19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आयामेली आन्दोलनको दृष्टिमा खीर कथा

कृति/समीक्षा डा. शेखरकुमार श्रेष्ठ November 5, 2023, 8:20 am
डा. शेखरकुमार श्रेष्ठ
डा. शेखरकुमार श्रेष्ठ

नेपाली साहित्यको कथा लेखन विधामा परम्परागत रूपमा कलम चलाएर विपना कतिपय कथा सङ्ग्रह प्रकाशित गराई आफ्नो नाम साहित्य बाटिकामा लेखाउने इन्द्रबहादुर राई परम्परावादी कथा लेखनलाई चेप्टो कथा लेखनको संज्ञा दिन्छन् । अनि चेप्टो कथा लेखनको विरुद्धमा नयाँ आयामेली आन्दोलन लिई नवीन शैलीशिल्पमा प्रयोगवादी कथालेखनको श्रीगणेश गर्छन् । आयामेली आन्दोलनले नेपाली साहित्यको श्रीबृद्धिमा उल्लेखनीय योगदान गरेको छ । यस आन्दोलनलाई नेपाली साहित्याकाशमा तेस्रो आन्दोलनको नामले पनि चिनिन्छ । आयामेली आन्दोलन चेप्टो लेखन अर्थात् लम्बाइ र चौडाइको कोणबाट जीवनजगत्को सम्पूर्ण ब्याख्या नहुने ठान्दै परम्परागत साहित्यलेखनप्रति असन्तुष्टि र अरुचि प्रकट गर्दछन् ।यस्तो अरुचि र असन्तुष्टि ब्यक्त गर्ने त्रिसाहित्यकार हुन् ःइन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभ ।इ १९६३ बाट सुरु गरिएको आयामेली आन्दोलनमा ईश्वर बल्लभ कविता र लेख रचनामा समर्पित छन् भने बैरागी काइँला कविता विधामा र इन्द्रबहादुर राई गद्याख्यान तथा सिध्दान्त लेखनमा समर्पित छन् । राईले त अझ आयामेली सिद्धान्त प्रयोग प्रयोग गरेर कथास्था कथा सङ्ग्रह पनि प्रकाशित गरेका छन् ।
आयामेली सम्पूर्णता वस्तुमा निहित ठान्दछ ।१ यो ले जीवनजगत्लाई वस्तुता र समग्रताको धारणाले हेर्दछ । अनि वस्तुलाई जुन आँखाले हेरेर बोध गरेको छ त्यही रूपमा नहेरी अबौद्धिक चित्तद्वारा हेर्दछ । यसरी हेर्दा वस्तुता अमूर्त रहन्छ तर पनि आपैmमा पूर्ण रहन्छ । यस दृष्टिले खीर कथालाई दृष्टिगत गर्ने हो भने कथालेखनको पञ्चावस्था ( प्रारम्भ,सङ्घर्षविकास,सङ्घर्षचरमोत्कर्ष,सङ्घर्षह्रास र उपसंहार) कथाविकासको तिन भाग (आदि,मध्य र अन्त्य )को क्रममा कथावस्तु प्रस्तुत गरिएको छैन साथै कथानक कार्य र कारणको श्रृङ्खलामा घटित छैन । यहाँ त खीरलाई वस्तुताको रूपमा हेरिएको छ । खीरलाई जीवनकै प्रतीक मानेर खीर पकाउने विधिसँगै जीवन जियाइको यथार्थ ब्याख्या छ । टिस्टा नदीको किनारमा मर्मत हुन लागिरहेको डाक बङ्गलामा काम गर्ने कामदार रहरैरहरमा खीर पकाउँछन् । गरिबीबाट सताइएका यी कामदारहरूसँग खीरका लागि यथेष्ट सामग्री छैन तापनि केही सेर दूधमा चामल हाली खीर पकाउँछन् । खीर पकाउँदा खीरमा कसैले अनुभव,कसैले सीप,कसैले योग्यता,कसैले प्रयत्न प्रयोग गर्दछन् ।