयमा शुभारम्भ भएको आकाशवाणी केन्द्र भए पनि स्थानीय कलाकारहरूलाई प्रोत्साहन र प्रेरणा दिने मूल थलो आकाशवाणी खरसाङ बन्यो। केन्द्रको उद्घाटन भएको २५ वर्षपछि रजतजयन्तीको शुभअवसरमा लेखिएको यस संस्मरणात्मक निबन्धमा देशको तत्त्कालिन सङ्कटकालिन स्थिति, देशमा आकाशवाणी केन्द्रको स्थापनाको जानकारीसहित आकाशवाणी खरसाङ केन्द्रको स्थापनाको उद्धेश्य, कार्यप्रणाली र विगत २५ वर्षको इतिहासलाई पनि संक्षेपमा उल्लेख गरिएको भेटिन्छ।
हृदयको जाँच- एकता र सामाजिक सद्भावनालाई आत्मसात गरी लेखिएको प्रस्तुत वैचारिक निबन्धमा निबन्धकार राईले पर्वतवासीहरू अति नै सिधासाधा, इमान्दार र मिलनसार प्रकृतिका हुन्छन् तथा अघिदेखि यस भूभागमा बस्ने नेपाली, लाप्चे, भोटेहरू नङ-मासुसरह मिलेर बसेका हुन्छन्, बुद्धको जन्म-उत्सव यहाँ एउटा जातीय उत्सव भएको कुरो यहाँ उल्लेख गरिएको छ। यस जातीय उत्सवमा हजारौं नेपाली-लाप्चे-भोटे नर-नारीहरू शिरमा पुस्तक राखी बढ़ो प्रेम र भक्तिका साथ शोभायात्रामा भाग लिएका हुन्छन् अनि गुम्बामा गएर सभक्ति बत्ती जलाउँछन् । यस निबन्धमा हामीले मनमा सक्रीर्णता नअपनाएर फलाना जात र धर्मको, ढिस्कना त्यो समाज र संस्कृतिको भनी नछुट्याइ सबैलाई अँट्याएर लक्ष्यमा अघि बढ्नुपर्छ र यदि कसैले छुट्याउने कोशिश गर्छ भने उ पर्वतवासीको महाशत्रु ठहरिने छ साथै हाम्रो हृदय पर्वतको हृदय भएको हुनाले माया-ममता दिएर मायाको न्यानोपनमा सबै अटाँउन सक्नुपर्छ भन्ने भित्री आशय निबन्धकार राईको रहेको देखिन्छ। प्रस्तुत निबन्ध आत्मपरक प्रवृत्तिमा लेखिएको छ अनि यसमा संस्मरणात्मक र वर्णनात्मक शैलीको प्रयोग गरिएको छ।
आसामवासी नेपाली चिन्हारीको खोजीमा- यस निबन्धात्मक लेखमा आफू लगायत त्यसताकका गोर्खालिगका नेता अरिबहादुर गुरूङ असम पूर्वाञ्चल राज्यमा बसोबासो गर्ने गोर्खाहरूलाई सङ्गठित गर्न अनि अखिल भारतीय गोर्खालिगको शाखा खोल्नका निम्ति गुवाहाटी, तेजपुर र शिलङसम्म पुगेर शाखा गठन गर्न सफल बनेको संस्मरण उल्लेख गर्दै असम गोर्खा सम्मेलन पच्चीस वर्ष पुगेको अवसरमा असम गोर्खा सम्मेलनको अधिवेशनमा वार्ताको रूपमा प्रस्तुत गरिएको संस्मरणात्मक लेख हो। यस निबन्धपरक लेखमा राईले असम भूमिमा गोर्खा जाति शिक्षाको अभावका कारण आर्थिक, राजनैतिक, सामाजिक-सांस्कृतिक, वैचारिक तथा बौद्धिक सबै क्षेत्रमा पछौटे रहेको कारण अभागोलीको सङ्गठन विस्तार गरेर यस दिशातिर पनि केही काम गर्न चाहेको र काम गरेको कुरो समेत संक्षेपमा उल्लेख गरिएको छ। प्रस्तुत निबन्ध आत्मपरक शैलीमा लेखिएको वर्णनात्मक प्रकृतिको निबन्ध हो। यसको प्रस्तुतीकरणको ढाँचा हेर्दा आगमनात्मक र निगमनात्मक दुवै किसिमको शैलीलाई प्रयोगमा ल्याइएको छ।
सेतो भालुको पित्त- यस निबन्धमा तत्त्कालिन चिनका मार्शल च्याङ्गकाइसेकको अधोगति र हामोनिसचिनको विजयको घटनाप्रसङ्गलाई कथ्य विषयवस्तुको रूपमा अघि सारिएको छ। यस घटनाप्रसङ्गलाई निबन्धकारले दोस्रो विश्वयुद्धपछि विश्वलाई ठूलो धक्का दिन सक्ने घटनाको रूपमा स्विकार्न सकिने बताएका छन्।
