जति जति भक्तहरूका सङ्ख्या दिनदिनै पात्लिँदै गइरहेछ उति उति नयाँ-नयाँ माता, बाबा, सन्तहरू झरीको च्याउँजस्तै पलाइरहेछन्। ठाउँ-ठाउँमा पुराण, ठाउँ-ठाउँमा भजन। भक्तहरूलाई फुर्सद छैन...कहाँ जाने कता जाने। झन् यो दुर्गापूजाको कुरै छैन। निष्ठा र निवेदन, पूजा-अर्चना नामोनिशान नभए पनि अचेल गाउँ-गाउँतिर दुर्गापूजा आयोजन गर्नेहरुको प्रतियोगिता चलेको देखिन्छ। विशेष बङ्गालमा दुर्गापुजीमा भव्य पण्डाल, आकर्षक मण्डप सजावट, बिजुली सजावट आदिको होड़ चलेको देखिन्छ। विभिन्न क्लबहरूमामाज चामल, गहुँ, दाल, बोरा, चट्टी, टिन-च्याप्ला, फेभिकोल, पाट, टाँक, बिस्कुट, न्यूजपेपर, बोतल, बाँस आदिका प्रतिमा बनाउने गतिलो होड़ चलेको देखिन्छ।
निकट भविष्यमा बुलेट, बम, बारुद, बन्दुक, तोप आदिको मूर्ती बनाएलान्। भक्तहरूमाझ अलिकति बनि धक्का-धक्की, भयो कि बुलेट-बमले बनिएका देवी प्रतिमा बरङ्ङै पड़्किनेछ। एक मिलिकमै सब स्वाहा। गणशेको सूँढ़मा तोपको नली फिट हुनेछ। अर्को क्लबले आगलागी हुँदा फायरम्यानहरूले प्रयोग गर्ने ‘डेलिभरी हज् पाइप‘लाई गणेशको सूँढ़मा जोड़ी सबैलाई छक्कै पार्नेछन्। देवीका दसवटै भुजामा एके फोर्टी सेभेन, खुकुरी, रिभल्भर, मेटाल डिटेक्टर आदि हुनेछन्। महिसासुरको टाउकामा हेलमेट। पछि-पछि देवी दुर्गाको प्रतिमा दाँत, च्यॉऊ, बोतल, आरडिएक्स, हरियो पोते आदिको पनि बनिएलान्। किनभने अचेल देवी अर्चनाभन्दा पनि प्रतियोगिताको होड़ चलेको हुन्छ।
देवी दुर्गाको प्रतिमा देखेर छक्कै पर्नुपर्छ। कुनै फिल्मी हिरोइनको भाइटल स्ट्याटिसटिक्ससित देवीको ऐश्व्यमयी आँखा, अर्की सुन्दरी हिरोइनको ‘पञ्च‘। वाह... क्या च्वाँक्। हिरोइनहरूका जेरक्स देवीमुहार दर्सनमा तमाम् भक्तजनहरू भुतुक्कै मात्र नभएर पागलै हुन्छौं। मर्त्यलोकको शिविरमा देवी दुर्गाले शिवजीलाई ‘हाय एस‘ भनी अभिवादन गर्दा शिवाजी तीनछक्क परे। अचम्म र उदेक मान्दै शिवजी गर्जे – वाट इज दिस? तिमी ता देवी हौ प्रिये...हिरोइनजस्तै भएर पो आइछौ प्रिये?
गोलभिँड़ाजस्तो आँखा नचाउँदै बोलिन् दुर्गा –नो डार्लिङ...जस्ट फर अ चेञ्ज। कस्तो लाग्यो हजूरलाई मेरो सेक्सी ड्रेस अप? फ्रि फ्याङ्क कम्पलिमेण्टस दिनोस् न...
