19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कला

कथा अर्जुन चामलिङ यावा December 2, 2023, 4:21 pm
अर्जुन चामलिङ यावा
अर्जुन चामलिङ यावा

कामै नपरेर पनि होला, धेरै भएछ शहर नआइपुगेको। सायद डेड़-दुई वर्ष भयो। शहरले रूप फेरिसकेको रहेछ। ‘यो डेड़-दुई वर्षमा पनि यति परिवर्तन?’ आफै छक्क परें।
एकलै छु। सोचेर आएका कामहरू केही भए, केही भएनन्। थाकेर लखतरान परेँ। गाउँमा चिलाउनेको मुड़ा बोकेभन्दा पनि धेर थकान भएझैं लाग्यो। शहर बसदा साथीभाइसितको सम्झनाले कफी शप पसायो। एकलै पसेँ।
‘भाइ, एउटा कफी। अलिक कड़क।’ भनेर मोबाइल हेर्न थालेँ।
‘एक्सक्युज मी, म यहाँ बस्नसक्छु?’ नचिनेकी युवती थिइन्।
‘या, स्यूर। प्लिज।’ कहिले नबोलेको वाक्य अनायसै बोलिपठाएँ। ‘छिः जानी-नजानी के बोलेँ नि’ भनेर आफैसित असजिलो लाग्यो। फेरि भनेँ- ‘बस्नोस न।’
उनी बसेको केहीक्षणमा मेरो कफी आयो। म आफ्नै धुनमा थिएँ। एकपटिको कानले भने सुनिरहेकै थिएँ। उनले पनि कफी मगाइन्।
‘फेसबूकमा व्यस्त हुनुहुन्छ?’ यो प्रश्न मलाई नै हो। किनभने हामी दुई भएको टेबिलमा अरू केही थिएनन्।
‘हजूर।’ छोटो जवाब दिएँ। फेसबुकमै व्यस्त भनेर कसरी थाहा पाई होली? मनमनै सम्झेँ।
‘मलाई चिन्नुहुन्न नि, तपाईं?’ नसोचेको प्रश्न मेरैलागि थियो।
‘चिनिनँ। मलाई चिन्नुभयो र?’ जवाबसितै प्रतिप्रश्न गरेँ।
‘तपाईंले मलाई देख्नुभएकै छैन। कसरी चिन्नुहुन्छ त।’ भनेर फेरि नजर थोरै फेरेर भनिन्- ‘तर म तपाईंलाई चिन्छु।’ उनको अन्तिम वाक्यले म चकित भएँ। कस्तो अचम्मकी युवती। आफै सोध्छे। फेरि आफै ‘देख्नुभएकै छैन, कसरी चिन्नुहुन्छ त’ पनि भन्छे।
‘माफ गर्नुहोला, कसरी चिन्नुहुन्छ?’ सोधी हालेछु। अहिलेसम्म राम्ररी हेर्नसम्म भ्याएको थिइन। यतिबेला बल्ल हेरेँ। साधारण श्रृङ्गार। जवानीले सुन्दरता भरिदिँएको। जो-कोहीलाई झट्ट आकर्षित गरिहाल्ने पनि होइन। कुरूप होइन, न त रूपमय नै थिइन्।
‘कुनैदिन भनौंला नि।’ मैले धेरै सोधें। भनिनन्। पहिले शहर बस्दा कतै भेट भएको थियो कि भनेर धेरै सम्झने प्रयास गरेँ। अहँ कुनै सम्झना आएन। गफैगफमा हाम्रो कफी सकिएछ। त्यसपछि हामी छुटियौं। एउटा जिज्ञासा भने छोड़िराखि- उनले मलाई कसरी चिनेकी हुन्?
...
