गोरखाको तामाङ परिवारका खुसीराम पाख्रिन (२००९–२०७४) पञ्चायती निरङ्कुशताका विरुद्धमा नेपालभित्रबाट मात्र नभई प्रवासबाट समेत क्रियाशील गायक हुन् । पञ्चायत कालबाटै जनवादी गीतहरूमार्फत् आफ्नो छुट्टै पहिचान कायम गर्न सफल पाख्रिन जनताका प्रिय गायक हुन् । मोहनविक्रम, मोहन वैद्य, प्रचण्ड र विप्लवसँग पनि सहकार्य गरेका पाख्रिन पञ्चायत काल, जनयुद्ध काल, शाही शासनको निरङ्कुश समय र शान्ति सम्झौतापछि पनि आफूलाई सर्वहारा वर्गीय जनताकै पक्षमा क्रियाशील गराएका गायक हुन् । उनी श्रमजीवी जनताप्रति समर्पित गीतकारसमेत हुन् । त्याग र बलिदानका प्रतिमूर्ति पाख्रिन नवोदित गायक–कलाकारहरूका लागि प्रेरणाका स्रोत पनि हुन् । लोकगीतको जनवादी फाँटका इमानदार गायक पाख्रिन मृत्युको आखिरी समयसम्म गायनमै समर्पित थिए । लगभग पाँच सय जति गीतहरूको सिर्जना गरेका पाख्रिन सामना परिवारका अभिभावकका रुपमा सम्मानित छन् । यिनले केही समय पार्टीको सांस्कृतिक विभागको नेतृत्व पनि सम्हालेका थिए ।
‘रक्तक्रान्तिका गीतहरू’ (२०६३) खुसीराम पाख्रिनका गीतहरूको सङ्ग्रह हो । यस सङ्ग्रहमा ९० वटा गीतका साथमा दुई अपेरा सङ्कलित छन् । यस लेखमा पाख्रिनको उक्त सङ्ग्रहमा सङ्कलित ९० वटा गीतमा श्रमको महिमालाई कुन रुपमा प्रस्तुत गरिएको छ भनेर केही गीतका अंशहरूलाई साक्ष्यका रुपमा लिएर अध्ययन–विश्लेषण गरिएको छ ।
कुनै पनि वस्तुको उत्पादनका लागि अर्थात् जीवन निर्वाहका लागि गरिने मिहिनेतलाई श्रम भनिन्छ । श्रमलाई पनि शारीरिक र बौद्धिक गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । शारीरिक शक्तिको प्रयोगमा आधारित श्रम शारीरिक श्रम हुन्छ भने मानसिक दक्षताको उपयोगद्वारा गरिने श्रम बौद्धिक श्रम हुन्छ । शारीरिक श्रम गर्ने व्यक्तिहरू मजदुर, ज्यामी, किसान आदिका रूपमा परिचित छन् भने बौद्धिक श्रम गर्ने व्यक्तिहरू शिक्षक, पत्रकार, प्राध्यापक, वकिल आदि नामबाट परिचित छन् । मानसिक श्रम गर्नेहरू बुद्धिजीवीका रूपमा चिनिन्छन् । श्रमद्वारा जीवन चलाउने व्यक्तिहरू श्रमजीवी हुन् । श्रमजीवीहरू श्रमअनुरुपको प्रतिफल चाहन्छन् ।
खुसीराम आजीवन श्रमको गीत गाएका गायक हुन् । यिनका प्रायः गीतहरूमा श्रमलाई उच्च सम्मानका साथ प्रस्तुत गरिएको छ । यिनका अधिकांश गीतहरू बिना श्रम बाँच्न चाहने मान्छेका विपक्षमा सिर्जित छन् । श्रमको शोषण गर्ने वर्गप्रति आक्रोश व्यक्त गर्दै यिनले सर्वहारा वर्गको वर्गीय मुक्तिको चाहनामा गीतहरू सिर्जना गरेका छन् । मानव जातिकै सामूहिक संसार बनाउने दृढ अठोटमा यिनको प्रस्तुत ‘रक्तक्रान्तिका गीतहरू’ सङ्ग्रहका गीतहरू सिर्जित÷सङ्कलित छन् ।
