17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कुकुरको पुच्छर

हास्यव्यङ्ग्य नगिता राई लेप्चा September 26, 2023, 1:40 pm
नगिता राई लेप्चा
नगिता राई लेप्चा

म बसेकी सहर विशाल र भव्य छ । तर यो सरहको छात्तीभरि हिलो बोकेको छ । मानिसहरूको भीड़ जताततै । गाड़ी, ट्रक, टोटो, अटो, बाइकको दुगुराइ । डिजेल, पेट्रोल धुँवा । एम्बुलेन्स, फायर ब्रिगेड, नेताहरूका गाड़ीको एक किसिमको ह्वाँ....ह्वाँ । ट्राफिक पुलिस ट्राफिक सम्हाल्दा हैरान छन् । फुटपाथभरि दोकानै-दोकानै । मेरो सहरमा फुटपाथमा हिँड़्छु भन्ने नसोंच्दा पनि हुन्छ । बजार, बाटा कतै पनि खुट्टा टेक्ने ठाउँ छैन । बसको अवस्था उस्तै छ । यात्रीहरू बसको गेटैमा चमेराजस्तो झुण्डिएर आफ्नो गन्तव्यस्थलमा गइरहेका छन् । सबैलाई हतार । फुर्सद कसैलाई छैन यहाँ । सबै आफ्नै धुनमा हिँड़िरहेका छन् । कसैलाई कसैको वास्ता र परवाह छैन ।

हामी कुनि कस्तो भइसकेका छौं । वायु, शब्द, राजनैतिक तथा तँ तँ र म मको दूषणले यो मेरो विशाल र भव्य सहरलाई साइनोसाइटिस भएको छ । ढ्याब्रे नाक छ तर घ्राण शक्ति छैन । गुलाबको सुगन्ध नाकमा पस्दैन, माछा बजारको कुहेको दुर्गन्घ पनि यो नाकको दुलामा पस्दैन । यो सहरमा हिँड़्ने सबैको नाक थेत्तर भएको छ । आँखा छन् । दुइदुइवटा । तर दृष्टि छैन । दाह्री सेभिङ गर्ने बेलामा यहाँका पुरुषहरू दिनमा एकैपल्ट मात्र ऐना हेर्ने गर्छन् । अन्ली वान टाइम । यो सहरमा आँखा-आँखा जुझ्छन् । स्त्रीहरू धेरैपल्ट ऐना हेर्ने गर्छन् । कहिले केशराशी, कहिले सर्वाङ्ग शरीर । कहिले वाऔँठ । यसबेला स्त्रीहरू अत्यन्तै व्यस्त देखिन्छन् । आफ्ने धुनमा हिँड़्द-हिँड़दै भीड़हरूमा आफ्नै लोग्ने ठानी आफ्नै लोग्नेलाई तिरस्कार गर्छन् । छड़्के आँखाले हेरिदिन्छन् । यहाँको नामी स्कूलबाट बसमा आएको छोरोलाई तान्दै ल्याएर आमाले सोध्छिन् – तँ को होस् ?

छोरो मलिन स्वरमा भन्छ – मैले त बसबाट ओर्लिने बित्तिकै भनिरहेछु...आण्टी मलाई कहाँ लानुहुँदैछ ? तपाईले मेरो कुरा केही सुन्नु नै भएन । फतफतिँदै मलाई तानेको तानेकै गर्नुभयो ।

हामी जुन बाटामा हिँड़्छौं त्यसका दुवैतिर के छ हामीलाई नै थाहा छैन । यतिसम्म कि यो सहरमा हामीले आफ्नो घर समेत नचिन्ने भइसकेका छौं । चारैतिर गगनचुम्बी फ्ल्याट । फ्ल्याटको कुनामा जीर्ण घर । यति मात्रै थाहा छ ....हाम्रो घरमा एउटा खाट छ..एउटा टिभी । यसरी हामी दिन दिनै आफैलाई भुलक्क्ड़ हुँदै जाँदैछौं । आफैले आफैलाई नचिन्ने समय आइसकेको छ । यो विशाल सहरमा हामी यति व्यस्त भएका छौं...सामान्य कुरा सोंच्ने फुर्सद समेत छैन । गिजा दुःखे मात्र दाँत भन्ने चिज रहॆछ भन्ने बुझ्छौं । कनजनभाइटिस् भए मात्र दुइवटा आँखा रहेछन् भन्ने अनुमान हुन्छ । डाइरिया भए मात्र पेटको अस्तित्व थाहा हुऩ्छ । यो सहर यस्तै छ । कसैलाई कुनै कुराको अत्तोपत्तो छैन ।