फेसबुक र व्हाट्सएपबिना बस्नै सक्दिनँजस्तो लाथ्यो। होइन रहेछ। त्यो त केवल भ्रम रहेछ। मान्छेलाई जब व्यस्तताले समाउँछ नि, तब यस्ता कुराहरू झुटा भइदिँदारहेछन्।
आज निक्कैदिनपछि फेसबुक गलइन गरेँ। धेरैले सम्झेका रहेछन् मलाई। धेरैले मेरो स्टाटसमा ‘लाइक’ गरेका रहेछन्। धेरैले कमेन्ट्स गरेका रहेछन्। नोटिफिकेशन सबै हेर्दै गएँ। सबैको कमेन्ट्सलाई समग्रलाई एउटा जवाब लेखिदिएँ- ‘तपाईंहरू सबैलाई धेरै –धेरै धन्यवाद।’
फ्रेण्ड रिक्वेस्ट तेह्रवटा रहेछ। माथिदेखि हेर्दै गएँ। एक, दुई, तीन, चार, पाँच, छः, सात... सबै नचिनेकाहरू। नचिनेका र म्युचल फ्रेण्डसम्म नरहेकाहरूको फ्रेण्ड रिक्वेस्ट झट्ट एक्सेप्ट गरिहाल्न मन लाग्दैन। फ्रेण्ड रिक्वेस्टको लिस्ट हेर्दै गएँ। एघारौं क्रममा रहेछ कला।
‘कला?’ मनमनै सोधें आफैलाई।
‘कला’-सित थोरै भुलिएँ। उत्सुकता बढ्यो। ‘कला’ सुन्ने बित्तिकै मेरा कान चनाखो बन्छ। पहिलोपल्ट कलाको आवाज रेडियोमा सुनेदेखि नै म उनको कोकिलकण्ठ आवाजसित मुग्ध छु। प्रत्येक साँझ रेडियोमा कलाको कार्यक्रम सुनिनँभने मलाई भोकै छु जस्तै लाग्थ्यो। मेरो निम्ति अमलै भएकी थिई कला। कला होइन, कलाको सुमधुर आवाज।
मलाई हतार भयो फेसबुकमा कलाको प्रोफाइल हेर्न। कतै उही कला त होइन, जसलाई म प्रत्येक साँझ सुन्नेगर्छु। कार्यक्रममा दिइएको ठेगामामा बेला-बेला पत्रचार गर्नेगर्छु। कार्यक्रम राम्रो लागेको, राम्रो लाग्नुको कारण अनि कार्यक्रममा थप हुनुपर्ने आफूलाई लागेका कुराहरू लेख्नेगर्छु। पत्रमा मैले लेखेका कुराहरू कलाको आवाजमा सुन्दा लाग्छ त्यो सबै मैले लेखेकै होइन, कला आफ्नै मनबाट भनिरहेकी छ। त्यसैले कार्यक्रममा कलाले मेरो पत्र पढ़िदिँदाको खुशीको त सीमा नै छैन।
कलाको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गर्नअघि उनको नाममा क्लिक गरेँ। ‘एबाउट’-मा गएँ। ‘वर्क एक’ हेरेँ। लेखिएको थियो- ‘....मा कार्यक्रम सञ्चालिका’। छिटोछिटो कलाको फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरेँ। प्रोफाइल हेरेँ। फोटो थिएन। मीठो आवाज जस्तै सुन्दर तस्वीर होला सम्झेको थिएँ। प्रोफाइल फोटोको ठाउँमा लेखिएको रहेछ- ‘हुन्न जीवन सोंचेजस्तो। हुन्न बँचाइ देखेजस्तो। हुन्न केही चाहेजस्तो।’
प्रोफाइलमा लेखिएका शब्दहरूले एकपल्ट झसङ्ग भएँ। किन सोंचेजस्तो हुन्न? सम्झेँ आफै।
कभर फोटोमा दुईजना बूढ़ा-बुढ़ीको फोटो रहेछ। आमा-पापा हुनुपर्छ, मनमनै सम्झें। कभर फोटोमा नेक्स्ट क्लिक गरेँ। त्यहाँ थियो- थुप्रै रङहरूले सुन्दर लाग्ने पुतलीको तस्वीर। वास्तवमा पुतली सुन्दर लागेको हो कि फोटो, अथवा पुतलीको फोटो सुन्दर लागेको हो कि खिचाइ सुन्दर? बुझ्न चाहिनँ। फोटोको क्याप्सन पढ़ें- ‘सुन्दर लाग्नुका कारण एउटा प्रकृति। एउटा कला।’
कला अर्थात आफै? सोधेँ मनमनै। भन्यो मनैले- होइन। फेरि पनि, कलाकै थियो कुरा। बुझ्न चाहिनँ मैले। बरु अर्को फोटो हेर्नतिर लागेँ। नेक्स्ट क्लिक् गरेँ। त्यहाँ थियो मन्दिर, मन्दिरकै अघि उभिएर एकजना बालक जौल्याहा हात गरी ढोगी रहेका। फोटोमुनी लेखिएको रहेछ- ‘तपाईं आफूभन्दा धेरै कसलाई विश्वास गर्नुहुन्छ?’