देशको मुहार फेर्नका लागि श्रमजीवीहरूले सङ्कल्प गर्नुपर्छ भन्दै पाख्रिनले अँधेरी रात, वर्षा, पहाड, भोक केही नभनी मुक्तियुद्धमा होमिने वीरहरूको श्रमको महिमालाई अद्वितीय मानेका छन् । दुनियाँ बदल्नका लागि लडाइँ अपरिहार्य छ । सत्ता बदल्नका लागि श्रम अपरिहार्य छ । युद्धका लागि हातहतियार श्रमिकहरूद्वारा नै तयार पारिएका हुन्छन् । युद्धको मैदानमा अग्रपङ्क्तिको मोर्चा सम्हाल्नेहरू पनि श्रमिक नै हुन्छन् । ठुलाठुला युद्ध, आन्दोलन तथा परिवर्तनहरू श्रमिकहरूको साथ र सहयोग बिना सफल भएको इतिहास विरलै पाइन्छ । आफ्नो वर्गको स्वार्थलाई शिरोपर गर्नेहरू नै वास्तविक श्रमिक हुन् ।
जो श्रम गर्छ उसमा माटाको माया बढी हुन्छ अर्थात् देशप्रतिको माया बढी हुन्छ । मुक्तियुद्धमा लागेका सिपाही अर्थात् श्रमिकहरू स्वाभिमानी हुन्छन् । देशभित्र पराइका बुटहरूले परेड खेलेको उनीहरू मन पराउँदैनन् । देशको दुःख उनीहरूले बुझेका हुन्छन् । देश रुँदा उनीहरूको पनि मन रुन्छ । विस्तारवादी खुरहरू काट्नका लागि मजदुरहरू हतियार निर्माण गर्दछन् । भोको पेट र नाङ्गो आङमा गोली दाग्नेहरूका विरुद्धमा पाख्रिनले निकै धारिला शब्दहरूको संयोजन गरेका छन् । निम्न वर्गका श्रमिक मजदुरहरूको बाँच्न पाउने हक खोसिएपछि पाख्रिनको पारो तात्छ । यिनी श्रमजीवी नेपालीहरूको स्वाभिमानलाई उच्च बनाउन चाहन्छन्ः
देखादेखी पूर्वपश्चिम सीमा मिच्दाखेरि
लछप्पै रगतले माटो भिज्दाखेरि
यो भूमिमा पराइको छाउनी बस्दाखेरि
हाम्रो छाती बुटले टेकी बैरी हाँस्दाखेरि
धुरुधुरु देश रुँदा हाम्रो मन रुँदो रै’छ
स्वाभिमानी नेपालीको मुटु छुँदो रै’छ ।
... ...
भोको पेट र नाङ्गो आङमा गोली ठोकेपछि
मानिसको बाँच्न पाउने हक खोसेपछि
रगतका आहालमा जीवन डुबेका छन्
आज झुप्रा गाउँबस्तीलाई दुःख्नु दुःखेका छन् ।
(धुरुधुरु देश रुँदा, पृ. १२)
अत्याचारको विरोध गर्नेहरूलाई उग्रवादीको बिल्ला भिराएर गोली ठोक्ने वा मुद्दा लगाउने प्रवृत्तिको विरोध गर्दै पाख्रिनले आततायी सत्ताका विरुद्धमा आफ्ना गीतहरूमार्फत जेहाद छेडेका छन् । निरङ्कुश राज्यसत्ताले श्रमिक वर्गको कहिल्यै हित गर्दैन भन्दै गीतकार पाख्रिनले सर्वहाराहरूलाई ब्युँझाउने काम गरेका छन् । संसार जित्ने लडाइँमा ज्यानको पर्वाह नगरी होमिन आग्रह गर्दै उनले आफ्ना गीतहरू मार्फत श्रमिकहरूको