धतुरोले लट्ठ परेका शिवजी मुस्कुराए मात्र। गम्भीर मुद्रामा शिवजी बोले –अहँ...राम्रो देखिएन। ओरिजिनल ड्रेसमै तिमीलाई सुहाउँछ।
देवी बत्तीस दन्त ङिच्याउँदै बोलिन् – होइन हजूर मर्त्यलोकमा आएपछि ता मर्त्यलोककाहरूकै देखासिकी गर्नुपरेन अनि?
शिवजी धतुरो तान्दै बोले - मर्त्यलोककाहरूले के गर्छन् के गर्दैनन् द्याट इज नट आउर लुक आउट। हामीले हाम्रो परम्परा र संस्कृति पटक्कै बिर्सुनु हुँदैन डार्लिङ। स्वर्गलोको आफ्नै रिति-रिवाज छ। नीति नियम र विधान छ। तिमीले यस्तै पाराले सर्वाङ्ग देख्ने लुगा लाएर तल मर्त्यलोक गयौ भने तिमीलाई पत्रकारहरूले मात्र होइन यहीँ स्वर्गकाहरूले पनि ओसामा बिन लादेनकी स्वास्नी बनाइदेलान्। क्यान् यू एक्सेप्ट? दुर्गा इज दुर्गा। तिमीले आफ्नो कनफिडेन्स गुमाउँदैछौ। पोहार साल तिम्रा दुइ सुपुत्रीहरूले साड़ी लाउँदिनन् भनेर कैलाशमा कस्तो हुँड़ीबिड़ी मच्चाएका थिए त्यो तिमीलाई राम्ररी थाहा छ होइन? कि बिर्सियौ?
सामान्य मुस्कुराउँदै देवी दुर्गा बोलिन् –जिन्स नलाए पनि मीठो कलरको सलवार लेगिङ्स लाएर तल मर्त्यलोक जाँदा....
कुरा काट्दै शिवजी बोले – हामी अर्काको होहोरीमा किन लाग्ने? हाम्रो संस्कृति किन भुल्ने?
आफ्नो तर्क राख्दै देवी फुर्किँदै बोलिन् – मर्त्यलोकका विभिन्न पण्डालमा मलाई (देवी प्रतिमा) हेर्न आउने हजारौं दर्शानाभिलाषीहरूमध्ये सेतै केश फुलिसकेका स्त्रीहरू समेत पोहोर साल जिन्समा आएका थिए।
शिवाजीले लामो श्वास फेरे- केही बोलेनन्।
XXX XXX XXX XXX XXX XXX XXX
अहिलेको युगमा सबै नयाँ भएको छ। साहित्यमा उत्तर आधुनिकता, सङ्गीतमा पप वा रिमिक्स। पहिरनमा हि-पप। दुर्गापूजा गर्ने परम्परामा पनि नयाँपन देखिइन थालेको छ। उहिले षष्ठीको बोघन (देवीलाई ब्यूँझाउने काम) गरिन्थ्यो। पूजा आरम्भ। तर अचेल बोधनको नामो निशान छैन। अहिले उदबोधन (उदघाटन)को हावा चलेको छ। पूर्जा उदघाटन गर्न कुनै निर्धारित समय हुँदैन। भीआईपीको मर्जी अनुसार पूजा उदबोधन गरिन्छ। चाहे त्यो षष्ठी होस् कि सप्तमी। सप्तमी होस् कि अष्टमी। सबै चलेबल। कुनै कुनै मण्डपमा राती बाह्र बजे पनि पूजा उदबोधन गरिन्छ।
आरम्भमा ख्यातिप्राप्त कलाकार, साहित्यकार तथा खेलाड़ीहरूका बाहुलीबाट पूजा उदबोधन गरिन्थ्यो। अचेल पद र कद हेरेर पूजा उदबोधन गर्ने देशान चलेको छ। निकट भविष्यमा कुनै आतङ्कवादीको बाहुलीबाट पनि यहाँका पूजाहरू उदबोधन हुने बेर छैन। हाम्रो यता क्वालिटीभन्दा क्वाण्टिटीको बजार तातो छ।
