धेरै भएको थियो साहित्यिक यात्रा नगरेको। यात्राका अवसरहरू नजुरेका होइनन्। तर, जब जीवन जिम्मेवारीहरूसँगै बड़नुपर्ने हुन्छ नि, तब धेरै अवसरहरूलाई पनि समाउन सकिन्नरहेछ भन्ने मेरो अनुभव हो। यसपाली भने धेरैपछि मेची तरियो अनि धरान पुगियो। दुई वर्षअघि 12 देखि 14 नोभेम्बर (वि.सं. 2078-को कार्तिक 26-28) सम्म ‘कविडाँड़ा साहित्य समाज’ चितवनको 19औं वार्षिकोत्सव समारोह एवं ‘नेपाल-भारत साहित्य उत्सव’-मा सहभागी बन्ने अवसर प्राप्त भएको थियो। त्यो यात्रापछि राज्य तथा देशबाहिरकै कुनै कार्यक्रममा सहभागी हुने यो पहिलो अवसर हो। यो अवसरका लागि गजलकार दिदी जीविका अश्रु र ‘साहित्य कला संस्कृति प्रतिष्ठान’ धरान-13, सुनसरी नेपालप्रति कृतज्ञ छु।
धुलाबारी, काठमाडौं, दमक, पोखरा, दुईपटक चितवनको यात्रापछि यो सातौं यात्रा अथवा पहिलोपल्ट धरानमा पाइला टेग्न पुगियो। धरानको यात्रा थुप्रै अर्थले मेरोलागि अर्थपूर्ण रह्यो। अन्तर्राष्टिय मञ्चमा हामी (पापा-छोरी)-का लागि मञ्च साझा गर्ने पहिलो अवसर थियो। वर्तमानमा आफ्नो श्रमद्वारा विश्वमा छरिएर बसेका नेपालीहरूको मन जित्न सकिरहेका धरानका मेयरसँग भेट्न सकियो। गीतमा सुन्दै आइरहेको बुढ़ासुब्बा र अरू धार्मित स्थलहरूको दर्शन गर्ने अवसर जुर्यो। भारत र नेपालभरिका धेरै साहित्यकार र कलाकारहरूसँगको भेटघाट त छँदैछ। यसबाहेक जाँदाजाँदै दमक, बेलबारी र झोराहाटमा स्वागत साथै छोटोमिठो कार्यक्रमहरूमा सहभागी हुने अवसर। यस्तै यस्तै धेरै पक्षहरूले यो यात्रा फलदायी बनेको छ।
30 जून र 1 जुलाई 2023 (असार 15 र 16, 2080)-को दिन आयोजन भइरहेको ‘दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव’का लागि जानुपर्ने अश्रु दिदीसँग सल्लाह थियो। 28 जूनकै दिन हिन्ने हाम्रो सल्लाहमा फेरबदल भयो। 29 जूनको बिहान पानी गजबले परिरहेको। चारैबजीतिर उठेका हामी बड़ो दुःखले स्कुटीमा पुग्यौं सिच्छे। हामी अर्थात अस्मिता र म (पापा-छोरी)। त्यसपछि दिदीसँगै गयौं देउराली। बिहान 6ः30 हिँड़ने गाड़ी लगभग 10 मिनट अघि नै हिड़ेको थियो। यूटुबमा भिडियो लगाउने हिजाज खुब जाँगर चलेको छ मलाई। त्यसैले ठाउँठाउँमा भिडियो लिइरहेको थिएँ म।
“भाइ! काकरभिट्टादेखि आयोजक समितिका सदस्यहरूले लाने’रे। हामी 11 बजी पुग्नुपर्छ।” भन्नुभएको थियो अश्रु दिदीले।
यात्रा गरिरहँदा “हामी आधिघण्टासम्म ढिलो हुनसक्छौं, पर्खनुपर्छ है भनेकी छु” भन्नुहुँदैथियो। सड़क प्रायः खालीखाली थियो। पानी परेकोले चालक दाजुलाई मनमा डर थियो ‘कतै बाटो बन्द हुने होकी!’ भनेर। हामी सानैछँदा आमाले हावा-हुण्डरी आउँदा अगेनामा लोहोरो पोल्नेगर्नु हुन्थ्यो। हावा-हुण्डरी र पानी थामिन्थ्यो। त्यो केवल संयोग थियो या अरू केही, अहिले बुझ्दिन। हिँड़्नेबेला बिहान त्यसै गरेको थिएँ। यात्रामा तर हामीलाई कुनै समस्या, कठिनाइ आइपरेन। पानीट्याङ्की पुगेपछि लकडाउनदेखि यता थोरै झञ्जट रहेछ। मेचीवारीदेखि मेचीपुलबीच र पुलबीचदेखि मेचीपारीसम्म भारत र नेपाल दुईतिरका अलग-अलग अटो-रिक्सा चढ़नुपर्ने, दुईतिर आफ्नो परिचय-पत्र देखाउनुपर्ने। हामीलाई दिइएको समयमै काकरभिट्टा पुगेका थियौं। यतिबेलासम्म असम, दार्जीलिङ, कालेबुङ, मिरिक, सिलगढ़ी प्रायः सबैतिरबाट आइसक्नुभएको रहेछ। हामी शितल पहाड़मा बस्नेलाई सिलगढ़ी झर्दा-नझर्दैदेखि पसिना छुट्न थालेको हो।
“तपाईहरूलाई न्यानो स्वागत छ। धरानमा दुईदिवसी... आयोजन भइरहेको छ। यहाँदेखि हामी सँगैसँगै हुनेछौं। धरान पुग्नअघि...र...मा पनि हाम्रो स्वागत साथै भेटघाटको कार्यक्रम राखिएका छन्...।” बम देवानले यात्रा शुरु गर्नअघि नै भन्दैहुनुहुन्थ्यो। साथमा हामीलाई रुद्राक्षको माला लगाइदिँदै स्वागत जनाउनु भएको थियो। नेपालका साहित्यिक कार्यक्रममा जाँदा रुद्राक्षको माला लगाइदिएर स्वागत जनाउने चलन केहीवर्ष अघिदेखिको मैले थाह पाएको। साथमा गजलकार विवश बलिभद्र दाइ, दीपक सुवेदी, नेत्र काफ्ले अरू पनि धेरै हुनुहुन्थ्यो स्वागतार्थ।
‘श्री निशान भगवती यातायात’को ‘को1ख6720’ बस चढ़ेर दमक पुग्दा दिनको एक बजेको हुनुपर्छ। केहीवर्षअघि यहाँ पनि अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम हुँदा पुगिएको थियो। यसबाहेक चितवन र पोखरा जाँदा पनि सामान्य भेटघाट एवं साहित्यिक स्वागत कार्यक्रम राखिएको थियो। यसपटक पनि उस्तै स्वागत एवं ‘स्रष्टासँग भेटघाट’ कार्यक्रम राखिएको रहेछ साहित्य कला सङ्गम, दमकले। जताततै तातो हावा छ। सभाकक्षमा फेन चलाइरहेको भए पनि हामीलाई पसिना आइरहेको थियो। यसबीच भारत र नेपालतिरबाट उपस्थित सबैले एकएकजना गरी संक्षिप्त परिचय राखियो। त्यसपछि दुवैतिरबाट केही रचना वाचन, गीत र छोटो-छोटो सम्बोधन राखिएका थिए। त्यसपछि चिया-खाजा लिएर फेरि अघि बढ़्यौं हामी।
“अब हामी सिमसार जानेछौं। त्यहाँ पनि एउटा सानो कार्यक्रम छ। त्यसपछि हामी भोजन गरेर अघि बढ्ने छौं।” सायद विवश दाइले हुनुपर्छ भनिरहनु भएको थियो बसमा सबैलाई ध्यानाकर्षित गर्दै। हाम्रो यात्रा पुनः शुरु भयो। भारततिरबाट आउने हामी धेरैजसो बसमा छौं। थोरैजसो शरद सरको वाहनमा। दोस्रोपल्ट नेपाल गइरहेकी अथवा साहित्यिक यात्रामा पहिलोपल्ट नेपाल गइरहेकी छोरी अस्मिता अश्रु दिदीसँग बसको निक्के अघिल्तिर बसेकी छ। म अन्तिमतिर छु। काकरभिट्टादेखि यात्रा शुरु गर्दा कालेबुङ जलढकाका साहित्यकार निरुविन्दुसँग बसेको थिएँ। हामी थोरै कुरा गर्छौं साहित्यको, यसप्रकारका कार्यक्रमहरूको विशेषताको। निरुविन्दुज्यूसँग वरिष्ठ साहित्यकार श्री कालुसिंह रहनपहेंलीले अघिबाटै हाम्रो परिचय गराइदिनुभएको थियो ‘तपाईंहरू दुवै मेरा प्यारा भाइहरू...!’ भनेर। काकरभिट्टाबाट यात्रा शुरु भएदेखि नै निरुविन्दुज्यू ठाउँहरूको नाम पढ्दै ‘चाराली.., बिर्तामोड़.., सुनसरी...’ भन्नुहुँदै थियो। ठाउँको नाउँबारे जानकारी लिइरहनु भएको थियो, दिइरहनु भएको थियो। दमकबाट हिँड्दा भने हामी अलग-अलग थियौं।