चेतनालाई ब्युँझाएका छन् । समाजमा वर्ग रहेसम्म वर्गीय विभेद कायमै रहन्छ । पुँजीपतिहरूले आफ्नै वर्गको हितका लागि श्रमजीवी वर्गको श्रम लुट्ने गर्छन् । श्रमजीवीहरूकै पसिनाबाट उनीहरूले लुटको साम्राज्य खडा गर्छन् । न्यूनतम् ज्यालाको अभावमा श्रमिकहरूको परिवारले साँझबिहानको हातमुख जोर्न कठिन छ । मजदुरहरूका बालबलिकालाई रुवाएर पुँजीपति वर्ग अट्टहास छोड्छ । जति बढी श्रमको शोषण गर्न सक्यो उति नै बढी पुँजिपति वर्ग सम्पन्न हुँदै जान्छ । यस्तो अवस्थालाई छर्लङ्ग देखाउँदै उनले सिर्जना गरेका छन्ः
बस्ने बासको ठेगान छैन मेसिन चलाउनेको
मर्नेसम्म ठाउँ छैन ढुङ्गा पल्टाउनेको
उठ उठ हे सर्वहारा ! आउँछ सुदिन सामन्ती मासेर
हारे जाला यो एउटा ज्यान, जिते आउँछ यो सिङ्गो संसार ।
धेरै कामको थोरै ज्याला दिने भएपछि
थोरै चिजको धेरै मूल्य लिने भएपछि
अत्याचारी फटाहाहरू किन हुन्नन् धनी
गरिब झन्झन् सर्वहारा त्यसैले त हो नि
उठ उठ हे सर्वहारा ! ...
बिना श्रम त्यसका बाउको त्यसै थुप्रिँदैन
गरिबलाई नमारेर कोही धनी हुन्न
चिन्न पर्यो गरिब मारी हाँस्दै रमाउनेलाई
ठोक्नुपर्छ धनी पोसी शासन चलाउनेलाई
उठ उठ हे सर्वहारा !...
(जिते आउँछ यो सिङ्गै संसार, पृ. १५)
पाख्रिनले गलैँचा कारखानामा काम गर्ने मजदुरहरूको पीडालाई पनि आफ्ना गीतमा सम्बोधन गरेका छन् । नेपालमा गलैँचा कारखानामा काम गर्ने मजदुरहरूको ज्याला निकै कम छ । गरिबीका कारण निम्न ज्यालामा काम गर्न पनि मजदुरहरू बाध्य छन् । पेट पाल्नका लागि आफ्नो शरीरलाई सास्ती दिएर गर्नुपर्ने यस किसिमको मजदुरीको कामले जीवन नै धरापमा पर्ने अवस्थाप्रति पाख्रिन चिन्तित छन् । बालबालिकालाई बँधुवा मजदुर बनाएर आफू धनीमानी तथा ठालु बन्न रुचाउनेहरूप्रति उनको आक्रोश छः
गलैँचाको धागाले के पोल्छ त्यति आगाले
हातको औँला खाइसक्यो, कलिलो जुनी गइसक्यो
गरिब चुस्ने शोषकलाई घोक्र्याउने बेला आइसक्यो ।
(हिन्ला ले चमु तम हिन्ला, पृ. १६)
पाख्रिन भविष्यप्रति आशावादी सर्जकका रुपमा देखिएका छन् । आधार किल्लाहरू निर्माण गर्दै जनसत्ताका लागि अगाडि बढेको अवस्थामा पाख्रिन जनयुद्धद्वारा श्रमिकहरूको सत्ता स्थापना हुनेमा विश्वस्त छन् । जनसत्ताको स्थापना हुनेमा उनी ढुक्क छन् । रात बितेपछि सूर्योदय अवश्यम्भावी छ र त्यस सूर्योदयका लागि श्रमजीवीहरूको भूमिका सर्वोपरि हुनेमा विश्वस्त हुँदै उनले गाएका छन्ः
जनताको श्रमपसिनाबाट उज्वल हुँदै छ
हजारौँ वीरको रगतमा नयाँ सिर्जना फुल्दै छ
.......
