17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भ्रम नपाल्नू

कविता राजु “हिमांशु” November 21, 2023, 12:26 am
राजु “हिमांशु”
राजु “हिमांशु”

म चुपचाप छु अहिले
मौनताभित्र छु अहिले
तर
म चुपचाप बसेको छु भन्दैमा
म शान्त छु भनेर नसोच्नू
म शान्तिमा छु भनेर नसोच्नू
वास्तवमा तिमीलाई थाहा छैन
मभित्र कति डरलाग्दो आँधी–बेह्री चलिरहेछ
मभित्र कति अशान्त ज्वारभाटा उर्लिरहेछ

मौन रहनु नै शान्त हुनु होइन
चुप बस्नु नै शान्ति हुनु होइन
कहिलेकाहीँ मौनताभित्र
डढ़ेलो सल्किरहेको हुन्छ निभाउनै नसक्ने
कहिलेकाहीँ चुपचाप बसाइभित्र
भिसुभियस छटपटाइरहेको हुन्छ भित्रभित्रै

मलाई शान्त देखेर छेउमा नआउनू
मभित्रको उथलपुथलले पोल्न सक्छ
मलाई मौन देखेर छाम्नु नआउनू
मभित्रको लाभाले डाम्न सक्छ

कहिलेकाहीँ मनभित्रभित्र पोल्ने अभावको उत्तापमा पनि
चुपचाप बसिदिनुपर्छ
कहिलेकाहीँ मनभित्रभित्र चर्तिकला गर्ने घाउको रापमा पनि
चुपचाप सहिदिनुपर्छ
त्यसैले
बाह्य आवरणमा मक्ख परेर छुनु नआउनू
मौनताभित्र शान्ति हुन्छ भनेर
भ्रम नपाल्नू
भ्रम नपाल्नू
भ्रम नपाल्नू

डाउहिल, खरसाङ, भारत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।