18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाध्यता

लघुकथा कृष्ण बजगाईं December 3, 2023, 12:27 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

“म विगतमा अँड्किरहेको छु । अझै वर्तमानमा फर्केर आउन सकेको छैन । तपाईले लेखिदिनु भएको थुप्रै औषधी खाएँ । त्यसले केही काम गरेन ।” मैले डाक्टरलाई गुनासो गरेँ ।

मेरो कुरा सुनेपछि डाक्टरले झर्कदै भने, “अब औषधी नखानू, ध्यान गर्न गुरुकहाँ जानू । सब ठीक हुन्छ ।"

मेरा सारा पीर व्यथा गुरुलाई सुनाएँ । उनले ध्यान गर्न सिकाए । दुई महिना ध्यानमा बस्दा पनि कुनै प्रगती भएन । निराश भएपछि गुरुलाई भनेँ, “अलिकति पनि बिसेक भएन गुरु । मेरो भविष्य कस्तो होला भनेर कल्पना पनि गर्न सकेको छैन ।"

मेरा कुरा सुनेपछि गुरुले आँखा चिम्ले । एकछिन्पछि आँखा खोलेर भने, “भविष्य थाहा पाउनका लागि ज्योतिषिलाई भेट्नू ।"

ज्योतिषिलाई सबै वृतान्त बताएँ । उनले ग्रह शान्ति गराउनू, जन्तर र पत्थर लगाउनू भने । उनले भने अनुसार सबै कार्य गरेँ । तीन महिनापछि पनि मेरो ब्यथा जस्ताको तस्तै रह्यो । अब के गरुँ गुरु भनेर सोध्दा उनले मनोचिकित्सकलाई देखाउनु भनेर सल्लाह दिए ।

मनोचिकित्सकले मलाई धेरैपटक बोलाएर मेरा कुराहरु सुने । थुप्रै प्रश्नहरु पनि सोधे । अन्त्यमा उनले भने, “आर्थिक चिन्ताले यी समस्याहरु आएका रहेछन् । पैसा कमाउनू सबै ठीक हुन्छ ।"

“मेरो समस्याको मुुख्य कारण आर्थिक अभाव रहेछ । उपचारका क्रममा चारतिर धाउँदा धाउँदै अलिकति भएको पैसा सकिएर टाट पल्टेँ । त्यसैले चोरी गर्न बाध्य भएँ । जिन्दगीमा पहिलो पटक चोरी गर्दागर्दै पक्राउ परेँ । वास्तवमा म सोझो र इमान्दार व्यक्ति हुँ इन्सपेक्टर साहेब ।” उसले रुँदै भन्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।