प्रगतिवादी साहित्यलेखनमा जीवनपर्यन्त समर्पित घनश्याम ढकाल (वि.सं.२०१०–२०६८) मूलतः आख्यानकार हुन् । वर्तमानसम्ममा यिनका सातवटा आख्यानात्मक कृतिहरू प्रकाशित छन् । नेपालमा बहुदलीय व्यवस्थाको आगमन सँगसँगै ढकालका आख्यानात्मक कृतिहरूको प्रकाशनको आरम्भ भएको हो । यिनका आख्यानात्मक कृतिहरूमा ‘भरिया र यात्री’ (२०४६), ‘सहिद मानचित्रमा नपरेको सहिद’ (२०४८), ‘समर्पणको बाटोमा’ (२०५०), ‘आजको महाभारत’ (२०५५), ‘सहिदको सालिक’ (२०६६) गरी जम्मा पाँचवटा कथासङ्ग्रह प्रकाशित छन् भने ‘गाउँभित्र’ (२०४७) र ‘रातो आकाश’ (२०६०) गरी दुईवटा उपन्यास प्रकाशित छन् । यी कृतिका अतिरिक्त यिनका केही कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्, ती कथाहरू सङ्ग्रहको रूपमा भने आएका छैनन् ।
पञ्चायतकालीन परिवेशदेखि बहुदलीय परिवेश हुँदै लोकतान्त्रिक गणतान्त्रिक सामाजिक जनजीवनलाई आफ्नो कथाहरूमा समेट्न पुगेका ढकालको पछिल्लो कथाकृति ‘सहिदको सालिक’ जनयुद्धकालीन यथार्थको प्रतिबिम्बन हो । यस सङ्ग्रहमा जम्मा एघारवटा कथा सङ्गृहीत छन् । सङ्ग्रहका अधिकांश कथा दस वर्षे जनयुद्ध अर्थात् द्वन्द्वकालीन परिवेशका छन्, केही कथा चाहिँ शान्तिवार्ता भएपछिको परिवेशमा आधारित छन् । कथाक्रमको सुरुमा राखिएको ‘विकासभित्रको गोली’ जनयुद्धबाट विकसित यथार्थलाई विषयवस्तु बनाइएको कथा हो । तत्कालीन राज्यसत्ताले मच्चाएको आतङ्कलाई यसमा औधी राम्रोसँग चित्रण गरिएको छ । २०५२ सालमा सम्पूर्ण मुक्तिका लागि नेपालको सर्वहारा वर्गले जनयुद्धको थालनी गर्यो । सुरु सुरुमा जनयुद्ध दमन गर्नका लागि तात्कालिक राज्यसत्ताले प्रहरीको प्रयोग गर्यो । व्यापक मात्रामा प्रहरी परिचालन गरी नरसंहार गर्दासमेत जनयुद्धलाई दबाउन नसकेपछि त्यस समयको बहुदलीय सरकारले गाउँ गाउँमा स्वास्थ्य जाँच, औषधी वितरण तथा विकास र सुरक्षाका नाममा शाही नेपाली सेनाको प्रयोग गर्यो । सेनाका जवानहरू कोही घिउ किन्ने निहुँमा त कोही बाख्रा तथा गोरुभैँसी खरिद गर्ने निहुँमा सादा पोसाकमा गाउँ गाउँमा पस्न थाले । धनीमानी तथा सम्पन्नशालीहरूका सुकिला घरमा नपसी जहाँ गरिब, दलित, निमुखाका झुपडीहरू छन्, ती झुपडीमा पसेर ताण्डवनृत्य मच्चाउने कामको थालनी तत्कालीन नेपाली सेनाबाट हुन थाल्यो । यस समयमा पुँजीवादी र नवसामन्तवादी दलको अघोषित कार्यगत एकताले सर्वहारा वर्गलाई निमिट्यान्न पार्ने उद्देश्य राखेको थियो । यही उद्देश्य पूरा गर्न ती दलले शाही नेपाली सेनालाई गाउँ गाउँमा पठाएका थिए । यस कथाको मुख्य पुरुष पात्र पदमले आफ्नो गाउँमा पसेका सेनालाई लक्षित गर्दै भन्छ– ‘राक्षस कहींका, मान्छेको मासु लुछ्न आएका यी । पुलिसले लुछ्नसम्म लुछे, अब यिनको पालो ।’
कथाको प्रमुख पात्र पदमबहादुर उमेरले साठी पुगिसकेको छ । ऊ अनपढ छ । जनयुद्धले उसलाई धेरै कुरा सिकाएको छ । विगतमा चुपचाप अन्याय सहेर बसे पनि अब उसले अन्यायको विरोध गर्न थालेको छ । जनयुद्धले उसमा चेतना भरिदिएको छ । माओवादीका नेता तथा कार्यकर्ताहरूको कुरो सुनेपछि र बुझेपछि ऊ क्रान्तिकारी हुँदै गएको छ । अब उसले क्रान्तिको मर्म बुझेको छ । उसले भारतीय विस्तारवादी नीतिको पनि विरोध गर्न थालेको छ । मुक्तिको अभियानमा लागेका सर्वहाराहरूलाई खोजीखोजी बन्दुक हान्ने आदेश पाएका तत्कालीन शाही सेना र आदेश दिनेहरूको सवालमा उसको विचार छ– ‘कहाँ पाइन्छ जनताको विरुद्धमा सेना प्रयोग गर्न ? देशको सिमानाको रक्षा गर्ने काम हो यिनको । सीमा मिचिएको मिचियै छ भन्छन्, खै त्यसको सुरक्षा ? कालापानीमा राइफल नसोझ्याएर जनताको छातीमा राइफल सोझ्याउँदै गाउँ-गाउँ चहार्नु कुनै बहादुरी होइन ।’ ऊ आफ्नो राष्ट्रलाई प्राणभन्दा प्यारो ठान्छ । विकासका नाममा गरिबनिमुखाहरूलाई भुटेर आफ्नो स्वार्थ पूरा गर्ने तत्कालीन सत्ताधारीहरूप्रति उसले आक्रोश पोखेको छ ।
घरको कुनै एक सदस्य जनसेनामा लागेको थाहा पाएर सरकारी सेनाले त्यस घरका अन्य सदस्यलाई शारीरिक र मानसिक यातना दिने क्रम तीव्र पारेपछि परिवारका अन्य सदस्यहरू पनि हतियार समाउन बाध्य भएको यथार्थलाई पदमबहादुरको जेठो छोराको हत्या भएपछि कान्छो छोरो सुमनको भनाइले यसरी प्रस्ट्याएको छ– ‘हतियार समाए मात्र हामी सुरक्षित हुनेछौं, नत्र यिनीहरूले बाँच्न दिने छैनन् ।’ यो तात्कालिक यथार्थ हो । वर्गयुद्धमा लागेका अधिकांश परिवारले यस यथार्थलाई भोग्नुपरेको थियो । कुनै एक सदस्य जनयुद्धमा पूर्णकालीन भएपछि त्यस घरपरिवारका अन्य सदस्यहरूलाई सेनाले ज्यादै निकृष्ट व्यवहार गरेको थियो । ती सदस्यहरू शारीरिक र मानसिक पीडा सहेर जीवन बाँच्न बाध्य थिए । कतिपय सदस्यहरूलाई त कथित मुठभेडको ढ्वाङ फुकेर तत्कालीन व्यवस्थाद्वारा हत्या गर्ने काम पनि भएको थियो । यस्तो अवस्थामा सर्वहारा वर्ग देश र जनताको मुक्तिका लागि मात्र नभएर आफ्नै जीवनको रक्षाका लागि पनि हतियार समाउन बाध्य थियो ।