यी सबैको मिहिनेत,सीप,अनुभवको लगानीबाट निर्मित खीर खाँदा अन्तमा मरमसला, अर्थको अभावमा खीर सोचे जति मीठो हुन सक्दैन ।सबैले खीर मीठो बनाउने प्रयत्न गर्दागर्दै आखिरीमा खीर बेस्वादिलो भएझैँ यी कामदारले जिउन चाहने जीवन पनि आदर्शयुक्त छ तर जीवन भने आदर्शहीन बन्न पुग्दछ । अन्तत्वगत्वा खीर स्वादरहित भएझैँ जीवन सारहीन र शून्य बन्न पुग्दछ । यस कथामा जीवनको श्रृङ्खलित भोगाइ छैन न त घटना छ वा भनूँ एउटा घटनाको बीजले अर्का घटनाको प्रारम्भ गर्छ । यहाँ त सन्दर्भ खीरको छ अनि खीरसँग जोडिएको कामदारको छ ।त्यसैले प्रस्तुत कथा अकथाको कोटिमा छ । यसमा जीवनको आदर्श,नैतिक र सबल पछेको चित्रण छैन, छ त निस्सार खीरझैँ बेस्वादिलो जीवन छ । यस कथामा खीर पकाउँदाको आनन्दको छेणको चित्रण एकातिर छ भने अर्कातिर खीर बेस्वादिलो भएझैँ जीवनले आशातीत प्राप्ति नगरेको अवस्था छ । यसमा खीरको सन्दर्भबाट ब्यतित र भोगित जीवनलाई वस्तुताको रूपमा हेरिएको छ ।यसका पात्रहरू स्वादिष्ट खीर खान चाहन्छन् जसै सम्पूर्ण मानव दुःख,क्लेश,भयरहित सुखद,आनन्दित आदर्श जीवन बाँच्न चाहन्छन् ।उनीहरू खीरलाई मीठो बनाउन आआफ्नो अर्थ,बुध्दि,योग्यता,छेमताले भ्याएसम्मका खारिएको सीप,अनुभव र प्रयत्न गर्छन् तर जतिसुकै खीर स्वादिलो बनाउन खोजे पनि खीर दूध हालेको भात बन्छ ।त्यस्तै उनीहरूको आदर्श जीवन जिउने रहर पनि विश्रृङ्खल बन्न पुग्छ ।तथापि यहाँ कामदारले खीर फालेका छैनन् जस्तो खीर बन्यो त्यस्तै खाएका छन् अर्थात् जीवन अस्तित्ववादी छ ।
यसरी प्रस्तुत कथामा वस्तुता पछेलाई वाह्य आँखाले होइन अमूर्त चिन्तनमार्फत् छामछुम पारिएको छ ।यसरी आयामेलीको उद्बोधन भएपछि आयामेली हिमायतीहरू वाह्य पछेलाई होइन वस्तुभित्र निहित अर्थको अमूर्त विधानमा संलग्न रहे ।यस परिप्रेछ्यमा आयामेली रचनाकारहरूले जीवन विषयक सत्यलाई नै भित्री गहिराइदेखि अन्वेषण गरेका छन् ।२ फलतः यस कथामा जीवनको सम्पूर्ण र पूर्ण पछेको चित्रण छ ।
कथाकार राई कथामा उत्तमोत्तम रूपको अभीष्ट गर्दैनन् ।उनी त केवल जीवनलाई गहनतम् हृदयले महसुस गर्दछन् ,जुन अमूर्त रहेको हुन्छ । उनका कथामा पात्रको जीवनले आदर्श खोजेको,असल आनन्द र सुखद छेणको अनुभूति लिन खोजेको देखाउँछन् तर जीवन मानिसको सोचाइ अनुकूल हुँदैन ।यो त जीवनमा निहित परिस्थिति सापेछ चल्दछ भनी कथाकार विचार प्रस्तुत गर्दछन् । मानिस जीवनलाई आफू अनुकूल बनाउन सङ्घर्ष गर्दछ तर यो सङ्घर्ष पनि मानिसले मिलाएको सङ्घर्ष तालिकाअनुसार चल्दैन ।