हिमाल नाघेर जान्छु भन्छ
सागर तरेर जान्छु भन्छ
बादललाई चिरेर जान्छु भन्छ
रित्तो झोला भिरेर जान्छु भन्छ
फट्फटाउँदै जान्छु भन्छ
भर्भराउँदै जान्छु भन्छ
टाढाटाढा जान्छु भन्छ
अभाव बढार्न जान्छु भन्छ
पाखुरा बजार्न जान्छु भन्छ
पसिना बगाउन जान्छु भन्छ
पैसा कमाउन जान्छु भन्छ ।
दुई दिनअघि त
यही काखमा खेल्थ्यो
ढोकाबाहिर सम्म जान पनि डराउँथ्यो
यिनै हातले तेल दलेर
मालिस गरेको शरीरमा
थाहै नपाई
पखेटा पलाएछन्
उडेर जान्छु भन्छ
सपना छोप्न जान्छु भन्छ
विपना रोप्न जान्छु भन्छ ।
नजा पनि कसरी भनूँ
नदी पनि त बगेरै जान्छ
बतास पनि त बहेरै जान्छ
हिउँ पनि त पग्लेरै जान्छ
तलतल परपर अझ पर ।
तँ जा पनि कसरी भनूँ
हिमालले बसाइँ सर्दैन
सागर–महासागर बग्दैन
सबैभन्दा ठूलो चरो उड्दैन ।
भोलि चिलघाट गई
अबिर र सयपत्री साक्षी राखी
कसरी काख छुटाऊँ ।
ऊ जान्छु भन्छ
तँ जा पनि कसरी भनूँ
नजा पनि कसरी भनूँ ।
पोखरा