बहुदलीय शासनकालमा तत्कालीन सत्ताधारी दलका नेता तथा तिनका कार्यकर्ताहरू छाडा छाडिएका साँढे जस्तै भएका थिए । उनीहरूले जाँडरक्सी, जुवातास र वेश्यावृत्तिलाई प्रश्रय दिएका थिए । माओवादीहरूले गाउँघरमा हुने यस्ता खराब प्रवृत्ति बन्द गराएका थिए । तर जब प्रहरी र सेना मिलेर गाउँगाउँमा संयुक्त रूपमा गस्ती गर्न थाले तब गाउँमा पुनः रक्सी, जुवातास र वेश्यावृत्ति मौलाउन थाल्यो । नेपालमा सरकारी सेनाको इतिहास निकै लामो भए पनि उसले विगतमा सरकारी नुन खानुबाहेक अन्य विकासनिर्माणको काम गर्न सकेको थिएन । विगतको सत्ताले उनीहरूलाई काममा खटाउन सकेको थिएन । जब गरिबनिमुखा, जनजाति तथा दलितहरू चेतनशील भई आफ्नो हकअधिकार खोज्दै मुक्तिका लागि जुर्मुराए तब उनीहरूलाई दमन गर्ने उद्देश्यले सेनालाई विकासनिर्माण तथा स्वास्थ्योपचारका नाममा गाउँ-गाउँमा हुल्ने काम भयो । गुफाबाट निस्केको भोको बाघले जस्तै गरी सेनाले बस्तीमा आतङ्क मच्चाउन थाल्यो । पदमबहादुरकै घरमा पनि शाही सेनाका केही जवानहरू आए । शाही सेनाका ती जवानहरूलाई लक्षित गर्दै पदमबहादुर भन्छ– ‘अहिलेसम्म विकासको काममा लाग्न यिनलाई कसले रोकेको थियो ? कुरा बुझेर आफ्नो मुक्तिका लागि गरिबहरू उठ्न थालेपछि तिनलाई दबाउन र गोलीले उडाउन आएका हुन् यी । यसलाई नबुझ्नु आफै मूर्ख हुनु हो ।’
आतङ्ककारीका नाममा पदमबहादुरको गाउँका पाँच जना सर्वसाधारण निहत्था गाउँलेहरूलाई मारेर सेनाले पदमबहादुरलाई पनि गिरफ्तार गर्यो । अघिल्लो रात माओवादी छापामारहरूले गाउँमै भट्टी थापेर जाँडरक्सीसँगै वेश्यावृत्तिजस्ता कुकृत्य फैलाउनका लागि सेना–पुलिसको आड लिने रिमे खत्री र उसकी स्वास्नीको भट्टी सञ्चालन भएको घरमा आगो लगाइदिएका थिए । छापामारहरू रातमै आफ्नो काम सकेर बाटो लागिसकेका थिए । यही रिसमा सेनाले निर्दोष गाउँलेहरूको हत्या गर्यो । यो त्यस समयको यथार्थ हो । त्यस समयमा सर्वहाराहरूले सङ्गठित हुँदै शोषक–फटाहाहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइरहेका थिए भने बहुदलीय निरङ्कुशता लादेका शासकहरूले विकासनिर्माण गर्ने नाउँमा झोलामा गोली बोक्न लगाएर सेनालाई गाउँ-गाउँमा पठाइरहेका थिए । यही तात्कालिक यथार्थलाई कथाकार ढकालले प्रस्तुत ‘विकासभित्रको गोली’ कथामा प्रतिबिम्बन गरेका छन् ।
‘फलामे किल्ला’ कथा तत्कालीन अवस्थामा सरकारी सञ्चार माध्यमले हुँदै नभएको कुरालाई हौवा बनाएर कसरी जनताको मनोभावमा प्रभाव पार्न चाहन्थ्यो भन्ने विषयवस्तुमा आधारित छ । सेनाले हजारौं माओवादी छापामारहरूलाई घेरा हालेर राखेको छ । अपहरित प्रहरी र बालबच्चालाई माओवादी आतङ्ककारीहरूले मानव ढालको रूपमा प्रयोग गरेकाले सेनालाई कारबाही गर्न अप्ठेरो परेको छ भन्ने समाचार रेडियो र टेलिभिजनमा आउनु भनेको राज्यको पराजित मानसिकताको सङ्केत थियो । माओवादी सेनाहरू घेरामा पर्दै नपरेको अवस्था अर्थात् कपोलकल्पित समाचार बनाएर प्रसारण गर्नु भनेको राज्यकै लाचारीको अभिव्यक्ति हो भन्ने ठहर कथाकारको छ ।
सेना सरकारी सेना जागिरे मानसिकताको हुन्छ । उसले माथिको आदेशको तामेली गर्छ तर जनसेना विचारको लडाइँमा होमिएको हुन्छ । उसले व्यवस्थित विचारको लडाइँ लडेको हुन्छ । जनसेनाको फलामे आस्थालाई सरकारी सेनाले तोड्न सक्दैन भन्दै यस कथामा प्रयुक्त ‘म’ पात्रको साथी विकासले भनेको छ, ‘हाम्रो किल्लाको जगमा भूगोल छ, जनता छन्, विचार छ, भावना र विश्वास छ अनि छापामार सेना छ ।’ जनसेनाको शक्तिलाई हतियारको बलमा दबाउन नसकेपछि भ्रामक समाचार तथा मिडियाबाजीको सहारा लिएको राज्यको सामर्थ्य एवम् हैसियतलाई यस कथामा कथाकारले स्पष्टसँग उतारेका छन् । सरकारी सेनाहरू नै घेरामा परेको अवस्थामा सरकारी सञ्चार माध्यमले ‘दुई हजार छापामारहरू शाही सेनाको घेरामा \ सयौंको मृत्यु’ भनी समाचार फुकेपछि म पात्रको मनमा द्वन्द्व मच्चिएको छ । टोलछिमेकमा उसले माओवादीका विरुद्धमा अनेक किसिमका कुराहरू सुन्छ । उसमा तनाव बढ्छ तर पुरानो साथी विकाससँगको भेटपछि भने उसले सत्यतथ्य राम्रोसँग बुझ्छ । सरकारी सञ्चार माध्यमद्वारा फिँजाइएको जुन शाही सेनाको घेरा थियो त्यो हुँदै नभएको घेरा तोडेर आएको विकासले शाही सेना नै जनसेनाको घेरामा परेको र जनसेनाले शाही सेनाको एउटा हेलिकोप्टर खसालेको कुरा सुनाएपछि म पात्रको मनमा आएको तनावको ज्वारभाटाले निकास पाउँछ । दस वर्षे जनयुद्धको समयमा बेला बेलामा सरकारी सञ्चार माध्यमले माओवादीका विरुद्धमा प्रचार गर्ने यस किसिमको शैली तात्कालिक यथार्थ थियो जुन यथार्थलाई ‘फलामे किल्ला’ शीर्षकमा कथाकारले लिपिबद्ध गरेका छन् ।