यो त समयको गति प्रवाहसँगै विकल्पहीन भएर चल्दछ र उनी साहित्यमा त्यही जीवनको अनुकरण गर्दछन् त्यो पनि यथार्थ आदर्शको पुट एक लेश नराखी ।त्यही कुरा राई कथामा यसरी प्रकट गर्दछन् ः जीवनलाई यसरी पो बाँच्नुपर्ने,जीवनलाई उसरी पो चलाउनु काममा लगाउनु पर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रैथुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भुल अपुगहरू र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीरजस्तो भइरहन्छ ।जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको ब्यङ्ग्यजस्तो मात्र थियो ।३ मानवीय जीवनमा मानिसले जीवन जिउने कल्पना र सपना आफ्नो अनुकूल आदर्श बनाउने चेष्टा गर्दछ तर सोचाइ र कल्पनाले जीवन चलाउँदैन ।जीवनलाई त भुल,अपर्याप्तता,अपुग र भत्कोसहरूले चलाउँछ ।अतः यही कुराले जीवनलाई आदर्श खीरको उदाहरण दिएर जान्छ ।
यसप्रकार राईले खीर कथामा पात्रहरूको आदर्श जीवन जिउने रहरलाई स्वादिलो खीर मानेका छन् तर खीर आदर्श नबनी बेस्वादिलो भएझैँ मानिसमा रहेको अपुग र अभावको कारणले जीवन निस्सार बनिदिन्छ ।यही जीवनको निस्सारता ब्यक्त गर्नु पनि आयामेली आन्दोलनको मूल ध्येय हो ।आयामेलीहरू जीवन जगत्लाई उच्च,सभ्य र आदर्श बनाउनतिर लाग्दैनन् । जीवनको खाट्टी अनुभूति असङ्गति, क्रमभङ्गता,निस्सारपन,अस्तित्ववादी जीवन प्रस्तुत गर्न मन पराउँछन् ।ब्यक्ति जीवन सङ्गतिहीन भएझैँ कथावस्तु पनि कार्य र कारणबाट बिश्रृङ्खलित बनाई कथानक सङ्गतिहीन बनाउँछन् ।
आयामेलीहरू जीवन विषयक प्रसङ्ग खोतल्दा भोगवादी बन्दैनन् ,जीवनवादी बन्दछन् । यिनीहरू जीवनलाई अनुभूतिमात्र गर्न सकिने ठान्दछन् ।यस खीर कथामा पनि जीवनका लागि सङ्घर्षरत पात्रहरू छन् ।तर यी पात्रले जीवनमा सफलता प्राप्त गरेका छैनन् । यस कथामा त अझ जीवन भोग्नेले जीवनलाई बुझ्दैनन् । जीवनको मिलिन रूप बुझ्न यस कथामा म पात्रलाई उपस्थित गराइएको छ ।
जीवन विषयक चिन्तन गर्न आयामेलीहरू अस्तित्ववादी प्रस्तुत गर्दछन् ।चोरेर होस्,कराएर होस्,अर्काको ऋण नतिरेर होस् जसरी पनि खाइहालेर बाँच्दै गर्नुपर्दछ,बाँचिरहन सक्नुपर्दछ । जीवन त ब्यक्ति स्वतन्त्र हुन्छ ।स्वतन्त्रता छान्ने अधिकार पनि जीवनलाई हुन्छ तर पनि मानिस परिस्थितिको दास भएकोले ऊ स्वतन्त्रताको उपभोग गर्दै जाँदा आखिरीमा ऊ शून्यताको भासमा नमजाली जाकिन पुग्दछ ।जहाँ उसले विकल्प केही भेट्दैन ।अन्तत्वगत्वा उसले जीवन सङ्गति देख्दैन ।तथापि ऊ जीवनबाट भाग्न सक्दैन ।उसले कुनै पनि हालतमा त्यो जिन्दगी बाँच्नु नै पर्दछ ।यो अस्तित्ववादले निक्र्यौल गरेको जीवनविषयक मान्यता हो ।यसरी अस्तित्ववादले निचोडमा जीवन जिउन मानिसलाई स्वतन्त्रता कुनै हालतमा छैन भन्ने निचोडमा पुगी मानिसको जीवनमा आदर्श बन्ने चाहना मिलिन भए पनि उसले आफूलाई बचाउन पर्दछ भन्दछ ।