पूजामा बिजुलीको सजावटले पनि संसार पिटिरहेछ। पहाड़को पहिरो, रोनाल्डोको गोल, मेसीको ब्याक भली आदिलाई बिजुलीमा देखाइसकिएको छ। कुनै दिन लादेन एक्सन, सद्दामको फाँसी, झाँक्री नाचेको, माता उफ्रेकी दृश्य मण्डपमा प्रदर्शन गरिनेछ। एकपल्टा दार्जिलिङमा अठारे हाते माता दुर्गा देख्यौं हामीले। अब आउने रिमिक्स देवी माताको पच्चीस हात देखिनेछ। यी थप हातहरूमा यथाक्रमले ल्याप-टप, मोबाइल, डिजिटल क्यामेरा, रिमोट कण्ट्रोल, साइलेन्सर गन, हरपुन मिसाइल, हार्ड र सफ्ट डिस्क आदि रहनेछन्। कतिबेला के हुनसक्छ...ठेगान छैन। दिनकाल ठिक छैन। कसैले यताउति गऱ्यो कि ड्याङ कि ड्याङ। समय बित्दै जान्छ। रिमिक्स दुर्गापूजा आयोजन गर्ने शैलीहरू पनि क्रमशः परिवर्तन हुँदै जानेछन्। केही वर्षपछि अवश्यै विराजमान हुनेछन् अदृश्य देवीप्रतिमा। मण्डप पनि अदृश्य। मुक्त हावामा निराकार देवीप्रतिमा। अदृश्य मण्डपभित्र अदृश्य देवी दर्शनको निम्ति दर्शकहरू ठेलमठेल गर्दै पस्नेछन्। वेदीको कल्पना गर्नेछन्। देवी दुर्गाको कल्पना गर्नेछन्। खर्च शून्य भए पनि चन्दा बेजोड़पाराले उठाइनेछ। अदृश्य पूजा भयो ता के भयो? मेम्बर्सलाई खर्च पनि चाहियो। आफ्नो पाकिटको पैसा खर्च गरेर कोही खट्यो? माछाको बोसाले नै माछा भुट्नुपर्छ।
रिमिक्स दुर्गापूजामा कुनै हिसाब किताब हुनेछैन। ढोल-ढ्याङ्ग्रो बज्ने छैन। पण्डितको आवश्यकता पर्नेछैन। अचेल बाजेहरूको डिमाण्ड पनि कम्ति छैन। आतङ्कवादीहरूभन्दा पनि बाजेहरूको धम्की कम्ति छैन। यसैले अब मन्त्रोच्चारण हुनेछ अडियोमा। ढोल-ढ्याङ्ग्रोको सट्टा मण्डपमा स्टेरियो थर्किने गरी पप र रिमिक्स गीतको कानका जालो फुट्ने गरी व्यञ्जना गुञ्जिनेछ। अरु केही होस् नहोस् गाउँका तरुणी-तन्नेरीहरूका कम्मर पेण्डुलजस्तो मण्डपमा हल्लिनेछन्....प्रसादस्वरुप सुरापान गर्नेहरू घुटघुट थुक निल्दै तरुणीहरूका कम्मर हेर्दै रात फर्लङ्ङै काटनेछन्।
मध्य रातमा प्रसाद आइपुग्छ...प्रसादमा फल-फूल हुनेछैनन्। प्रण-चाउमिन, चिकन बिऱ्यानीका साथै ग्रीन लेबल, म्याड्वेल, ब्याप पाइपर, आरसी आइपुग्छ। कार्टुनका कार्टुन बियरका बोतलहरू मण्डपमा आइपुग्छ। मण्डपबाट दर्शनार्थीहरू साइसुत्तै भएपछि बोतलका बिर्काहरू खोलिएपछि ताण्डव नृत्य आरम्भ हुनेछ। रिमिक्स दुर्गपूजा ग्राण्ड सक्सेस्।
दूर्गा माताको जय।
जय दुर्गामाता।
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)