भारतीय नेपाली साहित्यमा धेरै खण्डकाव्यहरु लेखिएका छन् तीमध्ये केही उदाहरणहरु हुन् - अगमसिहं गिरीको " याद" अनि " युद्ध र योद्धा" , शिवकुमार राईको " डाँफेचरी" , हरिभक्त कटुवालको " सुधा", चन्द्रेश्वर दुबेको " मेचि बग्दै थियो" र " भानुभक्त घाँसी", घनश्याम कोइरालाको " सृष्टिको दुईधारा", तुलसी अपतनको " बुद्धि बँगारा", केवलचन्द्र लामाको " खण्ड- अखण्ड", नवीन सुब्बा चियाबारीको " मोफसल", भवजीत तामङको " वृक्ष संवाद" आदि र यसपछि शारदा स्टेफीको " यादको कारागारभित्रः मेरी आमा " २०२१ सालमा प्रकाशित भएका थिए।
मेक्सिम गोर्कीको " आमा" - झैं म मेरी आमालाई अजर अमर बनाउन चाहान्छु ।मेरी आमाप्रतिको मेरो असिम प्रेम र आत्मीय सम्बन्ध सद्भावना सँधै बाँचिरहोस, प्रेमको झरणा बनेर बगिरहोस हरेक पाठकको हृदयमा।" यसै धारणा बोकेर कवि शारदा स्टेफीले " यादको कारागारभित्रः मेरी आमा" खण्डकाव्य तयार गरि पाठकमाझमा ल्याएका छन्। आमाको बियोगको चोट समय सापेक्ष अनुभूतिहरुको उद्बोधन सर्वकालिन शाश्वत भएर त्यस पीडालाई संवेदनशील मन- मस्तिष्कले ग्रहण गरेर मार्मिक कविताहरुलाई कोरी बाटि साथै कविताहरुमा सौन्दर्य भरेर यश खण्डकाव्य तयार पारेका छन्।
खण्डकाव्य बारे आचार्य रुद्रट , आचार्य विश्वनाथ आदि जस्ता पूर्वीय आचार्यहरुले यसको रुप - संरचनाबारे चर्चा गर्दै आ- आफ्ना मत र परिभाषा दिएका छन्।आचार्य विश्वनाथ अनुसार कुनै एक घटना विशेषलाई लिएर लेखिएको काव्य लाई खण्डकाव्य मानिन्छ।संस्कृतका विद्वान , पाश्चात्य विद्वान वा आधुनीक भारतीय बिद्वानहरुद्वारा खण्डकाव्य बारे लेखिएका केही महत्त्वपूर्ण भनाईहरु यसप्रकारका छन्- खण्डकाव्यमा सम्पूर्ण जीवनको नभएर कुनै एक खण्डको चित्रण हुन्छ।खण्डकाव्यमा प्रायः एउटा छोटो कथा हुन्छ। प्रारम्भिक र उपकथाहरु यसमा हुँदैनन्।खण्डकाव्यमा प्रायःपाँचदेखि सातवटा सर्गहरु हुन्छन्।कथा सुसबंद्ध र सुगठित हुनुपर्छ।खण्डकाव्यमा आरम्भ , मध्य र अन्त क्रमशः विकशित हुनुपर्छ।यसका विषय आदर्शचरित्र, जीवनदर्शन, घटना प्रसंग आदि हुनुपर्छ। गायिका , शिक्षिका, कवि , कथाकार , समाजसेवि श्रिमती शारदा स्टेफीले आफ्नो गुणीलो बिचारले दिंवङ्गत आमाको नाममा यसरी एउटा खण्डकाव्य " यादको कारागारभित्रः मेरी आमा" भित्र नुनिलो, अमिलो , तितो वार्तालाप सँगसँगै आमाबाट प्राप्त देखरेख, स्याहार - सुसार, अर्ति - उपदेश, लालन- पालन, सुझाव, आशिर्वचन आदि हासिल गरेकाकुराहरु हरेक शब्दहरुमा माला गुँथेर सरल भाषामा उदघृत गरेका छन्।