जीवन शून्यमा एकाकार हुन्छ ।मानिसले जीवन आदर्श बनाउन खाज्दाखोज्दै आशातीत प्रगति गर्न सक्दैन अर्थात् मानिस जीवनलाई आदर्श बनाउन बल,बुत्ता,योग्यता क्ष्मता र प्राप्त अनेक विकल्प प्रयोग गर्दछ तर नतिजा शून्य हुन्छ । चिनी हालेको गुलियो दूध भात जस्तो मात्रै भएछ । हो जीवन आदर्श बनाउन प्रत्येक मानिस जीवनको पछि दौडन्छ तर सङ्घर्षको दौरानमा आउने भत्कोसले बाटो छेक्दछ । फलतः सङ्कट आइपर्दछ । मानिसले जतिसुकै यत्न गरे पनि जीवनमा कहीँ न कहीँ कतै न कतै त्रुटि भइहाल्छ,अभाव देखिइहाल्छ ।अनि खीर खीर नबनी गुलियो भएको भात बन्न पुग्छ र शून्य हात पर्छ ।यसरी प्रस्तुत कथामा शून्यवादी दुृष्टिकोण पनि अन्तःमिश्रित छ । जीवनको शून्यताको बोध गराउनु पनि यो सिद्घान्तको अर्का मान्यता हो जुन यस कथाले परिलक्षित गरेको छ ।
यस कथामा पात्र पनि खास स्तर र वर्गको चयन गरिएको छैन । पात्र विधानमा र चरित्रचित्रणमा राई परपरम्परा मुक्त छन् । कथाका पात्रहरू यथार्थवादी कथाको भन्दा नितान्त भिन्न छ किनभने आयामेली कथाकार राई कथामा अभिब्यञ्जनावादी छन् । यथार्थवादी कथामा पात्रहरूको निर्माण समाजमा देखिएका मानिस जस्ता छन् त्यस्तै देखाउने उद्देश्यले भएको हुन्छ भने आयामेली पात्रहरूको निर्माण कथाकारले मान्छेलाई हेरेर कथाकारका मनमा मान्छेजस्तो देखिन्छ त्यस रूपमा प्रयोग भएको छ ।६ साँच्चै खीर कथामा पात्रहरू यथार्थ जीवनबाट टिपिएका मात्र छैन्न् ।यथार्थ जीवन भोगिरहेका पात्रहरू जो छन् त्यसलाई कथाकारले आफ्नो मनमा घोलाएर गम्भीरतापूर्वक प्रस्तुत गरेका छन् ।यहाँ म पात्र लेखक पात्र हो । उसले कुली पात्रलाई नजिकबाट नियालेको छ अनि उसले कुली पात्रलाई नजिकबाट नियाल्दा कुलीहरूबाट नै पकाइन लागेको खीरको रूपमा पात्रलाई प्रस्तुत गरिएको छ ।कुनै पात्र आदर्श र कुनै पात्र अनादर्श छैन,कुनै खति छैन न त प्राप्ति अप्राप्ति नै छ । यस कथाको कुलीमा आशा छ,अभाव छ तापनि खीर खाने आकाङ्क्ष छ ।जीवनभरि सङ्घर्ष गरेर प्रभातलाई दिवा बनाउन खोजे पनि रातको संसर्गबाट टाढिएका छैनन् ।
