म त्रिवेणीमा तरंगित भै रहँदा,
अङ्गना चित्रवनको विचरणमा हुन्छे,
वनमा हरिण हरिणी देख्छे,
हरिणी हरिण अँगालोमा अट्किएको देख्छे,
एउटाले अर्काको घाँटी घस्ट्याएको देख्छे ।
अङ्गना
हरिणिका लामा लामा आँखा हेर्छे
अनि देख्छे प्रेमले परिपुर्ण प्रेमाश्रु
आफ्ना आँसु अनुभुत गर्छे,
ताता ताता !
आन्द्रीय आर्द्रतामा आच्छादित अङ्गना
तप्त उत्तप्त उत्कण्ठामा
काला काजलका
काला काला धारा गालामा झार्छे
चित्रवनको चित्त चोर्ने चौरमा।
चित्रवनको चौरमा
अङ्गना थचक्क बस्छे
आँसु पुच्छे आँखा चिम्लेर ।
आँखा चिम्लेर
प्रेमाभिनयमा हुन्छे
प्रेममा हुन्छे
हरिण हरिणी जस्तै।
प्रेमाभिनयमा:
तप्त उतप्त उद्विग्न अङ्गना
तप्त उत्तप्त अङ्गना
आँखा चिम्लेर बसि नै रहन्छे।
अब ऊ
मनको चित्ताकर्षक चित्रपटमा चित्र कोर्छे ।
चित्रमा
अङ्गना आक्रामक औष्म्य ओठको आक्रमण खेप्च्छे
आफ्ना आक्रामक औष्म्य ओठले प्रतिकार गर्छे
आक्रमण आनन्द लाग्छ उसलाई,
प्रतिकार प्रेमिल प्रत्याकर्षण !
उसले खेपेको
आक्रमण वेगवान छ
प्रतिकार वेगवान छ
वेगवान छ भाव पनि।
त्यै भाबर भावमा
अङ्गना अँगालो हाल्छे,
विशाल वक्षमा वक्ष अड्याउँछे
सीमाहीन शान्तिको शय्यामा हुन्छे
अनन्त प्रेमसुधा पिइरहन्छे।
अङ्गना अमृतमय आलिङ्गनमा रहँदा
मृदु हाँसोमा हुन्छे,
विस्तारै विस्तारै आँखा खोल्छे,
उसको वक्ष अड्याएको वक्ष नियाँल्छे
देख्छे
विशाल वृक्षवक्ष
वृहत् वृक्ष सालको !
अचम्मित अङ्गना हेरी रहन्छे
जर्खरिएको जड साल,
अनि त्यसका खस्रा खस्रा बोक्रा ।
चैतन्य शुन्य शाल
हेरी रहन्छ
जडतुल्य अचम्मित अङ्गना ।
मेरो महापुरुष !
मानस शुन्य अङ्गना
चैतन्य शुन्य न हुन्छ।
बेलायत