17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कफि पिउँ है ?

निबन्ध केशव पाठक November 15, 2023, 2:42 pm
केशव पाठक
केशव पाठक

कफि पिउँ है ? साराले आग्रह गरी ।

सिंगापुरको अन्सन रोडमा रहेको करिब ५० वर्ष पूरानो अपार्टमेन्टको एघारौं तलामा साराको फ्ल्याटबाहिर चर्को घाम लागिरहेको थियो । हामीले सहजताका साथ कफि पिउने स्वीकारोक्ति दियौं । चंचले प्रकृतिकी सारा कोठाभरी मोहकता छर्दै किचेनतिर लागि ।

पहिलोपटक सिंगापुर पुगेका हामी ४ जनालाई त्यहाँको विकास र सहरीकरणले चमत्कारिक आकर्षण दिएको थियो । त्यसमाथि साराको चंचलताले हामी झनै मख्ख थियौँ । १९९९ अगस्टतिरको कुरा हो यो । सिंगापुरमा विश्व कृषि मेलाको आयोजना गरिएको थियो । त्यसमा नेपालबाट हामीले प्रतिनिधित्व गरेको थियौं ।

सारा स्थायीरुपमा बसोबास गर्ने अन्सोन रोडमा रहेको पूरानो अपार्टभित्र सारा र उनका परिवारसँग हामी ४ थियौं । एयरपोर्टबाट सिधै यही घरमा ल्याइएको थियो हामीलाई । कार्यक्रम दुई दिनपछि भएकोले पुगेको दिन र भोलिपल्ट साराको अपार्टमा रहेको गेष्टरूममा हामीले रात बिताउदै थियौँ । बाहिरबाट पूरानोे देखिए पनि यो अपार्ट भित्र भने अत्यन्त आधुनिक थियो । डिजाइन र साजसज्जाले हामी नेपालीलाई नलोभ्याउने कुरै भएन । यता हाम्रो नेपालमा त अपार्टमेन्ट भन्नाले के बुझिन्छ नै थाहा थिएन त्यतिखेर ।

आर्थिक विकासको उच्चतम बिन्दुमा पुगिरहेको सिंगापुरको यो अपार्ट पनि केही महिनामा भत्काइने कुरा साराकी आमा लाराले हामीलाई बताइन् । त्यसपछि उनीहरु कलाङ भन्ने ठाउँमा सर्दै थिए जहाँ सरकारले नयाँ आवास उनीहरु उपलब्ध गराउँदै थियो ।

कफि पिउँ है ? भनेको करिब २५ मिनेटपछि साराले सेरामिकको सेतो मध्यमखाले ग्लासमा कफि लिएर लिभिङरुममा आउँदा फरकखाले कफिको बास्ना हामीले अनुभूति गर्यौँ । कमजोर कफि संस्कृति भएका हामी नेपालीले कफिलाई भद्धा लक्जरी ड्रिंक्सको रुपमा लिन्थ्यौं त्यो ताका । कमैले कफि खान्थे । धेरैलाइ कफिको स्वाद नै मन पर्दैनथ्यो । त्यसो त अझै पनि नेपालको राजधानीबाहेक अन्य ठाउँमा कफि खाने ठाउँ बिरलै भेटिन्छ ।

नेस्क्याफे वा सोही आकार, रुप, रंगको अरु कम्पनिका रेडिमेड कफिलाई पानी वा दुुधमा फिटेर खाइने कफि नै हामीहरुका लागि कफिको उच्चतम स्वरुप थियो । साराले हाम्रो आतिथ्यतालाई सहजिकरण गर्न ल्याएको त्यो कफि हाम्रो अन्दाजमाचाहिँ त्यहि नेस्क्याफे वा सो सरहको कफिमात्र थियो । तर कफिको रुप, रंग नदेखिँदै आएको बास्नाले हामीलाई फरक महशुस गराइसकेको थियो ।

मध्यम आकारको सेतो सेरामिक कपमा आधाभन्दा अलि बढि जति भरेर ल्याइएको कालो र हल्का बाक्लोे कफि हाम्रो हातमा साराले राखिदिँदा कफिको नयाँ रुपमा पहिलोपटक प्रवेश गरेका थियौँ । कफिको स्वाद पनि फरक थियो । चिनी हालिएको थिएन । पहिलोपटक भएर होला मिठो पनि त्यति लागेन । खासै मिठो नलागे पनि साराको हातले बनाएकोले मिठोको रंग थप्यौँ हामीले ।

