अध्ययनसार
नारीको सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै पनि महत्वपूर्ण विषयमा पहुँच हुनुपर्छ भन्ने सामूहिक विचारलाई नारीवाद भनिन्छ । नारीलाई शिक्षा र रोजगारमा अवसर प्रदान गर्नुपर्छ, पुरुषसमान अधिकार दिनैपर्छ भन्ने विषय नारीवादको मुख्य विषय हो । नारीवादी सिद्धान्तको उद्देश्य लैङ्गिक असमानताको प्रकृति र कारणहरूलाई सम्झिने र यसको फलस्वरूप जन्म लिने लैङ्गिक भेदभावको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तहरूमाथि यसको असरलाई व्याख्या गर्नु हो । नारी विमर्शसम्बन्धी राजनीतिक प्रचारहरूको मुद्दा प्रजननसम्बन्धी अधिकार, घरेलु हिंसा, भेदभाव र यौन हिंसामाथि रहेको हुन्छ । नारीवाद राजनीतिक आन्दोलनको एक सामाजिक सिद्धान्त हो, जुन नारीहरूको अनुभवसँग सम्बन्धित छ । मुख्य रूपमा यो सामाजिक सम्बन्धमा नारीहरूको भूमिकाको रूपमा सतहमा आए पनि धेरैजसो नारीवादीहरूले लैङ्गिक असमानता र नारी अधिकारमा जोड दिएका हुन्छन् । नारीहरूको विषयलाई सार्वभौम बनाएर स्थापित ‘नारीवाद’ विशेष गरेर प्रजननसम्बन्धी अधिकार, घरेलु हिंसाको विरोध, समान ज्यालाको अधिकार, सामाजिक–सांस्कृतिक भेदभावबाट मुक्ति र यौन हिंसाजस्ता विषयमा आधारित छ । प्रस्तुत अध्ययनमा कक्षा ११ को ऐच्छिक नेपाली विषयको पाठ्यक्रममा समावेश भएका ९ जना कथाकारका कथामा प्रयुक्त नारी पात्रलाई उनीहरूको चारित्रिक भूमिकाका आधारमा नारीवादी कोणबाट व्याख्या–विश्लेषण गरिएको छ । कथामा प्रयुक्त नारीपात्रहरूको भूमिकामार्फत उनीहरूको वैचारिक चेतनाको खोजी गरिएको छ । नारी स्वतन्त्रता, विद्रोह चेत, पितृसत्तात्मक सोचका आधारमा यहाँका नारी पात्रको विश्लेषण गरिएको छ । कथामा प्रयुक्त पुरुष पात्रहरूले महिलालाई दोस्रो दर्जाका नागरिक ठानेका छन् । अधिकांश कथामा कथाकारहरूले नारीलाई सन्तान जन्माउने, घरधन्दा गर्ने र भोग गर्ने साधनका रूपमा प्रस्तुत गरेका छन् । अध्ययनका क्रममा साक्ष्यहरूसहित पाठ्यांशमा समावेश भएका कथाका सबैजसो नारी पात्रहरू पितृसत्तात्मक दमनकारी राज्य प्रणालीका कारण उत्पीडनमा परेको निष्कर्ष निकलिएको छ ।
मुख्य पद-पदावलीहरू
नारीवाद, आर्थिक सक्षमता, उत्पीडन, वर्गीय मुक्ति, लैङ्गिक असमानता, घरेलु हिंसा, पितृसत्ता, पुरुष प्रभुत्व, सशक्तीकरण ।
१. विषयप्रवेश
‘नारीवाद’ पश्चिमी चिन्तनबाट निर्मित शब्द हो । अङ्ग्रेजी ‘फेमिनिजम’ शब्दको नेपाली रूपान्तरण नारीवाद हुन्छ । यो पश्चिमी साहित्यमा संरचनावादपछि विकसित सिद्धान्त हो र एउटा महत्वपूर्ण वैचारिक आन्दोलन हो । सामाजिक, राजनीतिक, आर्थिक, व्यक्तिगत वा अन्य कुनै पनि महत्वपूर्ण विषयमा नारीको पनि पुरुषसमान पहुँच हुनुपर्छ भन्ने सामूहिक विचार नारीवाद हो । नारीलाई शिक्षा र रोजगारमा अवसर प्रदान गर्नुपर्छ, पुरुषसमान अधिकार दिनैपर्छ भन्ने विषय नारीवादको मुख्य विषय हो । नारीवाद नारीको हक, अधिकार र समानताका लागि आवाज उठाउने चिन्तन हो, नारीप्रतिका अन्यायपूर्ण सामाजिक व्यवहार र सोचको विरोध गर्ने चिन्तन हो । नारीलाई केन्द्रमा राखेर कृतिको अध्ययन र विश्लेषण गर्ने समालोचना पद्धति नारीवादी समालोचना हो ।
नारीवादले समानता, स्वतन्त्रता र मुक्तिको आवाज उठाउँछ । यसले लैङ्गिक विभेदको अन्त्यको माग राख्दै समानता र न्यायको वकालत गर्छ । पितृसत्ताको साथै नारीलाई दोस्रो दर्जाको नागरिक मान्ने परम्पराको विरोध गर्छ । नारीमाथि हुने गरेका सामाजिक, आर्थिक, धार्मिक, वैचारिक, यौनगत, सांस्कृतिक, राजनीतिक भेदभावको विरोध नारीवादले गर्छ । यसले नारीमाथि भइरहेका शोषण, दमन र अत्याचारका विरुद्ध कानुनी रूपमा मात्र नभई व्यावहारिक रूपमा नै परिवर्तनको माग गर्छ । श्रमको मूल्य पुरुषसमान हुनुपर्ने, घरायसी कामको मूल्याङ्कन हुनुपर्ने, हिंसाबाट मुक्ति, दाइजो प्रथाको अन्त्य, बलात्कारको विरोध, सञ्चार माध्यममा महिलाको नकारात्मक प्रस्तुतिको विरोध, महिलामाथि हुने गरेको शरीर राजनीतिको विरोध, आफ्नो शरीरमा आफ्नो अधिकार हुनुपर्ने माग, मातृत्वको महत्ता, गर्भावस्थाको भत्ता, गर्भपतनको अधिकारको माग, आत्मनिर्भरता, आर्थिक सक्षमता, सहभागिता, सशक्तीकरणमा जोड, महिलाको स्रोतमाथिको पहुँच लगायतका विविध पक्षमा नारीवादले जोड दिन्छ । यस अर्थमा नारीवाद समानताको चिन्तन हो, मानवतावादी चिन्तन हो ।