यतिबेला मैले आफैलाई सोधें- ‘हँ, म आफैलाईभन्दा धेरै कसलाई विश्वास गर्छु?’ अनि मनमनै हाँसे आफ्नै अज्ञानतासित। मलाई थाहै छैनरहेछ म स्वयंलाई भन्दा धेरै कसैलाई विश्वास गर्छु कि गर्दिन भनेर।
फोटोमा ‘लाइक’ गरिदिएँ अनि नेक्स्ट क्लिक गरेँ। फोटो हेरेँ। नबुझिँदो आकार। कता-कता मान्छेजस्तो लाग्ने। कता-कता कुनै जनावारजस्तो लाग्ने। कता-कता पहाड़जस्तो पनि देखिने। थुप्रै कुराहरूको मिश्रणजस्तै लाग्ने। मेरो बोदो दिमागले बुझेन केही। फोटोको ठीक तल लेखिएको रहेछ- ‘अमूर्ततामा पनि मूर्तता। हेर्नुस र खोज्नुस। जीवनको अर्थ भेट्नुहुन्छ। पाउनुहुन्छ आफैलाई।’
निकैसमय म घोरिरहेँ। बुझ्नखोजें भन्न खोजिएका कुराहरू। प्रत्येक साँझ सुन्दा सरल लाग्ने कलालई, मीठा लाग्ने कलाका वाणी। कलाका शब्द। मीठो लाग्ने कलाको आवाज। तर आज यी फोटोहरू र शब्दहरू, शब्दका अर्थहरू क्लिष्ट लागिरहेछन्। घोत्लाइरहेछन् यी फोटो र शब्दहरूले। तर एउटै पनि फोटो थिएन त्यहाँ जुन फोटो हेरेर ‘ऊ नै हुन् कला’ भन्न सकियोस्।
फोटो ग्यालेरीमा त होलान् नि भन्ठानेर कोट्याएँ। फोटो एल्बम थिएन। वाल पिक्चरहरूमात्रै रहेछन्। मोबाइल अप्लोडेड र ट्याग फोटोहरू। पूरापूरी 27 वटा फोटो। एकल फोटो एउटै थिएन। मेरो कौतुहल उस्तै छ। कलालाई हेर्ने। कलाको रूप हेर्ने। मैले कल्पना गरेको आवाजजस्तै उनको सौन्दर्य हेर्ने।
तीनजना, पाँचजना, सातजना अनि थुप्रै-थुप्रै भएका फोटोहरू मात्रै थिए। पहिलो फोटोमा रहेका तीनजना धेरैजसो फोटोमा देखिन्थे। कुनैमा पहिलो दुईजना, कुनैमा दुईमध्ये एकजना र अर्की एकजना। कुनैमा तीनैजना देखिन्थे।
‘औ, खाना पस्किदिउँ?’ श्रीमतीको प्रश्नले मेरो ध्यान भङ्ग भयो।
‘अँ, पस्किदेउ। आइहालेँ।’ जवाबमा यति भनें।
...
राति सुत्नअघि एकपल्ट मोबाइल हेरेँ।
फेसबुक खोलेँ। नोटिफिकेशन, फ्रेण्ड रिक्वेस्ट, मेसेन्जरको राता-राता सिग्नलहरू थिए। मेसेन्जर खोलेँ। कलाले लेखेकी रहेछ- ‘हाइ...।’
छिः फ्रेण्ड रिक्वेस्ट एक्सेप्ट गरेर त्यति धन्यवादसम्म लेखिनरहेछु। आत्मग्लानी भयो। मेसेन्जरमा कलाको ‘हाइ..’ देखेपछि त झन मेरो खुशीको कुनै सीमा थिएन। हतार लेखिदिएँ- ‘हेलो। धन्यवाद।’
‘किन धन्यवाद?’
‘मलाई फ्रेण्ड एड गर्नुभयो र नि।’
‘ए...। हुन्छ नि।’
‘.....’ के लेख्नु अब? बुझ्नै सकिन। उतैबाट प्रश्न आयो- ‘एउटा कुरा सोधुँ?’
‘सोध्नुस न। के कुरा??’ प्रतिप्रश्न गरेँ।
‘तपाईंले एफबीको कभर फोटोमा लेख्नुभएको छ नि...!’ वाक्य पूरा आएन। मैले बुझेँ के भन्न खोजिरहेकी अथवा के प्रश्न गर्ने भनेर। हो प्रत्येक साँझ उनकै कार्यक्रममा सुनेकै कुरालाई मैले लेखिदिएको थिएँ- ‘तपाईं पहिले आफूलाई धेरै माया गर्नुस, आफूलाई सबैभन्दा धेरै विश्वास गर्नुस, आफूभित्र एउटा सुन्दर संसारको कल्पना गर्नुस। सपना सजाउनुस। बस, आँखाले त बाहिरी रूप न देखिने हो।’ वास्तवमा मैले लेखेको थिइन ती वाक्यहरू। मेरा थिएनन् ती विचारहरू। तर मलाई खै कुन्नि किन हो खुब मन परेका लहरहरू थिए ती, जो प्रत्येक साँझ कलाकै कार्यक्रममा कलाकै आवाजमा सुनेको हूँ। त्यसैले लेखिदिएँको थिएँ। के भन्ने अब कलालाई? परें म फसादमा।
‘म तपाईंको फ्यान हू। त्यसैले...’ सोच्दा सोच्दै लेखिदिएँ अनि वाक्य पूरा नगरी सेण्ड गरिदिएँ।
‘मान्छे ठूला-ठूला सेलिब्रेटीहरूका फ्यान हुन्छन्। तर तपाईं मेरो फ्यान?’
