विषय उठान:
नेपाली बाल साहित्यमा अहिले हरेक बर्ष २०० भन्दा बढी (प्रधानः २०७७) कृतिहरू छापिने गरेका छन् । बालकथा, चित्रकथा, शब्दहीन बाल पुस्तक, बाल उपन्यास, च्यप्टर बुक, किशोर कथा आदि विविध विधाका बाल सामाग्रीहरू छापिदै आएका छन् । यसै सन्दर्भमा बि. एस. बुक्स काठमाडौँले हालै विजयराज आचार्यको ‘मत्स्यकन्या’ (२०८०) किशोर कथा प्रकाशनमा ल्याएको छ । यस कृतिमा १० वटा कथाहरू रहेका छन् । भित्री पृष्ठमा किशोर कथा भनिए पनि यसमा समाविष्ट कथाहरू
बहुरङ्गी रहेको छ । हरेक कथाहरूलाई रङ्गीन चित्रले सजाइएको यस सङ्ग्रहमा तनहँुका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूका मिथक, किम्वदन्ती र ऐतिहासिक घटनाहरूलाई आधार बनाएर लेखिएका बालकथा र किशोर कथाहरूको सङ्कलन गरिएको छ ।
विजयराजका कृति सन्दर्भ:
वि.सं. २०३३ मा प्युठानको दाङवाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका विजयराज आचार्य बालसाहित्य लेखन, प्रकाशन र प्रचारप्रसारमा समर्पित छन् । उनको पहिलो प्रकाशित रचना ‘शान्तिको आत्मकथा’ (२०५९) हो । यो चित्रकथाको रुपमा छापिएको थियो ।
उनको २०६६ सालमा बाटुली(२०६६) पहिलो बालकथा सङ्ग्रहका रुपमा छापिएको थियो । त्यसपछि आमाको माया(२०७०), छोरीको माया(२०७०), बुबाको माया(२०७०), हजुरआमाको माया(२०७०), पाप पखाल्ने गङ्गा(२०७२), स्मार्ट घर(२०७४), आकाश ओढ्ने जिन्दगी(२०७५), रङ्गीन विष(२०७५), कुटी(२०७७), जेनिसको जन्मदिन(२०७८) र स्वयम्भूका आँखाहरू(२०७८) प्रकाशन भए । त्यस्तै बाल उपन्यास, चित्रकथा, बाल नाटक, अनुवाद आदि गरेर १२० भन्दा बढी कृतिहरू छापिएका छन् । मत्स्यकन्या (२०८०) विजयराज आचार्यको तेह्रौँ बालकथाको कृति हो ।
‘मत्स्यकन्या’ रचना सन्दर्भः
‘शान्तिको आत्मकथा’बाट बालकथा सिर्जनायात्रा थालेका विजयराज आचार्य अहिले विभिन्न जिल्लामा रहेका अनुश्रुति, किम्बदन्ती र मिथकहरू खोजविन गर्दै बालकथा सिर्जना गर्ने अभियानमा लागेका छन् । यस अघि उनले स्वयम्भूका किम्बदन्तीमा आधारित भएर नौवटा कथाहरू लेखेका थिए जुन स्वयम्भूका आँखाहरू(२०७८) मा छापिएको छ । यसपटक तनहुँ क्षेत्रमा रहेका किम्बदन्तीहरूलाई आधार बनाएर १० वटा कथाहरू सिर्जना गरे । लेखकीयमा उनले कथा सिर्जनाका सन्दर्भहरू उल्लेख गरेका छन् । कथाका सामग्रीहरू खोज्न उनी थुप्रैपटक तनहुँ पुगेका थिए भने कथा लेखिसकेपछि पनि कथालाई आधिकारिक बनाउन र परिमार्जन गर्न स्थानीय विज्ञसँग संवाद गर्ने र आफुले छानेको विषयको बारेमा लेखिएका सामग्रीहरू खोजेर अध्ययन गर्ने काम गरे । अनि बल्ल कथालाई अन्तिम रुप दिए ।
