१. कथानक
गोसैया र पारोदेवीको ज्येष्ठ पुत्र बिजुवाले भोकले आलसतालस भएर कलह गरेकाले गोसैयाले चुलोमा बसाएको पानी देखाउँदै पाकेपछि दिउँला भनेर मैथिली भाषामा सम्झाएको संवादात्मक कथनबाट कथाको सुरुआत भएको छ ।
शिक्षण पेशामा संलग्न अलिक परको छिमेकी ‘म’ पात्रले भाँडो निरीक्षण गर्दा पानीमाथि खरानी तैरिएको मात्र देख्छन् । के पकाएको भनी पटकपटक सोध्दा उल्टै गोसैयाले चुप रहन संकेत गरी ‘म’ पात्रको अन्तस्करण चिमोटेको देखाइएको छ ।
भोलिपल्ट शुक्रबार डेढ बजेसम्म पनि गोसैया गोबिनको खेतमा हलो जोत्दै गरेको देखाएर उनीमेहनती र इमान्दार हली भएको चिनारी दिइएको छ । गोबिनको नजरमा गोसैया नालायक भएको फत्तुर आरोप सुनेर ‘म’ पात्रले पचाउन सकेनन् । अन्ततः उसको उद्दण्ड स्वभाव सामु ‘म’ पात्र स्वयम् चुप रहन वाध्य भएका छन् ।
शनिबार भएको गोसैया र ‘म’ पात्रबीचको संवादबाट छोराले खरानी पानी उमालेको थाहा पाएर कलह गर्छ भनेर चुप रहन संकेत गरेको रहस्य खुल्छ । ‘म’ पात्रको मनमा गोसैयासँग भएको खटपट पनि त्यसै हराएर जान्छ । गफैका क्रममा खुलेको रहस्य अझ मार्मिक भएर आएको छ ।
युवावस्थामा गलतकर्म गरेकाले गोसैया जेल परेका छन् । रोबिनले पाँच लाख रुपियाँ तिरेर जेलमुक्त पारेको हुन्छ । गोसैयाका बाबुलेइज्जत फाल्यो भनेर रिसाएर छोरो मरेको घोषणा गरी क्रियाकर्म समेत गरेका हुन्छन् र बाँकी छोराहरूलाई सम्पत्ति बाँडफाँड गरी आपूm जोगी बनेर हिँडेका हुन्छन् । गोसैया अंशविहीन बन्छन्् ।त्यसैले रोबिनको रिन चुकाउने अवस्था हुन्न । फलतः उनी रिनको व्याज मात्रै चुक्ता गर्न हली बस्न वाध्य हुन्छन् । गाउँलेहरूको नजरमा उनी गोबिनको ‘बँधुवा’ भन्ने नयाँ नामले चिनिन्छन् । यसले नै शीर्षकलाई सार्थकता दिने काम गरेको छ ।
२. पात्र–
यस कथाका पात्रहरूमा १.बुबा– गोसैया तेली २.आमा– पारोदेवी तेलिनी ३. छोराहरू– बिजुवा, गोपिया ४.साहू पात्र– रोबिन साहू, गोबिन साहू, कलुवा साहू ५. म पात्र– कारिचरण मगर ।
समाजका गरिब र निरीह पात्रहरू गोसैया तेली, पारोदेवी तेलिनी, बिजुवा, गोपिया हुन् । खल प्रवृतिको पात्रमा गोबिन साहू मात्रै छ । रोबिन साहू र कलुवा साहू केही उदार चरित्रका छन् । यद्यपि उनीहरूमा पनि निरीह प्राणीलाई काबुमा राखिराख्ने प्रवृति हाबी छ । कथावाचक ‘म‘ पात्रको नाम कारिचरण मगर हो । शिक्षक भईकन पनि उनी गोबिनको अगाडि निरीह बन्छन् । एक्लै नहुने काम समूहमा गर्नुपर्छ र जीवनका अप्ठ्यारा बाँधहरू भत्कन्छन् भन्ने मत राख्तछन् । गोबिन एक्लैले कथालाई भयावह मोड दिएको छ । अरू पात्र आफ्नै सोच र दृष्टिकोणका छन् ।
३. द्वन्द्व–
धनी–गरिबको आर्थिक असमानताले निम्त्याएको द्वन्द्व नै प्रखर रूपमा आएको छ । यसका अतिरिक्त आस्था र विश्वासले जन्माएको द्वन्द्व पनि छ । ‘म’ पात्र र गोसैयाको मनोद्वन्द्वले पनि राम्रै ठाउँ पाएको छ । रोबिन, गोबिन, गोसैयाका पिता, अंशियार दाजुभाइ र पूरै गाउँ समाजले गोसैया बिरुद्ध द्वन्द्व सिर्जना गर्ने काम गरेका छन् ।
४. उद्देश्य–