हामीले कफिमा चिनी हाल्ने जमर्कोसमेत गरेनौं । त्यो फिल्टर कफि थियो । कफिको जानकारी लिन खोज्दा साराले हामीलाई किचेनमा लगेर कफि बनाउने भाँडो देखाई । त्यो अनौठो लाग्यो हामीलाई । सानो थियो तर त्यसले गर्ने करामत भने नेपालमा रक्सि बनाएको जस्तोजस्तै थियो । एकपटकमा सायद त्यहि ३-४ कप कफि बनाउन सकिन्थ्यो होला । त्यो खाले कफि बनाउने भाँडो मैले पछिसम्म नेपालमा देख्न पाएको छैन । आज पनि कफि खाँदा त्यो फिल्टर कफि र साराको त्यो माया सद्भाव सम्झनामा आउँछ ।

हामीलाई काठमाडौंमै लिन आएकी थिइ सारा । एकखाले मोहनी नै लगाएकी थिइ उसले । हामीलाई मोहनी लगाउनु पूर्व सिंगापुरबाट हामीलाई लिन आएको ३ जनाको टोलीकी कान्छी सदस्य थिई ऊ । उनीसँग साथमा आएकी लारा उनकै आमा थिइन् भने सेन्ड्रिला नामकी फुपु थिइन् अर्की सदस्य ।

हाँगामा फलिरहेको कफि प्रिन्ट भएको टिसर्टमा सजिएकी सारा तीन दिन नेपाल बस्दा सोही प्रिन्टको भिन्न भिन्न रंगका टिसर्टमा सजिएर हामीसँग काठमाडौंका बिभिन्न पर्यटकीय ठाउँमा हिँडी । यही हिँडाइमा उसको बानी व्यवहारले हामीले मोहनी लगायो । उमेरले त्यही २३ जति हुनु पर्ने यी रेसमी कपालकी युवती विश्व कृषि मेलाकी १० जना कोर्डिनेटरमध्ये एक थिई । राम्री विदेशी केटी लिएर हामी राजधानीमा धेरै रंगियौँ । कल्पनाको गगनहरु छोयौँ ।

साराकी आमा लाराले सिंगापुर निवासी झ्यान पुसँग विवाह गरेपछि यी ब्राजिलियनहरु पछिल्लो २५ वर्षदेखि सिंगापुरमा नै घरजम गरेर व्यस्त जीवनयापन गरिरहेका थिए । सिंगापुरमा खेतीको ठूला संभावना हुने ठाउँ खोज्नु मुर्खता नै हो । त्यसैले झ्यान र लाराले विश्वको बिभिन्न ठाउँबाट तरकारी तथा फलफूलहरु आयात गर्ने काम थालेको २० वर्षपछि एउटा अन्तर्राष्ट्रियस्तरको कृषिमेला आयोजना गर्ने जमर्को गरे ।

यही कृषि मेलाको निम्तो दिने नाममा नेपाल घुम्न आएका थिए यी तीन महिला । नेपालीको व्यवसायिक कृषिको संभावना खोजीरहेका केही युवापुस्तालाई नेपालबाट सिंगापुर लैजाने वातावरणमा भूमिका खेलेवापत संयोजकको भूमिकामा म आफै सहभागि थिएँ । साथमा कृषिका अरू तीन सहयोद्धा पनि सहभागि भएका थिए ।

सिंगापुर गएपछि थाहा भयो त्यो विश्व कृषि मेला विशेषतः कफिमा केन्दित थियो । यतै थाहा भएको भए केही कफि खेतीमा काम गर्ने जमर्को गरिरहेका नामहरुलाई लगिन्थ्यो होला तर त्यसो हुन पाएन । हामी चारैजना कफि तथा कफि खेतीसम्बन्धमा अनविज्ञ नै थियौं ।

५ दिनसम्म चल्ने सो मेलामा विशेष गरेर ब्राजिल र इथियोपियाबाट ल्याइएको कफि प्रदर्शन गरियो । कफि खेतीमा विश्वलाई आकर्षित गर्ने योजनाले आयोजित थियो यो मेला । कफि, कफि मेसिनलगायत कफिसँग सम्बन्धि धेरैभन्दा धेरै स्टलहरु थिए । खेती सिकाउने डेमो फार्मिङको व्यवस्था पनि मिलाइएको थियो । कफि बनाउन र कफि सप संचालन गर्ने फास्ट ट्रयाक तालिमको व्यवस्था थियो । साराले हामीलाई आग्रह गरी त्यो तालिम लिन । हामीले मौकाको फाइदा उठायौं ।

यही मेलाको अवसर पारेर विशाल आर्थिक उन्नतितिर लम्किरहेको सिंगापुरको स्वरुपलाई नजिकैबाटै अनुभव गरियो । २३ देशको प्रतिनिधित्व तथा १७ देशको स्टलहरु थिए मेलामा । कृषि कर्मका कखरा सिक्दै गरेका हामीलाई त्यो मेलाले नयाँ तथा सकारात्मक उर्जा दियो । साराले हाम्रो ६ दिने भ्रमण अबधिभर लगातार साथ दिई ।