नारीलाई सबल एवम् पुरुषसरह प्रतिस्पर्धात्मक बनाउन क्षमता विकास र सशक्तीकरणमा जोड दिने चिन्तन मेरी उल्सटोन क्राफ्ट (बेलायत)बाट ‘अ भिन्डिकेसन अफ द राइट अफ उमन’ (सन् १७७२) मार्फत भएको पाइन्छ । नारीवादी चिन्तन र आन्दोलनको सुरुवात सेनेका फल्स सम्मेलन (सन् १८४८) बाट भएको हो । नारी विमर्शसम्बन्धी राजनीतिक प्रचारहरूको मुद्दा प्रजननसम्बन्धी अधिकार, घरेलु हिंसा, भेदभाव र यौन हिंसामाथि रहेको हुन्छ (विकिपिडिया) । नारीवाद सामाजिक सम्बन्धमा नारीहरूको भूमिकाको रूपमा सतहमा आए पनि धेरैजसो नारीवादी विदुषीहरूले लैङ्गिक असमानता र नारी अधिकारमा जोड दिएका छन् । नारीहरूको विषयलाई सार्वभौम बनाएर राजनीतिक तहमा वादको रूपमा प्रचार गरिएको ‘नारीवाद’ विशेष गरेर प्रजननसम्बन्धी अधिकार, यौन उत्पीडन, घरेलु हिंसा, समान ज्यालाको अधिकार, सामाजिक सांस्कृतिक भेदभाव र यौन हिंसा जस्ता विषयमा आधारित छ र यो सकारात्मक पक्ष हो यद्यपि पुरुषको कुरै सुन्न नचाहने, पुरुषभन्दा बिल्कुलै फरक अस्तित्वको कल्पना गर्ने, सम्बन्धका हरेक दरारमा दोषी चाहिँ पुरुषलाई मात्र किटान गर्ने, निरपेक्ष प्रजनन अधिकारको मुद्दा उठाउने, आफ्ना प्रजनन तथा यौनाङ्गलाई हतियार बनाएर बहसको थालनी गर्ने, प्राकृतिक न्यायको सिद्धान्तभन्दा अघि बढेर छुट्टै आत्मकेन्द्रित न्यायको कुरा गर्ने जस्ता केही पक्षहरू नारीवादमा देखापरेका नकारात्मक पक्ष हुन् (अर्यालः २०७४) । उग्रवादी चिन्तन समाजसापेक्ष हुँदैन । यस्तो चिन्तनले ध्वंशलाई आमन्त्रण गर्दछ र समाजलाई भताभुङ्ग पार्दछ । सबैले स्वीकार गरेको तथ्य के हो भने नारीहरूले सबै क्षेत्रमा पुरुषसमान अधिकार पाएका छैनन् । नारीले गर्ने घरको कामलाई प्रायः उत्पादक श्रमका रुपमा लिने चलन छैन । नारीले उक्त घरायसी श्रमको ज्याला पनि पाउँदैनन् । घरको कामलाई पनि उत्पादन श्रम मान्ने हो भने आजको संसारको दुई तिहाई श्रम नारीहरूले नै गरेका छन् । नारीले नै संसारको ५० प्रतिशत खाद्यपदार्थको उत्पादन गर्दछन् । तर विडम्बना संसारको सम्पूर्ण भूभागमध्ये ५ प्रतिशतमा मात्र नारीहरूको स्वामित्व रहेको छ (उप्रेती, २०६९; पृ.२३८) । यस तथ्यबाट स्पष्ट हुन्छ– विश्वभरि नै नारीहरूको अवस्था दोस्रो दर्जाको नागरिकसरह रहेको छ ।
पितृसत्ता महिलामाथिको दमन र शोषणको प्रमुख कारक हो । पितृसत्ता एउटा संरचना हो जसमा पुरुषले महिलामाथि संस्थागत रूपमा नै दमन गरेको हुन्छ । यस आधारमा पितृसत्ता पुरुषद्वारा मात्र सञ्चालित नभई महिलाद्वारा पनि सञ्चालित हुन्छ । पितृसत्तालाई समाजमा यसरी संस्थागत गरिएको हुन्छ कि दमन गर्ने स्वयम्लाई बोध नहुन पनि सक्छ (पौडेलः ७) । समालोचक बराल (२०५९ः १४०) ले नारीवादी साहित्यिक लेखनको उद्देश्यका बारेमा लेखेका छन्ः नारी अस्मिता र मूल्यलाई केन्द्रमा राखेर साहित्यिक लेखन तथा चिन्तमा केन्द्रित हुनु नारीवादी साहित्यिक चिन्तनको उद्देश्य हो । नारीवाद नारीमाथि हुने सबै प्रकारका शोषण र चिथोमिचोको विरुद्धमा छ । यो एउटा त्यस्तो बौद्धिक तथा व्यावहारिक आन्दोलन हो जो सामाजिक, सांस्कृतिक, साहित्यिक आदि अनेक क्षेत्रमा स्त्री जातिको पक्षबाट बोल्छ, जसमा ती विचार, विश्वास, आस्था र आन्दोलनहरू पर्छन्, जसबाट नारीको हितको विकासमा सघाउ पुग्छ भन्ने ठानिन्छ (गौतम, २०५९; ३४४) । नारीवादले महिलालाई दोस्रो दर्जाका विरुद्ध गरिने व्यवहारको विरोध गर्दछ । नारीवाद जहिले पनि पुरुषसमान अधिकारका लागि आफ्नो आवाज सशक्त पार्दछ ।
लैङ्गिक अध्ययन, लैङ्गिक समविकास, पुरुष प्रभुत्व, पितृसत्ता जस्ता शब्दहरू प्रारम्भमा माक्र्सवादीहरूले प्रयोग गरेका हुन् । महिला पुरुष समविकासको मान्यता तथा समाजमा विद्यमान पुरुष हैकमका बारेमा सर्वप्रथम एङ्गेल्सको कृति ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ (सन् १८८४) मा पर्याप्त चर्चा भएको छ । नारीचेतना र चिन्तनमा आधारित हुँदै लेखिएको यस पुस्तकमा नारी दमनको कारकको खोजी गर्ने काम मात्र भएको छैन, महिला मुक्तिको अवस्था समेत वर्णित छ । यस पुस्तकमा माक्र्स र एङ्गेल्सका समाज, परिवार र लैङ्गिक सम्बन्धसँग सम्बन्धित मान्यता र धारणा समेटिएका छन् । एङ्गेल्सले यस पुस्तकमा आदिम युग नारीप्रधान युग थियो तर निजी सम्पत्तिको उत्पत्ति भएपछि पुरुषले आफूसँग उत्पादनका लागि आधारभूत साधन र शारीरिक शक्ति रहेको तर्क अघि सारी महिलामाथि दमन सुरु गरेको (२०५६; ६७) कुरा उल्लेख गरेका छन् । नेपाली समाजमा हजारौं वर्षदेखि सामन्तवाद विद्यमान छ भने पुँजीवादी चेतनाको प्रवेशपछि पनि नेपाली समाजमा नारी चेतनाको गति लगभग सुस्त नै छ । यस्तो अवस्थामा नारी चेतनाको उद्भवका लागि सङ्गठित प्रयत्न जरुरी हुन्छ (भट्टराई, २०६८) ।