दशैँको सम्झनामा- लघु आयाममा रचिएको प्रस्तुत निबन्धको शीर्षक दशैँको सम्झनामा भन्ने राखिएको भए पनि यस निबन्धमा नेपाली जातिको महान चाढ़ दशैँलाई नै विस्तृत रूपमा चर्चा नगरी प्रतीकात्मक अर्थमा उभ्याएका छन्। यस निबन्धको भाषा शैली-शिल्प अनन्तसित मिलेको भेटिन्छ। अतः प्रस्तुत निबन्धको भावभङ्गिमा दार्शनिक किसिमको रहेको देखिन्छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा-एक संस्मरण- शीर्षक निबन्ध संस्मरणात्मक शैलीमा लेखिएको आत्मपरक निबन्ध हो। यसमा राईले आफू दार्जिलिङ सरकारी विद्यालयको दशम् श्रेणीमा आफू पढ़्दाको संस्मरण गर्दै कविताका पुस्तकहरू नपाइने भए पनि त्यसताकका अति आदरणीय गुरूजी पण्डित धरणीधर शर्मा कोइरालाले आफ्ना नैवेद्यका कविताहरू लय हाली हाली वाचन गर्ने गरेको अनि छात्रावस्थाका शिवकुमार राईहरू भने मन्त्र मुग्ध बनेर सुन्ने गरेको र यसै क्रममा एकदिन कवि धरणीधर गुरूले महाकवि देवकोटा रचित गाइन तिनले घँसिया गीत शीर्षक कविता अत्यन्त सुमधुर आवाजमा वाचन गरेको उल्लेख गरेका छन्। त्यसबेला कवि पण्डित धरणीधरबाट सुनेको कविताका रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूसित धेरै वर्षपछि मात्र अर्थात् सन् १९४६ सालतिर काठमाण्डौंको सरकारी अतिथिशाला त्रिपुरेश्वरमा सौहार्द्धपूर्ण भेटघाट भएको र आफूहरू प्रवासी नेपालीहरूको शुभेच्छा साथमा लिई गोर्खालीगको एक शिष्टमण्डलको प्रतिनिधि सदस्यको रूपमा आफू उपस्थित रहेको कुरो यस संस्मरणमा संक्षेपमा भए पनि उल्लेख गरेका छन्।
केही नेपाली शब्द, वाक्यांश र वाग्धाराको प्रयोग विचित्रता- निबन्धमा निबन्धकार शिवकुमार राईले नेपाली वाक्यांश, लोकोक्ति तथा वाग्धाराको प्रयोग साधारण किसिमले मात्र नभएर साङ्केतिक, भिन्नार्थक र विपरीतार्थक किसिमको हुन सक्ने विषयको चर्चा गर्दै यसको औचित्य र विशेषताहरूबारे आफ्नो अवधारणा प्रष्ट पारेका छन्। नेपाली भाषाको शब्द भण्डारमा अमूल्य निधि बनिसकेका यस किसिमको वाग्धारा, वाक्यांश, उखान-टुक्का र लोकोक्तिले नेपाली भाषाको आफ्नोपन, जिउँदोपन र बेग्लै किसिमको विशिष्टता बचाँई राख्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने धारणा प्रस्तुत निबन्धमा व्यक्त गरेका छन्।
भनी विसाउने थेगो- निबन्धमा निबन्धकार राईले नेपाली समाजमा चलन-चल्तीमा आएको थेगो शब्दलाई लिएर रोचक ढङ्गमा दोहोरिरहने बेकामे, बेअर्थको शब्द विशेष हो। निबन्धकार राईको शब्दमै भन्नु हो भने- यसको कुनै अर्थ छैन, सार छैन, वाक्यको माझमाझमा यो बिसाउनी मात्र हो। कुरा गर्दा गर्दै विचारको श्रृङ्खला टुट्दा हुँदी एकछिन अडिने ठाउँ मात्र हो, यसको न कुनै अर्थ छ न त कुनै कुनै उपयोगिता नै। आज प्रायः सबैजसो मानिसहरू कुनै न कुनै थेगोको शिकार भएको देखिन्छ। थेगोको प्रयोगलाई हेरेर उसको पेशा वा वर्ग अनुमान लगाउन सकिन्छ भन्ने धारणा प्रकट गर्दै थेगोलाई प्रयोगगत वर्गीकरण गर्न सकिने मत व्यक्त गरेका छन् ।
