18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बालकृष्ण समका नाट्यप्रवृत्ति

कृति/समीक्षा नारायण मरासिनी December 19, 2023, 12:38 pm
नारायण मरासिनी
नारायण मरासिनी

बालकृष्ण सम (१९५९–२०३८) गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले नेपाली भाषाका प्रमुख नाटककार हुन् । समको ‘मुटुको व्यथा’ (१९८६) बाट नेपाली नाटकमा आधुनिक युगको सुरुवात भएको मानिन्छ । यिनले तिन दर्जन जति पूर्णाङ्की र दुई दर्जन जति एकाङ्की नाटक लेखेका छन् (पोखरेल, २०६२, पृ.३४२) । यिनका ‘मुटुको व्यथा’ (१९८६), ‘अन्धवेग’ (१९९६) लगायतका केही नाटकहरू सामाजिक विषयवस्तुमा आधारित छन् । ‘ध्रुव’ (१९८६), ‘प्रह्लाद’ (१९९५) यिनका पौराणिक विषयवस्तुमा आधारित नाटक हुन् भने ‘अमरसिंह’ (२०१०), ‘भीमसेनको अन्त्य’ (२०१२) लगायत केही नाटकहरू ऐतिहासिक विषयवस्तुमा आधारित छन् । परिणतिका दृष्टिले यिनका सुखान्त नाटकहरूमा ‘मुकुन्द–इन्दिरा’ (१९९४), ‘तलमाथि’ (२०२३) आदि र दुःखान्त नाटकहरूमा ‘प्रेमपिण्ड’ (२००९), ‘स्वास्नीमान्छे’ (२०३४) आदि रहेका छन् । भाषाशैलीको प्रयोगका आधारमा समले गद्यप्रधान र पद्यप्रधान गरी दुई प्रकारका नाटकहरू लेखेका छन् । गद्यप्रधान भाषामा ‘प्रेमपिण्ड’, ‘तलमाथि’, ‘स्वास्नीमाान्छे’ आदि रहेका छन् भने पद्यप्रधान भाषामा ‘मुटुको व्यथा’, ‘अन्धवेग’ आदि रहेका छन् । यसरी नै अङ्क, दृश्य र आयामलाई आधार मानेर हेर्दा यिनका नाटकहरू पूर्णाङ्की र एकाङ्की गरी दुई प्रकारका रहेका छन् । यस सङ्कथनमा नाटकका तत्व एवम् समद्वारा सिर्जित पूर्णाङ्की नाट्यकृतिहरूको अध्ययनका आधारमा समका नाट्यप्रवृत्तिहरूको विश्लेषण गरिएको छ । विश्लेषणका क्रममा समका नाट्यकृतिहरूका अतिरिक्त समको नाट्यकारितासँग सम्बन्धित पूर्व प्रकाशित पत्रपत्रिकाका लेख एवम् समीक्षा र पुस्तकहरूको सहयोग लिई ‘उनीहरू भन्छन्, म भन्छु’ पद्धतिको उपयोग गरिएको छ ।
नेपाली नाटकका क्षेत्रमा समको आगमनपूर्वका नाटकहरूमा नेपाली मानसिकता र नेपाली जीवनभोगाइको यथार्थ प्रस्तुति पाइँदैन । १९८६ मा ‘मुटुको व्यथा’ प्रकाशन हुनुभन्दा पहिले अनुवाद तथा रूपान्तरणको परम्परा थियो । यस परम्परालाई अन्त्य गरेर नेपाली समाजका पात्रलाई चयन गरी समले नाटक लेखनको सुरुवात गरेका छन् (रिमाल, सन् २०१६) । नेपाली समाज र परिवेशलाई केही मात्रामा आधार बनाएर पनि यसपूर्व नाटक लेखिएकै थिए । केशवप्रसाद उपाध्यायका अनुसार नेपाली भाषामा मौलिक नाटकको प्रथम स्रष्टाका रूपमा पहलमान सिंह स्वाँरको योगदान अविस्मरणीय रहेको छ । नेपाली नाट्यकलामा सर्वप्रथम दुःखान्त नाट्यकलाको प्रवेश गराएर स्वाँरले नाटकीय क्षेत्रमा ल्याएको नौलो मोड उल्लेखनीय रहेको छ (उपाध्याय, २०५२, पृ.