यहाँ कक्षा ११ को पाठ्यक्रमअन्तर्गत ऐच्छिक नेपालीमा समावेश भएका कथाहरूमा नारी पात्रको अवस्था कस्तो रहेको छ भनेर अध्ययन गरिएको छ । उनीहरूले भोग्नुपरेको उत्पीडनको विश्लेषण गरिएको छ । मुख्य रूपमा कथामा प्रयुक्त नारीहरूको चेतनालाई नै यहाँ अध्ययनको विषयवस्तु बनाइएको छ । कक्षा ११ को ऐच्छिक नेपालीमा जम्मा ९ जना कथाकारका ९ वटा कथा समावेश छन् । ९ जनामध्ये ८ पुरुष कथाकारका कथा छन् भने १ मात्र महिला कथाकारको कथा रहेको छ । गुरुप्रसाद मैनालीको ‘नासो’, विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’, रूपनारायण सिंहको ‘बितेका कुरा’, पुष्कर शमशेरको ‘लोग्ने’, गोविन्दबहादुर मल्ल ‘गोठाले’को ‘लक्ष्मीपूजा’, रमेश विकलको ‘लाहुरी भैँसी’, इन्द्रबहादुर राईको ‘जयमाया आपूm मात्र लिखापानी आइपुगी’, माया ठकुरीको ‘मृगतृष्णा’ र परशु प्रधानको ‘छिँडीभरिको आकाश’ कक्षा ११ को ऐच्छिक नेपालीमा समावेश भएका कथा हुन् । यी कथामा आएका महिला पात्र अधिकांश निम्न वर्गका छन् । यहाँका अधिकांश महिला चरित्र उत्पीडनमा परेका छन् । पुरुषहरूको दम्भ तथा अहङ्कारमा अधिकांश महिला पात्रहरू पिल्सिएका छन् । उनीहरू अधिकांश अशिक्षित छन् र वर्गीय चेतनाको पनि अभाव छ ।
नारीलाई नै प्रमुख भूमिकामा राखेर लेखिएका कथा यहाँ निकै कम छन् । ‘जयमाया आपूm मात्र लिखापानी आइपुगी’ कथामा कथाकार इन्द्रबहादुर राईले शीर्षकमा जयमायालाई केन्द्रमा राखे पनि कथाका अधिकांश घटनाहरू जयमायाका बाबु शिवजित राइसँग सम्बन्धित छन् । शीर्षक हेर्दा जयमायालार्ई प्राथमिकतामा राखेको देखिए पनि कथाभित्रको परिवेशमा शिवजितको भूमिका बढी छ । पुष्कर शमशेरको ‘लोग्ने’मा साहिँलीको भूमिका केही देखिएको छ । ऊ परम्परागत पितृसत्ताका कारण दलनमा परेकी पात्र हो । यहाँ समावेश भएका ९ वटा कथामध्ये नारीलाई नै प्रमुख भूमिकामा राखेर लेखिएको उक मात्र कथा माया ठकुरीको ‘मृगतृष्णा’ हो । ठकुरी मूलतः आदर्शवादी सामाजिक कथाकार हुन् यद्यपि उनका अधिकांश कथामा नारीवादी चिन्तन पाइन्छ र यस कथामा पनि उनले पुरुषको कामुकताको सिकार बनेकी नारीको उत्पीडनलाई विषय बनाएकी छन् । अन्य कथाहरूमा प्रयुक्त नारी पात्रलाई सम्बन्धित कथाकारहरूले सशक्त भूमिका दिएको पाइँदैन ।
प्रस्तुत अध्ययनमा कक्षा ११ को ऐच्छिक नेपालीको पाठ्यपुस्तकअन्तर्गत समावेश भएका ९ वटा कथामा प्रयुक्त नारी चरित्र र तिनको भूमिकालाई व्याख्या–विश्लेषणको विषय बनाइएको छ । सम्बन्धित कथाकारहरूको नारीलाई हेर्ने दृष्टिकोणको अध्ययन गरिएको छ । कथाका नारी पात्रहरूमा नारी चेतनाको खोजी गर्ने काम गरिएको छ । कथाहरूलाई मूलतः नारीवादी जीवनदृष्टिका आधारमा र अंशतः लैङ्गिकताका आधारमा अध्ययन र विश्लेषण गरिएको छ । अध्ययनका क्रममा साक्ष्यहरूसहित नारी चरित्रको भूमिका एवम् वर्गीय चेतनाको निरुपण गरी निष्कर्ष निकालिएको छ ।
२. अध्ययनको समस्या र उद्देश्य
प्रस्तुत अध्ययनमा कक्षा ११ को पाठ्यक्रमअन्तर्गत ऐच्छिक नेपालीमा समावेश भएका कथाहरूमा महिला पात्रको अवस्था कस्तो रहेको छ भनेर अध्ययन गरिएको छ । उनीहरूले भोग्नुपरेको उत्पीडनको विश्लेषण गरिएको छ । यी कथामा आएका महिला पात्र कुन वर्गका छन् ? वर्गीय चेतनाका दृष्टिले उनीहरूको अवस्था कस्तो रहेको छ ? कथाका नारी पात्रहरूमा नारी स्वतन्त्रता र विद्रोह चेत कुन रूपमा आएको छ ? पितृसत्ताले उनीहरूलाई कसरी दमन गरिरहेको छ ? नारीवादी चिन्तनलाई कसरी प्रस्तुत गरिएको छ ? कथाहरूमा प्रयुक्त नारी पात्रलाई सम्बन्धित कथाकारहरूले कस्तो भूमिका दिएका छन् ? कथाकारले न्याय गरेका छन् वा छैनन् ? कथामा लैङ्गिक समानताको वकालत कतिसम्म गरिएको छ भनेर अध्ययन गर्नु यस अध्ययन–पत्रको समस्या हो । कक्षा ११ को पाठ्यक्रमले निर्धारण गरेका ९ वटा कथाका नारी चरित्रलाई भूमिकाका आधारमा उनीहरूभित्रको नारी चेतनाको अध्ययन एवम् विश्लेषण गर्नु नै यस अध्ययनको उद्देश्य हो ।
३. अध्ययनविधि र सीमाङ्कन
अध्ययन विधिअन्तर्गत सामग्री सङ्कलन, सैद्धान्तिक पर्याधार र विश्लेषणको ढाँचा पर्दछन् । अध्ययनका लागि कुन कुन तरिकाले तथ्य वा सामग्री सङ्कलन गरिएको छ र सङ्कलित ती तथ्य वा सामग्रीलाई कुन सिद्धान्तको आधारमा कसरी विश्लेषण गरिएको छ भन्ने कुरा प्रमुख रूपमा आउँछ । यहाँ अध्ययनविधिलाई निम्न उपशीर्षकमा चर्चा गरिएको छः
३.१ तथ्य-सामग्री सङ्कलन
यस अध्ययनमा द्वितीयक सामग्रीको सहयोग लिइएको छ । पुस्तकालयमा गई विभिन्न विद्वान्हरूले लेखेका सन्दर्भ सामग्रीहरूको अध्ययन गरेर प्राप्त तथ्य÷सूचनाका आधारमा वर्णन र विश्लेषण गरिएको छ । कथाका नारी पात्रहरूमा नारी चेतनाको खोजी गर्ने क्रममा यसमा पूर्वप्रकाशित लेखसमीक्षाहरूको सहयोग लिइएको छ । द्वितीयक सामग्रीका रूपमा कक्षा ११ को ऐच्छिक नेपाली विषयको पाठ्यक्रम, सम्बन्धित पाठ्यपुस्तक, सम्बन्धित कथासङ्ग्रहहरू एवम् विभिन्न समयमा प्रकाशित सान्दर्भिक पत्रिका र युट्युव तथा गुगलको उपयोग गरिएको छ । मुख्य गरी ‘साहित्य सिद्धान्त र उत्तरवर्ती समालोचना’ विषयका लागि नेपाल खुला विश्वविद्यालयको मुडलमा राखिएको सामग्रीलाई नै यस अध्ययनका लागि तथ्य खोज्ने क्रममा उपयोग गरिएको छ ।
३.२ सैद्धान्तिक पर्याधार
