19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अङ्गज

कविता कृष्ण उपाध्याय December 12, 2023, 5:19 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

१.
अहिले अङ्गनाका हातमा पलाशका फूल छन्
नफक्रिएका गुच्छा छन् पलाशका,
शुद्ध, स्निग्ध, गन्धहीन, सुगन्धहिन
गुच्छा छन् अङ्गारिकाका ।

अनि अङ्गनाका अतल छातिका गर्तमा छन्
मेरो चिनो,
काला काला चिल्ला चिल्ला गोला गोला प्रस्तर,
गोला गोला प्रस्तर गण्डकीका ।

मेरो चिनो बोकेर
मेरो तिरै तिर हिाडिरहँदा,
अङ्गना माथि
माथि माथि आकाशमा
चिरबिरे चरा उड्छन्,
औष्म्य आश्विनको आक्रामक आकाशबाट
चिरबिरे चरा
शितल शितल छाँया झार्छन् ।

हिमालका हिमशैलको जस्तो
शितलताको अनुभूतिमा अङ्गना,
स्वैरताकी स्वैरिणी,
स्वैर अङ्गना स्वैर यात्रामा हुन्छे,
चरा दक्षिण उड्छ्न्
अङ्गना पुर्व हिड्छे
चरा मेरो तिरै तिर उड्छन्
अङ्गना हिड्छे राप्तीको तिरै तिर ।

अहिले अङ्गना
सौराहा पारिबाट सौराहा हेर्छे,
युवा यवन
यौवना यवनि
सौराहा वाट अङ्गना हेर्छन,
हरिण हरिणी हेरे जस्तै।

अङ्गना यवनिका सुनकेसरीका जस्ता केश हेर्छे,
मादकताका यवनिहरु
मादकताका यवनहरु
छोडेर मधुशालाका क्रुरकक्ष
अक्रुर भावमा
शान्त, सुशान्त राप्तीतिरमा उभिन्छन्
शान्त, सुशान्त अङ्गना हेर्छन् ।

शान्त, सुशान्त अङ्गना
यवन यवनि हेर्छे,
मादक यवन यवनि हेरिरहन्छन् अङ्गना,
अङ्गी अङ्गना र अङ्गीका अङ्ग ।

यवन यवनि
लामा लामा हात देख्छन्
हातमा फुलको गुच्छा देख्छन्
काला काला कपाल देख्छन्
लामा लामा आँखा देख्छन्
ललित ललिताको लावण्य देख्छन्,
अनि देख्छन्
सुन्दर आभूषण र परिधानमा
सुन्दर सुगठित शरीर
त्यसैमा
विमद विवक्षु वक्षौज ।
वनका हरिण देखेर पर्यटक उछालिए जस्तै
यवन यवनि
खुशीमा गिलास ठङ् ठङ् ठोक्काउँछ्न्
उफ्रिन्छन्
अनि हेर्छन्
नितम्बिकाका निधक नितम्ब,
अनि
मन बस्ने मध्यम मध्यमा ।
मादकतामा मोहित,
मादकतामा उल्लासित् यवन यवनि
फेरी गिलास आकाश तिर उचाल्दै
ठङ् ठङ् ठोक्काउँछ्न्
उफ्रिन्छन्,
चिच्याउछन्
अफ्रुडाइटि ! अफ्रुडाइटि !

फेरी अङ्गना तिर फर्किन्छन्
फेरी चिच्याउछ्न्
अफ्रुडाइटि ! अफ्रुडाइटि !

मेरो महापुरुष !
यवन यवनिका मनमा
यवन यवनिका आँखामा,
वस्त्रको कलेवरमा
निर्वस्त्र छ अहिले अङ्गना !

अफ्रुडाइटि ! अफ्रुडाइटि ! सुनिरहँदा,
मौन मृदु हाँसोमा
अङ्गना अन्यमनस्क हुन्छे
अङ्गाना पारिपट्टिको जितिया नाँच हेर्छे ।

तरुणीहरुका तन्मयी नृत्यमा
तरुणहिरुका सौम्य शृंगारमा
तरुणीहरुका नृत्यभावमा
अङ्गना तन्मयी हुन्छे,
सौम्या हुन्छे
नृत्यभावमा हुन्छे,
जितिया भावमा हुन्छे,
वारि हुन्छे राप्तीको,
रातमा राप्ती तरेर ।

२.
रातमा राप्ती तरेर आउँदा
रात अझै थियो
रात अझै छिप्पिदै थियो
संगीत थियो
तरुण तरुणी थिए
उनैका भावमा अलंकृत हुन्छन अङ्गनाका भाव
अङ्गना अंशुमतिमा युगल नाचको भावमा हुन्छे,
तरुणीहरु सँगै जितिया नाच नाच्छे ।

तरुणीहरु सँग जितिया नाचिरहँदा,
चमिकिलो चन्द्रमा हराएको रातमा
अध्यारो रातको अँध्यारो कुनामा
अङ्गना अनौठो अनुभव गर्छे
छाँया हिडेको देख्छे
नजिक पुग्दा,
प्रकाशमा
अग्लो अवयव देख्छे
लामा लामा घुम्रेका कपाल
चौडा चौडा उठेका छाती
चम्किलो चम्किलो मुहार
मधुर मधुर मुस्कान
लामा लामा सुन्दर आँखा
सुन्दर आँखीभौं ।