मत्स्यकन्या (२०८०) का कथाहरूः
यस कृतिमा १० वटा कथाहरू रहेका छन् । लेखक तनहँुका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको स्थलगत भ्रमण गरी त्यहाँ प्राप्त भएका मिथक, किम्वदन्ती र ऐतिहासिक घटनाहरूलाई आधार बनाएर लेखिएका कथाहरूको सङ्कलन गरिएको छ यस कृतिमा ।
‘आदिमूल’ कथा तनहुँको महत्वपूर्ण ठाउँ आदिमूलको उत्पत्तिको सन्दर्भलाई उधिन्ने सुन्दर कथा हो । मगर भाषामा ‘डि’ को अर्थ पानी हुन्छ । आदिमकालदेखि ‘डि’ अर्थात पानीको मूल रहेको स्थानको रूपमा ‘आदिमूल’ नाम रहन गएको हुनसक्ने किम्वदन्तीलाई गोठाला गएका हजुरआमा र नातिनीको माध्यामबाट रोचक ढङ्गले देखाइएको छ । सम्भावित किम्वदन्तीमात्र आएको छैन, स्थानीय जनजीवन र लवज पनि आएको छ कथामा ।
तनहुँको सबैभन्दा अग्लो मानिएको छिम्केश्वरीको प्राकृतिक सौन्दय, जनश्रुति र मिथकलाई प्रस्तुत गर्ने कथा हो ‘छिम्का लेक’ । आँबुका बासिन्दा आकास, प्रकृति र अनिल काकाको छिम्का लेकको घुमघामको क्रममा भएको संवाद मार्फत छिम्का लेकबाट देखिने प्राकृतिक दृश्यहरू (नदी, हिमाल, बस्ती), त्यहाँ रहेको छिम्केश्वरी मन्दिर, बुढीदेवी मन्दिर र तिनीहरूसँग जोडिएको किम्बदन्तीलाई कथामा प्रस्तुत गरिएको छ । दिदी बहिनीका रुपमा मादी र सेती नदीसँग जोडिएको किम्बदन्ती पनि कथामा अनिल काकाले बताएका छन् । जङ्गलमा गाइवस्तुहरू छाडा छाडिएको प्रसङ्ग, हिमालहरू देखिने प्रसङ्ग, छिम्केश्वरी माईको पधेरोमा फोहोर गरे खडेरी पर्ने प्रसङ्ग कथामा आएको छ ।
‘सिद्ध गुफा’ २०४४ सालमा कसरी दुईजना गोठालाले सबैभन्दा ठूलो गुफा पत्ता लगाए, कसरी त्यसको प्रचारप्रसार भयो, त्यहाँभित्रका दृश्यहरू के कस्ता छन् भन्ने देखाउने कथा हो । सिद्ध गुफा नेपालको अनेकौँ गुफाहरू मध्ये निकै प्रसिद्ध गुफा हो । गुफाको जानकारीसँगै कथामा ग्रामीण जनजीवन र बोलीचालीलाई पनि टपक्क टिप्ने प्रयास गरिएको छ ।
‘मत्स्यकन्या’ तनहुँको प्रशिद्ध देवी छाब्दी बाराहीसँग जोडिएको किम्वदन्तीलाई चित्रण गर्ने कथा हो । महाभारतमा उल्लेख गरिएको पराशर ऋषि र मत्स्यकन्या बिचको सम्बन्ध, अनि वेदव्यासको जन्मसँग जोडिएको मिथकलाई आधार बनाएर कथावस्तु र चरित्र निर्माण गर्दै छाब्दीलाई जोडिएको छ कथामा । तुलनात्मक रूपमा यस कथामा छाब्दी बाराहीसँग सम्बन्धित स्थानीय किम्वदन्तीलाई टिप्नुको सट्टा महाभारतमा आधारित पौराणिक कथा जस्तो देखिन्छ । कृतिको शीर्ष कथाको रुपमा रहेको यो कथाले अन्य कथामा जस्तो स्थानीय किम्वदन्ती, जनबोली र परिवेशलाई टिप्न भने सकेको देखिँदैन । तैपनि धार्मिक आस्थाको उदयको भौतिकवादी दृष्टिकोण, राजसत्ताको अत्याचारको चित्रण गरिएको छ । महाभारतमा वर्णित मत्स्यकन्यासँग छाब्दीको सम्बन्ध जोडिएको स्थानीय किम्बदन्तीलाई टिप्न सक्नु यो कथाको सुन्दर पक्ष हो ।