नारीवाद राजनीति, समाजका नेतृत्व तह, सामाजिक मूल्यमान्यता तथा साहित्यिक लेखनमा समेत नारीको पुरुषसरह अवस्थाको अपेक्षा राख्ने वैचारिक लडाइँ हो । यो नारीप्रतिका रुढिग्रस्त सोचका विरुद्ध आवाज उठाउने चिन्तन हो । पूर्व र पश्चिम दुवैतिर सामन्तवादी युगसम्म महिला उत्पीडित थिए । धर्म, कानून र सामाजिक विधानले नारीलाई धेरै क्षेत्रमा निषेध गरेको थियो । सामन्तवादी समयका धर्मग्रन्थ, चिन्तक, लेखक, राजनीतिज्ञ सबैले नारीलाई हीन र असक्षम ठान्दै मानिसको हैसियतसम्म पनि नदिएको तथ्य भेटिन्छ । नारीवाद नारीप्रतिको यही परम्परागत पश्चगामी चिन्तनलाई बदल्न र समाजको विकास गर्न बनेको मानवतावादी चिन्तन हो, समानताको चिन्तन हो । प्रस्तुत अध्ययन–पत्रमा सङ्कलित तथ्य एवम् विषयवस्तुको विश्लेषण नारीवादी मान्यताका आधारमा गरिएको छ । कथामा प्रयुक्त नारीहरूमा नारी स्वतन्त्रता, उनीहरूमा पाइने विद्रोहचेत, पितृसत्ताले गरेको दमनलाई मुख्य आधार बनाएर यो अध्ययन गरिएको छ । यहाँ नारीवादी चिन्तनमा आधारित रही नारीलाई हेर्ने माक्र्सवादी नारीवादी दृष्टिकोणका आधारमा कथाका नारी पात्रहरूको वर्णनात्मक शैलीमा विश्लेषण गरिएको छ । कथामा प्रयुक्त नारीहरूमा नारीवादी चेतना कुन रुपमा आएको छ भनेर अध्ययन–विश्लेषण गर्नका लागि माक्र्सवाद अनुरुपको नारीवादी मान्यतालाई आधार बनाइएको छ ।
३.३ विश्लेषणको ढाँचा
यस अध्ययन–पत्रमा सङ्कलित तथ्य एवम् विषयवस्तुको विश्लेषण नारीवादी चिन्तनका आधारमा गरिएको छ । प्रसङ्गबस अन्य कृतिका केही सन्दर्भसङ्केतको सहयोग लिइएको छ । कथाकारको सामान्य परिचय दिइएको छ । कथाहरूमा नारी स्वतन्त्रता, कथाका नारीहरूमा पाइने विद्रोहचेत, पितृसत्ताले नारीहरूलाई गरेको दमनलाई मुख्य आधार बनाएर नारी पात्रहरूको विश्लेषण गरिएको छ । यहाँ नारीवादी चिन्तनलाई केन्द्रमा राखेर माक्र्सवादी दृष्टिकोणका आधारमा नारी पात्रहरूको वर्णनात्मक शैलीमा विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा प्रत्येक कथाका लागि उपशीर्षकहरूको योजना गरिएको छ । अन्त्यमा उपसंहार शीर्षकमा निष्कर्ष प्रस्तुत गरिएको छ ।
३.४ सीमाङ्कन
कक्षा ११ को ऐच्छिक नेपालीअन्तर्गत समावेश ९ वटा कथालाई नारी स्वतन्त्रता, विद्रोह चेत, पितृसत्ताको नारीप्रतिको दृष्टिकोणलाई माक्र्सवादी नारी चेतनाका दृष्टिले अध्ययन गर्नु र कथामा प्रयुक्त नारी पात्रको भूमिकाको विश्लेषण गर्नुमा यस अध्ययनलाई सीमित गरिएको छ ।
४. नारी चेतनाका दृष्टिमा ऐच्छिक नेपालीमा कथाहरू
कक्षा ११ को ऐच्छिक नेपालीमा जम्मा ९ जना कथाकारका ९ वटा कथा समावेश छन् । गुरुप्रसाद मैनालीको ‘नासो’, विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’, रूपनारायण सिंहको ‘बितेका कुरा’, पुष्कर शमशेरको ‘लोग्ने’, गोविन्दबहादुर मल्ल ‘गोठाले’को ‘लक्ष्मीपूजा’, रमेश विकलको ‘लाहुरी भैँसी’, इन्द्रबहादुर राईको ‘जयमाया आपूm मात्र लिखापानी आइपुगी’, माया ठकुरीको ‘मृगतृष्णा’ र परशु प्रधानको ‘छिँडीभरिको आकाश’ कक्षा ११ को ऐच्छिक नेपालीमा समावेश भएका कथा हुन् । यी कथाका नारी पात्रहरूलाई निम्न उपशीर्षकमा अध्ययन गरिएको छ ः
४.१ गुरुप्रसाद मैनालीको ‘नासो’मा नारी चेतना
गुरुप्रसाद मैनाली पहिलो आधुनिक नेपाली कथाकार हुन् । सामाजिक यथार्थवादी कथाकार मैनालीका कथाहरू आदर्शोन्मुख प्रकृतिका छन् । यिनको ‘नासो’ कथामा जम्मा तीनवटा नारी पात्रको भूमिका रहेको छ । देवीरमणका दुई श्रीमती जेठी सुभद्रा र कान्छी लक्ष्मी छन् । घरमा काम गर्न राखिएकी महिला नौलीको पनि केही भूमिका यस कथामा रहेको छ । यी तीनवटाबाहेक काठमाडाँैको गौरीघाटमा बस्ने सुभद्राकी फुपूको पनि यसमा सङ्केत गरिएको छ । यी सबै नारी पात्र परम्परागत संस्कारभित्र रुमलिएका छन्, धार्मिक अन्धतामा पिल्सिएका छन् । कथामा मुख्य भूमिका निर्वाह गर्ने नारी चरित्र सुभद्रा लोग्नेलाई परमेश्वर मान्छिन् । उनी लोग्नेको वचन हार्न सक्दिनन् । लोग्ने देवीरमणले अर्को विवाहका लागि स्वीकृति माग्दा यिनले नाइँ भन्न पनि सक्दिनन् ।
यस कथाका सबै नारी पितृसत्तात्मक संस्कारका कारण दमित छन् । यिनीहरूमा नारीवादी चेतना शून्य देखिन्छ । सुभद्रा आप्mनो पतिलाई परमेश्वर मान्छिन् । उनी पतिको सेवा गर्नुलाई नै आप्mनो कर्तव्य ठान्छिन् । यस कथाको समाज रुढिग्रस्त समाज हो । सन्तानप्राप्तिका लागि हरिवंश पुराण लगाउनु, चौतारो चिन्नु, बाटो खन्नु जस्ता सन्दर्भ पछौटेपनका परिचायक हुन् । देवीरमणको यस किसिमको पश्चगामी चिन्तनलाई स्वीकार गर्न सुभद्रा बाध्य छन् ।
४.२ विश्वेश्वरप्रसाद कोइरालको ‘दोषी चस्मा’मा नारी चेतना
