धरान पहिलोपटक पुगेका हामी। धरान बजार थोरै नघुमी मन कहाँ अड़िन्छ र! ‘दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव’को पहिलो दिन, 30 जून 2023 (वि.सं. 2080, असार 15)। छोटो समयका लागि धरान पुगेका हामी कार्यक्रमबाट समय निकालेर पनि धरानवरिपरि घुम्ने भयौं। हामीलाई साथ दिनुभएको थियो सीता कार्कीले। वहाँ धरानवासी। त्यसैले धरान छेउछाउका स्थानहरू घुम्न निक्कै सहज भएको थियो। कुन ठाउँ घुम्ने, कहाँ जाने, कति समय लाग्छ, कुन माध्यमबाट जानुपर्ने आदि-इत्यादि उहाँले नै सहज गरिदिइरहनु भएको थियो।
390 फिटदेखि 5833 फिटको उचाइँसम्म फिजिएको धरान नेपालको सुनसरी जिल्लाअन्तर्गत पर्दोरहेछ। यतिबेला भने यहाँका मेयर हर्क साम्पाङ (हर्कराज राई)-को चर्चा विश्वस्तरमा चलिरहेको छ। 1902-मा रत्नप्रसाद श्रेष्ठले पहिलोपल्ट सानो व्यापारिक केन्द्रको रूपमा शुरु गरेको मानिँदोरहेछ धरान। लिम्बुवानका दश राज्यमध्येको एक ‘मिक्लुङ राज्य’ भनेर शुरु भएको रहेछ। अघिदेखि सुन्दै आएको थिएँ- ‘धरानमा मुलतः चिम्सो आँखा र थ्याप्चो नाक भएका, गाला पाक्क-पुक्क फुलिएकोजस्तो, होचो-होचो कद, रातो-पिरो देखिने राई-लिम्बूहरू बसोबासो गर्छन्।’ धरान पुगेपछि तर राई-लिम्बूसँगै गुरुङ, नेवार, छेत्री, बाहुन आदि जातजातिको बसोबासो रहेको बुझियो।
जून-जुलाईको महिना, 25-30 डिग्रीभन्दा झण्डै माथिको तापक्रम। निक्कै गरम। तरै पनि हामी पहिलो दिनको कार्यक्रमको अन्ततिर घुम्न निस्केका थियौं।
घुम्नपर्ने ठाउँहरू सीताज्यूले बताइसक्नु भएको थियो। ओशो पार्क, अलिक मास्तिर वी.पी.पार्क, त्यसको केही परतिर श्रम-संस्कृति पार्क। त्यसपछि बुढ़ासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पञ्चकन्या मन्दिर, पाथिभरा मन्दिर, पिण्डेश्वर मन्दिर आदि।
हामी (म, अस्मिता र जीविका दिदी भानुचोक छेउदेखि लक्ष्मी चोक हुँदै निस्कियौं घुम्न। अटो चालकले लगाउनु भएको टी-सर्टमा पछाड़िपटि लेखिएको थियो ‘स्वयम्सेवा समाज, नेपाल’। हामी सीता कार्कीज्यूलाई पिकअपको लागि फुस्रे पुग्नु थियो। जाँदैगर्दा चालक दाइलाई सोधेपछि थाह भयो, उहाँहरूको यो संस्था विगठन भइसकेको रहेछ। हामी फुस्रे पुग्यौं। त्यसपछि चारजना भएर लाग्यौं ओशो पार्कतिर। समय ठ्याक्कै कति लाग्यो, त्यो अहिले सम्झनामा छैन। तर, अटोमा दश-बीस मिनटको समयमा हामी ओशो पार्क पुगेका थियौं। सानोसानो, केही साँगुरो सिमेन्टी सड़क। छेउतिर पसल र