‘म तपाईंको कार्यक्रम सधैं सुन्नेगर्छु। खुब मनपर्छ। तपाईंको आवाज। तपाईंको बोली। विचार। सबै।’ अनि फेरि प्रश्न गरेँ- ‘किन कुनै सेलिब्रेटीकै मात्र फ्यान हुनुपर्छ भन्ने केही छ र?’
‘छैन।’ छोटो जवाब आयो। फेरि तुरुन्तै अर्को मेसेज आयो- ‘तपाईंको कभर फोटोमा लेखिएका कुराहरूले नै मैले तपाईंलाई चिन्न चाहेँकी थिएँ।’
‘चिन्नु भयो त?’ प्रश्न गरेँ।
‘चिनाइ धेरै प्रकारका हुन्छन्। म चिन्दैछु। सायद तपाईंले चिन्नुभएन।’
मैले के भन्ने अब? कुरै आएन। फेरि उतैबाट आयो अर्को टेक्स- ‘मेरो पनि कोही फ्यान हुनुहुँदोरहेछ, खुशी लाग्यो। फ्यानलाई नै फ्रेण्ड रिक्वेस्ट पठाउने सायद म पहिलो व्यक्ति हुनुपर्छ।’
‘तपाईंलाई एउटा कुरा सोधु?’ मेरो प्रश्न थियो।
‘सेध्नुस।’ सहज सहमति थियो।
‘प्रोफाइल, कभर फोटो कतै पनि तपाईंको फोटो छैन नि। किन?’
‘पहिलो कुरा त मेरो परिचय नै मेरो आवाज। जसले तपाईंलाई मेरो फ्यान बनायो। अर्को कुरा, मेरो आवाजलाई जति रूपलाई कसैले मन पाउँदैनन्। त्यसैले।’
‘कलालाई मन पराउनेहरू रूप हेर्छन् र?’ कुन्नि कसरी सोधिहालेछु।
‘मेरो भोगाइको कुरा गर्दैछु। भावना र भोगाई दुई अलग कुरा हुन्। मेरो आवाज र रूप त्यस्तै हो। मेरो आवाजलाई माया गर्नेहरू मलाई देखेपछि पर हुनेहरू धेरै छन्।’
छिः यहीबेला नेट ब्यालेन्स सकिएछ।
...
‘तपाईंको फोन बजिरहेको छ है।’ श्रीमतीको कुराले मेरो लेख्दै गरेका काम थन्काउन लगायो। नयाँ नम्बर रहेछ। रिसिभ गरेँ। ‘ब्याट्री फूल भएछ’ भन्दै मोबाइल दिइराखेर ऊ गइहालिन्। कल रिसिभ गरेँ।
‘हेलो फ्रेण्ड। मलाई चिन्नुभयो?’ कताकता चिनेजस्तो आवाज। तर नचिनेको। सुनेजस्तो तर नसुनेको आवाज।
‘सरी, को बोल्नुभयो होला? नम्बर सेभ छैनरहेछ।’
‘तपाईं पनि..! आवाजले नै फ्यान बनाएको भन्नुहुन्छ। त्यही आवाज चिन्नुभएन?’ उही कलाको आवाज पो रहेछ। अब के गर्ने? च्याटजस्तो नहुँदोरहेछ फोनैमा भए पनि बोल्न। थोरै सम्हाहिँदै भनेँ- ‘ओह! सरी। चिनेँचिनेँ। ‘फ्यान’ भन्नुभएको रहेछ। ‘फ्रेण्ड’ भन्नुभएजस्तो लाग्यो।’
‘फ्यानलाई फोन गर्ने पनि म पहिलो हूँ कि?’