रेडियो नाट्य-शिल्प- निबन्धकार शिवकुमार राई आफू आकाशवाणी खरसाङ केन्द्रमा वीस वर्षजति कार्यरत् छँदाको कार्यावधिमा रेडियो नाटक-लेखन शिल्पपक्षलाई केन्द्र गरी प्रस्तुत निबन्ध लेखिएको छ। यस निबन्धको स्वरूप संरचना र विषयवस्तुको संयोजन अवलोकन गर्दा रेडियो नाटक लेख्नेहरूका निम्ति यो एउटा सफल र सबल निर्देशिका हो भन्न सकिन्छ। यस निबन्धले रेडियो नाट्य लेखनशिल्प र शैलीबारे धेरै कुराको जानकारी गराएको छ।
नेपाली साहित्यको एक अङ्गः अड्को- शीर्षक निबन्धमा नेपाली लोक साहित्यको विशाल भण्डारमा गाउँ खाने कथा, बिहे बटुलोमा गाइने सिलोक पनि एक किसिमको अड्को नै हो। नेपाली साहित्य र समाजमा यसको आफ्नै किसिमको स्थान र मूल्य रहेको देखिन्छ। गाउँ खाने कथामा कथा हाल्दा सुन्ने मान्छेले अर्थ लाउन नसक्दा वा उत्तर दिन नसक्दा अथवा अझ यसो भनौ अड्कोको गाँठो खोल्न नसक्दा गाउँ लिने र दिने चलन हुनाले यस किसिमको अड्कको नाम गाउँ खाने कथा भनेर नाम रहन गएको नेपाली लोक साहित्यको प्रसङ्गलाई रोचक ढङ्गमा उदाहरणसहित चर्चा गरेका छन्। यस निबन्धमा निबन्धकार राईले नेपाली जनमानसमा भिजेको प्रसिद्ध गाउँ खाने कथा र बिहे-बटुलोमा गाइने सिलोकका विश्लेषण समेत दृष्टान्त स्वरूप प्रस्तुत गरेका छन्।
नेपाली भाषाः एक निरूपण- शीर्षक निबन्ध निबन्धकार शिवकुमार राईका नेपाली भाषा-साहित्य विषयक उत्कृष्ट निबन्धहरूमध्ये एउटा हो। नेपाली भाषाका विविध व्यावहारिक पक्षबारे सोदाहरण व्याख्या-विश्लेषण गर्दै त्यसको प्रयोगगत औचित्यबारे चर्चा गरेका छन्। यस निबन्धमा नेपाली भाषालाई अङ्ग्रेजी, हिन्दी, बङ्गला आदि भाषाहरूका तुलनामा धनी साबित गर्न सकिने धारणा व्यक्त गरेका छन्। निबन्धकार राईले हाम्रो नेपाली भाषामा छोरा-छोरीको पुरै डफ्फा बुझाउने, पशुहरूका नानीहरूलाई बुझाउने विभिन्न शब्दहरू नेपाली भाषामा पाइन्छन् र आवश्यकताअनुसार हामी बेग्ला-बेग्लै शब्दको प्रयोग गर्छौं । नेपाली भाषामा अनुकरणात्मक शब्दहरू ध्वन्यात्मक, सङ्केतात्मक, चित्रात्मक, अभिनयात्मक प्रकारका रहने हुनाले नेपाली भाषामा एउटा विशिष्ट स्थान ओगट्न सफल बनेको तथ्य विस्तार रूपमा यस निबन्धमा प्रस्तुत गरेका छन्।
गुरुजीसित मेरो सम्बन्ध- शीर्षक निबन्ध पारसमणि प्रधानको स्मरणमा लेखिएको संस्मरणात्मक निबन्ध हो। यस निबन्धमा निबन्धकार राईले आफ्ना बाल्यकालिन दिनहरू, प्राथमिक र माध्यमिक तहका शिक्षार्जनका निम्ति तिब्बत, सिक्किम र दार्जिलिङका विभिन्न पाठशालाहरूमा स्थानान्तर हुँदै शिक्षा ग्रहण गर्नु परेको संस्मरण गर्दै दार्जिलिङ सरकारी उच्च विद्यालयमा पढ्न थाल्दा त्यसताकका गुरुहरूमध्ये पारसमणि प्रधानसँग भेट भइ उनको असल शिष्य हुन पाएको, गुरु-शिष्य भए पनि पछिबाट दुई गुरु-चेलामाझ घनिष्ठ सम्बन्ध गाँसिन पुगेको, पिता-पुत्रको जस्तो सम्बन्ध स्थापित भएको कुरो प्रस्तुत निबन्धमा उल्लेख गरेका छन्। आफ्ना गुरु पारसमणि प्रधानसम्पादित भारती पत्रिकामा राईका