घरहरू। पुग्ने बित्तिकै सानो पुल। पर्यटकहरूका लागि नै विशेष आकर्षक ढङ्गमा सजाइएको। पुलपारी तलतिर खाजाघरहरू। पहिले अन्यस्थानतिर थियो‘रे। वर्तमान मेयर हर्क साम्पाङले यहाँ सुव्यवस्थित ढङ्गमा यहाँ राखिएको भन्ने बुझियो। यहाँ सेकुवा र सिरुवाहरू सायद प्रशस्तै पाइने सुनियो। तर, पसिएन। पुलको तलतिर खोला (पानी थोरै बगिरहेको)-मा एकातिर ठूलो ढुङ्गामा सर्प (नाग?) कुँदिएको, अर्कोतिर बाघ, हाँस आदिको चित्र कुँदिएको। पर्यटन विकासका धेरै कामहरू भइरहेकै अवस्थामा थियो। ‘ढुङ्गामा यसरी नागदेवको चित्र कुँदिएको भन्ने अहिले पो हामीलाई थाह छ। तर, समयान्तरमा यहाँ नागदेवले बास गरेको रहेछ भनेर पूजा नगर्लान् त मान्छेले?’ सायद जीविका दिदीले यस्तै केही भन्नुहुँदै थियो। सीताज्यूले भन्नुहुँदैथियो- ‘धरानको यो मुख्य पर्यटकीय स्थल नै हो। कोही पनि धरान आउँदा यहाँ आएरै जानुहुन्छ। पहिलेभन्दै धेरै राम्रो बनिँदैछ।’ त्यहाँ राखिएको शालिमारमा लेखिएको थियो- ‘धरान उप.म.न.पा. वड़ा न. 20 स्थित श्रम संस्कृति पार्क क्षेत्रमा रहेको अव्यवस्थित टहराहरू हटाई पुनः नयाँ संरचना निर्माण कार्य सम्पन्न भएको छ। यस टहरा/भवनको उद्घाटन धरान उप.म.न.पा.का मेयर हर्कराज राई (हर्क साम्पाङ)÷ज्यूबाट मिति 2079 फागुन 15 गते सु-सम्पन्न भयो।’
पुलपारी थोरै अग्लोमा देब्रेतिर फेन्सिङ गरिएको रहेछ ‘ओशा पार्क’। पुल तर्ने बित्तिकैदेखि टायल्स ओछ्याइएको साना वाहनहरूसमेट गुड़न मिल्ने बाटो/सड़क रहेछ। दुई-चार कदम हिँड्ने बित्तिकै पुगिन्छ ‘ओशो ध्यान केन्द्र’ जसले गर्दा यहाँको पार्कलाई पनि ओशो पार्क भन्ने गरिएको रहेछ। सानो ठाउँ। तर, यहाँ प्रवेश गर्ने बित्तिकै एकप्रकारको शान्ति अनुभव गर्न सकिने। दाहिनेतिर ओशोको ध्यान केन्द्रे। भित्र वारपार खुल्ला। पल्लोछेउमा दियो बलिरहेको। योग गर्नसम्म मिल्ने घर। अगाड़ि खुल्ला स्थान। सायद पिपलको एउटा रुख अनि पल्लो छेउमा बर। फेदमा ध्यनमग्न गौतम बुद्धको प्रतिमा।
ठाउँ-ठाउँमा ‘उत्सव मेरो धर्म, प्रेम मेरो सन्देश, मौन मेरो सत्य’ जस्ता ओशोका तस्वीरसँगै विचारहरू लेखिएका बोर्डहरू राखिएका थिए। एकापटि बुढ़ासुब्बा मन्दिरमा जस्तै सानासाना बाँसहरू, तर-बुढ़ासुब्बामा जस्तो पुट्टाबिनाको होइन।
