17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अङ्गारिका

कविता कृष्ण उपाध्याय November 23, 2023, 3:15 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

मेरो महापुरुष !
पल्लवित पात,
पल्लवित पातका शितलतामा
पल्लवित पातका मृदु भावमा
शाश्वत स्वर लहरीमा
अङ्गना अलंकृत गर्छे
आफ्ना भाव भंगीमा,
आफ्ना चित्त मन र बुद्धि,
अनि शान्त सौम्य हुन्छे
बेलवृक्ष मुनि बेलपत्रको विछौनामा ।

अब उसका मन र बुद्धि
पल्लवित पातका मृदु भावमा
मृदुल छन्
मधुर छन्
मानस मन हुन्छ
मानस पटलमा मानस छ
उ सँग मानस छ।
मानस मन हो
त्यै मनको तन हो अङ्गना !
अंगी हो अङ्गना ।

मेरो महापुरुष !
ऊ मानसलाई म भन्छे
ममा मानस अनुभूत गर्छे
आँखा चिम्लेर तिमीलाई खोज्छे
आँखा खोलेर तिमीलाई खोज्छे ।
तिमीलाई नेदेखदा पनि
ऊ अविचलित छे
ऊ खोजी पनि रहन्छे ।

अङ्गारिकाको अँगार जस्तै
तप्त उत्तप्त आगोको अँगार जस्तै
भावर हुन्छे
भावर भावमा हुन्छे ।

अङ्गारिकाको अँगार जस्तै
तप्त उत्तप्त आगोको अँगार जस्तै
तप्त उत्तप्त अङ्गना
अङ्गारिकाको आगोमा
सबै सबै अँगार भए जस्तै,
सबै सबै
अल्गा अल्गा अवयवमा
देख्छे तिम्रा जस्तै
लामा लामा घुम्रेका कपाल
चौडा चौडा उठेका छाती
चम्किलो चम्किलो मुहार
मधुर मधुर मुस्कान
सुन्दर लामा लामा आँखा ।

हेरन, कालु !
अङ्गना अङ्गारिका भएकी छ
राती राती अङ्गारिका !
ताता ताता अँगार बोक्ने अङ्गारिका !
अङ्गारिकाको अग्नि ज्वालामा
सबै सबै अँगार भए जस्तै
अहिले ऊ
सबै सबै
अल्गा अल्गा अवयवमा
तिमी देख्छे,
उसलाई उस्तै उस्तै लाग्छ सबै ।

राती राती अङ्गारिका
राती राती अङ्गना
कुद्दै कुद्दै अल्गा अवयव पछ्याउछे
नजिक नजिक पुग्छे

देख्दिन लामा लामा घुम्रेका कपाल
देख्दिन चौडा चौडा उठेका छाती
चम्किलो चम्किलो मुहार देख्दिन
देख्दिन मधुर मधुर मुस्कान
अनि देख्दिन
सुन्दर लामा लामा आँखा !

मेरो महापुरुष
म मन्द मन्द गतिमा
मन्द मन्द तरंगित आवाजमा
एककोहोरो बगिरहँदा
अङ्गना मानससँग हुन्छे
मनको मानससँग
मानससँग सोध्छे,
अनि अल्गा अवयवमा
तिमीलाई खोज्न छोड्छे ।

अव उखुवारीमा हुन्छे ऊ,
एक छिन अघिकी
अङ्गारिका अङ्गना,
तप्त उतप्त अङ्गना
तिर्खाएकी अङ्गना
उखुको रसको लालसामा हुन्छे
उखुको बोट हेर्छे,
उखुको अङ्गारिका भाच्छे
आत्तिएकी अङ्गना अङ्गारिका चुस्छे,
अङ्गारिका अङ्गारिका चुस्छे !
रस विहिन अङ्गारिका !

अङ्गारिकाले अङ्गारिकाको तिर्खा मेट्दैन !
मेट्दैन तिर्खा अङ्गारिकाले अङ्गनाको ।
अनि त अङ्गना उखुको बोटमुनि वस्छे
मानस सम्झन्छे
मनमा मानस बोलाउछे
के गरौँ के गरौँ हुन्छे,
के गरौँ के गरौँ भन्छे ।
शान्त सौम्य हुन्छे ।

शान्ति र सौम्यतामा
उसले उखु भाच्छे
अङ्गारिका फाल्छे
उखुका बोक्रा फाल्छे
अनि चुस्छे
उखुको गुलियो रस,
मिठो !
मिठो रस
स्वादे रस
बाक्लो रस
तिर्खा नमेट्ने रस ।

रस अङ्गनाको तिर्खा मेटदैन,
तिर्खाएकाले नुनिलो पानी पिए जस्तै
प्रेमको तृष्णामा वासना पिए जस्तै
अङ्गना तिर्खाइ नै रहन्छे ।

शान्ति र सौम्यतामा,
मानस सम्झन्छे
मनमा मानस वोलाउछे
पातको पानी जस्तै
पानको पातको पानी जस्तै
पलाशको पातको पनि
शुद्ध पानी पिउने रहर गर्छे ।
शुद्ध मनले उ पलाश घारी पुग्छे
झरीले झर झर झरना जस्तै झरेको
पलाश पातको पानि पिउाछे,
अतृप्त अङ्गना तृप्त हुन्छे ।

पलाशको पातलाई
नमन नमन भन्छे ।
तिन पत्रे पलाशको पातमाथि
अङ्गारिका देख्छे
राता राता अङ्गारिका
राता राता नफक्रिएका पलाशका फुल ।

अङ्गना अङ्गारिका हेरिरहन्छे
गन्ध सुगन्ध रहित अङ्गारिका
राता राता स्निग्धता अङ्गारिका ।

त्यै स्निग्धतामा स्निग्ध हुन्छे
स्निग्ध अङ्गारिका भावमा हुन्छे अङ्गना
अङ्गरिका झुकेर अंशुमति फर्के जस्तै
त्यै भावमा अंशुमति फर्किन्छे अङ्गना
अङ्गना अङ्गारिका हुन्छे
पलाशको कोपिला जस्तै,
गन्ध सुगन्ध रहित
पलाशको कोपिला जस्तै
अंशुमति फर्केर झुकी रहन्छे ।
ब्रहम वृक्षकी अङ्गारिका जस्तै
पलाशको कोपिला जस्तै ।

अङ्गना अङ्गारिका भएकी छे ।

मेरो महापुरुष !
देख्यो नि तिमीले
अहिले ऊ अंशुमतितिर फर्केर,
झुकेर खोजिरहेकी छ तिमीलाई
स्निग्ध भावमा ।

वेम्ली, लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।