कतिपय निबन्ध, कथा र कविताहरू छापिएका र सम्पादक पारसमणि गुरुजीकै अथक प्रयास, प्रेरणा-प्रोत्साहन र सुझाउमा फ्रण्टियर कथा सङ्ग्रहले प्रथमपल्ट प्रकाशनमा आउने सौभाग्य प्राप्त गरेको कुरो कृतज्ञतासहित जानकारी गराएका छन्। यसका साथै साहित्य लेखनमा पछिसम्म नै पारसमणि प्रधानको असीम प्रेरणा र प्रोत्साहन प्राप्त भइरहेको तथा आफ्ना प्रायः सबैजसो सिर्जनात्मक कृतिहरू गुरु पारसमणिकै सौजन्यमा प्रकाशित गरिदिएर हौसेला बढ़ाइदिएको सत्य तथ्यको पनि प्रस्तुत निबन्धमा उल्लेख गरेका छन् ।
ऐतिहासिक वक्साद्वार किल्लाको थाप्लोमा साहित्यिक-गोष्ठीःएक संस्मरण- शीर्षक संस्मरणात्मक निबन्धमा निबन्धकार राईले डुर्वस नेपाली साहित्य विकास समिति र तल्लासी बङ्गला साहित्य संस्था-को संयुक्त आयोजनामा डुर्वसको राजाभातखावामा मार्च ८, ९ र १०, सन् १९८० मा तीन दिनव्यापी साहित्य-सम्मेलनमा सहभागी बन्न पुगेको प्रसङ्गलाई लिएर अत्यन्त सुन्दर र प्रभावशाली शैलीमा यो संस्मारणात्मक निबन्ध लेखेका छन्।
वापूजीको स्मृतिमा- शीर्षक निबन्धमा भारतका महान विभूति वापूजीको निधनमा गहिरो शोक व्यक्त गर्दै यो निबन्ध लेखिएको छ। यस पृथ्वीमा यीशु ख्रीष्ट, मुहम्मद, बुद्धको प्रतीक स्वरूप महात्मा गान्धीले अवतार पुरूषको रूपमा जन्म ग्रहण गरेका थिए तर विश्व आलोकलाई मानिसका पापी हातले धमिल्याइ दियो, जसको फलस्वरूप त्याग, सेवा र बलिदानको पथलाई मानिसहरूले राष्ट्रपिताको आलो रगतले रङ्गाए, वापूजी आफैले आफैलाई अहिंसाको वेदीमा बलि चढ़ाए भन्ने सन्दर्भलाई प्रस्तुत निबन्धमा विषयवस्तु बनाइएको छ। राष्ट्रपिता महात्मा गान्धीको हत्याको पाप एक व्यक्ति माथि मात्र होइन तर सारा भारतवासीमाथि आइलागेको र आलो रगतले रङ्गिएका हातहरू पखाल्नलाई आशुँको नदी बगाउनु पर्ने, हृदय पगालेर प्रेमको धारा बगाउनु पर्ने धारणा व्यक्त गरेका छन्।
शिवकुमार राईका निबन्धगत शिल्प एवम् प्रवृत्तिगत विशेषताहरू-
शिवकुमार राईका धेरजसो निबन्धहरू प्रत्ययमूलक प्रकृतिका छन्। अधिकांश निबन्धले आत्मपरक शैलीलाई आलम्बन गरेको देखिन्छ। विषयवस्तुगत दृष्टिले अनुशीलन गर्दा त्यी निबन्धहरू समसामयिक साहित्यिक परिदृश्य र जीवन-जगतसित बढ़ी सम्बन्धित रहेको भेटिन्छ। कतिवटा आत्मपरक प्रकृतिका निबन्ध-रचनाहरूमा निबन्धकार राईले आफ्ना जीवनका यथार्थ अनुभव-अनुभूतिहरूलाई सकेसम्म विश्वासनीय ढङ्गमा प्रस्तुत गरेका छन्। निबन्धमा सामाजिक सरोकार विषय-प्रसङ्गहरूका साथसाथै लेखनमा अनुभूतिको इमान्दारीपन र विचारको सरलतालाई उनको निबन्ध लेखनगत विशेषता मान्न सकिन्छ।
