सिद्धान्त छाड्दा
उसलाई चिट्ठा पर्छ
मलाई तलवितल पर्छ
म सिद्धान्तको भारी बोक्छु
उसले सिद्धान्तलाई भारी बोकाउँछ
म सिद्धान्तको समर्थनमा दाह्रा किट्छु
उ दाह्राको समर्थनमा सिद्धान्त टोक्छ
मैले मष्तिष्कमा सिद्धान्त बोक्दा
पेट भोको छ
उसले पेटमा सिद्धान्त थुपार्दा
शिर झनै ठाडो छ
उसको पेट देखिन्छ
मेरो पेट हराउँछ
हो !
सिद्धान्त छाड्दा
उसलाई चिट्ठा पर्छ
मलाई तलवितल पर्छ