‘तामाखानी’ कथामा आँबु नजिकै रहेको तामाखानीसँग सम्बन्धित त्रासद घटनाको उत्खनन गरिएको छ । हजुरबुबा र नातिनातिनी बिचको सम्बाद मार्फत तामाखानी भेटिएको देखि त्यसको उत्खनन् प्रकृया र डिस्को भत्किएर मान्छे पुरिएपछि बन्द गरेको घटनासम्मका कुराहरू कथाकथन शैलीमा प्रस्तुत गरिएको छ । कथाको मूलपात्र सन्तबहादुरलाई नातिनातिनीले कथा सुनाउन आग्रह गरेपछि आफ्नै जीवनमा घटेको त्रासद घटनालाई कथात्मक स्वरूपमा सुनाएका छन् । हरेक ठाउँका आफ्नै इतिहास र कथाहरू हुन्छन् । ती कथाहरूले पछि किम्बदन्तीको रुप लिन पुग्छन् । लेखकले राणकालमा तामा निकाल्ने गरिएको तरपछि बन्द गरिएको तनहुँको तामाखानीको कथालाई यसमा प्रस्तुत गरेका छन् ।
‘भूतले बिराएको खेत’ आँबुखैरेनी नजिकै रहेको तामाजुङ र कानेटारको निर्माण सन्दर्भमा विद्यमान अनुश्रुतिलाई जस्ताको तस्तै रुपमा टिपिएको छ, जुन ठाउँलाई स्थानीयबासीहरू भूतले बिराएको खेतको बारेमा लिन्छन् । मनकामना निवासी कालजैसीलाई मूलपात्र बनाएर घटनाक्रमको बुनोट गरिएको छ । मनकामनाबाट मस्र्याङ्दी झरेर नुहाउने गरेका कालजैसीले पाँच किलो जङ्गलमा भेटिएकी भुतेनीलाई प्रसव पीडाबाट मुक्त हुन सहयोग गरे । त्यसवापत उनले जादुगरी पुस्तक प्राप्त गरे । त्यसको सहयोगले खयरघारीको बिचमा भूतहरूलाई डाकेर खेत बिराउन लगाए । भूतकै कारण आफ्नी बुहारी गुमाउन परेपछि उनले भूतहरूलाई मस्र्याङ्दी किनारको ओडारमा बस्ने आदेश दिएर त्यसरी बिराइएको खेतलाई तामाजुङ र कानेटार नामाकरण गरे । यस कथाले स्थानीय रूपमा रहेको किम्बदन्तीलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।
‘पद्म पुस्तकालय’ ऐतिहासिक घटनाक्रममा आधारित कथा हो । तनहुँको मात्र होइन पश्चिम नेपालकै पहिलो पुस्तकालय बन्दीपुरको ‘पद्म पुस्तकालय’ स्थापना सन्दर्भ, जनजागरण र राणा विरोधी आन्दोलनमा त्यसले खेलेको भूमिका, पुस्तकालय खोल्ने क्रममा झेल्नुपरेका कठिनाइ आदि कथामा संवादात्मक रुपमा चित्रण गरिएको छ । २००० सालमा रामप्रसाद, सूर्यलाल, ज्ञानहरि र शम्भुलालको सक्रियतामा बन्दीपुरमा खुलेको भानु पुस्तकालय २००४ सालमा राणाको कोपभाजनबाट बच्न श्री ३ महाराजको नाममा पद्म पुस्तकालयका रूपमा दर्ता भएको र त्यसलाई केन्द्रबिन्दु बनाएर राणाविरोधी आन्दोलन सञ्चालन गरिएको प्रसङ्ग कथामा चित्रित छ ।