निबन्धकार शिवकुमार राईका निबन्धगत प्रवृत्ति र प्रकृति, विषयवस्तु र शिल्पको प्रस्तुति, साहित्य लेखनगत मूल्य र मान्यतालाई आकलन गर्नपर्दा प्रथमतः उनको निबन्ध रचनाहरूको संरचनात्मक स्वरूप र विषयवस्तुको चयनलाई आधारभूमिको रूपमा हेर्नु पर्ने आवश्यकता देखिन्छ। निबन्धकार राईका प्रायः सबैजसो निबन्ध रचनाहरू आत्मपरक शैली आलम्बन गरी लेखिएको देखिए पनि विषयगत प्रस्तुतिका दृष्टिले निर्क्यौल गर्दा ती निबन्धहरू साहित्य र जीवन-जगतसँग बढ़ी सम्बन्धित रहेको भेटिन्छ। उनको निबन्धमा आत्मपरकता, निजात्मक भावहरूको एउटा कलात्मक रूप, वैयक्तिक विचार र भावनाको यथोचित सम्मिश्रण, विषयगत विविधताका साथै निजी शैलीको विशेष प्रयोग गरिएको पाइन्छ। सुरूसुरूमा लेखिएका उनका निबन्धहरूले शिल्पगत उच्चता प्राप्त गर्न नसकेको भए पनि निबन्ध-सिर्जनाका क्रममा राईले साहित्य यथार्थ जीवन-जगत्, जीवन-दर्शन तथा सामाजिक परिवेश र सामाजिक जनजीवनलाई कथ्य विषयवस्तुको रूपमा चयन गरेको पाइन्छ। अतः उनका धेरजसो निबन्धहरूमा आफ्नै जीवनमा घटेका घटना-प्रसङ्ग, यथार्थ अनुभूति तथा आफूले भोगेको जीवनजगतको यथार्थ अनुभव र अनुभूतिको साँचो अभिव्यक्ति पाइन्छ।
आत्मपरक निबन्धकारका रूपमा शिवकुमार राईले आफ्ना जीवनका यथार्थ अनुभव-अनुभूतिहरूलाई सकेसम्म विश्वासनीय ढङ्गमा प्रस्तुत गरेका छन्। वास्तवमा निबन्धमा विषयगत विविधताले भन्दा शिल्पशैलीगत विविधता र नवीनताले पाठक-समाजलाई धेर आकर्षित गर्ने गर्दछ। उनका कतिवटा निबन्ध रचनाको कथनशैली अनौपचारिक प्रकृतिको भएकाले त्यी निबन्ध रचनाहरू पाठक-मैत्री हुन पुगेका छन्। कुनै कुनै निबन्ध रचनामा भने भावनात्मक अभिव्यञ्जनाको कलात्मक प्रस्तुति पाइन्छ। यस प्रकारका निबन्धमा कलात्मक अभिव्यक्तिभित्रै कोमल अनुभूतिको व्यापकता, मानवीय संवेदना तथा वैचारिक आत्मचिन्तनका विविध सन्दर्भहरू भेटिन्छन्। अतः निबन्धकार राईका निबन्धलेखनमा कोरा कल्पनाको भावुकतापूर्ण अचाहिँदो उडानभन्दा जीवन-जगतको यथार्थ अनुभूति र सामाजिक सरोकारका विविध सन्दर्भहरूलाई प्राथमिकता दिइएको पाइन्छ।
शिवकुमार राईका प्रायः आधा जसो निबन्धहरू संस्मरणात्मक शैलीका साथसाथै सूचनात्मक र शिक्षात्मक प्रकृतिका छन्। कुनै कुनै निबन्धमा तत् विषयवस्तुको गहन अध्ययन, सामाजिक विसङ्गति, भाषिक, शैक्षिक, लोक-सांस्कृतिक पक्षहरूलाई पनि समेट्न खोजिएको पाइन्छ। उद्धेश्यका आधारमा उनका निबन्धहरूमा समाजचेतना तथा जातीय सुधार-चेतना पनि पाउन सकिन्छ। निबन्धकार राईले आफ्ना निबन्धहरू कहीँ कतै पनि जटिल बनाउन खोजेका छैनन्, निबन्धलेखनमा शब्दाडम्बर देखाएका छैनन्, प्रयोग वैविध्यका आग्रहले आक्रान्त बनी सुधी पाठकहरूलाई रणभूल्लमा पारेका छैनन्।
निबन्धकार राई आफ्ना निबन्धमा आफ्नै वरिपरिका विषयवस्तु टिप्छन् र त्यी विषयहरूबारे निजात्मकतासहित आफ्नै मौलिक शैलीमा लेख्छन्। आफूले देखेका, भोगेका यथार्थ घटनावलीलाई कतैकतै कथात्मक रूप दिइ रोचक र प्रभावकारी ढङ्गमा प्रस्तुत गर्छन्। कतिपय निबन्धहरू साना-मसिना घटना-प्रसङ्गहरूबाट उठान गरिएको भए पनि अनन्तः ती निबन्धहरूले हाम्रो जातीय जीवन र समाज-सांस्कृतिक, राजनैतिक र वैचारिक विकृति र विसङ्गतिको चित्रण गर्न अघिसरा बनेको देखिन्छ। निबन्धमा घटनाको वर्णन र विवरणलाई आत्मपरकताको रङ्गले रङ्गाइएको पाइन्छ। यसर्थ उनका कतिपय निबन्धहरू वर्णनात्मक र विवरणात्मक प्रकृतिका भए पनि