यो यात्राको दोस्रो गन्तव्य थियो मोरङको बेलबारी। बेलबारीको बेतना सिमसार पुग्दा 3 बजीसकेको थियो। ठूलो अक्षरले स्वागत लेखिएको गेटभित्र प्रवेश गर्नेबित्तिकै आगन्तुकहरूका लागि फोटो खिचाउन बनाइएको आकर्षक ठाउँ। थोरै पछिल्तिर दाहिनेतर्फ पानीपोखरी। पोखरीमा साना-साना डुङ्गा। पोखरीको एकछेउमा ‘बेबी शोवर’ सुटिङ चलिरहेको। समग्रमा सानो तर आकर्षक पर्यटकीय स्थल। ती सबै छोड़ेर हामी पस्यौं देब्रतर्फ, सभाकक्षमा। भित्तामा ठूलो व्यानरमा लेखिएको थियो ‘हार्दिक स्वागतम’। त्यसको तलतिर लेखिएको थियो- ‘मित्र राष्ट्र भारतबाट पाल्नुहुने सम्पूर्ण साहित्यकार, संस्कृतिकर्मी तथा पत्रकार पाहुनाहरूलाई हार्दिक स्वागत गर्दछौं’। बेलबारी प्रज्ञा-प्रतिष्ठान, मोरङको आयोजनामा यहाँ पनि उस्तै रुद्राक्षको मालाले पुनः स्वागत जनाइएपछि कार्यक्रम शुरु गरिएको थियो। छोटो कार्यक्रमपछि 4.45 बजीतिर हामी पुग्यौं थोरै अगाड़ि रहेको कार्की होटलमा। यहाँ खाना खाइसकेपछिको यात्रा शुरु हुँदैगर्दा कसैले भन्नुहुँदै थियो “अझै दुईवटा कार्यक्रममा निम्तो छ। त्यसपछि मात्र हामी धरानतर्फ लाग्नेछौं।”
काकरभिट्टादेखि धरानको यात्रा लगभग तीनघण्टाको भन्ने सुनेको थिएँ। तर ठाउँठाउँमा स्वागत कार्यक्रम राखिएका हुनाले बिहान लगभग 11.30 देखि हिँड़ी नै रहेका थियौं। यतिबेला भने मोरङको ‘झोराहाट नाट्य केन्द्र’तर्फ गइरहेका यियौं। बेलुकीको 5.30 बजी झोराहाट पुग्यौं। रसियन नाटक ‘रिफण्ट’ हेरेर निस्कँदा दिनलाई रातले छोपिसकेको रहेछ। धरान पुग्नअघि एउटा कार्यक्रम रहेको थियो इटहरीमा। तर, समय थिएन। त्यसैले हामी सिधै धरानतिरै हानियौं। भानुचोक, धरान पुगेर ‘हाम्रो भान्सा एण्ट रेष्टुरेण्ट’-मा खाना खाइसक्दा 8.45 बजीसकेको थियो। दाहिनेतिर थियो घण्टाघर। यहाँबाट पूरै धरानको दृष्यावलोकन गर्न सकिने रहेछ। रातको समय त्यो अवसर जुरेन। त्यसैले ‘वसन्त स्मृति अतिथि गृह, धरान-12’ पुगेर आराम गर्यौं।
भोलिपल्ट, अर्थात 30 जून 2023-को दिन बिहानैदेखि कार्यक्रम थियो। झाँकी निकालेर कार्यक्रम स्थल पुग्नुपर्ने। त्यसअघि नै हामी लक्ष्मी चोक पुगेर चिया पियौं अनि सोझै कार्यक्रम स्थल पुग्यौं। हामी पुगेर केहीक्षणपछि मात्र विभिन्न जात-जातिको बाजागाजाको साथमा निकालिएको सांस्कृतिक प्रदर्शनसहित झाँकी कार्यक्रम स्थल आइपुगेको थियो। “सिमानाले हामीलाई छेक्नसक्दैन रहेछ। छिमेकी राष्ट्र भारतको सिक्किमदेखि असमसम्म अनि नेपाल राष्ट्रको मेचीदेखि महाकालीसम्मका हामीलाई आज भावनाले गर्दा एउटै मञ्चमा ल्याइपुराएको छ।” भन्दै कार्यक्रम सञ्चालकद्वय सञ्जु राई र विष्णु चौलागाईले पहिलो दिनको कार्यक्रम शुरु गरेका थिए। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई मुख्य अतिथिका रूपमा उपस्थित थिए अनि वरिष्ठ साहित्यकार डा. भीम खतिवड़ा विशिष्ठ अतिथि। साथमा अध्यक्ष गोपाल श्रेष्ठ, संयोजक बम देवान, डा. अनित पौड्याल, ज्ञानेन्द्र खतिवड़ा, कृष्ण प्रधान, डा. गोपाल भण्डारी, खेमराज पराजुली, पञ्चमाया तामाङ, डा. एसएम सुवेदी, नेत्र प्रसाद काफ्ने, दूर्गा खतिवड़ा, भवानी शर्मा लगायत भारत तथा नेपालबाट उपस्थित धेरै गन्यमान्य व्यक्तित्वहरू मञ्चमा आसिन थिए।
कार्यक्रमहरूमा उपस्थिति दिन त्यति नरुचाउने धरानका मेयर भेट्ने धेरैलाई चाह थियो। “आउँदैनन् होला, उनी यसरी बस्न रुचाँदैन्। त्यो समयमा त श्रम गर्नै रुचाउँछन्...” यस्तै के-के कुरा चलिरहेको थियो। तर केही ढिलोगरेर भए पनि आइपुगेका थिए उनी। मेयर हर्क साम्पाङ आउँदा कार्यक्रमको माहोल नै अर्कै भएको थियो। कार्यक्रम चलिरहँदा पनि हामी दुवैतिरका उनीसित फोटो खिचाउन तल्लिन थियौं। असमको टोलीले असमीय टोपी र गाम्छा आढ़ाइदिँदै मेयर लगायत चारजनालाई सम्मान जनाउन अघि र पछिको समय त फोटो खिचाउनेहरूले कार्यक्रमलाई बाधा नै पुराइरहेको अवस्था थियो। लगभग डेड़घण्टा जति बसेका उनले कार्यक्रममा छोटो तर अति गहन मन्तव्य राखेका थिए। मन्तव्यसितै बीचबीचमा कविता सुनाए। उपस्थित सबैको अनुरोधमा गीत सुनाए। गीत, कविता, मन्तव्य सबैमा तर ‘श्रम गरौं’ र ‘देश बनाऔं’-कै सन्देश दिइरहेका थिए। उनैको पहलमा धरानमा ‘ओशो मेडिटेशन सेण्टर’ नजिकै ‘श्रम पार्क’ बनाइँदै रहेछ। साम्पाङलाई भेटेको, उनलाई सुनेको भोलिपल्ट 1 जुलाईको दिन त ‘हर्क साम्पाङको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आयो’ भन्ने खबर सामाजिक सञ्जालभरि छाएको थियो।
कार्यक्रममा दिनभरि कविता सुन्यौं, नृत्यहरू हेर्यौं, गीतहरू सुन्यौं। स्रष्टाहरूसितै भेट गर्यौं। पहिलोपल्ट धरान टेकेकी छोरी अस्मिताले पनि पहिलोपल्ट अन्तर्राष्ट्रिय मञ्चमा गायन प्रस्तुति दिने जोजन मिलाइदिनुभएको थियो अश्रु दिदीले, त्यो पूरा भयो। मनमा आनन्द लागेको थियो।
भोलिपल्ट 1 जुलाईको दिन पनि उस्तै दिनभरिको कार्यक्रम थियो। कविता, गीत, गजल, नृत्य, सम्मान, मन्तव्य आदि-इत्यादि। साँझमा उपस्थित सम्पूर्णलाई उपस्थितिको कदरस्वरूप ‘सम्मान-पत्र’ (प्रमाण-पत्र) प्रदान गरिएको थियो। असार 17-मा फर्किने तय थियो। तर 16-को बेलुकी नै हामी वसन्त स्मृति अतिथि गृहबाट विदा मागेर निस्कियौं। दुईदिनव्यापि कार्यक्रममा धेरै बुझ्यौं, धेरै जान्यौं। आगामी कार्यक्रमहरूमा भारत-नेपाल दुवैतिरका साहित्य, संस्कृति, कला र परम्पराहरूमाथि चर्चा परिचर्चा, समस्या र समाधानहरूलाई पनि समेट्न सकिए अझ सुनमा सुगन्ध थपिएला कि भन्ने लागिरहेको छ।