‘पछुतो’ श्रमजीवी किसानहरूको चेतनासँग सम्बन्धित कथा हो । यस कथामा गाउँको एउटा सामान्य किसान आफ्नो थोरै भएको खेतमा धान रोप्न चाहन्छ । धान रोप्नका निम्ति दुई-चार जना खेताला आवश्यक पर्नु स्वाभाविक हो । तर द्वन्द्वको समयमा सर्वसाधारण मानिसलाई समूहमा बस्न र सामूहिक रूपमा खेती लगाउन राज्यको तर्फबाट निषेध थियो । कुल्ली, मजदुर तथा किसानहरूलाई आतङ्ककारी देख्ने सत्ताले सामूहिक रूपमा काम गरेको देख्नै हुँदैनथ्यो । सरकारी सुरक्षाकर्मीहरूले हेलिकोप्टरबाट गस्ती गर्थे । सर्वसाधारण किसान तथा गाउँका निहत्था जनता देख्नासाथ प्रहरीको जत्था झम्टन आइपुग्थ्यो । सामूहिक रूपमा खेती गर्नेहरूलाई आतङ्ककारीको बिल्ला भिराइन्थ्यो । सामान्य रूपमा खेतीकिसानी गरेर खाने गोपाल घर नजिकैको प्रहरी चौकीबाट आएका प्रहरीहरूद्वारा मध्य रातमा समाइएको छ । आफ्नो लोग्नेलाई बिना कसुर समाउँदा उसकी श्रीमती बुद्धिकलामा आक्रोश जन्मन्छ । उसले प्रहरीले आफ्नो लोग्नेलाई लैजाने क्रममा भनेकी छे– ‘उहाँलाई कुटपिट गरियो वा केही तलबितल पर्यो भने तिमीहरू पनि बाँकी रहने छैनौ ।’
ऊ लोग्ने खोज्ने क्रममा भोलिपल्ट दिनभर नजिकको प्रहरी चौकी हुँदै सदरमुकामको थानासम्म भौंतारिएकी छे । परिचित वकिलको सल्लाहअनुसार अर्को दिन घर फर्कन्छे ।
तत्कालीन समयमा मान्छेलाई प्रहरीले समाएर लैजान्थ्यो तर आफन्त खोज्न जाने क्रममा प्रहरीले सम्बन्धित व्यक्तिलाई समाइएकै छैन भनी ढाँट्ने गर्थ्यो । समाइएको मान्छेको हत्या गरेर लाससमेत गायब पार्ने चलन थियो । लोग्ने खोज्न गएकी बुद्धिकलालाई प्रहरीले समाइएकै छैन भनेर जबाफ दिएको छ । प्रहरीले बुद्धिकलाको लोग्ने गोपालको वीभत्स तरिकाले हत्या गरेको रहस्य एउटा गोठालाबाट खुल्छ । त्यस समयमा प्रहरीले हत्या गरिसकेका व्यक्तिहरूको खोजी गर्ने जुन व्यर्थ प्रयास हुन्थ्यो अर्थात् घरपरिवारका सदस्यहरू खोजीका क्रममा जसरी विभिन्न ठाउँमा भौँतारिन्थे त्यसलाई यस कथामा यथार्थसम्मत चित्रण गरिएको छ । निहत्या भई पुलिसको सिकार बनेको गोपालले मुक्तिका लागि बन्दुक लिएर लड्न नपाएकामा पछुतो मानेको छ । गोपाल आफू जनसेना भई क्रान्तिमा होमिन नपाएकामा पछुताएको हो । दस वर्षे समयावधिमा यस्ता थुप्रै मानिसहरू थिए जो मोर्चामा सामेल हुन पाएनन् तर राज्यका आँखामा आतङ्ककारी ठहरिए र राज्यकै बन्दुकद्वारा मारिन पुगे । यहाँ गोपाल सशरीर जनयुद्धमा सक्रिय व्यक्ति नभई सामान्य क्रान्तिचेत भएको सर्वसाधारण नागरिक थियो, गाउँको एउटा सामान्य किसान थियो ।
‘छोरासँगको भेट’ कथा भूमिगत छोरा र उक्त छोराप्रति आमाको स्नेहभावसँग सम्बन्धित छ । भविसराको छोरो अविरल पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा हिँडेको छ । सुरु सुरुमा परिवारलाई भेट्न आइरहने अविरलसँग लामो समयसम्म भेट नहुँदा आमा भविसरा चिन्तित हुन्छे । अविरलको साथी देवेन्द्रले छोरासँग भेट गर्ने वातावरण मिलाइदिएपछि भविसरा आफै छोरो भेट्न उसको सेल्टरतिर लाग्छे । कथामा पारिवारिक जिम्मेवारीभन्दा पार्टीको जिम्मेवारी प्रमुख हुन्छ भन्ने यथार्थलाई प्रस्तुत गरिएको छ । भूमिगत क्रान्तिमा होमिएको छोराको माध्यमबाट यसमा परिवारका अन्य सदस्यहरूको मनोदशाको समेत चित्रण गरिएको छ । विशेष गरी अविरलकी आमा भविसरा र बहिनी अनुपाको मानसिक अवस्थालाई यस कथामा प्रस्तुत गर्ने प्रयास छ । तत्कालीन अवस्थामा युद्धरत छापामारहरूको जीवन सुरक्षित नहुनु स्वाभाविक हो । क्रान्तिमा लाग्नेहरूको जीवनका सन्दर्भमा देवेन्द्रले अविरलकी आमा भविसरासँग भनेको छ, ‘हाम्रो जीवन तरल अवस्थामा सतहमा तैरिरहेको छ । कुनै पनि बेला यो कारागारमा थुनिन सक्छ, बेपत्ता बनाइन सक्छ र मृत्युमा परिणत हुन सक्छ ।’ यस कथामा एउटा उपकथा पनि छ, जुन देवेन्द्रहरू र पुलिससँगको भिडन्तमा आधारित छ । क्रान्तिकारीहरूकै बिचमा रहेको एक नराधमका कारण देवेन्द्र सम्मिलित जनसेनामाथि पुलिसले आक्रमण गरेको उपकथा यसमा छ । यसबाट के स्पष्ट हुन्छ भने क्रान्तिमा लागेका सबै छापामारहरू असल नियतका हुँदैनन्, तिनीहरू कतिपय पैसामा बिक्ने स्वार्थी पनि हुन्छन् ।