४५) । उपाध्यायको यो भनाइ अलि बढी विचारणीय छ अर्थात् यस भनाइले सन्देह उत्पन्न गराएको छ किनभने सम्पूर्ण रूपमा नेपाली परिवेशका घटनावली, चरित्र, वातावरण तथा रहनसहनलाई चित्रण गरेर स्वाँरले ‘अटलबहादुर’ लेखेका होइनन्, अझ यो नाटक अङ्ग्रेजी नाटककार सेक्सपियरको ‘ह्याम्लेट’बाट बढी प्रभावित छ । यसैले नेपाली समाजलाई आधार बनाएर समले नै सर्वप्रथम मौलिक नाटकको सिर्जना गरेका हुन् । यस अर्थमा पनि मौलिक लेखनलाई समको एउटा नाट्यप्रवृत्ति मान्न सकिन्छ ।
नेपाली समाजका यथार्थ घटना–परिवेशलाई आधार बनाएर सर्वप्रथम आधुनिक तथा मौलिकपनका नाटक लेख्ने नाटककार भनेर केही समालोचकहरूले मौलिकता र सामाजिकतालाई समको एउटा नाट्यप्रवृत्ति मानेका छन् तापनि कतिपय सन्दर्भमा यिनका नाटकमा पाइने सामाजिकता नेपाली परिवेशको यथार्थमा आधारित छैन । ‘ऐसेलु रूखमा चढ्दै टिप्दै खान्थ्यौँ त्यहीँ बसी’ भन्दै ‘मुटुको व्यथा’ नाटककी नायिका कपिलाले आफ्नो बाल्यकालको सुखद् चित्रण शनकलाई सुनाएको प्रसङ्गमा तानासर्मा (आवरणमा तानासर्मा, भित्री पृष्ठमा तानाशर्मा)ले ऐसेलुको रुख चढ्न सकिने खालको हुँदैन भन्ने उल्लेख गरेका छन् (सर्मा, २०५०, पृ.९८) । यहाँ सर्माको भनाइमा सहमत हुँदै के भन्न सकिन्छ भने सम दरबारमा जन्मेहुर्केका स्रष्टा हुन् । उनी दरबारभन्दा बाहिरको ग्रामीण जनजीवन तथा गाउँघरका पाखापखेरी, वनजङ्गलहरूमा पुगेनन् । ग्रामीण जनजीवनमा त्यति बढी घुलमिल हुन सकेनन् । अधिकांश नेपालीहरू जो वनजङ्गल, दाउराघाँस, पानीपँधेरो र मेलापातमा कष्टपूर्ण जीवन बिताइरहेका हुन्छन् तिनीहरूसँग समको सम्पर्क हुन पाएन । उनले जे देखे, दरबारमै देखे; जे भोगे दरबारकै परिवेशमा भोगे । यिनका अधिकांश नाटकहरू नै दरबारमा भोगविलास गरेर बस्ने अभिजात वर्गको मनोञ्जनका लागि लेखिएका हुन् । यस अर्थमा समलाई ऐसेलुका झ्याङका बारेमा ज्ञान नहुनु स्वाभाविक छ र ग्रामीण समाजको चित्रण यथार्थसम्मत नहुनु तथा पूर्ण रूपमा नेपाली परिवेशको जानकारी नहुनु पनि स्वाभाविक छ ।
समले ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर पनि नाटकहरू लेखेका छन् । यी नाटकहरू ऐतिहासिक कालखण्डका विशेष पात्रहरूको जीवनी तथा तत्कालीन घटनामा आधारित छन् । ऐतिहासिक नाटकहरू ‘भीमसेनको अन्त्य’, ‘अमरसिंह’ लगायतमा राष्ट्रप्रतिको सद्भाव बढी पाइन्छ । राष्ट्रप्रेम उनको नाटक लेखनको एउटा विशेषता हो । यी नाटकमा भीमसेन र अमरसिंह राष्ट्रियताको भावनाले ओतप्रोत पात्रका रूपमा आएका छन् । यिनका नाटकमा पाइने राष्ट्रप्रेम भूगोल, जाति, संस्कृति र मानवतासँग सम्बन्धित छ ।