यहाँबाट निस्किएपछि थोरै मास्तिर भित्तामा रहेछ विश्वेश्वर प्रसाद कोइरालाको पूर्णाङ्ग शालिक। शालिकको फेदमा लेखिएको रहेछ- ‘जननायक वी.पी. कोइरालाको पूर्णकदको शालिक। स्थापना- 2077’। यहाँ पनि फोटो खिच्यौं र लाग्यौं मेयर हर्क साम्पाङले नामाङ्करण गरेको श्रम-संस्कृति पार्कतिर। यहाँ अहिले नै हेर्नका लागि खासै केही देखिँदैन। पार्कमा ‘आराधरान’को नमुना (प्रतिमा) बनाइएको रहेछ। टाड़ाबाट हेर्दै ठ्याक्कै काठ कादिँदै गरेको देखिने। चारैतिर विभिन्न फूल र रुखका पौधाहरू लगाइएका। मेयरले शुरु गरेको ‘विरुवा रोपन’ अभियानले निक्कै पहाड़ चड़िसकेको बुझियो। उक्कालो निक्कै हिँड़नुपर्ने रहेछ। रोपन कार्य चलिरहेको स्थानसम्म पुग्न सकिएन।
श्रम-संस्कृति पार्कको शुरुको स्थानसम्म पुग्दा लेखिएको रहेछ- ‘श्रम संस्कृति पार्क’। त्यसको तलतिर लेखिएको रहेछ- ‘देश सोच्न सकूँ म। देश बोल्न सकूँ। देशकै कर्म गर्न सकूँ म। देशकै लागि म मर्न सकूँ।’ अर्को ठाउँ लेखिएको रहेछ- ‘श्रम संस्कृति पार्क अन्नपूर्ण क्षेत्र’। अनि लेखिएको थियो- ‘वृक्षारोपन गर्न मनाही क्षेत्र।’ यहाँ ‘वृक्ष’लाई ‘विरुवा’ लेखिदिएको भए अझ राम्रो लाग्नेथियो जस्तो लाग्यो। तर कसैलाई केही भन्न सकिएन। पारीपटि धरान बजार पुराइएको पानीको पाइपलाइन देखिँदो रहेछ।
श्रम संस्कृति पार्कबाट फर्किएर हामी लाग्यौं पञ्चकन्या मन्दिर तर्फ। बाटो सानो अनि निक्कै चढ़ाइ रहेछ। श्याम श्रेष्ठको 6420 नम्बरको अटोले त्यो उक्कालो तानेकै हो हामीलाई।
‘धरान-14, विजयपुर, पाँचकन्या मन्दिर’ सीताले जानकारी दिनुहुँदै थियो। यहाँ आइपुग्दा साँज पर्न लागिसकेको थियो। रुखमा ट्याप्प टाँसिएर कराइरहेको झ्याउँकिरी देखाउँदै थिइन् अस्मिता। पञ्चकन्या (गौतम ऋषिकी पत्नी- अहल्या; पाँच पाण्डवकी पत्नी- द्रौपदी; बालीकी पत्नी- तारा; पाँच पाण्डवकी आमा- कुन्ती र रावणकी पत्नी- मन्दोदरी) मन्दिरसँगै देब्रेतिर रहेछ वि.सं. 2057-मा स्थापित ‘श्री पाथिभरा यूमा महारानी देवी मन्दिर’।
‘गुँरासको फेदमुनि सम्झनाको छाँया, ..., आजै गई बुढ़ासुब्बा लेखुँ नाम बाँसैमा...।’ सविन राईको यो गीत धेरै पहिले नै हो सुनेको। ‘बुढ़ासुब्बामा बाँसको टुप्पा हुँदैन अरे...’ भन्ने पनि सुनेको। माया-प्रिती लाउनेहरूले त्यहाँको बाँसमा नाम लेखे चिताएको पुग्छ भन्ने पनि सुनेको। एकपटक पुग्ने खुब रहर थियो। धरान आएपछि बल्ल थाह भएको थियो बुढ़ासुब्बा मन्दिर त धरानमै त रहेछ। पञ्चकन्या र पाथिभरा मन्दिरबाट निस्किएपछि थोरै अगि आएर देब्रेतर्फ मोड़िएपछि पुग्यौं ‘श्री बुढ़ासुब्बा मन्दिर’। वर्षौंदेखिको सपना पूरा भयो। मन्दिर प्रवेश गर्नअघि नै पूजाका सरजामसाथै दर्शनमा आउनेहरूले उपहार लानसक्ने साना-साना सामग्रीहरूको खुद्रा पसलहरू रहेछन्। मन्दिरमा चढ़ाउने धुप, प्रसाद, डोरा र अन्य सामग्रीहरू पनि किन्न सकिने। तर साँझको समय एक-दुई पसलबाहेक प्रायः सुनसान थिए।