तिनमा प्रयुक्त शिल्प-शैली भने भावनात्मक र आत्मपरक भएकाले यस किसिमका निबन्धहरूले पाठकहरूलाई मिठो आनन्द र अनुभूति प्रदान गर्छन्। यी नै निबन्धगत कला र विशेषताहरूले गर्दा पाठकलाई उनको निबन्ध पढ़ी नसिद्धिञ्जाल नजानिँदो शक्तिले बाँधेर राखेको हुन्छ। वस्तुतः समसामयिक यथार्थलाई विषयवस्तु बनाउनु तथा निजात्मक शैलीको माध्यमबाट विभिन्न घटना-प्रसङ्गहरूको सहयोगमा आख्यानात्मक स्वरूपमा प्रस्तुत गर्नु नै उनका निबन्धगत प्रमुख विशेषताहरू हुन्।
पत्रकार-सम्पादक शिवकुमार राई र उनका सम्पादकीय लेखहरू-
शिवकुमार राईले सन् १९५०-६० को दशकमा अखिल भारतीय गोर्खालिगको मुखपत्र गोर्खा-को केही अङ्क सह-सम्पादकको रूपमा रही सम्पादन कार्य गरेका थिए। उनले आफ्नो जीवनको उत्तरार्द्धकालमा नेपाली दैनिक पत्रिका हिमालचुलीको संयुक्त सम्पादक एवम् साहित्यिक पत्रकारको रूपमा रही सक्रिय भूमिका निर्वाह गरेका थिए। १९ फरवरी १९८२ (तदानुसार ७ गते फागुन, वि. सं. २०३८) को दिन हिमालचुलीको प्रथम नमुना अङ्कको रूपमा प्रकाशनमा आएको भए पनि ९ मार्च, सन् १९८२ (तदानुसार २६ गते फागुन, वि. सं. २०३७) मंगलबारको दिनदेखि मात्र औपचारिक रूपमा प्रकाशनमा आउन थालेको हो। आफू संयुक्त-सम्पादक रहँदा विविध विषयमा सम्पादकीय लेखहरू लेखी आफ्नो सुदक्ष र ओजस्वी कलमको परिचय दिएको देखिन्छ। हिमालचुली दैनिकको सम्पादकीय स्तम्भमा उनले नेपाली भाषा साहित्य,भारतको नेपाली समाज र जनजीवन, नेपाली जाति र संस्कार-संस्कृति, नेपाली अकादमी र साहित्य अकादमीको गतिविधि, समसामयिक राजनैतिक परिदृश्य, सामाजिक विसङ्गति र विडम्बना आदि जस्ता विषयहरू टिपेर सम्पादकीय लेखहरू लेखेका छन्।
हिमालचुलीमा प्रकाशित शिक्षा व्यवस्था एवम् पाठ्य पुस्तकको समस्या, अङ्पाली-बङ्पाली भाषा, भारतीय नेपाली साहित्य र दिल्ली साहित्य अकादमी, हाम्रो सत्याग्रह, राष्ट्रिय गीत विवादको घेरामा, नेपाली भाषा मान्यताः छिप्पिएको घाउ, माइला बाजे,गोर्खाली र नेपाली, कञ्चनजङ्गामा नयाँ बिहानीको सङ्केत, राष्ट्रियता र धर्म निरप्रेक्षताको संरक्षण, १९५० को सन्धि भालूको कन्पट, दार्जीलिङका गोर्खा सबै १९५० अघिका हुन्, गोर्खा पल्टन र भारतका नागरिक, विश्व पर्यावरण दिवस शीर्षक सम्पादकीय लेखहरूबाट साहित्यिक पत्रकार राईको पत्रिका सम्पादन कला तथा सम्पादकीय लेखन दक्षताबारे धेरथोर जानकारी पाउन सकिन्छ। यी सम्पादकीय स्तम्भहरूमा राईले नेपाली भाषा-साहित्य र सङ्गीत, संस्कार-संस्कृति र कलालगायत प्रान्तीय ,आञ्चलिक वा क्षेत्रिय राजनैतिक समस्यादेखि लिएर राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनैतिक, सामाजिक आर्थिक परिदृश्य, भौगोलिक तथा सांस्कृतिक विषयहरूलाई समेटेर अत्यन्त निडर र प्रभावकारी शैलीमा सम्पादकीय लेखहरू लेखेको पाइन्छ।
