18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा

लघुकथा मनोहर पोखरेल November 1, 2023, 8:05 am
मनोहर पोखरेल
मनोहर पोखरेल

“तिमी किन दौडधुप गरिरहेकी ? शोभालाई उठाऊ । घरको चालचलन, बरबन्दोबस्त त सुरुदेखि नै सिकाउनुपर्छ ।” फुपूको कुराले निन्द्रा ब्युझियो ।
दुलही भित्र्याउने, ढोका छेक्ने, मुख हेर्ने कार्यक्रम राति अबेलासम्म चलेको थियो । बिहेको दौडादौड र थकानले बिहानपख निन्द्रा लागेको थियो । फुपू थप्दै थिइन्–“अब घरको कामधन्दा बुहारीलाई लगाउने हो । अहिलेदेखि मतायौ भने पछि छिँडीको बास होला नि !” फुपूको कुरा मन परेन । तर परिवारको जेठी भएकीले फुपूको कुरा बुबाआमाले समेत काट्नु हुँदैन थियो ।
आमाले सदा झैँ चिया पकाएर तरकारी केलाउनु भयो । आमाले नै भातभान्सा गर्न थालेको मलाई पनि चित्त बुझेको थिएन् । उनी आएर भान्सा सम्हाले हुन्थ्यो भन्ने लागिरहेको थियो ।
बिहे पछि छोरी अर्काको घर सजाउन जान्छिन् । छोरीको ठाउँमा बुहारी आउँछिन् । तर धेरै सासूबुहारीमा मनमुटाव बढ्दै कलह भएको देखेको थिएँ । “परिवारमा नयाँ सदस्यको सामञ्जस्यता बस्ला कि नबस्ला ? घुलमिल हुन अप्ठेरो पो पर्ने हो कि ?” यस्ता प्रश्न मनमा उब्जिरहेका थिए ।
वरपर समाजमा सासूबुहारी बीचको तिक्ततापूर्ण सम्बन्धले मनमा त्रास छदै थियो । उता फुपूको जहर घोल्ने काम जारी थियो– “नपुलपुल्याउ है बुहारीलाई, टाउकोमा टेक्लिन नि ! छोरीलाई झैँ बुहारीलाई काम सिकाए घर गरेर खालिन् ।”
जीवनसाथी भित्र्याएकोमा भन्दा बढी आमाको जवाफले फुरुङ्ङ भएँ । “छोरीका लागि जन्मकी र बुहारीका लागि कर्मकी आमा हुँ ।” फुपूलाई ट्वाँक पर्ने गरी आमाले भन्दै थिइन्- “बुहारीलाई मताउने पनि होइन सताउने पनि होइन ।”

राजविराज–६, सप्तरी, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।