यो नयाँ जनसत्ता हाम्रो क्या राम्रो बन्दै छ
हजारौँ वीरको रगतमा नयाँ सिर्जना फुल्दै छ
(यो नयाँ जनसत्ता हाम्रो, पृ. २२)
जहानपरिवार पाल्नका लागि चर्को घाम र दर्के झरी सहेर परिश्रम गर्नेहरूका पक्षमा पाख्रिनका गीतहरू सिर्जित छन् । धर्तीपुत्र किसानहरूको पौरखको कदर गर्दै पाख्रिनले उनीहरूलाई अरुसमान हक दिलाउन चाहेका छन् । उत्पीडितहरूको उत्पीडनका सन्दर्भमा पाख्रिन उत्तिकै चिन्तित छन् । घामपानीसँगै पसिना काढ्ने श्रमजीवी एवम् समानताको अधिकार खोज्ने उत्पीडित जातिलाई यिनले मुक्तिको बाटो देखाउन चाहेका छन् । अधिकार मागेर पाइन्थ्यो भने हाम्रो समाजले आज यो दुर्गति व्यहोर्न पर्दैनथ्यो । शासकहरू श्रमिक–मजदुरलाई सहजै अधिकार दिन चाहँदैनन् । उनीहरू मजदुर किसानहरूको हकलाई जहिल्यै कुण्ठित गर्दछन् । आफ्नो अधिकारका लागि मजदुरहरूले सङ्गठित विद्रोह गर्नुबाहेक अर्को कुनै विकल्प नरहनेतर्फ पाख्रिनले सङ्केत गरेका छन्ः
श्रमिकको कमाइ सधैँ शोषकलाई किन ?
ल्याउनुपर्छ आफ्नो कमाइ आफै खाने दिन
पाउनुपर्छ खेतबारी जसले बिउ छर्छ
हुनुपर्छ कलकारखाना जसले श्रम गर्छ
नखोसे अधिकार पाइन्न मागेर कसैले दिँदैन
(नखोसे अधिकार पाइन्न, पृ. २९)
पसिना काढेर दुःखमा बाँच्नेहरूलाई पाख्रिनले क्रान्तिमा लामबद्ध हुनका लागि आह्वान गरेका छन् । पाख्रिन हरेक क्रान्तिमा मजदुरहरूको सहभागिता अनिवार्य ठान्छन् । उनी मजदुरहरूलाई क्रान्तिमा स्वागत गर्न चाहन्छन् । शदीयौँदेखि जातीय भेदभाव तथा उत्पीडन सहेर बाँचेकाहरूलाई पनि पाख्रिनले ब्युँझाउन चाहेका छन् । असमानताको जाँतामा पिनिएका भुइँमान्छेहरूका पक्षमा उनको कलम सशक्त रुपमा चलेको छ । उनी पौरखीहरूको पाखुरामा देश मुस्कुराउँछ भन्दै लेख्छन्ः
श्रमिकको पसिनामा धर्ती जगमगाउँछ
साहसीको रगतमा युग उदाउँछ
हामी नै हौँ यो माटोमा मोती फलाइदिने
हामी नै हौँ ढुङ्गा फोरी हीरा उब्जाइदिने
मिहिनेतले सिर्जनाको मुहान खोल्न सक्ने
आफ्नै सिप र कौशलले जीवन फेर्न सक्ने
(पौरखीको पाखुरीमा, पृ. ४२)
पाख्रिनले श्रमजीवीका ज्यावलहरूको पनि महत्व बुझेका छन् । श्रम गर्ने साधनहरूलाई प्राथमिकतामा राखेर उनले गीतहरूको सिर्जना गरेका छन् । बृद्धहरूले गैँती बोकेर बाटो खनेका, बृद्धाहरूले बेल्चाले माटो फालेका, दिदीबहिनीहरू आआफ्ना साधनका साथ कम्मर कसेर काममा जुटेका, दाजुभाइहरू घनद्वारा ढुङ्गा फोरिरहेका श्रमबिम्बहरू प्रस्तुत गर्दै पाख्रिनले पसिनाको थोपासँगै देशले काँचुली फेर्दै गरेको अवस्थालाई प्रस्तुत गरेका छन् । कर्मले नै भाग्य निर्माण गर्ने हो भन्दै उनले कर्मको महत्व बुझाएका छन् । ‘बुढी आमैले बेल्चा समाई माटो फालेको \ माटो मात्रै होइन फालेको, देख्यौँ हामीले देशले नयाँ रातो चोली फेर्न थालेको’ (पृ. ४५) भन्दै पाख्रिनले देश अग्रगमनतर्फ उन्मुख भएको सङ्केत गरेका छन् । सिङ्गो जिन्दगानी नै श्रमका साधनमा मात्रै लुटपुटिएकामा पाख्रिन सन्तुष्ट छैनन् । उनी गाउँछन्ः