‘सहिदगाथा’ २००७ सालमा बन्दीपुरमा भएको राणा विरोधी आन्दोलन, त्यसक्रममा भएको दमनप्रक्रिया, आम कत्लयामलाई चित्रण गर्ने ऐतिहासिक कथा हो । देशभर राणा विरोधी क्रान्ति चर्किएपछि तनहुँको प्रशासनिक केन्द्र बन्दीपुरमा पनि गोबर्धन पोखरेल, श्रीभद्र शर्मा लगायतको सक्रियतामा क्रान्ति सुरु भयो । कुम्छा कब्जा भएपछि बन्दीपुर कब्जा गर्न अघि बढेको जनसमूहमाथि सेनाले गोली चलाउँदाा धर्मध्वज गुरुङ, चन्द्रबहादुर सार्की, उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ, सन्तबहादुर राना र खङ्गबहादुर गोदारले सहादत प्राप्त गरे । तर सेना टिक्न सकेन । पछि आन्दोलनकारीहरू जनसरकार गठन गरी प्रशासन त्यहीँबाट चलाउन थाले । बन्दीपुरलाई केन्द्रबिन्दु बनाएर गरिएको राजा बिरोधी आन्दोलनको गाथा हो ‘सहिदगाथा’ ।
‘सन्यासी राजा’ पाल्पाका राजा मणिकुन्द सेनको चरित्रलाई चित्रण गर्ने कथा हो । गोरखाका राजा पृथ्वीनारायण शाह र काठमाडौंसँग नराम्रोसँग हार खाएपछि राज्य सञ्चालनबाट वैरागिएका राजा मणिमुकुन्द सेन आनन्दको खोजिमा बन्दीपुरको मुच्चुक डाँडामा आएको, झप्रीफाँटमा एक विधवाको घरमा बासबस्दा मणिमुकुन्द सेनको राज्यसञ्चालनको ढङ्ग खिचडी पाराको भएको कुरा सुनाएपछि आफ्नो खड्गलाई त्यही छाडेर पूर्ण सन्यासी बनेको प्रसङ्ग कथामा देखाइएको छ । कथामा मणिकुन्द सेनले आफ्नो राज्य विस्तार र सञ्चालनको तौर तरिका, अनि वैराग्यको कारणलाई प्रथमपुरुष शैलीमा बताएका छन् । यो कथा खड्गदेवी कथाको पूर्वकथाको रूपमा रहेको जस्तो देखिन्छ ।
मन्दिरभित्र मूर्ति होइन खड्गलाई देवीको रूपमा पुजिने अनौठो मन्दिरको अनुश्रुतिलाई टिपिएको छ ‘खड्गदेवी’ कथामा । खड्गदेवी मन्दिर बन्दीपुरको सांस्कृतिक सम्पदा हो । यस मन्दिरभित्र खङ्गलाई देवीको रुपमा प्रतिष्ठापन गरिएको छ ।
अनुश्रुति अनुसार गोरखाबाट पराजित भएका पाल्पाका राजा मणिमुकुन्द सेनले झाप्री फाँटमा एउटी भट्टराई थरकी विधुवाको घरमा आफ्नो खङ्ग छाडेको, झाँक्रीले तनहुँसुरमा त्यसलाई देवीको रुपमा स्थापित गरेको, तर खड्ग त्यहाँबाट गायब भएर बन्दीपुरमा भेटिएकाले त्यहीँ खड्गदेवी मन्दिर बनाइएको भन्ने मन्दिरको बारेमा रहेको अनुश्रुतिलाई बालपात्र रिदम, रिमा र शर्मिला बिचको संवाद मार्फत देखाएका छ । यसका साथै पूजाविधि र जातीय समानताका रूपमा खड्गदेवीलाई पूजा र सम्मान गरिदै आएको कुरा पनि देखाइएको छ ।
केही फरक प्रसङ्गमा ‘मत्स्यकन्या’ ः