‘मेरो निम्ति त पहिलो नै हुनुहुन्छ। नम्बर कहाँ पाउनुभयो नि?’ रेडियोमा उनको आवाज जति मीठो लागेको थियो त्यो भन्दा धेरै मीठो लागिरहेको थियो फोनमा। यति मीठो स्वर, यति राम्रो विचार राख्ने उनलाई केवल एकपल्ट भएनि भेट्न लालयित थिएँ म।
‘फेसबुकमा।’ छोटो जवाब पाएँ।
‘म तपाईंलाई भेट्न चाहन्छु।’ झट्टै भनिपठाएँ।
‘अरू जस्तै तपाईं पनि ‘रिग्रेट’ गर्नुहुन्छ भेटेर।’ सायद उनको अनुभव थियो।
‘किन?’ सोधेँ।
‘मैले भने नि, मेरो आवाजलाई मन पराउने र माया गर्नेहरू मलाई देखेपछि धेरै टाड़िएका छन्।’
यसरी निक्कैबेर कुरा भयो। आज उनीसित बोलिसकेर मनमनै सोचेँ- ‘कला सधैं कला हो। मान्छेको कलासँग उसको रूपलाई तुलना गर्नसकिन्न।’ कलाको आवाज सुनेर मैले कल्पना गरेको थिएँ- ‘यस्तै हुनुपर्छ उनी’ भनेर। म उनलाई हेरेर उनीभित्रको कलाप्रतिको आफ्नो आदर्शलाई मार्न चाहन्नँ। अनि निर्णय गरेँ- म कलालाई भेट्न चाहन्नँ। उनलाई हेर्न चाहन्नँ।
...
शहरबाट फर्किएर गाउँ आइपुग्दा ठूलो साँझ परिसकेको थियो। धेरैपछि शहर हिँड़नेबेला छोरीको आफ्नै ‘डिमाण्ड’ थियो। श्रीमतीले आफ्नै दुखेसो पोखिरहेकी थिइन्। साँझमा झोला कोट्याइसकेपछि दुवैको अनुहारमा जून उदाउँदा आफूलाई पनि लाग्नुसम्मको आनन्द लाग्दोरहेछ। यो अनुभव नगरेको पनि धेरै नै भएको रहेछ भन्ने अहिले बुझेँ।
रातको भान्सा सकेपछि छोरी सुती। श्रीमतीलाई सोनी टीभीमा सातबजी ‘साँई’ नहेरी हुँदैन। म मोबाइलमा फेसबुक चलाउन सिकेको छु।
‘हाइ’ अघि नै म्याजेस आएको रहेछ कलाको। हिजो-आज रेडियोमा सुन्नुभन्दा मेसेन्जरमा धेरै भेट्ने गरेको छु कलालाई।
‘हेलो, नमस्ते।’ भनें प्रत्युत्तरमा।
‘पुग्नुभयो घर?’ यो प्रश्नले म छक्क परेँ।
‘कहाँबाट?’ नजानेको भएँ म।
‘शहर। शहरमा हुनुहुन्थ्यो नि तपाईं।’
‘कसले भन्यो?’ जिज्ञासा राखेँ।
‘कड़क कफी’ कस्तो थियो? अब के भन्ने! ‘के कफी पिउँदा भेटेकी युवती कला थिई?’ आफैलाई प्रश्न गरेँ। ‘होइन, हुनै सक्दैन।’ मनमा लागिरहेको थियो।
‘विश्वास लागेन होला नि...?’ जवाब लेख्नै भ्याएको थिइनँ अर्को प्रश्न आयो।
‘मैले भनेको थिएँ, तपाईं मलाई भेटेर ‘रिग्रेट’ गर्नुहुन्छ।’ अब भने पक्का भयो, जोसँग कफी शपका भेट भएको थियो उनी नै थिइन् कला। उफ्, कसतो सकस। जानेको भए धेरैबेर कुरा गर्नेथिएँ। नजीकबाट उनलाई जान्नेथिएँ। यतिका वर्षसम्म जसको ‘फ्यान’ बनेको थिएँ उनैलाई भेट्दा कसरी चिन्न सकिन मैले? उनको आवाज, उनको भावना, विचार, उनले खिचेका तस्वीर, तस्वीरसितै लेखिएका शब्द र वाक्यहरू मनपर्ने, साक्षात भेटमा उनैलाई चिन्न सकिने? उनको आवाजलाई पनि कसरी चिन्न सकिनँ? उनलाई भेटेरै पनि भेट्ने इच्छा, रहर, चाहना अझै अधुरै बन्यो।
अहिले सोच्दैछु- ठीकै रहेछ कलाको विचार। सोंचेजस्तो जीवन, देखेजस्तो बँचाइ र चाहेजस्तो केही नहुँदोरहेछ। त्यसैले कलासित फेरि भेटिएला त नि। म पर्खाइमा छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।