यसरी नै स्वच्छन्दतावादी प्रवृत्ति पनि समका नाटकका पाइने एउटा विशेषता हो । समले पूर्वीय र पाश्चात्य नाटककारहरूको चिन्तनलाई स्वीकार गर्दै स्वच्छन्दतावादी चेतनामा आधारित भएर नाटकहरू लेखेका छन् । अतिशय भावुकताका कारण यिनका ‘मुटुको व्यथा’, मुकुन्द इन्दिरा’, ‘अन्धवेग’ लगायतका केही नाटकहरू स्वच्छन्दतावादी बन्न पुगेका छन् । पौराणिक पात्र तथा घटनामा आधारित विषयवस्तुलाई लिएर यिनले ‘ध्रुव’, ‘प्रह्लाद’ लगायतका नाटकहरू लेखेका छन् । यसै गरी यिनी दुःखान्त नाटककारका रूपमा पनि परिचित छन् अर्थात् दुःखान्त नाट्यचेतना समको नाट्यकारिताको सर्वाधिक महत्वपूर्ण विशेषता हो ।
यसै गरी प्रयोगधर्मी लेखनलाई पनि समको अर्को एउटा नाट्यप्रवृत्ति मान्न सकिन्छ । यिनको ‘प्रेमपिण्ड’ रङ्गमञ्चका क्षेत्रमा नयाँ प्रयोगका साथ लेखिएको नाटक हो भने ‘स्वास्नीमान्छे’ स्वैरकल्पनामा आधारित नाटक हो । ऐतिहासिक र पौराणिक पात्र तथा घटना–प्रसङ्गलाई कथावस्तुको आधार बनाएर लेखिएका नाटकमा समेत तत्कालीन प्रसङ्गहरूलाई प्रतीकात्मक रूपमा वर्तमानसँग सम्बन्धित बनाउने प्रयत्न गरिएको छ । ‘प्रह्लाद’मा प्रस्तुत भएको ज्ञान–विज्ञानको सन्दर्भ, तत्कालीन र वर्तमान शासन–पद्धति एवम् निरङ्कुशताको सन्दर्भ आज पनि सान्दर्भिक छन् । सामाजिक कथावस्तु भएका नाटकमा पारिवारिक तथा सामाजिक चित्रणका साथै आदर्शको चेत प्रस्तुत भएको छ । जातभात, पतिभक्ति, अन्धविश्वास जस्ता हाम्रा समाजमा परम्परादेखि चलिआएका सामाजिक विकृतिहरूलाई समेटर कथावस्तु बनाई नाटक लेख्नु समको एउटा नाट्यप्रवृत्ति हो । पौराणिक नाटकलाई पनि आधुनिक समाजसँग जोडेर नाटकको सिर्जना गर्नु यिनको लेखनको उल्लेखयोग्य विशेषता हो । यिनका नाटकको कथावस्तुमा आरोह–अवरोह, घात–प्रतिघात तथा मानसिक अन्तर्क्रियाको संयोजन प्रभावकारी पक्षका रूपमा देखापर्दछ । नाटकमा चरित्रभन्दा कथावस्तुलाई बढी महत्व दिइएको पाइन्छ । यी समको नाट्यकारिताका कथावस्तुगत प्रवृत्ति हुन् ।
पात्रविधान वा चरित्रगत प्रवृत्तिमा समले सम्भ्रान्त परिवारदेखि निम्नवर्गीय परिवारसम्मका व्यक्तित्वलाई लिएर नाटकमा चरित्रको निर्माण गरेका छन् । ‘प्रेमपिण्ड’को एडविल, ‘प्रह्लाद’को हिरण्यकशिपु, प्रह्लाद जस्ता पात्रहरू सम्भ्रान्त परिवारबाट लिइएका छन् भने ‘प्रेमपिण्ड’कै नहकुल, सविता जस्ता पात्रहरू निम्न वर्गबाट लिइएका छन् । पात्र चयनमा विविधता समको नाटक लेखनको अर्को