८७ पृष्ठको आयतनमा फैलिएको यस कथा कृतिमा चीजकुमार श्रेष्ठ (संस्थापक अध्यक्ष, बन्दीपुर सामाजिक विकास समिति)को भूमिका, कवि अनिल श्रेष्ठ (अध्यक्ष, आबुखैरेनी वाङ्मय प्रतिष्ठान)को मन्तव्य र लेखक आफ्नै कथालेखन सन्दर्भका अनुभूतिहरूलाई पनि समावेश गरिएको छ । १० वटा कथामा समावेश गरिएको युवक श्रेष्ट बनाएका २८ वटा रङ्गीन चित्रहरूले कथाको भावलाई जीवन्त बनाएको छ । छिम्का लेक र सहिद गाथामा दुईवटा चित्र रहेका छन् भने बाँकी आठवटा कथाहरूमा ३÷३ वटा चित्रहरू रहेका छन् ।
विषयवस्तुका दृष्टिले पौराणिक, ऐतिहासिक र अनुश्रुतिमा आधारित कथाका रूपमा विभाजन गर्न सकिन्छ । स्थानीय अनुश्रुतिले पनि स्थान पाएका छन् । केही स्थानीय ठाउँ विशेषमा आधारित कथाहरूमा तथ्यलाई कथास्वरूप दिएको छ । कुनै कथामा इतिहास, अनुश्रुति र मिथक अन्तरघुलन भएका छन् ।
छाब्दी बाराहीसँग सम्बन्धित कथा ‘मत्स्यकन्या’ पौराणिक कथा हो । ‘पद्म पुस्तकालय,’ ‘शहीद गाथा’ र ‘सन्यासी राजा’ ऐतिहासिक कथाहरू हुन् । ‘आदिमूल,’ ‘छिम्का लेक,’ ‘सिद्धगुफा’ र ‘तामाखानी’ कथा ठाउँ विशेषको तथ्य, महत्व र अनुश्रुतिलाई प्रस्तुत गर्ने कथा हो । ‘छिम्का लेक’ कथामा छिम्का लेकको अनुश्रुति, प्राकृतिक दृश्य र परिवेशलाई बडो सुन्दर ढङ्गले समायोजन गरी चित्रण गर्न सफल भएका छन् कथाकार । स्थानीय लवज, जनविश्वास र. अनुश्रुतिको प्रयोगले कथालाई पठनीय बनाएको छ । ‘खड्गदेवी’ कथा इतिहास अनि जनजीवनमा विद्यमान जनविश्वास र किम्वदन्तीलाई मिश्रण गरेर लेखिएको सुन्दर कथा हो ।
‘भूतले बिराएको खेत’ खास ठाउँको उत्पत्तिको बारेमा जनमानसमा रहेको जनविश्वास र किम्वदन्तीलाई जस्ताको तस्तै चित्रण गर्ने सुन्दर कथा हो । यद्यपि यो कथालाई लेखकले अनि मिहिनेत गरेका भए कथात्मक संगठनका दृष्टिले अझै राम्रो बनाउन सक्ने प्रशस्त ठाउँ थियो । केही कुराहरू निकै हलुकाढङ्गले आएको छ भने द्वन्द विकासका दृष्टिले पनि कथा कमजोर देखिन्छ । यति हुँदा हुँदै पनि स्थानीय विषय चयनका दृष्टिले, पुरानो पुस्तासँग हराउन लागेको किम्वदन्तीलाई टपक्क टिपिएको हुनाले यसलाई यस सङ्ग्रहको प्रतिनिधि कथा मान्न सकिन्छ । हुन त यस खालका जनश्रुति भएका कथाहरू हरेक जिल्लामा रहेका छन् । तर, स्थानीय भेदका कारण हरेक ठाउँका कथाको आफ्नै विशेषता हुन्छन् ।
निष्कर्ष ः
नेपालका हरेक ठाउँमा आफ्नै खालका लोकोक्ति, अनुश्रुति, किम्बदन्तीहरू रहेका छन् । नयाँ पुस्ता प्रविधिमा भुल्न थालेपछि सुन्ने र सुनाउने परम्परा हराउँदै गएको छ । योसँगै नेपाली समाजमा रहेका ठाउँ बिशेषका अनुश्रुति र किम्बदन्तीहरू पुरानो पुस्तासँगै हराउँदै गएका छन् । यस सन्दर्भमा कथाकार विजयराजले विभिन्न स्थानमा गई स्थानीय विज्ञ र बुढापाकाहरूसँग भलाकुसारी गर्ने र त्यसबाट प्राप्त जानकारीहरूलाई कथाको स्वरुप दिएर प्रकाशन गर्ने जुन प्रयत्न गरेका छन् त्यो स्तुत्य छ । यस कार्यले हराउन लागेका लोकोक्ति, अनुश्रुति र किम्बदन्तीहरूको संरक्षणमा टेवा पुग्नुको साथै स्थानीय संस्कृति नयाँ पुस्तामा हस्तान्तरण पनि हुन पुग्छ ।