देश खाएर शेष भएर आयौं भने मात्र थाहा हुन्छ देशभरि गणतन्त्र चल्दैछ । जे छ त्यहीँ रहन्छ । जे हुँदैछ त्यही हुन्छ । नो चेञ्ज..सबै एइ इट इज । अचानक फुटपाथका दोकानहरू भत्काइन्छन् यहाँ । धुँवा नापेर चारचक्के, दुइचक्केको लाइसेन्स खारिज गरिन्छ । दुइचक्के, चारचकेवालको हेलमेट जाँचिन्छ । हेलमेट हुने त ठिकै छ...बाँच्यो, नहुने हेलमेटवालहरू दुइदेखि चारहजारसम्म फाइन । समय समयमा विभिन्न संस्थाहरूको प्रयास सहर सफाइ अभियान । सहरलाई स्वच्छ र हरियै पार्नुपर्छ भन्ने सुगा रटाइ स्लोगान । केही ब्यानर, केही होर्डिङ । यो मेरो सहर यस्तै छ ।

यहाँ सबै राम्रो छ । सबै ढुक्क र मस्त छन् । लाखौं मच्छड़, करौड़ौं झिंगाको राजधानी मेरो सहर । सबै रोगी । रोगी जति सबै सरकारी अस्पतालमा लाम लाग्छन् । त्यहाँ पानी बाहेक सबै थोक किन्नुपर्ने अवस्था छ ।

भोट आउँदा हरेक नागरिकको कदर बढ़्छ । हामी पनि फुर्के भएर प्राणभन्दा प्यारा नेताको नाममा बीस-पच्चीसवटा भोट हालिदिन्छौं । यो हाम्रो बहादुरी हो , वीरत्वको सिम्बल । हाम्रा पूर्खाहरूले सिमानामा बन्दुक, तोपको गोला पड़्काएर, सिरुपाते खुकुरी उज्याएर शत्रुहरूलाई लेखेटे । अहिले हामीले यसरी नै भोट हालिदिएर विरोधी दललाई ब्यालेट बक्स युद्धमा धराशायी पार्ने गरेका छौं । भोट सकिएपछि खायो भाँड़ो मिल्कायो ठाँड़ो गर्छन् हामीलाई । हामीलाई त्यसको कुनै असर पर्दैन । किनभने हाम्रो जाति नै सहनशील संवेदनशील जाति । हामीलाई नेताहरूले ठाँड़ा नै बनाइसकेका छन् । भोट दिँदा फाटेको कोटजस्तो भइसक्यो हाम्रो अवस्था । हाम्रो जीवन थाङ्ना जस्तै भइसकेको छ । लाटाको धोतीजस्तो भइसकेको छ हाम्रो जिन्दगी । फिजिकल्ली अनि साइक्लोजिकल्ली हामीलाई नचल्ने दुअन्नी बनाएकै हो । हामी खासमा भीरको चिण्डो हौं । हाम्रो गाउँका राइँला मामा मातेका बेला जहिले पनि भन्छन् – हामी सुँगुरे जीवन बाँचिरहेका छौं ...पीगस्टाइल लिभिङ । हो पनि मात्ने मान्छेहरू अकाट्य सत्य बोल्छन् । हाम्रो अवस्थाप्रति राइँला मामा मातेका बेला यसरी गाउँछन् –
जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर .....

साँच्चै नै हामी यहाँ यो सहरमा मुर्दाकै जीवन बिताइरहेका छौं । हामीलाई भोटमा यूज मात्रै गर्छन् नेताहरू । भोट सकेर भोट जितेपछि भोटभन्दा अघि म्याउँ म्याउँ गर्नेहरू नेताहरू कुनै काम पर्दा उनलाई भेट्न जाँदा बाघजस्तै गर्जिन्छ । नेताको यस्तो व्यवहार देखेर अर्कोपाली तँलाई इस् भोट हालुँला भन्दै दारा किट्छौं । फेरि भोट आउँछ फेरि पाँच वर्षमा । हामी उनै नेतालाई जिताउन आफ्नै छर छिमेसित शत्रुता गर्छौं । जसरी हुन्छ नेतालाई जिताई छोड़्छौं । यस्तो अवस्था देखेर भन्न मन लाग्छ, हामी कुकुरको पूच्छर हौँ । लाख कोशिष गरेपनि वा बाह्र वर्षसम्म ढुङ्ग्रोमा हालेर राखे पनि बरू ढुङ्ग्रो बाँगेला तर पूच्छर सोझो कहिल्यै हुन्न ।

गाउँ-समाजको विकास गर्छु भनी स्वतन्त्र उम्मेद्वारको रुपमा भोट माग्छन्...जित्छन् पनि । तर सामान्य पैसाको लोभमा बिक्री भएर स्वतन्त्र उम्मेद्वार पार्टीसित संलग्न हुन्छन् । यो कुकुरको पूच्छरकै नमूना होइन । हामीले हाम्रो पूच्छरलाई कुकुरकै पुच्छर बऩाइ छोड़्यौं ।

यो कुकुरको पूच्छर कहिले सोझो होला ?

खोलाचन्द फाप्री, सिलगड़ी भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।