"यादको कारागारभित्रः मेरी आमा" खण्डकाव्यमा शुरुआतका हरफहरुमा कविले आफ्ना मनका भाव यसरी पोखेका छन्- नारी बेदना , चियाबारी मानवताका द्वेशहरु सारा विश्वमा हाहाकार छाएका आतङ्कवादीका उद्वेगहरु के भँनु के लेखुँ अनन्तका लेखी नसिध्याएका अध्यायहरु पीडा बेदना अन्योलता बिद्रोहका जङ्गी आवाजहरु। फुट्नुसम्म फुटें आमा! जुटि रहने बहनामा उज्यालोको शङ्खनादमा जीवन उज्याल्ने चाहानामा आँशुको घुट पिएर एक सानो झिल्का मात्रै म आँधीहुरी बतासको सामना गर्दै उभिरहेको डाँडामाथिको वृक्ष सदृश्य वसन्त झपक्क फूलेर फूल र पातसरि वारिपारि सजिएकी दुलही बनी गर्ल्याम्म ढल्छु ॐआवाजविहीन एकदिन म पनि तर साँचो यो रुवाई मेरो होस अनन्तलाई समर्पण । मान्छेको मन धेरै प्रकारले प्रवाहित भइकन बिथोलिन्छ , पिरोलिन्छ , दुखिरहन्छ।उनका धेरै जसो कविताहरुमा समाजमा ब्याप्त शोषण , अत्याचार , निर्वल र निर्धाहरुमाथि गरिने अमानुषिक व्यवहार शोषण , दमन , उत्पीडन आदिप्रति कविको बिरोधाभास पाउँछौं।त्यसरीनै कवि स्टेफीका कविताहरुमा नारीवादी आवेगहरुपनि छचल्किएको पाउने गर्छौं। बर्षौंदेखि समाजमा नारी जातिले पुरुषलेझैं समान अधिकार पाउन सकिरहेका छैनन्।पुरुष प्रधान समाजले नारीलाई सँधै दोस्रो दर्जामा वा अन्य श्रेणीमा राख्दै आएका छन्। १५ औं शताब्दीमा उठेको नारी जागरण स्वर यसै सोंचको विरुद्धमा उठेको हो।सामाजिक , सांस्कृतिक एवं राजनितीक मुद्दाहरुलाई लिएर अघि आएको यश चिन्तनलाई १९ औं शताब्दीमा मात्रै नारीहरुले मुख्यतः साहित्यमा कलम चलाएको पाइन्छ। कवि शारदा स्टेफीको कविताहरुमा नारीमाथि हुँदै आइरहेको शोषण र अन्यायको बिरुद्धमा निडरताको साथमा कलम चलाएको पाउछौं।
आमाको मृत्युुपछिको चोटलाई भाव बिहृल मन - मस्तिष्कले ग्रहण गरि संवेदनशील छोरीको मनभित्र उठेका ज्वारभाटाहरुले सृजना गरेका अनेकौं कविताहरुलाई खण्डकाव्यको रुप दिएर पाठकहरुको अघि "यादको कारागारभित्रः मेरी आमा" नामक पुस्तक पस्किन सक्षम बनेका छन्। आजको दौडमा साहित्य अनि संगीत दुवैलाई समेटेर सृजनामा लागिपरेका ब्यक्तित्वहरुको लस्करमा आफूलाई उभ्याएर सम्पूर्ण जाति र साहित्यलाई समृद्ध तुल्याएका कविलाई सत् सत् नमन गर्दछु। यसरी कवि शारदा स्टेफीको साकार काव्य मानवीय प्रेमभरिका असिम स्नेहको संगालो " यादको कारागारभित्रः मेरी आमा" जस्ता गहकिलो कृतिहरु साहित्यका फूलबारीमा थप फूलिरहुन् अनि हामी पाठकहरु सदैव गौरवान्वित भएर उँहाका कृतिहरुका रस्वादन गरिरहन पाउँ। कविलाई मुटुभरिको माया साथै उनका अघि बढदै गएको कलम अनि स्वरहरु कहिले नथाकुन्।सखीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु।
नागरी फार्म, चियाबारी, दार्जिलिङ