विश्वेश्वरप्रसाद कोइराला नेपालीका पहिलो मनोवैज्ञानिक कथाकार हुन् । फ्रायडको मनोविज्ञान एवम् एन्टोन चेखवको कथा लेखनको शैलीबाट प्रभावित कोइरालाको ‘दोषी चश्मा’ कथाको प्रमुख पुरुष पात्र केशवराजकी श्रीमतीको भूमिका यसमा केही मात्रामा छ । अर्को यसमा भान्से बाहुनीको सङ्केत मात्र छ । केशवराजले आफ्नी श्रीमतीलाई बुद्धिहीन र निकृष्ट महिला ठान्छ । उसकै शब्दमा “जैरी, बडी सिपालु म छु आफूलाई भन्छे, घमन्ड छ यसलाई, आफ्नो पोइलाई टायममा भातसम्म खुवाउन पनि सक्दिन । ए मोरी के गरिरहेकी थिइस् यतिका बेर ? दुई घडी रात गएपछि चूल्हो फुक्न लागिरहिछस् ? काममा बाहिर गयो, लखतरान भई घर फक्र्यो र अब गाँस टिप्न पाइएला भन्यो त यहाँ... ।” केशवराजले आइमाई भएर बढी जान्न खोज्ने भन्दै श्रीमतीलाई हप्काउँछ तर आपूmलाई मानिसको व्यवहार गर्न पनि हिचकिचाउने यस्तो लोग्नेलाई पनि उसकी श्रीमती निकै आदर तथा सम्मानभाव देखाउँछिन् । केशवराज चिन्ताले छटपटाएको देखेर उनी सोध्छिन्, “किन निद्रा परेन ? केको दुःख छ ? मर्जी होस् न ।” केशवराजमा पुरुष अहम् यति बढी छ कि उसले श्रीमतीले सोधेको प्रश्नको उत्तर दिन पनि निकै गाह्रो मानेको छ ।
यस कथामा अर्को नारीका रुपमा एउटी बाहुनीको सङ्केत मात्रै छ । केशवराजले घरमा भात पकाउने भान्से बाहुन वा बाहुनी राख्न नसकेकामा चिन्ता व्यक्त गरेको छ । भान्साको काम बाहुनीबाहेक अन्य जातका महिलाहरू कमिनी, दमिनी सर्किनी, नेवार्नी, मगर्नी, गुर्सिनी जसले पनि गर्न हुन्थ्यो तर यहाँ केशवराजको पुरुष सत्ताले ब्राहमणवादको पनि पक्ष लिएको छ । पुरुषहरुमा हुने अहम् र तत्कालीन सामन्तवादी सोचका कारण केशवराजले आप्mनी श्रीमतीलार्ई उचित सम्मान गर्न सकेको छैन । केशवराज आफ्नी श्रीमतीलाई निकै तल्लो दर्जाको मान्छे ठान्दछ । केशवराजकी श्रीमती आफ्नै लोग्ने केशवराजद्वारा दमित छन्, केशवराजले हप्काउँदा उनी केही बोल्न सक्दिनन् । उनमा नारी चेतनाको अभाव छ । कथाकार कोइरालाले केशवराजमार्फत नारी भनेका बुद्धिहीन हुन्छन् र नारीहरूको काम भनेकै घरधन्दा, चूल्होचौको र पुरुषकै सेवा गर्नु हो भन्ने कुराको सङ्केत गरेका छन् ।
४.३ रूपनारायण सिंहको ‘बितेका कुरा’ कथामा नारी चेतना
रूपनारायण सिंह स्वच्छन्दतावादी कथाकार हुन् । यिनले प्रवासी नेपालीका जनजीवनलाई समेटेर स्थानीय सामाजिक पक्ष, प्रेम, रतिरागसँग सम्बन्धित कथाहरू लेखेका छन् । प्रस्तुत ‘बितेका कुरा’ कथामा मुख्य रूपमा दुई नारी पात्र छन् । शारीरिक रूपमा आकर्षक एउटी युवती र उस्तै सुन्दर रूपकी ‘म’ पात्रकी श्रीमती तारा यस कथामा प्रयोग भएका मुख्य नारी हुन् । ताराकी छोरी जलधाराको यसमा सङ्केत मात्रै छ । कथामा सिंहले युवतीको शारीरिक सौन्दर्यको चर्चा बढी गरेका छन् । यहाँ ‘म’ पात्र घरमा श्रीमती हुँदाहुँदै अर्कै युवतीको पछि लागेको छ । उसले नारीको सौन्दर्य भनेकै शरीर हो भन्ने ठान्दछ । उक्त युवतीको शरीर प्राप्तिका लागि उसले श्रीमती तारालाई गालीगलौज र कुटपिट समेत गरेको छ । ताराले सशक्त प्रतिवाद गर्न सकेकी छैन । प्रुष अहम्का अगाडि ऊ निरीह छ । युवतीले सुरुमै आफ्नो विगत बारेमा केही कुरा नबताउँदा समस्या उत्पन्न भएको छ । यदि युवतीले सुरुमै ‘म’ पात्रलाई आफ्नो विगतका बारेमा बताइदिएकी हुन्थी भने ताराले मानसिक छटपटी व्यहोर्नु पर्दैनथ्यो ।
एउटी नारीले अर्की नारीको घर बिगार्न हुँदैन भन्ने चेतना युवतीमा आएको देखिँदैन र ताराले पनि लोग्नेले गरेका गलत क्रियाकलापका विरुद्ध सशक्त प्रतिवाद गर्न सकेकी छैन । युवती पहिले एउटा चियाबगानको मेनेजेरकी रखौटी थिई, जँड्याहा बाबुले उसलाई दुई हजार रुपैयाँमा बेचेको थियो । पछि मेनेजरले जात नमिलेको हुनाले युवतीलाई घर र केही सम्पत्ति दिएर अलग्गै राख्यो र आफू आफ्नै जातकी महिलासँग बिहे गर्न हिँड्यो । यहाँनेर पनि युवतीले कुनै प्रतिवाद गरेकी छैन । युवती व्यक्ति स्वतन्त्रताका पक्षमा देखिन्छे तर पारिवारिक एवम् सामाजिक संवेदना उसमा देखिँदैन । ‘म’ पात्रले विगत नकोट्याएका खण्डमा ऊ जहानपरिवारले भरिपूर्ण ‘म’ पात्रसँगै बिहे गरेर जानेवाला थिई । यहाँका दुवै नारी दमनकारी निरङ्कुश पितृसत्ताका विरुद्ध बोल्न सकेका छैनन् । यस कथामा कथाकार सिंहले नारीलाई यौनको भोक मेटाउने साधनका रुपमा प्रस्तुत गरेका छन् ।
४.४ पुष्करशमशेरको ‘लोग्ने’ कथामा नारी चेतना
पुष्कर शमशेर मूलतः सामाजिक कथाकार हुन् यद्यपि अंशतः यिनका कथामा मनोवैज्ञानिक छाप पनि पाइन्छ । यिनको ‘लोग्ने’ कथामा नारी पात्र साहिँलीको भूमिका छ । यसमा कथाकारले साहिँलीलाई निरङ्कुश पितृसत्ताका कारण निरीह बनाइएको सङ्केत गरेका छन् । साहिँली हट्टाकट्टा जवान तथा आकर्षक लोग्ने चाहन्छे (शिक्षण निर्देशिकाः सन् २००८, पृ. १९)। उसले सिपाहीको अफिसर जस्तै खाइलाग्दो लोग्ने चाहेकी छे । मनले चाहे पनि मुखले भन्न सकेकी छैन । ऊ आफूले कल्पना गरेभन्दा ठिक विपरीतको लोग्नेमान्छेसँग बिहे गर्न बाध्य हुन्छे । बाबुआमाले जस्तो केटो उभ्याइदिए उसैसँग बिहे गरेर लोग्नेको घर जान्छे । उसले लोग्ने छान्ने अधिकार पाएकी छैन । जसरी बिहेका लागि केटाहरूले केटी हेर्छन्, छान्छन्, रोज्छन् ठिक त्यसै गरी केटीहरूले पनि केटा हेर्न पाउनुपर्छ, रोज्न पाउनुपर्छ भन्ने सोचको विकास नभएको समाजमा साहिँली सामाजिक कुरीति र कुसंस्कारभित्र जकडिएकी छ । उसले बाबुआमाको वचन काट्न सकेकी छैन । पितृसत्तात्मक हैकमका कारण प्रतिरोध गर्न सकेकी छैन ।
पुरुष सत्ताले नारीलाई स्वतन्त्र हुन दिएको छैन । दमनकारी पितृसत्ताका कारण नारीले आफ्नो हकअधिकारका निमित्त मुख खोल्न सकेका छैनन् । अभिभावकहरुबाट छोरीहरूको आवाज दबाइएको छ, श्रीमान्हरूबाट श्रीमतीहरुको आवाजमा बन्देज लगाइएको छ । दाजुहरूबाट बहिनीहरूको आवाजमा प्रतिबन्ध लगाइएको छ । हाम्रो परम्परागत समाजले नारीलाई लोग्ने छान्ने अधिकार दिएको छैन । यहाँ अन्धपरम्परालाई स्वीकार गर्नु साहिँलीको कमजोरी हो । उसले सामाजिक अन्धपरम्परा र कुसंस्कारका विरुद्ध प्रतिवाद वा प्रतिकार गर्नु पथ्र्यो तर पितृसत्ताको दमनका कारण कुनै प्रतिकार गर्न सकेकी छैन । मन नपरेको लोग्नेमान्छेसँग बिहे गर्नुको सट्टा केही समय पर्खेर भए पनि मन पर्ने लोग्ने खोज्न सकिन्थ्यो र उसको बिहे गर्ने उमेर पनि ढल्किसकेको थिएन । कथाकार पुष्करशमशेरले यस कथामा साहिँली मार्फत नारीहरूले लोग्नेमान्छे सरह हकअधिकार नपाएको उल्लेख गरेका छन् ।
४.५ गोविन्दबहादुर मल्ल ‘गोठाले’को ‘लक्ष्मीपूजा’ कथामा नारी चेतना
मनोवैज्ञानिक यथार्थवादी कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’को ‘लक्ष्मीपूजा’ कथामा नारी पात्रका रुपमा लालकी आमा मात्रै छ । ऊ ज्यालामजदुरी गर्ने एउटा कामदारकी श्रीमती हो । श्रीमान्को घरको छानामा काम गर्दा लडेर मृत्यु भएपछि ऊ एकल महिलाको रूपमा छ । साथमा एउटा टुहुरो छोरो छ । छोरो लाल सानो छ, नाबालक छ । यो निम्न वर्गको परिवार हो । महिला रोगले थलिएकी छ । अर्काको घरको छिँडीमा यी दुई आमाछोराको बास छ । अर्काको ढिकीजाँतो गरेर र भाँडाकुँडा माझेर गुजारा चलाउने गरेकी यी महिला बिरामी परेपछि आयस्रोत बन्द भएको छ । तिहारको समयमा जुवाको प्रसङ्ग आउँदा श्रीमान्ले झगडा गरेर, कराएर, पिटेर कानको सुनसमेत जुवा खेल्नका लागि लगेको कुरा उसले छोरालाई बताएकी छ । छोराको चाहनाबमोजिम लक्ष्मीपूजाका लागि पूजा गर्न आवश्यक सामग्री किनिदिने पैसा नभएर अर्थात् किनिदिन नसक्दा उसले छिमेकमा बस्ने सिपाही दाइले ल्याइदिन्छन् भनेर ढाँटेकी छ । छोराप्रतिको मातृवात्सल्य र चरम आर्थिक अभावका कारण ऊ ढाँट्न बाध्य भएकी हो ।
छोराले बाहिरबाट पूजासामग्री चोरेर ल्याउँदा उसलाई गाली गर्छे यद्यपि चोरेर ल्याएका सामग्रीले पूजा गरेको टुलुटुलु हेरेर बस्न ऊ बाध्य छ । औषधोपचारको उचित व्यवस्था नभएका कारण थलिएर बस्नुपरेको छ । टोलछिमेकमा हुनेखानेहरूको वर्ग छ तर एकल महिला जसलाई कसैले सहयोग गरेको देखिँदैन । ऊ भाग्यमा विश्वास गर्ने नारी हो । छोरालाई सम्झाउने क्रममा ऊ भन्छे, “हाम्रो भाग्यमा किरा परेको छ ।” खानलाउन पनि नपुग्ने अवस्थाका गरिब मान्छेले लक्ष्मीपूजा नगरे पनि हुन्छ भनेर उसले छोरालाई सम्झाउन सकेकी छैन । यसरी हेर्दा लालकी आमा पनि परम्परागत अन्धविश्वासमा जकडिएकी निरीह नारी पात्र हो ।
४.६ रमेश विकलको ‘लाहुरी भैँसी’ कथामा नारी चेतना
‘लाहुरी भैँसी’ आलोचनात्मक यथार्थवादी कथाकार रमेश विकलद्वारा लेखिएको कथा हो । यस कथाकी एक मात्र नारी पात्र लुखुरेकी स्वास्नी घैँटी हो । ऊ ग्रामीण अबोध नारीका रुपमा चित्रित छ । उसमा आफ्नो वर्गको पहिचान छैन । अरूकै कुरामा लागेर उसले आफ्नो लोग्ने लुखुरेलाई जथानाम गाली गरेकी छ । शङ्कैशङ्कामा भैँसी अगतिलो पर्यो भनेर चिन्तामा छट्पटाएको लोग्ने लुखुरेलाई घैँटीले गाली गर्दै भन्छे, “खाइस् अभागी ग्वाङ्ग्रा ! यो आफूभन्दा जान्नेसुन्ने दुई–चार जनालाई लगेर देखाउनुपर्छ, त्यत्रो पैसा लगेर भड्खाराँ वैरियौ कि वैरिएनौ । बुद्धिमा डढेलो सल्केको ।” ... एकातिर घरबार साहूलाई सुम्प्यो, अर्कातिर अर्काको नाक–कान रित्यायो । त्यसमाथि माल ल्याइएको पनि फुटेको आँखाले हेरेर । लगेर भोलि बिहानै जहाँबाट ल्याएको हो, त्यसको सिनो त्यसैको दैलामा मिल्क्याएर आउनू आँधा ।”
विकल माक्र्सवादी सौन्दर्य चेतनाका कथाकार हुन् तर उनको यो कथा समाजवादी यथार्थवादी नभई आलोचनात्मक यथार्थवादी छ । यसमा घैँटीले विवेक पुर्याउन सकेकी छैन । उसले लोग्नेलाई सत्तोसराप हालेकी छ । उसले गाउँका ठालु द्वारेबाको षडयन्त्रलाई बुझ्न सकेकी छैन । एक–दुई दिन भैँसी घरमै राखेर धम्की भएनभएको बुझ्न सकिन्थ्यो तर यसबारेमा घैँटीमा कुनै सुझ देखिँदैन । गाउँका कथित ठुलाबडाले जे कुरा गर्छन् त्यही नै सही हुन्छ भन्ने ऊ सोच्दछे । ऊ गाउँकी सोझी नारी हो र अशिक्षित पनि छ । यही अशिक्षाकै कारण उसले केही दिन भैँसी घरमै राखेर रोग लागेको वा नलागेको, दूध बढ्ने वा नबढ्ने विचार गर्छु भनेर द्वारेका सामु भन्न सकेकी छैन तर निमुखो आफ्नो लोग्ने लुखुरेलाई भने सकुन्जेल गाली गरेकी छ । यहाँ घैँटी वर्गचेतनाका दृष्टिले निकै कमजोर पात्र हो ।
४.७ इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथामा नारी चेतना
इन्द्रबहादुर राई प्रवासी नेपाली कथाकार हुन् । यिनले प्रवासी नेपालीहरूले भोग्नुपरेका समस्या र सामाजिक जटिलतालाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् । यिनी प्रयोगवादी कथाकारका रूपमा पनि परिचित छन् । यिनको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथामा एउटा अवकाशप्राप्त सैनिक शिवजित राईकी श्रीमती सुबिदार्नी र तिनकै छोरी जयमाया गरी दुई नारी पात्र छन् । यस कथामा जयमायालाई प्रमुख नारी पात्रका रुपमा उभ्याइएको छ । जयमायाको केन्द्रीयतामा कथानक बुनिए पनि र जयमायाको जीवनसङ्घर्षलाई नै कथाको मुख्य विषयवस्तु बनाइए पनि यसमा भूमिकाका दृष्टिले जयमायाको उपस्थिति कमजोर छ ।
जापानले बर्मामा आक्रमण गरेपछि जयमायाको परिवार आफ्नो बाबुबाजेको थलामा फर्कने उद्देश्यले बस्ती छोडेर हिँड्छ । स्कुल पढ्दै गरेकी जयमाया आमाबाबुको साथ लागेर हिँड्छे । धेरै दिनको यात्रापछि सुबिदार्नी बिरामी हुन्छिन र बाटैमा मर्छिन् । जयमाया आफ्ना बाबुका साथ हिँडिरहन्छे । भेलबाढीले बढेको टकाब तर्ने क्रममा बाबु हराएपछि ऊ पनि जङ्गलबीचमा एक्लै पर्छे । बाबुलाई बोलाउँदै खोलाको किनारैकिनार तलतिर झर्छे र समूहमा मिसिन्छे । लगातार बाईस दिन हिँडेपछि आमाबाबु दुवैलाई गुमाएकी जयमाया आसामको लिखापानी आइपग्छे ।
यस कथामा जयमायालाई बाबुआमाको सहारामा हिँड्नुपर्ने छोरीका रूपमा उभ्याइएको छ । उसले स्वतन्त्र रुपमा आफ्नो कुनै पनि विचार व्यक्त गरेकी छैन । कथाकार राईले शीर्षक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ राखेर शिवजित राईको कथा लेखेका छन् । जति मात्रामा शिवजितको भूमिका यस कथामा छ त्यसको तुलनामा जयमायाको कथा कम छ । यसबाट के स्पष्ट हुन्छ भने कथाकार राईले कथाको शीर्षकअनुरुप जयमायालाई केन्द्रीय चरित्र बनाउन सकेका छैनन् ।
४.८ माया ठकुरीको ‘मृगतृष्णा’ कथामा नारी चेतना
माया ठकुरी आदर्शवादी सामाजिक कथाकार हुन् । यिनका केही कथा नारीवादी चेतनाले ओतप्रोत छन् (ज्ञवाली र अन्य, २०६२; ८८) । कक्षा ११ को ऐच्छिक नेपालीअन्तर्गत समावेश ९ जना कथाकारमध्ये माया ठकुरी एक मात्र नारी कथाकार हुन् । उनको प्रस्तुत ‘मृगतृष्णा’ कथाका नारी पात्रमा तुषारमल्लिका र सूत्रधारका रुपमा बिन्दु छन् । बिन्दुकी सहपाठी कविता जो तुषारमल्लिकाकी भतिजी हो, उसको पनि थोरै भूमिका कथामा रहेको छ । यसमा बिन्दुको ठूलोबुबाकी छोरी सुवर्णको सङ्केत मात्रै छ ।
पुरुषले त नारीमाथि अत्याचार गरिरहेका छन् त्यसमाथि नारीले पनि नारीमाथि नै गर्ने अत्याचारको समेत सन्दर्भ यस कथामा छ । जब बिन्दुको सानोबुबाले तुषारमल्लिकासँग प्रेम गर्छ तब बिन्दुकी ठूलीमुमाले बिन्दुकी मुमासँग भनेकी छ, “हाम्रो घरको श्रीसम्पत्ति र शिक्षित युवक देखेर कान्छाबाबुलाई आफ्नो जालमा पार्न खोजेकी हो सर्पिणीले... दाँत गाडिसकेजस्तो छ... ।” तुषारमल्लिकाका विरुद्धमा यतिसम्म विषवमन गरिएको छ कि टोलछिमेकका नारीहरूले भनेका छन्, “बडा नर्तकी भै टोपल्छे । कलकत्ताको कुन चैँ गल्लीमा ग्राहक पर्खेर बस्थी होली ।” जो बेसहारा छ, जीवनमा निकै सास्ती बेहोर्न बाध्य भएको छ उसलाई सहयोग गर्नु त परै जाओस् उल्टै उसका विरुद्धमा समाज लागेको छ । यो पितृसत्तात्मक राज्यव्यवस्थाका कारण नारीमाथि भएको अत्याचार हो ।
तुषारमल्लिका घरेलु हिंसाकै कारण घर छोड्न बाध्य भएकी हो । आफ्ना कलिला सन्तानलाई छोडेर ऊ घरबाट निस्कनुपरेको छ । उसको शारीरिक सौन्दर्य र यौवन रहँदासम्म मोजमस्ती गरेको सानोबाबु जब उसमा शारीरिक आकर्षण घट्दै जान्छ तब रक्सी पिएर आउँछ र रातदिन कुटपिट गर्न थाल्छ । सानोबाबुले यतिसम्म दमन गर्छ कि तुषारमल्लिकाले प्रतिकार गर्न सक्ने अवस्था नै रहँदैन । कथा तुषारमल्लिकाकै केन्द्रीयतामा छ, तुषारमल्लिकाले भोगेको पीडासँग सम्बन्धित छ । कथा तुषारमल्लिकाको छ तर कथा भन्ने काम बिन्दुबाट भएको छ । कक्षा ११ को ऐच्छिक नेपालीअन्तर्गतका कथाहरूमध्ये नारी पात्रलाई प्रमुख भूमिकामा राखेर लेखिएको कथा यही एउटा मात्र हो । पुरुषले गर्ने दमन तथा अत्याचारलाई प्रस्तुत गरिएको यो कथा नारी हकहितसँग सम्बन्धित छ । तुषारमल्लिकाले सानोबाबुसँग प्रतिकार गर्न नसके पनि लोग्नेको यातनाबाट मुक्त भई स्वतन्त्र जीवन बिताउन चाहेकी छ । जब घरेलु हिंसाले चरम् रुप लिन्छ, पुरुषहरूको अत्याचार बढी हुन्छ तब नारीहरू स्वतन्त्र जीवनका लागि घर छोड्न पनि सक्छन् भन्ने यथार्थलाई तुषारमल्लिकाले चरितार्थ गरेकी छ । कथाकारले यहाँ लैङ्गिक विभेदलाई प्रस्तुत गरेकी छन् । कामुक पुरुषहरूको क्रूरताको पर्दाफास गरेकी छन् । यस दृष्टिले हेर्दा कथा नारीवादी चिन्तनले ओतप्रोत छ ।
४.९ परशु प्रधानको ‘छिँडीभरिको आकाश’ कथामा नारी चेतना
समसामयिक विषयवस्तुलाई लिएर सामाजिक यथार्थमा आधारित कथा लेख्ने कथाकार परशु प्रधानको कथा ‘छिँडीभरिको आकाश’मा मानेकी श्रीमती अर्थात् गोरेकी आमा उसैकी तिन महिनाकी सानी छोरी र भट्टीपसल्नी सानीदिदी नारी पात्रका रुपमा रहेका छन् । सुत्केरी श्रीमतीले अन्नको अभाव भएपछि आफ्नो बुलाँकी बेचेर चामल किन्न भनी लोग्ने मानेलाई अह्राउँछे । मानेले बुलाँकी बेचेको पैसाले चामल नकिनी रक्सी पिएर रित्तै आउँछ । यहाँ मानेकी श्रीमतीले मानेलाई केही भन्न सकेकी छैन । उसले आफ्नो लोग्नेको रक्सी पिउने बानीका विरुद्धमा केही बोलेकी छैन । आप्mनो लोग्नेको रक्सी पिउने बानीबाट परिचित मानेकी श्रीमतीले उसलाई बुलाँकी दिएर चामल किन्न पठाउनु हुँदैनथ्यो ।
भोकले अत्तालिएको छोरालाई मानेकी श्रीमतीले लोहोरो पकाएर भए पनि बाँच्ने आशाको त्यान्द्रो देखाएकी छ । यसबाट सन्तानका लागि बाबुहरूभन्दा बढी आमाहरू संवेदनशील हुन्छन् भन्ने प्रष्ट हुन आउँछ । अर्काको पैसा धुत्न पल्किएकी भट्टीपसल्नीमा भने कुनै मानवीय संवेदना देखिँदैन । उसको ध्यान मानेजस्ता श्रमिकहरूलाई रक्सी बेचेर पैसा असुल गर्नमै केन्द्रित छ ।
५. उपसंहार
कक्षा ११ को ऐच्छिक नेपालीमा नारीलाई नै प्रमुख भूमिकामा राखेर लेखिएका कथा निकै कम छन् । ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथामा कथाकार इन्द्रबहादुर राईले शीर्षकमा जयमायालाई केन्द्रमा राखे पनि कथाका अधिकांश घटनाहरू जयमायाका बाबु शिवजित राइसँग सम्बन्धित छन् । शीर्षक हेर्दा जयमायालार्ई प्राथमिकतामा राखेको देखिए पनि कथाभित्रको परिवेशमा शिवजितको भूमिका बढी छ । पुष्कर शमशेरको ‘लोग्ने’मा केही मात्रामा साहिँलीको भूमिका देखिएको छ । साहिँली परम्परागत पितृसत्ताका कारण दलनमा परेकी पात्र हो । यहाँ समावेश भएका ९ वटा कथामध्ये नारीलाई नै प्रमुख भूमिकामा राखेर लेखिएको कथा माया ठकुरीको ‘मृगतृष्णा’ हो । ठकुरी मूलतः आदर्शवादी सामाजिक कथाकार हुन् यद्यपि उनका अधिकांश कथामा नारीवादी चिन्तन पाइन्छ र ‘मृगतृष्णा’ कथामा पनि उनले पुरुषको कामुकताको सिकार बनेकी नारीको उत्पीडनलाई विषय बनाएकी छन् । यहाँ समावेश भएका कतिपय कथाका नारी पात्रहरू धार्मिक अन्धविश्वासमा जकडिएका छन् । कथामा पुरुष पात्रको दमनका विरुद्धमा बोल्न नसक्ने नारी पात्रहरूको बाहुल्य छ । अधिकांश नारी पात्रहरू पुरुष सत्ताबाट दमित छन् । कथाहरूमा प्रयुक्त नारी पात्रलाई कथाकारहरूले सशक्त भूमिका दिएको पाइँदैन । कतिपय कथाका नारी पात्रहरूले आफ्नो वर्गको पहिचान गर्न सकेका छैनन् । ‘लाहुरी भैँसी’ कथाकी घैँटीले आफ्नो वर्गको पहिचान गर्न सकेकी छैन, ऊ अशिक्षित छ । अधिकांश कथाका आएका नारी पात्रहरूमा नारीवादी चेतनाको अभाव छ । नारीहरूले स्वतन्त्रता पाएका छैनन् । कथामा प्रयुक्त अधिकांश नारी पात्रमा विद्रोह चेतनाको अभाव छ । धेरैजसो कथाकारहरूले कथामा नारीलाई उचित स्थान/भूमिका दिएर सम्मान गर्न सकेका छैनन्, नारीलाई उपभोगको साधनका रूपमा प्रस्तुत गरेका छन् । कथाकारहरूले नारी चरित्रमा अधिकार प्राप्तिका लागि विद्रोही भावको विकासका लागि प्रोत्साहित गरेको पनि देखिँदैन ।
सन्दर्भ सामग्री सूची:
अर्याल, ईश्वर. (२०७४). ‘नारीवाद कि सर्वसत्तावाद’, अन्नपूर्ण पोस्ट. (२०७४-०१-३०). काठमाडौँ ।
उप्रेती, सञ्जीव. (२०६९). सिद्धान्तका कुरा, (चौ.सं.), काठमाडौँ अक्षर क्रियसन्स ।
एङ्गेल्स, फ्रेडरिक. (२०५६). अनु. परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति. मस्कोः पिपुल्स पब्लिशिङ हाउस ।
गौतम, कृष्ण. (२०५९). आधुनिक समालोचनाः अनेक रुप, अनेक पठन. (दो.सं.), ललितपुरः साझा प्रकाशन ।
पौडेल, तुलसीराम.(२०५९). लैङ्गिक अध्ययनको रुपरेखा. (दो.सं.), काठमाडौँः निमा पुस्तक प्रकाशन ।
बराल, ऋषिराज. (२०५२). माक्र्सवाद र उत्तरआधुनिकतावाद. ललितपुरः साझा प्रकाशन ।
भट्टराई, रमेशप्रसाद. (२०६८). लैङ्गिक समालोचना. रत्न बृहत् नेपाली समालोचना. (सम्पा. राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम). काठमाडौँः रत्न पुस्तक भण्डार ।
शिक्षण निर्देशिका. (सन् २००८), इच्छाधीन नेपाली. (कक्षाः ११), भक्तपुरः उच्च माध्यमिक शिक्षा परिषद् ।
ज्ञवाली, रामप्रसाद र अन्य. (२०६२), ऐच्छिक नेपाली. (कक्षाः ११, दो.सं.), काठमाडौँः भुँडीपुराण प्रकाशन ।
https://ne.wikipedia.org/wiki/