18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अङ्गारिका– २

कविता कृष्ण उपाध्याय December 8, 2023, 4:06 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

मेरो महापुरुष !


पलासका पातमाथि जमिनमा बसेर,
पलासको कलिला कोपिला जस्तै
अङ्गना अंशुमती तिर फर्कीरहँदा
अंशुमतीका चिरविरे चरा,
चम्किला चम्किला चरा आएको देख्छे
वरीपरी पातमा वसेको देख्छे,
जूनेली रातको जूनको टकमा
चन्द्रमाको चम्किलो प्रकाशमा
चराहरु चिर्बिराउदै
पातमुनि बास बसेको पनि देख्छे।

अङ्गना अद्भुत अनुभूतिमा हुन्छे,
चराका चिरबिर उसलाई गीत लाग्छ,
म गण्डकी बगिरहदाँ
गण्डकीको गुञ्जन संगीत लाग्छ
अनि त अङ्गना सुनिरहन्छे ।

आकाश हेर्छे चन्द्रमा देख्छे अङ्गना
आकाशको चन्द्रमालाइ चन्द्रमुख भन्छे तिम्रो,
चराका चिरबिर तिम्रो कथा भन्छे ।
अङ्गना अविभावित भावमा भावित हुन्छे
प्रेमार्त हुन्छे, प्रेमांध हुन्छे, प्रेमित हुन्छे,
प्रेमविरागमा पनि हुन्छे ।
मिस्रित मनोभावमा
गुनगुनाउछे अङ्गना

म त्यसलाई अङ्गारिका गीत भन्छु
म त्यसलाई अङ्गी गीत भन्छु
मेरो महापुरुष !
अङ्गनाका गीत बग्दा
म बगिन ।
मेरो गण्डकी गुञ्जन रोकेर
मेरो प्रवाह रोकेर
अङ्गनाका भावमा
मात्र बगाएँ मेरा भाव
अनि सुनीरहेँ अङ्गनाका गुनगुन,
गनगन अङ्गनाका,
अनि चिच्याहट।
चरा हेर्दै अङ्गना
चिच्याई रही
चिच्याई चिच्याई गाइ रही :

लामखुट्टे लाम्चुच्चे चिरविरे चरा
भो नकरा
भो नसुना ति भगुवाका कुरा,
नसुना ति निर्मोहिका नाटक,
उ पनि तिमीहरु जस्तै
मिठो गीत गाउँछन
मन लोभ्याउछन
अनि भाग्छन ।


धेरै चिरबिर नगर है चिरबिरे
तिमीहरु पनि
उनको संगतले उस्तै भएका छौ
मिठो मिठो गीत गाउँदै
झुक्याई झुक्याई हिड्न सिकेका छौ
त्यसैले उनैलाई सुनाउ उनका नाटक
म झुक्किनसम्म झुक्किइ सकेँ
जाओ अव म झुक्किन्न ।

मलाइ थाह छ
तिम्रा कालुका काला कर्तुत !

मायाको मन लिएर आउनेलाई तिरस्कार गर्छन्
म तिम्रै हु भनेर आउनेलाई रुप बिरुप पार्छन्,
पर पर लुकेर अरुलाई हान्छन् , मार्छन्
उपहार दिनेलाइ बाँधेर दण्ड दिन्छन् ।
त्यसैले चिरविरे
सुन्नु छैन त्यस्ता कालुका कुरा
चाहिएन क्रुर कालुको संगत !
जाओ जाओ
मेरो छेउ नपर !

हरिणीको प्रिय हरिणलाई
गीत सुनाउदै बोलाएर
गीत सुनाउदै झुक्याएर
शिकारीले मारे जस्तै
क्रुर कालु
गीत सुनाइ सुनाइ मन हर्छन
आकृष्ट गर्छन अङ्गजले जस्तै।
माया मारेर मार्छन
भागेर मार्छन!


तर के गर्नु चिरविरे !
अक्रुर क्रुर जे भए पनि
जति नै गरे पनि
उनकै गीत गाउँन मन लाग्छ
उनकै गीत सुन्न मन लाग्छ
उनकै रुप हेर्न मन लाग्छ ।


त्यसैले त चिरविरे
कालुलाई नदेखे पनि
पछ्याई रहेँ कालु भन्दै,
पछ्याएँ
कालो कालो अनुहार
बाङ्गे बाङ्गे चाल
घुम्रे घुम्रे काला कपालको अवयव ।


चिरविरे चरा भन्देउ न !
मैले पछ्याएको अग्लो अग्लो अवयव
कालु नै हो
कि कालुको जस्तो मात्र ।
चिरविरे चरा भनन
तिमीहरु त चिन्छौ नि उनलाई !

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।