तराई मधेसको सामाजिक यथार्थलाई देखाउने उद्देश्य रहेको छ । समाजमा मतिभ्रष्ट भएर सप्रे पनि उचित स्नेह नपाउँदा निरीह भई जीवन विताइरहेका पात्रहरू पनि छन् भन्ने देखाइएको छ । साथै त्यस्ता दयनीय अवस्थाका पात्रलाई घृणाले होइन उचित सद्भाव र सहयोगले स्थापित गर्नुपर्छ, न्याय दिलाउनुपर्छ भन्ने कुरा देखाउने प्रयास भएको छ ।
५. संवाद–
पात्रानुसारको मैथिली संवादको समेत प्रयोग भएको छ । पारोदेवीजस्ता अपठितले आफ्नै मैथिली मातृभाषामा बोल्छिन् भने अरू शिक्षित पात्रले नेपाली मातृभाषीसँग बोल्दा नेपालीमै बोल्दछन् । आपसमा मात्र मैथिलीमा कुराकानी गर्छन् । कथामा अधिकभन्दा अधिक संवादको प्रयोग गरेर कथानकलाई शीर्षक सार्थकतातिर लगिएको छ ।
६.परिवेश–
देश, काल, परिस्थिति प्रष्ट रूपले आएको छ । तराई मधेसको ग्रामीण परिवेशमा कथानक दगुरेको छ । बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनभित्र यस कथाको कथानक निर्माण भएको छ । यसको पृष्ठभूमिको समयाबधि भने गोसैयाको बाल्यकालदेखि अहिलेको अधबैंसेको उत्तराद्र्धकालसम्म हो । अशिक्षित गाउँले वातावरण छ । प्रकृतिको मनोरम अवस्थाको सन्तुलित चित्रण छ । पात्रगत अहंकार र निरीहपन दुबैको सटीक विश्लेषण छ ।
७. भाषाशैली–
पोथी गद्यशैली अंगाल्ने प्रयास भएको छ । कतैकतै लामा वाक्य पनि परेका छन् । लामा संवाद पनि उत्तिक्कै प्रयोग भएका छन् । प्रायः कथानक पात्रको संवादले नै बोकेको छ । सरल, सहज र स्वभाविक भाषाशैलीको प्रयोग भएको छ ।
संरचनागत दृष्टिले ‘बँधुवा’ कथामा एक दृष्टि–
कथा लेखन गर्दा प्रथमतः सार्थक उठान गर्ने, सङ्घर्ष आरम्भ गर्ने, सङ्घर्षको चरम सीमामा पुग्ने, संघर्षको विस्तारै ह्रास गर्ने र अर्थपूर्ण तवरले कथाको अन्त्य गर्ने आधारमा कथावस्तु अघि बढाइएको छ । प्रस्तुत छ– यसैका आधारमा सटीक विश्लेषण–
१. सार्थक थालनी– खाना पकाउने बेलामा गोसैयाले खरानी पानी उमाल्नु ।
२. उत्तेजक घटना–बिनापारिश्रमिकदिनभर काममा जोतिँदा पनि गोबिनले गोसैयालाई सक्तो धिकार्नु ।
३. बढ्दो घटना– रिन चुक्ता गर्न नसकेको हुँदा जति पेले पनि गोसैया गोबिनको अत्याचार सहन वाध्य हुनु, गरिबीको दर्दनाक तस्विर देखिनु ।
४. चरम सीमा–पितापुर्खाको नाक काट्ने काम गरेको भनी रिसाएर गोसैयाका बाबुले उनलाई मृतघोषणा गरी अंशबाट बेदखल गरेको र रोबिनले पाँच लाख रुपियाँ तिरेर गोसैयालाई जेलमुक्त पारेको रहस्य खुल्नु ।
५. समाधान– हली बसेर हैन, समूहमा इमान्दारपूर्वक काम गरे उद्यम गर्न सकिने, त्यसका लागि शुभेच्छु मित्रहरूको सदाशयताको खाँचो रहेको अनुभूत गराउनु, सबै मिली न्याय दिलाउन जरुरी रहेको अनुभूत कारिचरणले गराउनु ।
र, अन्त्यमा कथामा प्रयुक्त मैथिली संवादलाई हुवहु नेपाली अनुवाद प्रस्तुत गर्न चाहन्छु–
१. ‘चुप रही न बौवा, भात पाइक रहल छै । पहिने तोरै देबै ।’–(चुप लाग न छोरा, भात पाक्तै छ, पहिले तँलाई नै दिन्छु ।¬)
२. ‘हमसभ दुःखी–दलिदरकेँ आङनामे आइबक खडा नई होऊ । अहाँ बइसबे त हमसभके दिल खुस भ’जेतै ।’ –(हामी दुःखी–दरिद्रको आँगनमा आएर नउभिनुस् । हजुर बस्नुभयो भने हाम्रो दिल खुशी हुन्छ ।)
३. ‘बिजुवा बौवा, गोपियाके खातिर कनिमनी खाइल राइख दिअ ।’(बिजुवा छोरा, गोपियाका लागि पनि थोरै खान राखिदे ।)
कञ्चनरूप नगरपालिका–१२, प्रगतिटोल, सप्तरी ।