यस कथामा भविसराको वर्गबोधी भावनालाई उसकै ‘आपतका बेलामा दाजुभाइको नातोभन्दा पार्टीको नातो नजिकको हुँदोरहेछ’ भन्ने भनाइबाट बुझ्न सकिन्छ । भूमिगत योद्धाहरूले नै सुनौलो बिहान ल्याउन सक्छन् भन्ने आशयको अभिव्यक्ति अविरलकी बहिनी अनुपाको छ । अनुपाले पनि सङ्गठनमै आबद्ध भई काम काम गरेकी छे । दाजुका बारेमा आमाछोरीका बिच वार्तालाप हुँदा अनुपा भन्छे, ‘हो आमा ! श्रमिकहरूको जित पक्का हुनेछ । लडाइँ जितेर बिहानको झुल्के घामसँगै दाजी फर्कनु हुनेछ ।’ छोराहरू युद्धभूमिमा रहेको समयमा पारिवारिक सदस्यहरूको मनमा हुने छटपटी र बेचैनीलाई प्रस्तुत गर्न यो कथा सफल छ । यद्यपि कथाकार ढकालको ‘रातो आकाश’ पढिसकेको पाठकलाई यस कथाको घटना–प्रसङ्ग उक्त उपन्यासमा कहीँ कतै पढिसकेको अनुभूति मिल्न सक्छ ।
‘माटोको खोजी गर्दा’ सङ्कटकालमा निहत्था तथा निर्दोष युवायुवतीलाई कसरी हत्या गरिन्थ्यो भन्ने यथार्थसँग सम्बन्धित कथा हो । स्वदेशमा खानलाउनकै पनि समस्या भएपछि रोजीरोटीका सिलसिलामा नेपालीहरू भारतका विभिन्न ठाउँमा गएर पेसाव्यवसाय तथा मजदुरी गर्ने परम्परा निकै पहिलेदेखिको हो । यही सन्दर्भमा प्रवासी नेपाली जीवन शैलीको परिवेश चित्रित यस कथामा आसाममा खेतीकिसानी तथा गाईपालन गरी बसेका नेपालीले त्यहाँ भोग्नु परेको कठिनाइको वर्णन छ । आसाममा बसोबास गरेका नेपालीहरूलाई आसामबाट लखेट्नका लागि आक्रमण भएको छ । त्यहाँका नेपालीहरूको घरगोठमा आगो लगाइएको छ । यस कथामा गोपीनाथ र उसकी श्रीमती डबलीले रातको समयमा आक्रमणकारीहरूद्वारा आफ्नै घरमा लगाइएको आगामा ज्यान गुमाउनु परेको अवस्था देखाइएको छ । बाबुआमाको मृत्यु भएपछि छोरो हरि र कान्छी छोरी बिन्दु पुख्र्यौली घर स्याङ्जाको आरुखर्क फर्कनका लागि आसामबाट हिँडेका छन् । त्यस समयमा नेपालमा राज्यले सङ्कटकालको घोषणा गरेको थियो । देशको अधिकांश भूभागमा कर्फ्यु थियो । प्रवासबाट आएका दाजुबहिनीलाई यसबारेमा सम्पूर्ण जानकारी थिएन । उनीहरू बसबाट ओर्लेर सडक छाडी गाउँतिरको पैदल यात्रा सुरु गर्दा साँझ परिसकेको थियो । साँझ परेपछि त्यस ठाउँमा कर्फ्यु लाग्थ्यो । एक- डेढ घन्टाको बाटो त हो भनेर उनीहरू हिँड्दै गर्दा जङ्गल बिचको चउरमा सरकारी सेनाले उनीहरूको हत्या गरेको छ । ती दाजुबहिनीलाई कर्फ्युका बारेमा कुनै जानकारी थिएन । ती निर्दोष थिए ।
जुन नेपाली आफ्नो मुलुक सम्झेर आएको छ, पराई मुलुकमा बसिखान नपाएपछि आफ्नै माटामा केही गरी जीवन बिताउन चाहन्छ, उसैको आफ्नै जन्मथलामा र आफ्नै नेपालीहरूद्वारा हत्या गरिनु निकै दुःखद् घटना हो । यस्तो करुणाजन्य अवस्थाले पाठकलाई निकै संवेदित तुल्याउँछ । यस किसिमको घटना सह्य र क्षम्य हुन सक्दैन । अझ गोपीनाथकै भाइ रामनाथले दाइका छोराछोरीको लास चिनेर पनि नचिने झैँ गर्नुले तत्कालीन अवस्थामा सरकारी फौजको रवैयाबाट जनता कतिसम्म त्रसित र भयभीत थिए भन्ने यथार्थलाई छर्लङ्ग पारेको छ । त्यस समयमा सरकारी फौज कतिसम्म संवेदनाहीन थियो भन्ने सन्दर्भमा गाउँले किसानहरूले दाजु र बहिनीको लास छुट्टाछुट्टै गाड्नका लागि खाल्डा खन्दै गरेको अवस्थामा एउटा फौजी अधिकृतले ‘दुइटा खौला किन ? अलि ठुलो बनाएर एउटै खने हुन्छ । यी लोग्नेस्वास्नी होलान् क्यारे ... ।’ भन्ने भनाइबाट स्पष्ट हुन्छ । देशबाहिरको आतङ्कले लखेटिएका निर्दोष नेपालीले देशभित्र आफ्नै जन्मघरको नजिक आएर आतङ्ककारीको नाममा मारिनु पर्दाको घटनासन्दर्भ निकै मर्मस्पर्शी छ ।
सङ्ग्रहमा सङगृहीत छैटौं कथा ‘सहिदको सालिक’लाई सिङ्गो कथासङ्ग्रहकै शीर्षक बनाइएको छ । यो शान्ति सम्झौतापछिको परिवेशमा लेखिएको कथा हो । यसमा सर्वहारा वर्गको वर्गीय मुक्तिका लागि जनयुद्ध लडेको नेतृत्वको पदलोलुपता तथा कुर्सीमोहलाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ । हजारौं सपुतहरूको रगत बगेपछि भएको शान्ति सम्झौतापछि सरकार सम्हाल्न पुगेको क्रान्तिकारी पार्टी कति चाँडै क्रान्तिकारी विगतलाई तिलाञ्जली दिँदै भौतिक भोगविलासमा चुर्लुम्म डुब्दो रहेछ भन्ने यथार्थ यसमा छ । क्रान्तिकारी विरासतलाई एक-डेढ दसकसम्म पनि कायम राख्न नसक्नु भनेको सहिद–बेपत्ता परिवार र सिङ्गो सर्वहारा वर्गमाथि नै अन्याय गर्नु हो । कथाकारले यस कथामा गाउँका मुखियासँगको रोचक प्रसङ्गलाई क्रान्तिकारी पार्टीको मन्त्रीसँग गरेको तुलना निकै यथार्थसम्मत र मर्मस्पर्शी पनि छ ।