हामी पुग्दा मन्दिर बन्द हुने समय हुँदैरहेछ। देब्रेतिरबाट प्रवेश गर्यौं। ‘नाम लेख्न सकिने बाँसबारे जान्ने चाह थियो। हामी प्रवेश गर्दैगर्दा दाहिनेतिर अथवा समग्र मन्दिर परिसरको माझमा सुरक्षित प्रकारले बारिएको रहेछ टुप्पाबिनाको बाँसघारी। नाम लेख्दालेख्दा बाँस मर्न थालेपछि लेख्न बन्द गरिएको रहेछ। सट्टामा बाँसलाई बारिएको बारमा डोरा बाँध्ने चलन रहेछ। मन्दिरको ढोका नजिक पुग्दा एकजनाले ‘लू.. छिटो गरेर गर्शन गरिहाल्नुस, बन्द गर्ने समय भयो...’ भन्नुभयो। प्रवेश गर्दा दाहिनेतिर रहेछ बुढ़ासुब्बाको मन्दिर, देब्रेतिर रहेछ बुढ़ीसुब्बेनीको। क्रमैले दुवैको दर्शन गर्यौं भित्रै पसेर। तर, भित्र फोटो खिच्न नपाइने। बाहिरबाट भने फोटो, भिडियो सबै लिनसकिने रहेछ।
बुढ़ासुब्बा मन्दिरको दर्शनपछि दश मिनटको दुरीमा रहेछ ‘दन्तकाली’ मन्दिर। त्यसअघि विजयपुरको डाँड़ामा सबै ‘पुच्का’मा भुलियौं। त्यसपछि बाटैमा ‘लोकनाथ महादेव सेवा मन्दिर’ रहेछ। यहाँ नपसी सोझैं ‘दन्तकाली’ पुग्यौं। सायद साँझको 6 बज्दैथियो, मन्दिर वरिपरि घण्टाहरू बजाइँदै थिए। हामी पुग्दानपुग्दै बज्न छाड़े। बेलुकी विशेष आरतीको समय यसरी घण्टाहरू बजाइँदो रहेछ यहाँ। भित्र प्रवेश गर्यौं, तर मन्दिर धोइपखाली गरिँदैरहेछ।
यहाँ प्रसाद र टीका लिएर फेरि हामी लाग्यौं ‘पिण्डेश्वर बाबा धाम’। पुग्दा बेलुकी साँढ़ेसात बजेको हुनुपर्छ। मन्दिरको दाहिनेतिर पोखरी रहेछ। यो पोखरीमा साउन महिनामा सप्कोशीको पानी बोकेर बोलबम गर्ने र यहाँ चढ़ाइने गरिदो रहेछ। सीताज्यू र जीविका दिदीले हामीलाई जानकारी गराइरहनु भएको थियो। अभाग्यवश अँध्यारोमा पोखरीको दृश्यावलोकन गर्न सकिएन। हामीलाई देखेर मन्दिरमा पुजारीले ‘छिटो आइहाल्नु...’ भन्ने इशारा गरिरहनु भएको रहेछ। जीविका दिदी र सीताजी हामीलाई बाहिरै पर्खनु भयो। हामी पापा-छोरी दर्शन गरेर निस्कियौं।
अँ, प्रिय पाठक यदि तपाईं पनि यी मन्दिरहरूको दर्शनमा पहिलोपटक जानुहुँदैछ भने आफ्नै सवारी साधन भए असल। नभए यो समयमा फर्कनका लागि सवारी साधन नपाइन सक्छ। हामीले भाग्यवश आफन्त लिनका लागि जानलागेको अटो पायौं।