आयामेली कथामा जीवन विषयका प्रसङ्ग कोट्याइएको हुन्छ जुन निश्चित समय र सीमामा बाँधिएको हुँदैन ।उनीहरू त सामाजिक यथार्थवादी कथाकारहरूले झैँ भौतिक परिवेश सिर्जना मनोवैज्ञानिक कथाकारहरूले झैँ मानसिक परिवेशको सिर्जना गर्नुभन्दा वैचारिक पक्ष्लाई कथामा जोड दिन्छन् । हुन त यस कथामा टिष्टा नदीको वरपरको भाग वणर््िात छ अनि डाँकबङ्गलाको । तर तीे कथाको चूरोलाई देखाउनभन्दा पात्रको पूर्ण जीवनस्थिति प्रस्तुत गर्न प्रयोग गरिएको छ ।आयामेली कथाको परिवेश न्यून रूपमा भौतिक र मानसिक भए पनि मूलभूत रूपमा वैचारिक छ । विचार नै परिवेश छ । यस खीर कथामा विचारलाई यस प्रकार प्रस्तुत गरिएको छ ः जीवनलाई यसरी पो बाँच्नु पर्ने,जीवनलाई उसरी पो काममा लगाउनु पर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रैथुपै्र आदर्शहरू मनभरि छन् तर साँच्चैमा बाँच्दाका भुल अपुग र भत्कोसहरूले नछमोड्ने हाम्रो यो यथार्थजीवन तिनीहरूकै खीरजस्तो भइरहन्छ ।७ जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको ब्यङ्ग्यजस्तो मात्र थियो । कथामा ब्यक्त उक्त ः विचार नै मूलतः यसको परिवेश बनेर आएको छ । जसरी खीर स्वादिलो बनाउन आगो बढी बाल्नु पर्ने कम बाल्नुपर्ने,धेरै दूध, थोरै दूध हाल्नुपर्ने,चामल थोरै हाल्नुपर्ने मरमसला हाल्नुपर्ने आदर्श पक्षले खीर राम्रो बन्दैन उसैगरी जीवनलाई आदर्श स्मरण र सोचले आदर्श बन्न नसकेको परिवेशलाई खीर पकाउँदाको चेष्टा र खुवाइबाट प्रस्तुत गरिएको छ ।जसले विचारलाई प्रधान मान्यता दिएको छ ।यसको साथै खीर कथामा टिष्टा नदीको वर्णनले यस कथाको परिवेशलाई अझ कसिलो बनाएको देखिन्छ र्। महान् भन्न मन लाग्ने हरियो—नीलो जलराशिको बग्दो फैलावट माथिका सुमझँै बालुवाहरूमा अनेकौँ करङहरू कारिएर रहेको हावाको वेगले पङ्खा लागेर वरपरका जम्मै झार जङ्गलहरू हल्लिरहेको कल्पनाबिच टिष्टाको हरररभित्र कतै छुट्टै छलललको आवाज कतै भिन्दै भुरुरुरुहरू पनि भएको र बजेको याद आउँथ्यो ।९ बाह्य सौन्दर्ययुक्त आँखाले हेर्नेहरूले हरियोनीलो भएर बग्ने टिष्टालाई सौन्दर्यको पूजक देख्छन् तर त्यति मात्र होइन टिष्टा त विगतको तर्साउने करङ पनि हो । यो हररर र छललल गरी सङ्गीतको धुन गुञ्जाएरमात्र बग्दैन । यो त सबैको विनाश गर्ने गरी भुरुरुरु कोलाहल झिकेर पनि बग्दछ । यसले टिष्टा नदीको वरपर बस्ने मानिसको सुन्दरस्थितिमात्र होइन कोलाहल कहालीलाग्दो समयको पनि प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।