बन्दुक भिरेर जनयुद्धमा नहिँडे पनि आफ्नो विवेक, चेतना र बलबुताले भ्याएसम्म गाउँको एउटा किसान मणिराजले क्रान्तिकारी पार्टीलाई सहयोग गरेको छ, काम गरेको छ । उसले जेलमा रहेको समयमा छोरो सहिद भएको जानकारी पाउँछ । मणिराज शान्ति सम्झौतापछि जेलबाट छुटेर घर आउँछ । पार्टीको सम्पर्कमा रहेकै हुन्छ । उसले गाउँका अन्य किसानहरूसँग रायसल्लाह मागी गाउँमा सहादत प्राप्त गर्ने पाँच जनाको स्मृतिमा गाउँकै बिचमा रहेको खुला चौरमा सहिद पार्क बनाउँछ । पार्क सुन्दर फूलहरूको बगैँचामा मगमगाउन थाल्छ । मणिराज दिनरात सोही पार्कमा फूलहरूको रेखदेखमा व्यस्त रहन्छ । फुल्दै गरेका फूलहरूमा उसले सहिदहरूको प्रतिबिम्ब देख्छ । उक्त पार्कको वर्णनमा कथाकारको प्रस्तुति निकै भावुक छ । पछि सरसल्लाह हुँदै जाँदा पार्कको बिचमा त्यस गाउँबाट सहादत प्राप्त गर्ने पाँचै जनाको सालिक राख्ने निर्णय हुन्छ । आफ्नै पार्टीको सरकार भएकाले समितिकै निर्णयबमोजिम मणिराज सालिक निर्माणका लागि पैसा जुटाउन राजधानी जान्छ । निकै हन्डर खाँदै मन्त्रालयमा छिर्छ तर आफ्नै भनेका मन्त्रीले झुलाउन थाल्छन् । सहिदको सपना पूरा गर्नेतर्फ मन्त्रीजीको चासो रहँदैन । गाउँबाटै सरसहयोग जुटाएर सालिक निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दै मणिराज रित्तो हात आफ्नै गाउँ फर्कने सुरमा हुन्छ । राजधानीबाट फर्कने सोच बनाएको दिनमा कुनै एक व्यक्तिको हत्या भएकाले उपत्यका बन्द हुन्छ । ऊ त्यस दिन फर्कन पाउँदैन । साँझमा टेलिभिजन हेर्दा त्यहाँ उसले आफूले भेटेका मन्त्रीले गुन्डाको आक्रमणमा मारिएको व्यक्तिलाई सहिद घोषणा गर्दै गरेको देख्छ । मन्त्रीले गुन्डाद्वारा मारिएको उक्त व्यक्तिको परिवारलाई दस लाख रुपैयाँ सहयोगका साथमा सालिक स्थापनाका लागि सरकारी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि सुन्छ । ऊ भोलिपल्ट घर फर्कन्छ ।
यसरी प्रस्तुत कथामा सहिदहरूप्रतिको अपमानलाई विषयवस्तु बनाइएको छ । आफ्नै पार्टीले सरकारको साँचो घुमाइरहेको समयमा सर्वहारा वर्गको नेतृत्व गरेका नेता तथा मन्त्रीहरू पनि स्वेच्छाचारी र व्यक्तिस्वार्थमा लिप्त हुन पुगेको अवस्थालाई यहाँ देखाइएको छ । वर्गीय चिन्तनबाट विमुख हुँदै विलासी जीवनप्रति आकर्षित नेता तथा मन्त्रीहरूप्रति यसमा व्यङ्ग्य गरिएको छ ।
‘पीडा प्रतीक्षाको’ देशमा सङ्घकटकाल घोषणा गरेपछिको समयको कथा हो । यसमा बेपत्ता परिवारजनको पीडालाई विषयवस्तु बनाइएको छ । पोखरेली परिवेशमा आधारित यो कथा सिङ्गो सङ्ग्रहभित्रका एघारवटा कथामध्ये सबैभन्दा बढी यथार्थको नजिक रहेको कथा हो । कथामा प्रयुक्त प्रमुख नारी चरित्र मोतीमायाको छोरो पूर्ण क्रान्तिकारी योद्धा हो । ऊ २०५९ सालको सङ्कटकालमा काठमाडौंबाट समातिएको छ । सरकारी सेनाले कहाँ लगेर हत्या गर्यो वा जीवितै छ, परिवारलाई जानकारी छैन । आमा मोतीमाया छोराको खोजी गर्ने क्रममा सैनिक क्याम्प, अदालत, मानवअधिकारवादी सङ्गठनमा पुग्छे । उसको खोजीमा सैनिक क्याम्प, अदालत लगायतबाट खासै चासो देखाइँदैन । सैनिकहरूले त अझ हप्काएर पठाउँछन् । अदालतले पनि पूर्णलाई पुलिस वा सेना कसैले नसमातेको कुरा सुनाउँदा मोतीमायामा विद्रोही भाव जाग्न थाल्छ ।
शान्ति सम्झौतापछि प्रायः सबै बन्दीहरू छुटे तर पूर्णको बारेमा कुनै जानकारी पाइएन । पूर्णकै पार्टी सत्तामा पुग्यो । विगतमा मोतीमायाले आफैले पकाएर खुवाई हप्तौंसम्म पालेका नेता–कार्यकर्ताहरूले मोतीमायालाई क्रमशः वास्ता गर्न छोडे । मोतीमायाको विद्रोहउपर कुनै सुनुवाइ भएन । बेपत्ता परिवारजनले सङ्गठित रूपमा बेपत्ताजनहरूको खोजी अभियान सुरु गरे । काठमाडौंमा जुलुस निकालेर मोतीमायाहरूले ‘कि ज्यान देखा कि चिहान देखा’ भन्दै प्रदर्शन गरे । प्रदर्शनका क्रममा मोतीमाया घाइते हुन पुगी, उसको टाउकामा चोट लाग्यो । हजारौं बेपत्ता नागरिकहरू खोज्न नसक्ने सरकारमा आफ्नो पार्टी बस्नुको औचित्य उसले देखिन । नेताहरू चिल्ला गाडीमा हुइँकने तर तिनैलाई नेतृत्वमा पुर्याउने बेपत्ता परिवारजन र सहिद परिवारको जायज मागको सुनुवाइ नहुने अवस्थाको सिर्जना भएपछि मोतीमायामा विद्रोहले पूर्णता नपाएको अनुभव हुन्छ तर ऊ यिनै नेताले पुनः विद्रोह गरेर सुदिन ल्याउँछन् भन्नेमा पनि विश्वस्त छैन । बेपत्ता परिवारजनको पीडालाई नबुझ्ने सरकारप्रति आक्रोशित हुँदै मोतीमाया भन्छे, ‘कि मेरो पूर्ण चाहिन्छ, कि सबै अपराधीलाई बढार्ने विद्रोह चाहिन्छ ।’ जसका निम्ति सरकार बनेको हो उही सरकारले त्यसका निम्ति काम नगर्नु ज्यादै दुःखको कुरा हो । सरकार सहिदको सपना र बेपत्ता परिवारजनको आकाङ्क्षा विपरीत गुड्न थालेपछि मोतीमाया आक्रोशित हुनु स्वाभाविक हो ।