शिवकुमार राईका अधिकांश सम्पादकीय लेखहरू नीति, शिक्षापरक, समाजपरक प्रकृति र प्रवृत्तिका छन्। पर्यावरण असन्तुलन, जनसंख्या वृद्धि र बढ़्दो बेकारी समस्या, सामाजिक-आर्थिक-शैक्षिक र राजनैतिक नीति नियममा अदूरदर्शिता, देशको राष्ट्रिय योजना-परियोजनामा अन्योलता, जातीय अस्तिस्व र अस्मिताको लड़ाईँ, नागरिकताको समस्या, विश्व राजनीति र कुटनीति, राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनैतिक र आर्थिक सन्धि-सम्झौता, आतङ्कवाद र विश्व शरणार्थी समस्या, राष्ट्रियता र राष्ट्रिय एकीकरणका मूलाधार तथा अनेकौं राष्ट्रिय र क्षेत्रीय समस्या तथा दैनन्दिनका विविध घटना-प्रसङ्गहरूलाई समेटेर गम्भीर विषयहरूलाई पनि अति सहज, सरस र रोचक भाषा-शैलीमा सूचनात्मक ढङ्गमा सम्पादकीय टिप्पणीहरू लेखेको देखिन्छ। अतः यी अधिकांश सम्पादकीय स्तम्भहरूमा गरीब, निमुखा जनता-जनार्दनका विद्रोही आवाजहरू मुखरित भएको पाइन्छ। यसप्रकार हिमालचुली दैनिकमा प्रकाशित समग्र सम्पादकीय लेखहरूलाई विभिन्न विषयअनुरूप वर्गीकरण गरी एउटा सिङ्गो पुस्तक नै तयार गर्न सके समय सान्दर्भिक हुने थियो। सम्पादक राईले एक दशकको कालावधिमा हिमालचुली दैनिकका सम्पादकीय स्तम्भहरू बौद्धिक सूचनात्मकता र वैचारिकताका दृष्टिले पनि उत्तिक्कै उत्कृष्ट र उल्लेखनीय रहेको देखिन्छ।
निबन्धकार राईका निबन्धमा पाइने मुख्य विशेषताहरू-
कथ्य विषयवस्तुको प्रस्तुतीकरणमा विश्वासनीयता र इमानदारीपन
निबन्धमा आख्यानात्मक तत्त्व र संस्मारणात्मक शैलीको प्रयोग
व्यङ्ग्यविनोदको प्रयोग तथा हास्य र व्यङ्ग्यको सन्तुलनता
मसिना-मसिना टुक्रा-टाक्री घटनावलीको श्रृङ्खलाबद्ध कथात्मक रूप र नाटकीयताको सुन्दर प्रस्तुति
लेखनमा विषयवस्तुगत विविधता, मानवीय कमी-कमजोरीको इमान्दारीपूर्ण प्रस्तुति
निबन्धमा नेपाली ठेट र झर्रा शब्दको प्रयोग तथा सामाजिक विकृति र विसङ्गतिको चित्रण
आत्मपरक र वस्तुपरक प्रवृत्ति र प्रकृतिप्रति अभिरूचि तथा आत्मपरक अभिव्यक्तिको प्रधानता
जीवनको सरलता, वैचारिक सन्तुलनता, हृदयको इमान्दारी र निजात्मक दृष्टिकोण
सामाजिक जीवनको विसङ्गति तथा वैचारिक पाखण्डपनको यथार्थ चित्रण
मानवतावादी विचार एवम् आन्तरिक भावसौन्दर्य र हास्यव्यङ्ग्यात्मक शैलीको प्रयोग
समय र समाजसचेत व्यङ्ग्यात्मकता र भाषिक सरलतातिर बढी अभिरूचि
सामाजिक सचेतता, लेखकको व्यक्तित्वको चिन्हारी र अनौपचारिकतातिर झुकाउ
लेखकीय विचार, अनुभूति तरङ्गहरूको प्रकाशन तथा वैयक्तिक अनुभूतिजन्य विचारहरूको प्रस्तुतीकरण
निष्कर्ष एवम् उपसंहार-
वस्तुतः निबन्धकार शिवकुमार राईका निबन्ध र संस्मरणात्मक लेखहरू नेपाली समाज र नेपाली जनजीवन, नेपाली भाषा र साहित्यका विविध पक्षहरू तथा नेपाली संस्कार र संस्कृतिका विविध पक्षहरूको सेरोफेरोमा लेखिएका पाइन्छन्। नेपाली भाषाको मौलिक विशेषता, भाषिक प्रयोगगत विविधता र विचित्रता, नेपाली भाषाको बनोट र यसको आफ्नोपनबारे प्रमाणसहित विषयको गहन प्रस्तुति दिइएको पाइन्छ। शब्दचयन र भाषिक प्रयोगका दृष्टिले पनि शिवकुमार राईका निबन्धहरू उल्लेखयोग्य देखिन्छन्। बौद्धिक जटिलता र गम्भीर तार्किकताभन्दा वैचारिक कोमलता र अनुभूतिको हार्दिकता शिवकुमार राईका निबन्धमा पाइन्छ।