आयामेली कथाकारहरूले कथावस्तु,चरित्रचित्रण र परिवेशलाई मात्र परम्परामुक्त पार्न खोजेका छैनन् । भाषशैलीमा पनि नवीन पद्दति अङ्गालेर प्रस्तुत गरेका छन् र्। विवृत रूपविन्यास ९यउभल तभहतगचभ० को आग्रह इन्द्रबहादुर राईका कथाहरूमा बडो रुचिकर बन्न पुगेको छ । ... उनका कथामा प्रतीक तथा बिम्बको तीब्र एवम् सचेत प्रयोगका साथै पूर्वप्रसङ्ग ९बििगकष्यल० र चिद्वैषम्य ९कथलभकतजभकष्ब० को प्रयोग बहिर्मुखी हुन पुगेको छ ।’१० राईको प्रस्तुत खीर कथामा खोला बास्छ,तीतो करायो,आलो गन्ध, अभेक ठाउँ,आदर्श खीर, सेतो असजिलो,मोटो स्वर,चकमन्न उज्यालो जस्ता चिद्वैषम्यका साथै पूर्वप्रसङ्गको रूपमा टिष्टा नदीको पराक्रमलाई ल्याइएको छ । यस कथामा गम्म परेको मान्छेको जस्तो स्वर बोल्यो,ठिक्क पहाडे बयर्नी जस्तै हुन्छ ,त्यो मुर्दा साँझका काला रूखहरू नहल्ली उभिइरहेका थिए ,चिनी हालेको गुलियो दूधभात जस्तो मात्र भएछ,मुठ्ठी पारेको जस्तो बाक्लो दूध ,दाँत माझेको वस्तो हुन्छ जस्ता बिम्बहरू निर्माण गरिएको छ ।
यस कथामा कथाकारले मुख्य सन्देश, विचार वा दर्शनलाई घटनाबाट भन्दा पनि,संवादबाट भन्दा पनि विचार वाक्यबाट प्रस्तुत गरेका छन् ।खीर कथाको अन्त्यमा चिह्नपछि विचार वाक्य प्रस्तुत छ । यसको साथै यस खीर कथामा शीर्षकलाई ब्यञ्जनात्मक ढङ्गले प्रयोग गरिएको छ । यहाँ खीरलाई मात्र कामदार वा मजदुरहरूले पकाएको खीरको रूपमा लिइएको छैन ।यसमा त खीर उनीहरूको जीवन बनेर आएको छ । जसरी अनेक प्रयत्नबाट बनाइएको खीर स्वादिलो हुँदैन त्यस्तैगरी मानिसले जतिसुकै सङ्घर्ष गरे पनि जीवन आदर्श र सोचेजस्तो हुँदैन भन्ने तथ्यलाई प्रतीकात्मक रूपमा ब्यक्त छ ।
यसप्रकार इन्द्रबहादुर राईले प्रस्तुत कथा कथावस्तु, चरित्रचित्रण, परिवेश, भाषाशैली आदिमा परम्परावादी कथालेखन प्रभृतिबाट मुक्त भई नवीन शिल्प, शैली प्रयोग गरी आयामेली सिद्घान्त अनुरूप सिर्जना गरेका छन् । अस्तु ः

सन्दर्भ सामग्रीसूची
१. दयाराम श्रेष्ठ,साहित्यको इतिहासः र सन्दर्भ,दो.सं (ललितपुरःसाप्र,२०६१)पृष्ठ १३९ ।
२.दयाराम श्रेष्ठ, इन्द्रबहादुर राईको कथामा वस्तु यथार्थता र वस्तुता, सम्पा.,घनश्याम कँडेल, नेपाली समालोचना (ललितपुरःसाप्र,२०५५)पृष्ठ २२५ ।
३. इन्द्रबहादुर राई, कथास्था,दो.सं(ललितपुरःसाप्र,२० )पृष्ठ ।
४.ऐजन पृष्ठ ।
५. ऐजन पृष्ठ ।
६. कुमारप्रसाद कोइराला,इन्द्रबहादुर राईको कथाकारिता,गरिमा,४९,२०५७ मङ्सिर ।
७. दयाराम श्रेष्ठ,साहित्यको इतिहासः र सन्दर्भ,दो.सं(ललितपुरःसाप्र,२०६१)पृष्ठ १३९ ।
८. इन्द्रबहादुर राई कथास्था,दो.सं(ललितपुरःसाप्र,२० )पृष्ठ ।
९.इन्द्रबहादुर राई कथास्था,दो.सं(ललितपुरःसाप्र,२० )पृष्ठ ।
१०.दयाराम श्रेष्ठ,इन्द्रबहादुर राईको कथामा वस्तु यथार्थता र वस्तुता,सम्पा.,घनश्याम कँडेल, नेपाली समालोचना (ललितपुरःसाप्र,२०५५)पृष्ठ २२५

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।