दोस्रो दिन पनि कार्यक्रम दिनैभरि चलिरहेको थियो। भारत-नेपाल दुवैतिरका कविताहरू सुनिरहेका थियौं। अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवबारे जति सुनिएको थियो सायद यो पटक त्यो भन्दा फरक अनुभव गरिरहेका थिए धेरैले। आफू त पहिलोपटक अनुभव गरिँदै थियो। नयाँ-नौलो ठाउँमा नयाँ-नौला स्रष्टाहरूसँग भेटने अवसर पाइएको थियो। कार्यक्रमसँगै आगन्तुक सबैका लागि खाने र बस्नेसम्म सुव्यवस्था थियो नै।
कार्यक्रममा कविता सुनिरहँदा हतारमा आएर दार्जीलिङकी साहित्यकार सुमित्र अविरलले ‘सर, आउनोस् न, गायक गंगा वरदान आउनु भएको छ, एउटा अन्तरवार्ता लिऔं न...’ भन्नुभयो। हाम्रो कार्यक्रम भवनको नजिकै थियो एउटा क्याफेटेरिया (नाम भुलेछु)। साहित्यकार कृष्ण प्रधान, राजेन्द्र प्रधान पासा, नगिता लेप्चा राई, निरुविन्दु र किशन लेप्चा अघिबाटै गंगा वरदानसँग हुनुहुन्थ्यो।
‘उहाँ (गंगा वरदान) बारे मलाईभन्दा तपाईंलाई धेरै जानकारी छ, तपाईंले नै अन्तरवार्ता लिनुहोस न, बरू म क्यामरा सम्हाल्छु’ भनेपछि साहित्य, पत्रकारिता, अनुभव र बँचाइ सबैले अग्रज श्री कृष्ण प्रधानले अन्तरवार्ता लिनुभयो।
गायक वरदानले आफ्नो ‘छपनीले छान् छान् डबकीले हान्; डबकीको निघारैले लाग्यो मलाई वाण...’ लगायतका धेरै गीतहरू कसरी बन्यो/बनाइयो, सुनाउनु भयो। उहाँका बोगाइका कुराहरू सुनाउनु भयो। चर्चा, प्रशंसा र समस्याका कुराहरू सुनाउनु भयो। (उहाँसँगका कुराकारी ‘कला र प्रतिभा’ यूटुब च्यानमा हेर्नसकिन्छ।)
आयोजक पक्षले भेड़ेटार घुमाउने योजना अघिबाटै थियो। यद्यपि, कतिपय समस्या रहेको हुनसक्छ, योजना विफल भयो अनि बुढ़ासुब्बालगात अन्य मन्दिरहरूको दर्शन गराउन लैजाने भयो। पानी परिरहेको थियो। हामी गएनौं। खासमा अघिल्लो दिनै गुमिसकेका थियौं हामी। भेड़ेटार घुम्न जाने सल्लाह गरेका थियौं। जान सकिएन।
कार्यक्रम आयोजक पक्षले भारतबाट जानेहरूका लागि ‘वसन्त स्मृति अतिथि गृह’-मा भोलि बिहानसम्मका लागि बस्ने व्यवस्था गरेको थियो। तर जीविका दिदी, अस्मिता र म 1 जूनकै दिन विदा लियौं। त्यसपछि पुनः लक्ष्मीचोक हुँदै पुग्यौं फुस्रे। सीताज्यूको घर। भोलिपल्ट हामी पापा-छोरी सिक्किम फर्किने।