शिवकुमार राईका निबन्धमा विषयवस्तुगत सघनता र विविधता, प्रस्तुतिगत नवीनता, शैलीशिल्पमा विविधता रहेको पाइन्छ। उनका तीनचौथाइ जति निबन्धहरूमा आत्मतत्त्वको प्रधानता मुख्य रूपमा भेटिन्छ। लगभग पाँच दशक लामो निबन्धलेखन यात्रामा निबन्धकार शिवकुमार राईले जम्माजम्मी दुईदर्जन जति साना-ठूला निबन्धहरू प्रकाशनमा ल्याएको भेटिन्छ। त्यी प्रकाशित सम्पूर्ण निबन्धहरूको स्वरूप-संरचना प्रवृत्ति र प्रकृति एकै किसिमको नभएर विविध प्रवृत्ति, विषयवस्तु, शिल्प-शैली, स्वर र रागका छन्। यसर्थ उनको निबन्धलेखन यात्रालाई विभिन्न आधार, विभिन्न कोण र मोड़बाट अध्ययन-अनुशीलन गर्नु पर्ने देखिन्छ।
शिवकुमार राईका निबन्धलेखनमा पनि कवितामा पाइने लय र प्रवाह, आख्यानको जस्तो इतिवृत्तात्मक घटनाविवरण, समालोचनामा पाइने तार्किक विमर्श र मूल्याङ्कन, नाटकमा पाइने पात्रगत अन्तर्क्रिया तथा पत्रकारितामा पाइने सूचनात्मकता आदि जस्ता मूलभूत विशेषताहरू पनि परिलक्षित हुन आउँछन्। सामाजिक सरोकारका कुराहरूका साथसाथै विभिन्न संवेदनशील प्रसङ्गहरूको चिन्हारी अनुभूतिको इमानदारीपन र विचारको सरलता नै शिवकुमार राईका निबन्धलेखनको सबलता र सफलता मान्न सकिन्छ।
सन्दर्भ विवरण-
प्रधान, प्रमोद (२०६६)- नेपाली निबन्धको इतिहास, काठमाडौः रत्न पुस्तक भण्डार
बराल, ईश्वर (२०३०, सम्पा.)- सयपत्री, ते. सं., ललितपुरः साझा प्रकाशन
बराल, ईश्वर (२०५५, सम्पा.)- नेपाली साहित्यकोश, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
शर्मा, गोपीकृष्ण (२०६०)- नेपाली निबन्ध परिचय, तेह्रौं सं., काठमाडौः रत्न पुस्तक भण्डार
अधिकारी, रामलाल (१९७५)- नेपाली निबन्ध यात्रा, दार्जिलिङः नेपाली साहित्य सञ्चयिका
योञ्जन, जस (२०१५)- परिचर्चा, खरसाङः शिवकुमार राई स्मृति अकादमीको पक्षमा लाशा सेर्पा
सुवेदी, राजेन्द्र (२०४३)- स्रष्टा-सृष्टिः द्रष्टा-दृष्टि, काठमाडौः साझा प्रकाशन
शर्मा, तारानाथ (२०३९, सम्पा.)- पच्चीस वर्षका नेपाली निबन्ध, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
छेत्री, राजकुमार (२०१२, सम्पा.)- शिवकुमार राई रचना सञ्चयन, नयाँ दिल्लीः साहित्य अकादमी
शर्मा, चन्द्र (१९९८, सम्पा.)- शिवकुमार राई स्मृति ग्रन्थ, खरसाङः शिवकुमार राई स्मृति अकादमी
नेपाल, घनश्याम ( १९९२,सम्पा.)- निबन्ध-नन्दन, गान्तोकः जनपक्ष प्रकाशन
लामा, ग्याल्पो (२००९, सम्पा.)- शिवकुमार राईका असङ्कलित रचनाहरू, खरसाङः निमा लामा
छेत्री, राजकुमार (सन् २०१०)-शिवकुमार राईका कथाहरूमा वस्तुविधान र पात्र-योजनाको विश्लेषणात्मक अध्ययन (उत्तरबङ्गाल विश्वविद्यालयमा पि. एच. डि. उपाधिका निम्ति प्रस्तुत शोध-प्रबन्ध, अप्रकाशित)
सुवेदी, राजेन्द्र र लक्ष्मणप्रसाद गौतम (२०६६,सम्पा.)- रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड), काठमाडौः रत्न पुस्तक भण्डार
स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ।