19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

द्रौपदी

कथा सन्ताेष लुइटेल किंसुका December 2, 2023, 4:19 pm
सन्ताेष लुइटेल किंसुका
सन्ताेष लुइटेल किंसुका

महाभारत युद्ध सुरु भएको पनि आज सोह्र दिन भएको थियो । भीष्मपितामह, द्रोणाचार्य, अभिमन्युजस्ता वीरहरूले वीरगति प्राप्त गर्नुका साथै कुरुक्षेत्र रगतका आहालमा डुबेर शोकाकुल भइरहेको थियाे । युद्धमा को कतिखेर मारिने हाे भन्ने कुराको कुनै टुङ्गो थिएन । सूर्योदय भएसँगै सोह्रौँ दिनको युद्धका लागि सारा सिपाही र योद्धाहरू युद्धमैदानतर्फ प्रस्थान गरिसकेका थिए । सबै जना शिविरबाट हिँडिसकेपछि निराशा र पश्चातापले भरिपूर्ण भारी मन लिएर पाञ्चाली द्रौपदी शिविरको एक कुनामा टोलाउँदै बसिरहेकी थिइन ।

युद्ध सुरु हुनुअघि त हस्तिनापुर दरबारमा आफूमाथि भएको त्यो अत्याचार अनि वनवास र गुप्तवासका समयमा भोग्नुपरेका सारा दुःखले गर्दा आजै युद्ध सुरु भएर दुशासन र दुर्योधनको मृत्युको खबर सुन्ने उत्सुकताले उनको मनलाई आकाशमा उडाइरहेको थियो । अझ भनौँ आफूमाथि भएका अत्याचारको प्रतिशोधले उनको मनलाई वर्षा ऋतुमा पर्वतलाई बाक्लो कुहिराले ढाकेसरि ढाकेको थियो । उनका मनमा बलेको प्रतिशोधको अग्निले एक महायद्ध रूपी ज्वालामुखीको प्रतीक्षा गरिरहन्थ्यो । उनका मनमा युद्ध र कौरवहरूको मृत्युको कामनाबाहेक अरू केही पनि आउँदैनथ्यो र आफ्ना पतिहरूलाई विभिन्न तरिकाले यसका निम्ति उक्साइरहन्थिन् , उक्साइरहन्थिन् । तर युद्ध सुरु भएर सेना र बहादुर ठानिएका योद्धाहरूकै मृत्युका खबर सुनिन थाले त्यसपछि भने उनका मनमा भएको प्रतिशोधको भावना र अभिमान पीडामा बदलिन थालेका थिए । उनको नारी हृदयलाई विभिन्न व्यक्तिहरूका मृत्युका खबरले क्षतविक्षत बनाउन थाल्यो । यसैले पनि उनी भित्रभित्रै जलेर सूर्योदय र सूर्यास्तबाहेकको कुनै समय कसरी बित्यो भन्ने सम्म पनि पत्तो पाइरहेकी थिइनन् । उनको हृदय पश्चातापको अग्निमा यसरी जलेको थियो कि उनको लाग्ने भए त्याे युद्ध अहिले नै रोकिदिन मन हुन्थ्यो तापनि उनको यसमा लाग्ने केही थिएन । सारा हस्तीहरू अभिमानले चुर्लुम्म भएका थिए । मर्ने वा मार्ने प्रण लिएर युद्धमा होमिइसकेका योद्धाहरूले आजको दिनमा उनको कुरा सुन्ने कुरै थिएन ।

सधैँ झैँ आज पनि सबै जना युद्धमा मार्ने वा मर्ने उत्साह बोकेर शिविरबाट बाहिरी सकेपछि द्रौपदी निराश मुद्रामा शिविरकाे एउटा कुनामा बसेर घुँडामा मुन्टो अड्याएर एकोहोरिरहेकी थिइन् । समय कसरी कुद्‍‌यो र कति समय बितिसक्यो भन्ने कुराको उनलाई कुनै पत्ताे नै थिएन । यत्तिकैमा बाहिरबाट आएको ‘पाञ्चाली …. पाञ्चाली’ भन्दै आफूलाई कसैले टाढैबाट बोलाएको चर्को आवाजले उनलाई नराम्ररी झस्कायो । उनलाई गहिरो निद्रामा ऐठन भएर आत्तिँदै बिउँझिए झैँ भयो । उनको पूरै शरीर थरर्र काम्यो । उनले त्यो आवाज राम्ररी चिनिसकेकी थिइन् । त्यसैले पनि कुनै अप्रिय खबरको आशङ्काले उनलाई नराम्ररी चिमोटी सकेको थियो ।

उनी हत्तारमा आफू बसिरहेको ठाउँबाट जुरुक्क उठिन् । उनकाे भित्री हृदयलाई कुनै दुष्कल्पनाले छपक्क ढाक्याे । उनलाई एकाएक पसिना आए । उनलाई उभिएर अडिन नै गाह्रो भएझैँ भएकाले एकैछिन शरीरलाई स्थिर गराइन् र ढाेकातिर अगाडि बढिन् । उनी शिविरको ढोकामा पुग्न नपाउँदै आवाजसगैँ रगत लतपतिएको मुखमुद्रा लिएर भीमसेन उनकै अगाडि उपस्थित भए । भीमसेनलाई त्यो अवस्थामा देख्नासाथ द्रौपदीले केही होसै पाइनन्, उनी बेहोस भएर भुइँमा ढलिन् । होसमा आउँदा भीमसेन पानी छम्कँदै पङ्ख हम्किरहेका थिए ।

भीमसेनको रक्तरञ्जित अनुहार तथा हात देखेर द्राैपदीलाई पुनः चक्कर आयाे । उनले आँखा चिम्लिन् । भीमसेनले द्राैपदीलाई आफ्ना काखकाे सिरानी बनाएर सुताई एक हातले सुस्तरी सुम्सुम्याउँदै भने, ‘‘हेर द्राैपदी मैले तिम्राे केसका लागि दुशासनकाे रगत ल्याएकाे छु । याे लिअ र आफ्नो प्रतिज्ञा पूरा गर । मैले दुशासनकाे छाती चिरेर रगत ल्याएकाे छु …।’’ भीमसेन अझ केही भनिरहेका थिए तर द्राैपदीले उनका कुरा सुन्न सकिनन् । उनकाे बाेली आइरहेकाे थिएन । बलैसँग आफ्नो हात उठाएर भीमसेनकाे मुख थुनिन र नबाेल्न इसारा गरिन् । त्यहाँ एकैछिनका लागि पूरा सन्नाटा छायाे ।

भीमसेनका काखमा सुतिरहेकी द्राैपदी ठुलाे आपत्ति आइपरेकाे अवस्थामा झैँ जुरुक्क उठिन् र भीमसेनका अनुहारमा एकटकले हेर्दै डाकाे छाेडेर रुन थालिन् । उनी भीमसेनलाई भनिरहेकी थिइन्, ‘‘याे राज्य र शासनका चक्करमा अनाहकमा निर्दाेष मानिसहरू कति मरिसके । भाे अब याे युद्ध राेक्नुहाेस्, केही पनि चाहिएन । अहिलेसम्म जेजति पनि कुरा भए ती सबै बिनासित्तिकाे शासककाे इच्छापूर्तिका खातिर गरिएका दुष्कर्म र उनीहरूकाे मनाेमानीका कारण भएका हुन् । याे युद्धमा काे काे मारिए ? एकचाेटि साेच्नुहाेस् त ! आफूलाई एकसेएक याेद्धा भन्नेहरू आजसम्म कति मरिसके ? अनि हिजाेसम्म मेराे राज्य भन्दै गर्व गर्नेहरूले मरेर जाँदा तिनीहरूका राज्य पनि साथै लिएर गए ? देख्नुभयाे ? तपाईँले नै मारेकाे दुशासनलाई मर्नेबेलामा दुर्याेधनले छेक्याे ? कि उसले दुर्याेधनलाई कुकृत्यमा साथ दिएकामा कुनै पारिताेषिक लिएर गयाे ? यस युद्धलाई तपाईँहरू जेसुकै नाम दिनुहाेस् तर पनि याे युद्ध नितान्त काैरव र पाण्डवकाे राज्यप्राप्तिकाे लहड र अभिमानले जन्माएकाे स्वार्थकाे लडाइँ हाे । यही प्रपञ्चमा म पनि बलिकाे बाेकाे बन्दै भरिभराउ राजसभामा घिसारिनुपर्याे, नाङ्गिनुपर्याे । काैरव र पाण्डवका निम्ति, उनीहरूकाे अभिमानका लडाइँमा युद्धमैदानमा आएर मारिएका ती सैनिकहरूका विधवा नारी र अनाथ बालबच्चाहरूकाे आँसुकाे मूल्य कसले चुकाउने ? केका लागि ती नारीहरू विधवा बनाइए, ती बालबालिकाहरू टुहुरा बनाइए ? कि जनतालाई अनाथ, विधवा र टुहुरा बनाउनु नै शासकहरूकाे धर्म हुन्छ …?’’ निरन्तर बाेलिरहेकी द्राैपदी असिनपसिन भएकी थिइन् । उनका आँखाबाट भेलसरि आँसुका धारा बगिरहेका थिए ।

भीमसेनले केही नबाेली द्राैपदीका कुरा चुपचाप सुनिरहे । साेचे, दाैपदी एक नारी हाे, याे एउटा नारी हृदय बाेलिरहेकाे छ । कुनै समय विनाकारण अपमानित हुनुपरेकाे पीडामा पाँच महावीरकी पत्नी हुनुकाे अभिमानले आगाेमा घिउ थपेका कारण आक्राेश बढेकाे थियाे । त्यसैकाे परिणामस्वरूप दुर्याेधनलाई त्यसकाे परिणाम चखाउने ध्याउन्नमा लागिन् तर अहिले हत्या र काटमारले नारी हृदयलाई नराम्ररी हल्लाएकाे पनि उनले राम्ररी बुझे । एक मन त युद्ध छाेडेर अहिले नै सन्यास ग्रहण गरी हिँडाैँ जस्ताे लाग्याे फेरि मृत्युका भयले महावीर ठानिएकाे भीमसेन युद्धमैदानबाट भाग्याे भन्ने आराेप किन खेप्नु भन्ने साेचाइलाई उसकाे अभिमानले पहाड बनाएर उठायाे । केही नबाेली भीमसेन शिविरबाट बाहिर निस्के ।

सूर्यास्त भइसकेछ । त्यस दिनकाे युद्ध समापन भएकाले सबै जना आआफ्ना शिविरमा फर्किरहेका थिए । घाइतेहरूकाे चित्कार र द्राैपदीका कुराले भीमसेनकाे युद्धाेत्साह क्षीण हुँदै गइरहे तापनि यसलाई उसभित्रकाे अभिमानले उसै गरी उकासी रहेकाे थियाे । उनले साेचे ‘‘के पाञ्चालीले भने झैँ हामीले राज्यकाे लाेभमा युद्धपराध त गरेनाै ? शासकहरूकाे नचाहिँदाे महत्त्वाकाङ्क्षाले निर्दाेष मानिस मारिनु कत्तिको उपयुक्त हाेला ?’’ तर कसैले उक्साएकै भरमा मर्न उद्धत हुँदै युद्धमैदानमा आउने त उनीहरू नै हुन् नि ! बल्न खाेजिरहेकाे आगामा घिउ पाेख्ने …..!’’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।