मेलाको अन्तिम दिन विशेष खाले कार्यक्रम राखियो । ब्राजिल र इथियोपियाबाट ल्याएको १३ टन काँचो तथा ग्रेडिङ नगरिएको कफिलाई ३० मिनेट लामो प्रतियोगिता राखेर जसले धेरै छान्न सक्यो त्यसले ५० हजार डलर पुरस्कार पाउने कार्यक्रम राखिएको थियो । त्यो रकम कृषिकै कार्यक्रममा लगानि गर्नु पर्ने अनिवार्य शर्त थियो पुरस्कार प्रायोजकको । अमेरिकन डकिन डोनट्सले प्रायोजन गरेको यो प्रतियोगिताको पुरस्कार राशीले सहभागि सबैको होस उडेको थियो । यति ठूलो रकम ?

आश्चर्यजनकरूपमा नेपालबाट प्रतियोगितामा मैले भाग लिन पाएँ । भाग लिनु पूर्व साराले कस्तो कफिको बियाँलाई छनौट गर्ने बारेमा सिकाएकी थिई । संभवतः आयोजकले नै यसरी प्रतिस्पर्धा जितिन्छ भनेर सिक्ने सौभाग्य पाउने मैँ मात्र भाग्यमानी थिएँ होला । त्यसो त साराले हामी नेपाली टोलीलाई धेरै नै महत्व दिएकी थिई । एक हिसाबले मोहनी लगाएकी थिई हामीलाई । युवा उमेरका हामी सबैले आआफ्नै रुप रंगका मायाका फूलहरु बर्साएका थियौं सारामाथि । आजसम्म पनि ती दिन सम्झिदै हामी तरंगित हुने गछौं ।

प्रतियोगिता सुरु भयो, राम्रो कफिको बियाँ छान्ने प्रतिस्पर्धा । फलेका सबै कफिका बियाँ कफिका लागि प्रयोग गरिँदैन भन्ने कुरा त्यहिँ थाहा भयो हामीलाई । नेपालमा भने आज पनि खासै कफिको बियाँ ग्रेडिङ गर्ने गरेको पाइँदैन । आजभन्दा २१ वर्ष अघि कफिको बियाँ ग्रेडिङको प्रतिस्पर्धामा नपत्याउँदो रुपमा मैले सबैभन्दा धेरै छानेछु । र त्यो विशाल धन राशी हामीले जित्यौँ । आज पनि हामीले नै त्यो प्रतिस्पर्धा जितोस् भन्ने चाहना अनि केही भित्री प्रयास साराले गरेकीले नेपालले त्यो प्रतिस्पर्धा जित्यो कि जस्तो लाग्छ मलाई ।

५० हजार डलर पुरस्कार राशी हामीले पाएको बारेमा हामी आफैलाई पत्याउन नसक्ने सपना लागिरहेको थियो । कृषिमा ठूलो योजनाको अभावमा लामो समयसम्म हामीले डकिन डोनट्ससँग सो पुरस्कारको रकम लिन पनि सकेनौं । पछि साराकै पहलमा हामीले नेपालीहरुलाई कृषि क्षेत्रमा एकिकृत गर्न स्वदेशमै केही गर्न सकिन्छ भन्ने कृषि कार्यक्रम आयोजना गर्यौं । पछि देशको ३३ जिल्लामा यो कृषिको अभियानका बिभिन्न कर्महरु भयो ।

पछिल्ला केही वर्षदेखि हामीले पनि नेपालमा ठूलो स्केलको कफि खेतीमा हात हालेका छौं । ३ जिल्लामा सुरु गरिएको खेतीमा साराले स्यवमले पनि लगानी गरेकी छे । साराकै कारण आज हामी यो मुकाममा छौंभन्दा बढि नहोला ।

करिब ४५ वर्षकी सारा यतिखेर अमेरिकाको फ्लोरिडामा बस्छे । २ बच्चाकी आमा भैसकेकी सारा अहिले पति ओस्कारसँग मिलेर इको भन्ने प्रोजेक्ट चलाइरहेकी छ । विश्वका २५ वटा विकासोन्मुख मुलुकमा कृषिको प्राविधिक ज्ञान बाँडिरहेकी छे । त्यो २५वटा मुलकमा नेपाल पनि पर्छ । २१ वर्ष अघिकी सारा र अहिलेकी साराको आकार, रुप, रंगमा धेरै परिवर्तन देखिए पनि उसको नेपाल र हामीप्रति माया र सद्भाव पहिलाभन्दा झन् दरिलो छ । तर यो कथा पढिसकेपछि कतै भेट हुँदा कृपया त्यो ५० हजार डलरको कुरा नगरी दिन सबैलाई अनुरोध छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।