‘छेलिएको मोर्चा’ कथाले युद्धकालदेखि शान्ति सम्झौताभन्दा केही पछाडिसम्मको समयलाई समेटेको छ । यसमा सरला मेडमका माध्यमबाट युद्धकालीन विगत र शान्ति सम्झौतापश्चातका पार्टीका गतिविधिहरूको अवलोकन गरिएको छ । युद्धको समयमा नेता कार्यकर्ताका लागि अहोरात्र खटिने सरला मेडमले ती नेता तथा कार्यकर्ताहरूलाई खानपिन गराउँदा र जुठा भाँडा माझ्दै गर्दा सिङ्गो रात बित्थ्यो तर उनले कहिल्यै झन्झट मानिनन् ।
सरला मेडम आज एक्लै छिन् । उनले गरेको विगतको स्मरण नै यस कथाको आधारभूमि हो । विगतमा उनका श्रीमान् मोहन गाउँका शिक्षक थिए । उनी आफ्नो पेसाको ड्युटी सकेपछिको बाँकी अधिकांश समय पार्टीका लागि दिने गर्थे । पेसाप्रति इमानदार उनलाई तत्कालीन राज्यव्यवस्थाले विभिन्न ठाउँमा सरुवा गरेको थियो । पछिल्लो समयमा उनी घरपायक स्कुलमा नै थिए । सङ्कटकालमा राज्यको सेनाले उनको बीभत्सपूर्ण तरिकाले हत्या गर्यो । जेठो छोरो शैलेशले बेनी आक्रमणका क्रममा सहादत प्राप्त गरेको छ भने कान्छो छोरो सन्दीपलाई शाही सेनाले घरबाट थुतेर लगी बेपत्ता बनायो । त्यसपछिका दिनहरूमा मेडम एक्लै छिन् । उनी विगत सम्झेर दिन बिताउँदै छिन् । त्यस घरमा पहिलाको जस्तै गरी अहिले नेता तथा कार्यकर्ताहरू आउँदैनन् । कहिलेकाहीँ एकादुई आए भने पनि तिनीहरूमा पहिलेको जस्तो आत्मीयताको भाव छैन । गाउँमा मोहन सरको सालिक बनाउने चर्चा चल्दा उनी पूर्णकालीन कार्यकर्ता नभई आंशिक कार्यकर्ता मात्र भएको भन्दै सम्बन्धित पक्षले चासो देखाउँदैन । मोहन सरको सालिक बनाउने कुरो त्यत्तिकै सेलाएर जान्छ । विगतमा योगदान गरेका पार्टीका कार्यकर्ताहरू अहिले ओझेलमा परेका छन् । उनीहरू कहाँ छन् ? कुन हालतमा छन् ? पार्टीले चासो राखेको छैन । यही नै छेलिएको तथा ओझेलमा परेको मोर्चा हो । विद्रोहीहरू जसले सरकारमा पुग्दासमेत सहिद र बेपत्ताका परिवारलाई बेवास्ता गरे तर पनि सरला मेडमले उनीहरूको यात्रा सफल होस्, यात्रामा कसैले बेइमानी नगरोस् भन्दै क्रान्तिकारी आशा व्यक्त गरेकी छिन् र कथा टुङ्गिएको छ ।
‘आखिरी बाटो’ महिला मुक्तिलाई विषय बनाइएको नारी विषयक कथा हो । सङ्ग्रहका एघारवटा कथाहरूमध्ये नारीलाई प्रमुख स्थान दिएर नारीकै हकअधिकारका निमित्त आवाज उठाइएको यो सशक्त कथा हो । यसमा पारिवारिक शोषणमा परेकी कमलाको कथाव्यथा समेटिएको छ । वर्गीय मुक्ति नभएसम्म महिला मुक्ति सम्भव नहुने यथार्थलाई कथाकार ढकालले यसमा प्रस्तुत गरेका छन् । ग्रामीण नारी कमला जो सोझी छ तर उसको श्रीमान् खिमचन्द्र सामन्ती संस्कारको छ । खिमचन्द्र पितृसत्तात्मक हैकम भएको चरित्र हो । उसले आफ्नो धरातल बिर्संदै कमलामाथि अन्याय गरेको छ । ऊ अत्याचारी पात्र हो ।
गाउँबाट क्याम्पस पढ्न सहर झरेको खिमचन्द्रले राम्ररी पढोस् र धेरै पनि पढोस् भन्ने उद्देश्यले कमला घरधन्दा, खेतीपाती र पशुपालनमा जोतिएकी छे । ऊ आफूले दुःख गरेर श्रीमानका लागि पढाइखर्च जुटाउँछे र पठाउँछे । पछि अवश्य पनि दिनहरू फिर्ने छन् भन्ने आशामा उसले पति खिमचन्द्रको पढाइमा दिलोज्यानले सहयोग गरेकी हो । खिमचन्द्रले उसको सोझोपनको फाइदा उठाउँदै र उसैलाई अन्धविश्वासको गुमराहमा पार्दै दोस्रो बिहे गर्छ । दोस्रो बिहे नगर्ने हो भने खिमचन्द्रको मृत्यु हुने कुरो ज्योतिषीले सुनाउँदा आफ्नो पतिलाई बचाउनका लागि कमलाले सौता हाल्न स्वीकृति दिन्छे । उसले पति खिमचन्द्र र परिवारका अन्य सदस्यहरूको षड्यन्त्रलाई बुझ्न सक्दिन । पछि भने जब उसको भेट माओवादी महिला कार्यकर्ता भावनासँग हुन्छ तब उसमा बिस्तारै चेतनाको बीजारोपण हुन्छ, अङ्कुराउन थाल्छ र लहराउँदै झ्याङ्गिन पुग्छ । ऊ सोझी र अन्धविश्वासी सामान्य ग्रामीण महिलाबाट विद्रोही चेतनायुक्त महिलामा परिणत भएकी छे ।