बुढा बाउको जुनी बित्यो हलो कोदालामा
बुढी आमाको ज्यानै गल्यो डोको हँसियामा
जाऊँ त अब साथी हो मुक्तिसेनामा
गरिबदुःखी जनताका निम्ति लडौँला
मरे पनि मरौँला युद्धभूमिमा
(जाऊँ त अब मुक्तिसेनामा, पृ. ४६)
श्रमिकहरूका लागि कहिल्यै सुखका दिन आएका छैनन् । कहिले चिसो सिरेटामा कठ्याङ्ग्रिँदै त कहिले चर्को घाममा रापिँदै भोक, प्यास र निद्रा नभनी जोतिनुपर्छ । हातगोडा थाक्छन्, ज्यान गल्छ तर पनि श्रमजीवीहरू विचलित हुँदैनन्, नवनिर्माणमा निरन्तर अगाडि बढिरहेका हुन्छन् । परिवर्तनका लगि जुझ्दाजुझ्दै जिन्दगानी नै अर्पण गर्नुपर्छ भने पनि उनीहरू पछि हट्दैनन् । यो उनीहरूलाई गरिबी र शासकहरूको अत्याचारले सिकाएको पाठ हो । आफूहरूमाथि जति दमन हुन्छ त्यति नै उनीहरू क्रान्तिप्रति समर्पित हुन्छन्; दुःखको आँसुलाई आक्रोशमा परिणत गर्छन् ।
श्रमिक जसको अथक परिश्रमले संसार सजाउँछ, जसले बाटो बनाउँछ, रगत छाद्दै पहराहरू फोर्छ; प्राणको बाजी लगाएर, आफ्नै आँत छिनाएर भिरपखेरालाई समथर मैदान बनाउँछ । शासकका अन्धभक्त ठेकेदारहरू मजदुरहरूलाई मान्छेको श्रेणीमा राखेर व्यवहार गर्न चाहँदैनन् । उनीहरू मजदुरलाई मान्छे नै गन्दैनन् । जोखिमपूर्ण कामका सिलसिलामा कतिपय मजदुरहरूको कार्यस्थलमै निधन हुन्छ, कतिपय अङ्गभङ्ग तथा घाइते हुन्छन् । श्रमिकहरूको श्रम लुटिएकाप्रति पाख्रिन निकै चिन्तित बनेका छन्ः
गैँतीबेल्चा उचालेर पहरालाई छिचोलेर
डाँडाकाँडा बाटो बनायो, के खायो नि कुल्ली दाइले
के पायो नि कुल्ली भाइले, अर्कैले ट्याक्सी गुडायो
(गैँतीबेल्चा उचालेर, पृ. ७६)
श्रम गर्ने महिलाहरूमाथि हुने अन्यायको विरोध गर्दै पाख्रिनले आफ्ना गीतहरूमार्फत महिला अधिकारको आवाज पनि बुलन्द पारेका छन् । पुरुषसमान गरिने काममा पुरुषसमानको ज्याला नभएकाप्रति पाख्रिनको आक्रोश छ । सामन्ती चिन्तन बोकेको समाजले महिलालाई घरेलु तथा बँधुवा मजदुरको रुपमा व्यवहार गरेको छ । अधिकांश ग्रामीण महिलाहरूको जीवन वनजङ्गल र घाँसदाउरामा सीमित रहेको छ । महिलाहरू पैत्रिक सम्पत्तिमा ठगिएका छन् । उनीहरूले छोरासमान अंश पाएका छैनन् । अब हाम्रा दिदीबहिनीहरूले पशुको जस्तो जीवन बाँच्नु हुँदैन भन्दै पाख्रिनले महिलाहरूलाई सामन्तहरूले बनाएको कानुन च्यात्नका लागि आह्वान गरेका छन् । समान कामको समान ज्याला र पुरुषसरह अधिकारका लागि पाख्रिन लेख्छन्ः