एउटा विशेषता हो । यिनी पाश्चात्य परम्पराबाट मात्र नभई नेपाली लोक नाटकबाट पनि प्रभावित छन् । यिनका नाटकमा गाइने, दमाई जस्ता पात्रको पनि प्रयोग पाइन्छ । यसै गरी यिनले आफ्ना अधिकांश नाटकमा मुख पात्र र मित्र पात्रको सिर्जना गरेका छन् । यिनका प्रणय र परिणय दुवै वर्गका पात्रहरू नाटकमा पाइन्छन् । विशेष गरी दुःखान्त नाटकका पात्रहरू जटिल सङ्घर्षबाट अगाडि बढेका हुन्छन् । दुःखान्त नाटकमा ‘भीमसेनको अन्त्य’को भीमसेन, ‘मुटुको व्यथा’को माधव, ‘प्रेमपिण्ड’को नहकुल लगायतका पात्रहरू चरित्रवान् पनि छन् ।
सम दर्शनका ज्ञाता र बौद्धिक चिन्तनले युक्त स्रष्टा हुन् । यिनका नाटकको संवादमा अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दको श्लोकहरूका साथै गीत, गजलको समेत प्रयोग पाइन्छ । ‘प्रेमपिण्ड’ नाटकको समीक्षाका क्रममा समले प्रयोग गर्ने संवादका बारेमा ईश्वर बरालले लेखेका छन्, “संवाद प्रायशः चिटिक्क परेका छन् तथा तिनको चटक्क छिन्ने धारिलो पारा छ, भावमा गाम्भीर्य र दार्शनिकता, भनाइमा विश्लेषण र लाक्षणिकता, भाषामा अलङ्कार र ध्वनिको सिर्जना गर्ने ध्यान बालकृष्णको रघुव्यापार हो” (बराल, २०५२, पृ.४६२) । यसै गरी अर्का समीक्षक रामचन्द्र पोखरेलका अनुसार समका नाटकीय संवादमा सौन्दर्य, काल्पनिकता, उच्च साहित्यिक अभिव्यक्ति प्रकट भएको छ । नाटकमा काव्यात्मक, दार्शनिक, तार्किक, बौद्धिक र सौन्दर्यमूलक अभिव्यक्ति संवादद्वारा प्रकट छ (पोखरेल, २०६२, पृ.३४६) । यहाँ बरालले भनेझैँ केही नाटकका कुनै कुनै प्रसङ्गमा संवादयोजना छोटोछरिता र चिटिक्क परेका पाइन्छन् र ती संवाद पात्रको स्तरअनुकूलका पनि छन् । यसै गरी पोखरेलले भनेजस्तै संवादमा सौन्दर्यमूलक अभिव्यक्ति पनि पाइन्छ तर समका अधिकांश नाटकमा पाइने संवाद सर्वसाधारण दर्शक तथा पाठकका लागि बोधगम्य छैनन्, जटिल प्रकृतिका छन् । अझ कविताका श्लोकहरूद्वारा बोलिएका लामा-लामा संवादहरू सामान्य दर्शक, श्रोता वा पाठकका निमित्त पट्यारलाग्दा पनि छन् । अर्को कुरा, संवादमा भरिएका आलङ्कारिक पदावलीहरू र दार्शनिकतालाई पनि सामान्य दर्शक तथा पाठकले पचाउन कठिन छ । यस अर्थमा समका नाटकमा प्रयोग भएको संवादयोजना जटिल र क्लिष्ट बन्न पुगेको छ ।