खिमचन्द्र आफ्नी कान्छी श्रीमतीका साथ काठमाडौं बस्न थालेको छ । उसले गाउँको जग्गाजमिन र घरसमेत बेच्छ । सबै बेचबिखन गरेपछि कमला खिमचन्द्रले आफूलाई पनि काठमाडौं लान्छ भन्ने विश्वासमा थिई तर खिमचन्द्रले आफूलाई घर न घाटको बनाएपछि उसमा खिमचन्द्रसँग प्रतिशोधको भावना जाग्छ । ऊ पूर्णकालीन कार्यकर्ता भएर हिँडेकी छे । विद्रोह नगरी अधिकार प्राप्त हुँदैन भन्ने यथार्थलाई कथाकार ढकालले कमलामार्फत प्रस्तुत गरेका छन् । कमला अन्यायी पुरुषसँग बदला लिन सफल भएकी छे । उसले सामन्ती चरित्रका रूपमा बिम्बित खिमचन्द्रलाई सबैका सामु कालो मोसो दलेपछि भनेकी छे, ‘सामन्ती समाज रहेसम्म खिमचन्द्रजस्ता अत्याचारी पुरुषहरू जन्मिरहन्छन् र हामी महिलाहरूमाथि अन्याय गरिरहन्छन् । त्यसैले सङ्गठित भएर यो सामन्ती समाजलाई नफेरेसम्म हाम्रो पनि मुक्ति हुँदैन । सबै शोषित जनताको मुक्ति नभएसम्म हाम्रो पनि मुक्ति हुँदैन । आन्दोलन वा विद्रोह नै हाम्रो आखिरी बाटो हो ।’
‘अछामे’ यस कथासङ्ग्रहभित्रको आकारका दृष्टिले सबैभन्दा छोटो कथा हो । यसमा भारतीय भूमिमा अर्थात् प्रवासमा रहेर पनि क्रान्तिका निमित्त योगदान गर्ने एक जना श्रमिक तिलबहादुरको क्रान्तिप्रतिको मोह र उसको स्वाभिमानलाई प्रस्तुत गरिएको छ । सामान्य चियापसल थापेर गुजारा चलाउने तिलबहादुर भारतीय भूमिमा क्रान्तिका पक्षमा नेपाली श्रमिक, चौकिदारहरूलाई सङ्गठित गर्ने व्यक्तिका रूपमा यस कथामा आएको छ । उसले नेपालमा चलिरहेको क्रान्तिका बारेमा त्यहाँ रहेका मजदुरहरूलाई सुसूचित गराउँछ । आफ्नो भूमिमा आफ्नै जहानपरिवार पनि सुरक्षित छैनन् कि भन्ने चिन्ता उसमा छ । आफ्नै गाउँमा दस जना मानिस राज्यद्वारा मारिएपछि उसमा चिन्ताको मात्रा अझ बढ्न थाल्छ । चिन्ता आक्रोशमा परिणत हुन्छ र ऊ क्रान्तिलाई अझ उचाइमा पुर्याउने उद्देश्यले भारतीय भूमिबाट आफ्नै घर फर्कन्छ । घर फर्कने क्रममा भारतीय प्रहरीले पक्रेर उसलाई नेपाल पठाएको छ । आफ्नो कर्मक्षेत्रबाट हिँडेको पाँचौं दिनमा छापिएको समाचार यस्तो छ, ‘नेपालका आतङ्ककारीलाई खान, बस्न दिएको र सम्पर्क सूत्रको काम गरेको हुनाले तिलबहादुर नाम गरेको अछामेलाई पोटा (आतङ्कवाद प्रतिरोध कानून) अन्तर्गत भारतीय प्रहरीद्वारा पक्राउ गरी नेपाल सरकारलाई सुपुर्दगी गरेको छ ।’ भारतीय भूमिमा गई सानोतिनो काम गरेर बस्ने नेपाली अछामे क्रान्तिसम्बद्ध तत्कालीन प्रवासी नेपालीहरूको प्रतिनिधि चरित्र हो । द्वन्द्वको त्यस समयमा नेपालभित्र मात्र नभई नेपालबाहिर रहेका नेपालीहरू पनि कति सहजै आतङ्ककारीका नाउँमा गिरफ्तारीमा पर्थे भन्ने यथार्थ यसमा प्रस्तुत भएको छ । अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउनु पनि तत्कालीन समयमा अभिशाप ठहरिन्थ्यो भन्ने यथार्थ अछामेको गिरफ्तारीबाट स्पष्ट हुन आउँछ ।
सङ्ग्रहको अन्तिम कथा ‘टाउकाको मूल्य खोज्दा’ तत्कालीन राज्य व्यवस्थाले घोषणा गरेको सङ्कटकालीन परिवेशसँग सम्बन्धित छ । तत्कालीन सरकारले माओवादीका नेताहरूको टाउकाको मूल्य तोकी टाउको ल्याउनेलाई निश्चित रकमको पुरस्कार दिने घोषणा गरेपछि शाही सेनाका जवानहरूमा कस्तो प्रभाव परेको थियो र तिनीहरू माओवादी खोज्ने क्रममा गाउँठाउँमा पुगेर केकस्ता कर्तुतहरू गर्न थालेका थिए भन्ने यथार्थलाई यस कथाले सङ्केत गरेको छ । शाही सेनाको प्रयोगद्वारा माओवादीलाई सिध्याउने योजना जब राज्यले बनायो तब ग्रामीण बस्तीका गरिबनिमुखाहरूमा झन् बढी त्रासको वातावरण सिर्जना हुन थाल्यो ।
कथामा प्रयुक्त पात्र शाही नेपाली सेनाको कर्णेल प्रकाशले माओवादी नेताहरूका फोटा देखाउँदै तल्लो दर्जाका सैनिक जवानहरूलाई प्रलोभनमा पारेको छ । घरको आर्थिक अवस्था नाजुक भएको र परिवार ऋणमा डुबेको एउटा सैनिक हर्कबहादुर (हर्के) लाई ऋणबाट मुक्ति पाउनका लागि कर्णेलको आदेशले गहिरो प्रभाव पार्छ । उसमा माओवादी नेताका टाउका ल्याएर पैसा जम्मा गरी घरको आर्थिक अवस्था सुधार गर्ने चाहना तीव्र भएर आउँछ । ऊ व्यक्ति हत्या गर्दै हिँड्न थाल्छ र टाउका ल्याउँछ पनि तर उसले ल्याएका टाउका माओवादी नेताका नभई सर्वसाधारण जनताका हुन्छन् । उसले तत्कालीन सैनिकहरूले मच्चाएको ताण्डव अर्थात् बर्बर यातना दिने प्रवृत्तिको प्रतिनिधित्व गरेको छ । त्यस समयमा राज्य र राज्यका सिपाहीहरू कतिसम्म संवेदनाहीन थिए भन्ने यथार्थलाई यस कथामा देखाइएको छ । विवेकहीन सिपाहीहरूका कारण सामान्य मानिसको हत्या हुनु दुःखद् पक्ष हो । माओवादीका नाममा निर्दोषहरूको हत्या हुनु राज्यको अविवेकीपन हो ।
