मेरो महापुरुष !
अतितका अन्धकारका अतल गर्त भित्र
अंगअंग अर्पण गर्दै
अपरिचित अँगालो अड्किइरहँदा
अपरिमित अमृतका अधरले अधर भिजाई रहेँ
अतुल्य अपराजिता साध्वीले जस्तै!
अनन्त अँगालोमा अड्किएकी
अनन्त अन्यन्य म,
अपुर्ण अगम्या होइन
असती अगति पनि होइन।
अतिरूप अकृष्ण ! देख्यौ नि तिमीले
अपात्र असतीमा सती
असंग अगतिमा गति
अग्राह्य अगम्यामा गम्या
अनि अवला गणिका गण्डकीमा !
अनि त भन्यौ,
अकपट अंशुमती हो गण्डकी
अंशुमती गणिका होइन
अकपट गण्डकी! तिमी पानी, म पाषाण !
अहिले फेरी
अंशुमती ! अंशुमती ! भन्दै
अंशुमती पुग्यौ तिमी ।
अंशुमतीका महापुरुष
अविरल हेरीरहन्छु म तिमीलाई
अविरल सम्झिरहन्छु !
अनि त अझै प्रेमिल पानीले पखालिरहन्छु तिमीलाई
अन्त्यहीन मेरा वक्षस्थलमा राखेर ।
अनि गडगडाउछु गहिरो गण्डकी !
**********
मानस पनि त
इन्द्रधनुषले जस्तै
गिरिशृंग खोज्छ
गिरिनाथ खोज्छ
गुणज्ञ खोज्छ
अङ्गना पनि त्यही खोज्छे
कागवेनीबाट म तल बगिरहादा
अङ्गना अँगालोमा हुन्छे मानसको
मानस अँगालोमा हुन्छ अङ्गनाको
शृंखलाका शृंगार हेर्दै,
शृंगारका शृंखला हेर्दै,
हेर्दा हेर्दै
हिँड्दा हिँड्दै
तरल तरंगित वक्षस्थल पनि हेर्छन मेरो
हेरिरहन्छन, अनि
हेर्दै हिड्छन
हिड्दै हेर्छन ।
स्निग्ध स्नेही मेरा वक्षस्थलमा
लुट्पुटिदै लुकेर
देख्छौ त तिमी पनि, महापुरुष !
तर देखिन्नौ
मानसको मनमा
अक्रुर अङ्गनाका आखाँमा
महापुरुष !
कैले कैले कपटी नै त हुन्छौ तिमी पनि !
कपटी कपटी नै छौ तिमी प्रिय !
बेलायत