समका नाटकमा गीत, गजल, प्रस्तावना र सूत्रधारको प्रयोग अनि अन्त्यानुप्रासविहीन पद्यको उपयोगमा अङ्ग्रेजी नाटककार सेक्सपियरको नाट्यशैलीको प्रभाव रहेको सत्यलाई केही समालोचकहरूले उद्घाटन गरेको पाइन्छ । ‘तानसेनको झरी’, ‘मुटुको व्यथा’, ‘अन्धवेग’ लगायतका आरम्भकालीन नाटकहरूमा यो अवस्था बढी देखिन्छ । तानासर्माका अनुसार सम सेक्सपियरको नाटकीय पद्धतिबाट चौपट्टै प्रभावित र प्रेरित छन् (सर्मा, २०५०, पृ.७९) । सम सेक्सपियरको नाट्यशैलीबाट प्रभावित छन् भन्ने समालोचकहरूको यस भनाइसँग सहमत हुन सकिन्छ । यति मात्र होइन उनी ब्रेख्तको शैलीबाट पनि प्रभावित छन् । उनको ‘प्रेमपिण्ड’ मा ब्रेख्तको नाट्यशैलीको प्रभाव पाइन्छ । समले सुरु सुरुमा लेखेका नाटकहरूमा सेक्सपियरको प्रभाव बढी देखिन्छ भने पछिल्ला चरणका नाटकहरूमा कम देखिन्छ । प्रारम्भकालीन नाटकहरूमा यस किसिमको प्रभाव देखिनुलाई अन्यथा लिनु हुँदैन किनभने कुनै पनि स्रष्टा जन्मैदेखि प्रतिभाशाली हुँदैन, उसले त बाहिरको परिवेशबाट नै अनुभव सँगालेर साधनामा लाग्नुपर्ने हुन्छ; पछिल्लो चरणमा आइपुग्दा उसको लेखन परिष्कृत, परिमार्जित र मौलिक हुन पुग्छ । यस अर्थमा समले ग्रहण गरेको प्रभावलाई सकारात्मक रूपमा लिनु पर्ने हुन्छ ।
समको नाट्यशैली एउटै शैलीगत प्रवृत्तिमा नभएर विविधतामा देखापर्दछ । अङ्क र दृश्ययोजनाका आधारमा हेर्दा ‘म’, ‘भीमसेनको अन्त्य’ अङ्कमा मात्रै विभाजित नाटक हुन् भने ‘मोतीराम’ दृश्यमा मात्र विभाजित छ, यसमा अङ्क योजनाको प्रयोग छैन । समका नाटकलाई अङ्क र दृश्यगत प्रवृत्तिका आधारमा हेर्दा नाटकहरूमा एकरूपता नपाइएर विविधताको प्रयोग पाइन्छ । भाषिक प्रवृत्तिको अध्ययन गर्दा यिनले गद्य र पद्य दुवै किसिमका भाषाको प्रयोग गरेर नाटकहरू लेखेका छन् । कतिपय नाटक गद्य र पद्य दुवै मिश्रित भाषाको प्रयोग गरेर पनि लेखेका छन् । लोकमा प्रचलित उक्ति, गीति चेत, कवितात्मकता, गजलको प्रभावका साथै व्यङ्ग्यात्मकता र प्रतीकात्मकता पनि समका भाषिक नाट्यप्रवृत्ति हुन् ।
नाटकको सफलता वा असफलता सुनेर÷पढेर मात्र नभई रङ्गमञ्चमा प्रस्तुत भएपछि हुन्छ अर्थात् अभिनयमा भर पर्छ । समका नाटकहरू रङ्गमञ्चको प्रस्तुतिका दृष्टिले विविध खालका छन् । कतिपय नाटकहरू रङ्गमञ्चमा सहजै प्रस्तुत गर्न सकिने खालका पनि छैनन्, अभिनयका लागि कठिन छन् । ‘प्रेम्पिण्ड’लाई हेर्ने हो भने यसमा ३८ जना पात्रलाई मञ्चमा उतार्नुपर्ने हुन्छ, यो निकै जटिल विषय हो । ‘प्रेमपिण्ड’मा समले लेखेको भूमिकामा सहमत हुँदै समीक्षक बरालले लेखेका छन्– “नाटक मूलतः अभिनेय हुनुपर्छ । अहिलेलाई ‘प्रेमपिण्ड’ हाम्रा देशमा रङ्गमञ्च उति विकसित नहुनाले अभिनीत हुन असम्भव छ” (बराल, २०५२, पृ.४६२) । २००५ सालमा प्रथमपटक प्रकाशित समको यो नाटक बरालले भने झैँ नेपाली रङ्गमञ्चमा अभिनयका लागि कठिन छ तर चलचित्रका लागि भने उपयुक्त छ र चलचित्र बनिसकेको पनि छ ।
