19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लक्ष्मी

लघुकथा मनोहर पोखरेल December 8, 2023, 6:45 am
मनोहर पोखरेल
मनोहर पोखरेल

बजार जान हतारिएको थिएँ । ढिलो भए पसलमा खुट्टा राख्ने ठाउँ हुँदैन थियो । तिहारको चहलपहल । त्यसमाथि किनमेलको लागि उत्तम मानिएको धनतेरसको दिन । म अन्नले भरिपूर्ण लक्ष्मीको मुर्ति किन्न चाहन्थें ।
“आमा, हामीलाई झिरझिरे, फुलझारी र अनारकली किनिदिनु पर्छ ।” छोरीले फरमाइश सुनाउँदै सँगै जाने जिद्दी गरी । छिमेकी प्रहरी दाईका छोराछोरीको देखासिकी उनीहरुले रहर गरेका थिएँ । चाडपर्वका बेला छोरीलाई उदास पार्न नचाहेर साथै लगे ।
भाँडा–कुँडा र साजसज्जाको पसलहरूमा भीड देखिन्थ्यो । मानिसहरु धनधान्यकी देवी लक्ष्मीलाई खुसी बनाई सम्पन्नता भित्र्याउन चाहन्थे । गच्छेअनुसार स्टिल, तामा, पित्तल र सुनचाँदीका भाँडा किन्दै थिए । मैले लक्ष्मीको स्थायी बास हुने विश्वासले चाँदीको मुर्ति किने । फर्किदा सडकपेटीमा कमलको पुष्पासनमा बसेकी लक्ष्मीजी र गणेशजीको आकर्षक माटाको मूर्तिले ध्यान खिच्यो ।
“अरे तिमी यहाँ ।” मुर्ति बेचिरहेकी लक्ष्मीनियाँलाई चिनिहाले । उनले नमस्कार गर्दै भनी “तरकारी बेचेको देख्नु भाथ्यो, आज राम्रो व्यापार हुन्छ भनेर मुर्ति बेचेको नि दिदी ।” उनले मेरो आश्चर्यजनक हेराई बुझेर नै जवाफ दिएकी थिइन् ।
श्रीमानको मृत्यु पछि लक्ष्मीनियाँ दिनरात मेहनत गर्थिन् । घरको जिम्मेवारीले समयअनुसार समानहरु बेच्ने गरेको कथा उनले सुनाइन् । “आज विहानैदेखि पसल थापेको दिदी, राम्रो बिक्री भयो । छोरीलाई ठूलो मान्छे बनाउनु छ, घर फर्किदा नयाँ झोला र पुस्तकहरु किनेर लैजान्छु ।”
मैले उनको आँखामा नाचिरहेको पुस्तकले भरिएको झोला देखे । अनी छोरीको हातको झिरझिरेको झोला र आफ्नो हातको मुर्ति नियाले । मनमनै सोचे- “कसले भित्र्याउँदैछ लक्ष्मी !”

राजविराज ६, सप्तरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।