अवयव अविरल गतिमान छ
अङ्गना अविरल गतिमान छ,
गतिमान राप्तीको तिरमा
अवयव गतिहीन हुन्छ
गतिहीन हुन्छे अङ्गना ।

गतिमान राप्तीको तिरमा
गतिहीन छ अटवी अट्टालिका,
गतिमान छन् अटवी अट्टालिका भित्रका प्रकाश,
रंगी विरंगी प्रकाश गतिमान छन्
यवन यवनिका नृत्य पद चाप सँगै
संगीतका ताल सँगै ।

अङ्गना अवयव पछ्याई रहँदा,
देख्छे अग्लो अवयवको
लामा लामा घुम्रेका कपाल
चौडा चौडा उठेका छाती
कालो कालो अनुहार
त्यसमा
मधुर मुस्कान ।

अवयव अटवी अट्टालिका भित्र आउँछ
रंगी विरंगी प्रकाश भित्र आउँछ,
यवन यवनिका नृत्य मंचमा आउँछ ।
अनि गुन्जिन्छ यवन यवनिका समवेत स्वरः
अङ्गज ! अङ्गज !
अङ्गज ! अङ्गज !
अङ्गज ! अङ्गज !

यवनि यौवनाका अँगालोमा हुन्छ अङ्गज
अङ्गज अँगालोमै नाँच्न थाल्छ,
अध्यारोको अँगालोमा कसिएर अङ्गनाकुनावाट हेर्छे
अङ्गज र यवन–यवनिका नृत्य ।

नृत्य मंचमा,
धुवाँका मुस्ला उठ्रछ्न्
प्रकाश रंगी विरंगी रंग फेर्दै फेरा लाउँछन्
नृत्यमंचका नृत्यङ्गनाको,
तरंगित ताण्डव तालमा
तरंगित तालमा
मादक नृत्यङ्गना
मादक नितम्बिका नितम्बका ताल मिलाउछ्न् ।
धुवाँका मुस्ला भित्रका नृत्यङ्गना
मादक नितम्बिका
आफै पनि धुवाँका मुस्लो छोड्छन्,
नाच्दै अंगजको फेरा लाउँदा लाउँदै ।

अङ्गज प्रेम हो मादकताका यवनिका
अंगज देव हो मादकताका यवनिका
काम हो
देव हो,
कामदेव हो मादकताको,
मादक यौवना उसैको उपासना गर्छन औस्म्य ओठले,
उसका औस्म्य ओठले उसैको उपासित पनि हुन्छन् ।

अङ्गना अँध्यारोमा उभिएर हेरी रहन्छे,
अनायास अँध्यारोबाट निस्कन्छे,
अङ्गना आउँदा यवन यौवनाका समवेत स्वर गुन्जिन्छः
अफ्रुडाइटि ! अफ्रुडाइटि !
अफ्रुडाइटि ! अफ्रुडाइटि !
अफ्रुडाइटि ! अफ्रुडाइटि !

अङ्गज अङ्गना हेर्छ
यवन यवनिले देखे जस्तै,
उ पनि अङ्गनाका
लामा लामा हात देख्छ
हातमा फुलको गुच्छा देख्छ
काला काला कपाल देख्छ
लामा लामा आँखा देख्छ
ललित ललिताको लावण्य देख्छ
अनि देख्छ
सुन्दर आभूषण र परिधानमा
सुन्दर सुगठित शरीर
त्यसैमा
विमद विवक्षु वक्षौज,
निताम्बिकाका निधक नितम्ब,
अनि
मन बस्ने मध्यम मध्यमा ।

अंगजलाइ अङ्गना पराइ पर्यटक लाग्दैन
अंगज अङ्गना पराइ अङ्गी मान्दैन,
मादकताको माहौलमा मादक अङ्गना
अंगज कालु जस्तै लाग्छ
उसले पछ्याएको कालु
भगौडा कालु !

त्यसैले त यवन यवनि बिच
अङ्गना र अंगज
मधुर संगीतका मधुर ताल र भावमा नाच्छन्
प्रेमालिङ्गन र प्रेमालिङ्गनको भावमा नाच्छन्,
आलिङ्गनमा हुन्छन्,
प्रेमालिङ्गनमा बाहिरिन्छ्न्
अटवी अट्टालिकाबाट
उज्यालोबाट
अँध्यारा अँध्यारा रातमा ।

अङ्गनालाई अनन्त आनन्दको अनन्त वर्ष लाग्छ प्रेमालिङ्गन
अनन्त वर्ष आनन्दको
त्यै आनन्दमा उ निस्कन्छे अँध्यारो रातमा,
अनन्त अँध्यारोमा ।

उज्यालोमा उठ्दा
अनन्त अन्धकार थिएन
थिएन अङ्गनाको अनौठो मादकता.
थिएन शरीरमा शबल वस्त्र
अङ्गनाको अङ्गज पनि थिएन ।
मात्र थिए उसले बोकेका
पलाशका फूल र कालो ढुंगा !

नोटः
अफ़्रुडाइटि= Aphrodite
यवन= ग्रीक पुरुष
यवनि= ग्रीक महिला

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।