समका सामाजिक नाटकमा प्रेमसम्बन्धी त्रिकोणात्मक द्वन्द्वयोजना बेजोड पाइन्छ । द्वन्द्व–प्रतिद्वन्द्व, घात–प्रतिघात यिनका नाटकमा सघन रूपमा विकसित छन् । ‘भीमसेनको अन्त्य’मा जालझेल–षडयन्त्र र इमानदारिता अर्थात् राष्ट्रप्रेमका बिच द्वन्द्व छ भने ‘प्रेमपिण्ड’मा नहकुल, सविता र एडविलका बिच प्रेमसम्बन्धी त्रिकोणात्मक द्वन्द्व छ । यसै गरी ‘प्रह्लाद’मा सत्य र असत्य एवम् ज्ञान र विज्ञानका बिच द्वन्द्व छ । प्रेम र वासना, प्रेम र द्वेषका बिचको द्वन्द्वका सफल प्रयोक्ता समको द्वन्द्व योजनागत नाट्यप्रवृत्ति एउटा उल्लेख्य प्रवृत्ति हो । भाव र विचारगत प्रवृत्तिलाई अध्ययन गर्दा समका नाटक मानव जातिलाई सुन्दर बनाउनेतर्फ लक्षित छन् । मानवतावादको पक्ष लिएर समले आफ्ना नाटकमा मानव सभ्यताका लागि बौद्धिक चिन्तन प्रस्तुत गरेका छन् । यद्यपि बौद्धिकताको चरम अभिव्यक्तिका कारण यिनका केही नाटकहरू दुरुह पनि बन्न पुगेका छन् ।
अन्त्यमा, आधुनिक नाटक लेखनको आरम्भ, विकास एवम् नेपाली समाजमा आधारित मौलिक लेखन समले नेपाली नाटकका क्षेत्रमा पु¥याएको योगदान हो । मानवता, बौद्धिकता, जातिप्रेम, राष्ट्रप्रेम, दुःखान्त चेतना आदिका साथै विषयवस्तु, चरित्रविधान, भाषाशैली, संवाद योजना, द्वन्द्वविधान आदिमा नवीनता र विविधता समका प्रमुख नाट्यप्रवृत्ति हुन् ।

सन्दर्भ सामग्री सूची
उपाध्याय, केशवप्रसाद (२०४५). समको दुःखान्त नाट्यचेतना. (दोस्रो संस्करण). ललितपुरः साझा प्रकाशन ।
पोखरेल, रामचन्द्र (२०६२). नेपाली नाटकः सिद्धान्त र समीक्षा. काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।
बराल, ईश्वर (२०५२). नेपाली नाटक औ रङ्गमञ्चका दृष्टिले प्रेमपिण्ड. साझा समालोचना. (चौथो संस्करण). सम्पा.
कृष्णचन्द्रसिंह प्रधान. ललितपुरः साझा प्रकाशन. पृ.४५१–४६४ ।
रिमाल, हरिप्रसाद (सन् २०१६). नेपालमा नाटक परम्परा. https://sahityasangraha.com/2016/08/25/.
सम, बालकृष्ण (२०४४). मुटुको व्यथा. (नवौं संस्करण). ललितपुरः साझा प्रकाशन ।
सम, बालकृष्ण (२०४७). प्रह्लाद. (नवौं संस्करण). ललितपुरः साझा प्रकाशन ।
सम, बालकृष्ण (२०४८). भीमसेनको अन्त्य. (तेस्रो संस्करण). ललितपुरः साझा प्रकाशन ।
सम, बालकृष्ण (२०५०). प्रेमपिण्ड. (चौथो संस्करण). ललितपुरः साझा प्रकाशन ।
सम, बालकृष्ण (२०५०). स्वास्नीमान्छे.. (दोस्रो संस्करण). ललितपुरः साझा प्रकाशन ।
सर्मा, ताना (२०५०). सम र समका कृति. (पाँचौं संस्करण). ललितपुरः साझा प्रकाशन ।

ज्याग्दीखोला, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।