तनहुँ जिल्लाको मिथक, किम्बदन्ती, इतिहास र परिवेशमा आधारित ‘मत्स्यकन्या’को दशवटा कथाहरूमा छिम्का लेक, सिद्धगुफा, खड्गदेवी मन्दिर, आँबुखैरेनी, छाब्दीबराही, तनहुँसुर गढी, आदिमूल, बन्दीपुर, तामाखानी, मुच्चुकजस्ता ठाउँहरूको परिवेश, अनुश्रुति र किम्बदन्तीलाई समावेश गरिएको छ ।
स्थानीय ठाउँ विशेषको तथ्यलाई आधार बनाएर कथा लेखिएको हुनाले कतिपय ठाउँको सन्दर्भमा त्यसको महत्वबारे जान्ने जिज्ञासा पाठकको मनमा जाग्दछ तर ठाउँको चिनारी भेटिदैन कृतिमा । परिशिष्ट राखेर कथामा आएका ठाउँहरूको छोटो चिनारी समावेश गरिएको भए राम्रै हुँदो हो भन्ने कुरा पढ्दै गर्दा मनमा उब्जन्छ ।
‘किशोर कथा’ भनेर नाम दिइए पनि यसभित्रका केही कथाहरू मात्र किशोर कथा बनेका छन् भने केही कथा बालकथा । ‘मत्स्यकन्या’ पूर्णत किशोर कथा बनेको छ भने ऐतिहासिक कथा ‘पद्म पुस्तकालय,’ ‘शहीदगाथा’ र ‘सन्यासी राजा’ विषयवस्तुका कारण आंशिक किशोर कथा । अन्य कथाहरूलाई ९ देखि १४ वर्षको उमेर समूहलाई उपयुक्त हुने बालकथा मान्न सकिन्छ । स्थानीय संस्कृतिमा विद्यमान अनुश्रुति, किम्वदन्ती र मिथकको खोज, स्थानीय महत्व बोकेका महत्वपूर्ण स्थानको उत्पत्तिको कथाको खोज, स्थानीय इतिहासको चित्रण, कतिपय अपत्यारिला जनविश्वासमाथि भौतिकवादी दृष्टिकोण, नयाँपुस्ताले बिर्सिसकेको इतिहासको महत्वपूर्ण घटनाको उत्खननजस्ता कुराहरूले कृतिलाई पठनीय बनाएको छ । जटिल विषयलाई पनि बाल पाठक सुहाउँदो सरल र सहज कथा बुनोटमा ढाल्न सक्नु उनको लेखकीय खुबी प्रतिविम्बित हुन्छन् कथाहरूमा ।
सन्दर्भसामग्रीहरू
आचार्य, विजयराज (२०७९), मत्स्यकन्या, काठमाडौँ ः वि एस बुक स्टोर ।
कसजू, विनयकुमार (सम्पा., २०५४), प्रज्ञा बालसाहित्य विवेचना, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रधान, प्रमोद (२०६५), नेपाली बालवाङ्मय परिचयकोश, काठमाडौँ ः मार्टिन चौतारी ।
– (२०७५), नेपाली बालवाङ्मय परिचयकोश २०६४–२०७०, काठमाडौँ ः मार्टिन चौतारी ।
– (२०७७), नेपाली बालसाहित्यको इतिहास, काठमाडौँ ः शिखा बुक्स, चौथो संस्करण ।
– (२०७८), विजयराज आचार्यका बालकृतिहरूको अध्ययन, काठमाडौँ ः बालवाङ्मय
तथा अनुसन्धान केन्द्र ।
– (२०८०), नेपाली बालसाहित्य, जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (चौथो ठेली), ललितपुर ः जगदम्बा प्रकाशन ।
गोरखा ।