१
म त कपटी होइन नि प्रिय
मेरो महापुरुष !
म गण्डकी गुटुङ्गटुङ वगी रहदाँ
मेरो मानस पटलमा मानस आउँछ
अङ्गना आउँछे
गिरिराजका चम्किलो चुडामणि म
गिरिराजबाट निसृत म गण्डकी
स्निग्ध सरिता
प्रवाह हुँ प्रकृतिको
सत्यव्रती, साक्षी हुँ म सत्यको
मानस मानस हुनुको सत्य
अङ्गना अङ्गना हुनुको सत्य
तिम्रो मानस पटलमा पनि
मानस आउँनु पर्ने हो
अङ्गना आउँनु पर्ने हो
तिमी त झनै पहिले देखिको साक्षी हौ नि ।
मेरो महापुरुष !
ॐ !
आसीदेकम !
अघि, धेरै अघि, तिमी मात्र त थियौ नि
उनीहरु थिएनन्
म पनि थिईन ।
आसीदेकम !
एक्लै एक्लै
आनन्दमा मग्न आनन्दमग्न आनन्द न हौ तिमी
एक्लै सुत्यौ, एक्लै उठ्यौ, एक्लै रमायौ ।
म त कहाँ थिएँ, कहाँ
यहीँ हुँदी हुँ,
यतै कतै हुँदी हुँ
तिम्रो अन्तर्कुन्तर अन्तर्मनमा हुँदी हुँ
तर स्निग्ध सरिता बग्दै बगिन म
गण्डकी, गंगा, अंशुमती पनि बगिन म
प्रकृतिको दिव्य छटा हुँदा न म
गण्डकी भएँ,
कृष्णा भएँ
त्रिशुलधारिणि त्रिशुली भएँ
बग्दै गएँ ।
अनि मानस आयो
अङ्गना आई
मानस अङ्गनाको कलेवरमा बस्यो
अङ्गनाको मनमा बस्यो
म गण्डकी गुटुङ्गटुङ बगिरहँदा
म देखिरहन्छु मानस
म देखिरहन्छु अङ्गना
तिमीलाई लाईजस्तै !
२
मायावी !
मायामय महापुरुष !
मांगलिक मान्दैन मानस
तिमीलाई नदेख्दा ।
मानशुन्य,
मानाभिमान शुन्य ऊ
माकम्लुङ्म मात्र हेर्छ,
माझपट्टिको माक्चिरी फुङ का पहरा हेर्छ
मात्र माक्चिरी फुङका मालै मालाका पहरा देख्छ ।
पहरामा पथिकका पदचाप देख्छ
पदचाप पछ्याउँछ
पछ्याउादा पछ्याउँदा
पराग र परागशेष पथ देख्छ,
अनि देख्छ
परागको परिधानमा पहरा ।
सुगन्धमय सुरम्य सौन्दर्य
सुहृद र सुसेवक जस्तै न हो
मानस मन मक्ख हुन्छ
मन मन्त्रमुग्ध पनि हुन्छ !
मोहित मलिन मन
भ्रान्त विभ्रान्त पनि हुन्छ ।
मेरो पुरुष
मेरो महापुरुष !
भ्रान्त विभ्रान्त मानस मन
लुप्त विलुप्त
तिमीलाई देखेको अनुभव गर्छ
तल बगिरहेको मेरो प्रवाहमा ।
फेरी हेर्छ
देख्छ पानी पानी अनि पानी !
अनि अनुहारको पानी पुछ्दै,
पानी पुछ्दा पुछ्दै,
उसको
क्लान्त तन परागको आसनमा हुन्छ,
भ्रान्त विभ्रान्त मन क्लान्त तन मा हुन्छ ।
फूलै फूलको आसनमा पनि त क्लान्त र अशान्त छ ऊ !
मेरो महापुरुष !
तिमी पाषाणको कालो कलेवरमा
लुप्त विलुप्त हुँदा
तिमीलाई नभेट्दा,
मानस अङ्गना सम्झिन्छ
अङ्गनालाई जून भन्छ
जून हेर्दै रोइ रहन्छ,
मानस जून हेर्दै
करुण क्रन्दनमा हुन्छ ।
( १. माकम्लुङ्म = मकालु, २. माक्चिरी फुङ= पहराको सुनाखरी)
बेलायत