‘भेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समाचार; धरान धनकुटा भेड़ेटार, सोल्टिनी ज्यू जोड़ौन घरबार...।’ राजशपालय राई र लिला राईको गीत एकसमय निक्कै चलेको थियो। उसो त ‘धरान’लाई लिएर धेरै गीत लेखिएका छन्। गाइएका छन्। तर यो गीतले धेरै कुरा बोकेको छ। यो गीतका कारण पनि हो, धरानसँगै भेड़ेटार घुम्ने अर्को रहर उत्कट थियो मनमा। बल्ल त आएका हामी, एकपल्ट पुगौं भन्ने लागेको थियो। त्यसैले आफ्नो कामकुरो, व्यस्तता के-के थियो सीताजी र जीविका दिदीले सबै भुलेर हामीलाई पुर्याउनु भयो भेड़ेटार। साथमा थिए सीताजीको छोरो सबिन बास्तोला।
धरानमा यति गर्मी कि, चिसो पानीमै डुबिरहौं झैं लाग्ने। भेड़ेटार पुग्दा ठीक विपरीत। यति जाड़ो कि, भन्नै सकिन्न। त्यहीमाथि पानी झररर.... परिरहेको। अस्मिता पनि जाड़ोले लकलक काम्दैथिइ। बसको अन्तिम सीटमा बसेर 16 किलोमिटर टाड़ा पुग्यौं हामी भेड़ेटार। बसबाट ओर्लिएका थियौं हामी दोबाटोमा। सिधै गए धनकुटा पुगिने। दाहिनेतिर माथिल्लो बाटो लागे भेड़ेटारको सानो पार्क पुगिने। पुगेर पहिले पानीबाट बाँच्ने उपायमै पस्यौं हामी ‘रेश्मा होटल’। भित्र बुढ़ी आमै हुनुहुन्थ्यो ‘माया मगर’। नेपाली गरगहनाले खुबै सुहाएको। आगन्तुकहरूको सेवामा हुनुहुन्थ्यो सायद उहाँकी बुहारी। हामी कसैले चिकन थुप्पा त कसैले पर्क थुप्पा मगायौं तातो तातो। सड़कछेउको यो सानो होटल छिर्दा भित्रतिरको सङ्घारमा टाउको ठोक्किएर झण्डै हुरुक्कै पारेको। छेउतिरको खिड़कीबाट तल्लोपटि देखिन्थ्यो अघि बसबाट ओर्लिएको भेड़ेटार चोक र चोकबाट धनकुटा पुर्याउने सड़क। यहाँदेखि 36 किलोमिटर टाड़ा रहेछ धनकुटा। तर हाम्रो यात्रा भेड़ेटारसम्मको मात्रै थियो। भेड़ेटारमा यहाँको प्रायः मौसमअनुसारको खानपान पनि पाइदोरहेछ। विशेष तातोतातो थुप्पा, राँगाको सुकुटी, कोदोको तोङ्बा।
तातो थुप्पा खाइसकेको केहीक्षणमा आकाशले पनि विश्राम लिन खोजिरहेको थियो। पानी थोरै थामिएपछि हामी सड़कको माथिल्लोपटि रहेको सानो पार्क पुग्यौं। यहाँ ‘शंख’ बनाइएको थियो पर्यटकहरूका लागि। भ्यू-पोइण्टहरू पुग्न भ्याइएन। नमस्ते वाटर फल्स पनि पुग्न सकिएन। फर्किएर पुनः चोक पुग्यौं। ‘साँगुढ़ीगढ़ी गाउँपालिका’ पर्ने भेड़ेटार चोकको माझमा ‘इमानसिंह चेमजोङ’-को शालिक निर्माण गरिएको रहेछ। ‘मन्दिर पनि छ’ भन्ने थाह पाइएपनि जान सकिएन। सुनसरी र धनकुटाको सीमाक्षेत्र नै भन्न सकिने भेड़ेटार सानो तर साँच्चै रमाइलो। भेड़ेटारबाट फर्केर बगरकोटमा लिएको सेकुवा र चाउमिनको स्वाद भुल्नै नसकिने। भानुचोकअघिको टावर (घण्टाघर)बाट पूरै धरानको सेरोफेरो लगाउँदाको रमाइलोपन उस्तै छ। फेरि कुनैदिन पुगिएला अनि घुमिएला त नि धित मरुञ्जेल।