निर्दोष सर्वसाधारणहरूको हत्या गर्दै हिँडेको हर्केको सिङ्गो समूह नै अन्त्यमा जनसेनाले थापेको एम्बुसमा परेर सकिएको छ । हर्केको समूह एम्बुसमा परी मर्दासमेत कर्णेल प्रकाशले सहानुभूति देखाएको छैन । तल्लो दर्जाका सैनिकहरू मर्दा माथिल्लो दर्जाका सैनिकहरूमा संवेदना नजाग्नु भनेको मान्छेमा मानवीयपनको अन्त्य हुनु हो । अन्त्यमा हर्केको मृत्यु भएको देखाएर कथाकारले यस कथामार्फत अन्याय र अत्याचार गर्नेहरू एक न एक दिन अवश्य पनि सजायको भागिदार बन्नुपर्छ भन्ने विचार प्रस्तुत गरेका छन् ।
अन्त्यमा, २०५२ सालबाट सुरु भएको जनयुद्धको सन्दर्भ हुँदै २०५६ सालदेखि २०६६ सालसम्मको समयको यथार्थलाई ‘सहिदको सालिक’ कथासङ्ग्रहले समेटेको छ । यस अवधिमा राज्यद्वारा सेना परिचालित छ । देशमा सङ्कटकाल लागू भएको छ । शान्ति सम्झौतापश्चात् माओवादीहरू सरकारमा सामेल भएको र आफैले सरकार बनाएको पनि अवस्था छ । सङ्ग्रहमा राज्यले सेना प्रयोग गर्नुपूर्वका, सङ्कटकालीन अवस्थाका र शान्ति सम्झौता पश्चातका कथाहरू सङ्गृहीत छन् । सङ्ग्रहभित्रका अधिकांश कथामा उत्पीडन र चर्को दमनमा परेको ग्रामीण निम्नवर्गीय जीवन भोगाइलाई लिपिबद्ध गरिएको छ । शान्ति सम्झौतापछि लेखिएका कथामा सम्झौतामा क्रान्ति टुङ्गिनु र सर्वहारा वर्गको वास्तविक मुक्ति नहुनुलाई प्रमुख विषय बनाइएको छ । यथास्थितिको पक्षपोषण गर्ने नेता, सरकार र सत्ताबाट निम्नवर्गीय जीवनले आमूल परिवर्तनको आशा गर्नु व्यर्थ छ । कथाकार ढकाल यी कथाहरूमार्फत निम्न वर्गप्रति सहानुभूति राख्दै श्रमप्रति निष्ठावान् देखिएका छन् । नेपाली भूमिको वर्गसङ्घर्षलाई मलजल पुर्याउँदै सामूहिक प्रयास एवम् साङ्गठनिक आबद्धताबाट नै मुक्ति सम्भव हुने यी कथाहरूको आशय हो । बिनावर्गबोध र बिनासङ्घर्ष वर्गीय मुक्ति सम्भव छैन भन्ने उद्देश्यबाट प्रेरित सहिदको सालिकभित्रका केही कथामा अवसरवादी चरित्रको मुकुन्डो उतार्ने काम भएको छ ।
कथाहरूमा प्रयुक्त सहिद र बेपत्ताका परिवारसँग सम्बन्धित अधिकांश चरित्रहरूले राहत नपाए पनि अर्थात् सरकारमा पुगेको आफ्नै पार्टीले आफूहरूलाई बेवास्ता गरिरहेको अवस्थामा पनि उज्यालो बिहानीको गरेका छन् । यो भनेको क्रान्तिप्रतिको निष्ठा हो र यस निष्ठाबाट कथाकार कत्ति पनि विचलित भएका छैनन् । शान्तिसम्झौता पश्चातका कथाहरूमा कथाकारले विगतका क्रान्तिकारीहरूको क्रान्तिकारितामा खिया लाग्दै गएको सङ्केत गरेका छन् । ‘छेलिएको मोर्चा’, ‘सहिदको सालिक’ र ‘पीडा प्रतीक्षाको’ यसका साक्ष्य हुन् । कथामा प्रयुक्त निम्नवर्गका अधिकांश पात्रहरू वर्गीय रूपले सचेत छन्, उनीहरू मुक्तिको आशामा सङ्घर्षरत छन्, श्रममा विश्वास गर्छन्, प्रलोभन र व्यक्तिस्वार्थमा फस्दैनन् तर यसका ठिक विपरीत केही पात्रहरू जो क्रान्तिकै मैदानबाट हजारौँ बलिदानीहरूलाई भर्याङ बनाएर सत्तारोहण गरेका छन् तिनीहरू भने आफ्नो धरातल बिर्सी सामन्ती चरित्रका शासक बन्न पुगेका छन् । ‘सहिदको सालिक’, ‘पीडा प्रतीक्षाको’ लगायतका केही कथा यसका नमुना हुन् । सर्वहारा वर्गको बीचबाट उठेको नेतृत्व यति छिट्टै सामन्ती चरित्रको शासक बन्छ भन्ने कल्पना नै नगरेका कथाकार आफ्नै जीवनकालमा त्यो देख्नु र भोग्नुपर्दा ‘छेलिएको मोर्चा’, ‘सहिदको सालिक’ र ‘पीडा प्रतीक्षाको’ मार्फत निकै चिन्तित बनेका छन्, अझ भनौं आक्रोशित बनेका छन् । त्यो आक्रोश कथामा प्रयुक्त पात्रहरूका माध्यमबाट यति सटीक रूपमा व्यक्त भएको छ कि त्यो चिन्ता, त्यो आक्रोश सुन्दर विचारका रूपमा परिणत छ ।
यस सङ्ग्रहमा सङ्गृहीत केही कथामार्फत महिलामुक्तिको आवाज पनि सशक्त रूपमा उठाइएको छ । वर्गीय मुक्तिबाटै महिलामुक्ति सम्भव हुने विचार अभिव्यक्त ‘आखिरी बाटो’ महिलामुक्तिसँग सम्बन्धित सुन्दर कथा हो । गणतन्त्र प्राप्तिपश्चात् र आफ्नो पार्टीले सरकार सम्हाल्दासमेत निम्नवर्गका जनता अर्थात् गरिब निमुखाहरूको जीवनशैलीमा परिवर्तनको अनुभव हुन नसक्नु दुःखको कुरा हो । सहिद तथा बेपत्ता परिवारजनको अवस्था दयनीय हुनु, सर्वहारा वर्गको बीचबाट उठेको नेतृत्वले शासकीय फणा फुलाउनु र जनतालाई पुरानै पद्धतिबाट रैती समान व्यवहार गर्नु कथाकारले यस सङ्ग्रहभित्रका कथामार्फत सशक्त रूपमा उठाएका चिन्ता र चासोका विषय हुन् । सबैभन्दा दुःखको अनुभूति त त्यस क्षणमा हुँदो रहेछ जुन क्षणमा त्यतिका विधिको गौरवपूर्ण इतिहास पनि दन्त्यकथामा परिणत भएको हुन्छ । जे होस्, सहिदको सालिक नेपाली जनयुद्धको प्रतिबिम्बन हो र यसभित्रका कथाले जनयुद्धकालीन यथार्थलाई कलात्मक रूप प्रदान गरेका छन् ।
ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा- १७, कास्की