(लघुकथा)
पतिलाई घरको कतैबाट श्रीमतीलाई बोलाउने बानी परेको थियो- यदि श्रीमती माथिल्लो तलामा हुन्थी भने, ऊ तल्तिर हुन्थ्यो; यदि श्रीमती तल्तिर हुन्थी भने, ऊ माथिल्लो तलामा हुन्थ्यो। र, जब ऊ जवाफ फर्काउँथी, "हजुर? के?", ऊ भने एकोहोरो बोलाईरहेकै हुन्थ्यो, मानौं की उसले सुनेकै छैन। अनि ऊ तनावग्रस्त धैर्यताको सासमा भन्थ्यो- “हेलो! हेलो ! तिमी कहाँ छ्यौ?”
त्यतिखेर, उनीसँग हतार नगर्नुको विकल्प हुन्थेन र कुद्थिन्- ऊ जहाँ भए पनि, जता भए पनि, तल्तिर, मास्तिर, भुईँतला वा बाहिर आँगनमा, करेसाबारी वा घरअगाडिको बाटोमा। “हजुर!” श्रीमती सम्हालिँदै बोलाउँथिन्। “के भयो?” अनि उसले भन्थ्यो- कुनै गुनासो, एक टिप्पणी, कुनै अवलोकन, केही संझाउँदै वा कुनै एक जिज्ञासा। र फेरि, अर्को क्षणमा, उसले श्रीमान् हतारमा पुनः बोलाउँदै गरेको सुन्थी- “हेलो! हेलो! तिमी कहाँ छ्यौ?”
अनि ऊ श्रीमानलाई खोज्दै जवाफ फर्काउँथी- “हजुर! के भयो?”
ऊ श्रीमतीलाई बोलाई रहन्थ्यो नसुनिन्जेलसम्म। घरमा उसले बोलेको सुन्ने त्यही श्रीमती मात्रै त थिई, उसलाई ‘श्रवण उपकरण’ पनि घाँडो लाग्यो। त्यो शंखेकिरा जत्रो एउटो स्यानु प्लास्टिकको उपकरणबारे उसले गुनासो गर्यो, त्यस जैरेले कोमल कानको भित्रैसम्म चोट पुर्याएको थियो, कान राताम्य र रगताम्य बनाएको थियो र त्यही झोंकमा चिडचिडाउँदै उसले बोलायो- "हेलो! तिमी कहाँ छ्यौ?", श्रीमतीले भने कहीँकतै सुन्ने नै होइन, कहाँ गएकी हो र के गरीरहेकी छे कुनै अत्तोपत्तो नै छैन, कहिलेकाँही त्यो चालामालाले ऊ रिसले चूर पनि हुन्छ। अन्तत: श्रीमती सबै कुरा छोडेर हस्याँङफस्याङ उसलाई खोज्दै आइपुग्छे, र जब उसले श्रीमतीलाई देख्यो, उसले झोँक्किएर भन्यो- "तिमी कहाँ थियौ? तिम्रो जवाफ नसुन्दा मलाई चिन्ता लाग्छ क्या।" र, हुनत यो हाँस्ने कुरा थिएन, उसले हाँस्दै, अथवा भनुँ हाँस्न खोज्दै भनी- "म यहीँ त छु!" अनि, प्रतिवादस्वरूप उसले भन्यो- "अहँ होइन, तिमी यहाँ थिइनौ। म यहीँ थिएँ, र तिमी यहाँ थिइनौ।” अल्लीपछि त्यही दिन, उसको खानापछि तर आराम गर्नुअघि, खाना खानुभन्दा पहिले र आराम गरेपछिको कुरा होइन, श्रीमतीले श्रीमान् कराइरहेको सुनी- "हेलो! हेलो! तिमी कहाँ छ्यौ?" अनि श्रीमतीको मनमा विचार आयो- हैन, अब लुक्नु पर्यो ।
तर, केटौलो जस्तो ऊ किन गर्थी र! बरु ऊ सिढीमा उभिई र हात मुखमा ढुङ्ग्रोजस्तो राखेर श्रीमानलाई बोलाई- "म यहीँ छु। म सधैं यहीँ त छु। अन्त कहाँ जान्थेँ र?” तर श्रीमानले उनको आवाज सुन्न सकेन र बोलाइरह्यो- “हेलो! हेलो! तिमी कहाँ छ्यौ?" अन्ततः श्रीमती चिच्याई, "के चाहियो? मैले भनीरहिकै छु, म यहीँ छु त।" तर श्रीमानले सुनेन र बोलाइरह्यो- “हेलो! तिमी कंहा छ्यौ? एई!!," र अन्तमा श्रीमती हार मानी, किनकी पति क्रोधित र चिन्तित मात्र थिएन, बेचैन पनि सुनिन थाल्यो।
सिँढीबाट ओर्लँदै गर्दा ऊ चिप्लिई र लडी, बेस्करी लडी, त्यतिन्खेरै गर्दन भाँचियो, र त्यहीँ सिढीको फेदमा उसको मृत्यु भयो। उता सायद तल्तिरको कुनै कोठामा हो की, वा सायद भूमिगत कोठामा, अथवा करेसाबारीबाट पनि हुनसक्छ, श्रीमानले बोलाइरहेको थियो, झन् झन् आत्तिदै जोडले- “हेलो! हेलो! तिमी कहा छ्यौ?"
अनुवाद- पंचम अधिकारी, बेल्जियम