रातदिन घाँसदाउरा हत्केलीमा ठेला
अंश खाने छोरा मात्रै छोरीलाई हेला
(हाम्री चेली, पृ. ७८)
हाम्रो समाजमा श्रमिकहरूको जीवनयापन दयनीय अवस्थामा छ । उनीहरू चुहुने झुपडीमा लालाबालाहरूसहित जीवन गुजार्न बाध्य छन् । न छोराछोरीलाई पेटभरि खुवाउन सक्छन् न त राम्रा लुगाफाटो नै दिन सक्छन् । आर्थिक अवस्था कमजोर भएपछि जीवन दुःखपूर्ण हुनु स्वाभाविक छ । न आङमा गतिलो टालो, न त बिरामी पर्दा ओखतीमुलोको व्यवस्था, घाउखटिराका दर्दनाक पीडा सहेर बाँचेका बालबालिकाहरूदेखि ग्रामीण हलीखेतालाहरू सबै यही देशका नागरिक हुन् । वास्तवमा हाम्रा सच्चा नागरिकहरू यिनै हुन् । तिनीहरूमाथि राज गर्ने ठालुहरूलाई चुनौती दिँदै पाख्रिनले गाएका छन्ः
कालो वनको बिचैमा खेतालाको गाउँ
सानासाना झोपडी छैनन् आमा बाउ
भोकानाङ्गा नानीहरू खेलिरहने ठाउँ
हाम्रो देशको व्यवस्था हेर्न त्यहाँ जाऊँ
(कालो वनको बिचैमा, पृ. ७९)
भरियाहरूको व्यथालाई पनि पाख्रिनले बुझेका छन् । अर्काको भारीमा जिन्दगी घिसार्नुको पीडा असह्य हुन्छ । रातदिन भारीले शरीर जीर्ण हुँदा पनि भरिया दाजुभाइहरूको थाप्लाबाट नाम्लो टुट्दैन । साहुहरू भरियालाई गोरु झैँ जोताउँछन् । अप्ठ्यारो बाटामा शरीरभन्दा ठुलो र गह्रुङ्गो भारी बोकेर बाँच्नुको विवशता देख्दा पाख्रिनमा आक्रोशको पारो चढेको छ । श्रमिकहरू रातदिन काम गर्दा पनि खान नपाउने तर साहुहरू बसीबसी खाने प्रवृत्ति देख्दा पाख्रिनलाई रिस उठेको छ । साहुको ऋण चुक्ता गर्नका लागि साह्रै सस्तो मोलमा ज्यान बेचेका भरियाहरूलाई आन्दोलित हुनुको विकल्प छैन भन्दै पाख्रिनले लेखेका छन्ः
गरिबको छोरा सोचेको कुरा कहिल्यै पुगेन
छातीमा रगत जमाउँदा पनि साहुको ऋण चुकेन
कसले पो देख्छ हत्केलामाथि यो ज्यान राखेको
महलमा बस्ने त्यो चस्मे साहुले ज्यालामा ठगेको
हाम्रो हाड घोटी साहु र महाजन लगाउँछन् चन्दन
छिनाल्ने दिन आउनेछ एक दिन त्यस्ताको गर्धन
(अर्काको भारी, पृ. ८२–८३)
अन्त्यमा, ‘रक्तक्रान्तिका गीतहरू’ मा सङ्कलित गीतहरूको अध्ययन गर्दा पाख्रिन श्रमजीवी जनताप्रति समर्पित गीतकार/गायक हुन् । यिनले आफ्ना गीतहरूमार्फत श्रमिकहरूले कामअनुरूपको ज्याला पाउनुपर्छ भन्ने आशय व्यक्त गरेका छन् । यस सङ्ग्रहका अधिकांश गीतहरूमा श्रमको महिमा गाइएको छ । श्रम शोषण गर्नेहरूको उछितो काढिएको छ; दमनकारी राज्यसत्ताले श्रमिकहरूमाथि गरेको अन्याय–अत्याचार एवम् दमनको विरोध गरिएको छ । सङ्गृहीत यी गीतहरूमा श्रमिकहरूको हक–अधिकारका लागि आवाज बुलन्द पारिएको छ ।
पोखरा- १७, कास्की