१.
नफक्रेका पलाशका फूलका गुच्छा
अनि कालो कालो ढुंगा च्यापेर
वनमा छ अहिले अङ्गना,
रापिलो राप्ती पारि।
पारि उभिएर
पारिको शहरलाइ ऊ राप्ती भन्छे,
पारिको पिप्पल मुनि बसेर
ऊ रातको राप्ती रम्छे
राप्ती गम्छेः
न सुत्छ राप्ती रातमा
न थाक्छ त्यो कसै गरी
लुसुक लुसुक लुसुक लुसुक
हिडिरहन्छ दिन भरी !
त्यहाँ उज्याला बत्ती छन्
त्यहाँ छन जात्रा परीका
मसक मसक मसक मसक
समाई हात हिड्द्छन ।
कतै छन् नाच बाटामा
कतै छन् गीत आडमा
डड्याङ्ग डड्याङ्ग डड्याङ्ग डड्याङ्ग
मृदङ्ग बज्छ कानमा ।
परीहरु छन् वारमा
लिइ गिलास हातमा
सुरुप सुरुप सुरुप सुरुप
पिउँछन एक तालमा ।
बजार मेला जस्तो छ
हजार हजारको भेला छ
हस्याङ्गफस्याङ्ग हस्याङ्गफस्याङ्ग
कुदि कुदि चहार्दो छ।
न जाडो लाग्छ क्यै गरी
न चिसोले छुन्छ ति परी
यताउति यताउति
हेरेर हाँस्दछन घरि ।
कति मीठो ती हाँस्या हुन् !
यति किन ती हाँस्या हुन् ?
मुसुक मुसुक मुसुक मुसुक
कि हर्षक हरि पो हाँस्या हुन् ?
मेरो महापुरुष !
राप्तीको तिरमा
पिपलको पातको आवाजमा
अङ्गना अव आफैलाई हेर्छे
आफ्नै अतित हेर्दै
आफै भित्र आफूलाई खोज्छे
आदित्यको आभामा।
राप्तीतिरको पिपलबोट मुनि
राप्तीको लालिमायुक्त तरंगित तरंगमा
अङ्गना आदित्य हेर्दै उभिन्छे,
आदित्यको अनुष्टुपिय आराधना गर्छे ः
हरिण हरिणी देख्दा
मात्र थियो शरीर यो,
सँगिनीका गीत सुन्दा
मात्र थियो शरीर यो ।
जून आऊ भनि भन्दा
मात्र थियो शरीर यो,
बेलबोट मुनि बस्दा
आत्मा आयो शरीरको ।
अव त यो शरीरैमा
मानसै मानस छन,
तब त ती परी हाँस्दा
हाँसेको कालु लाग्छन् ।
म देख्दछु सबै त्यस्तै
जे जे देख्दछ मानस,
मानस जति दौडिन्छ
म दौडिन्छु त्यति त्यति ।
मानस हो म त्यसैले
हुँ त्यसैले म ऊ पनि
थाहा पाएँ सवै कालु
भुल्ने छैन कसै गरी !
क्षमा कालु क्षमा कालु
जे भयो जे जति भयो,
धोएर कल्मष आजै
मन तिम्रो तिरै गयो ।
मेरो महापुरुष !
राप्तीको तिरमा
पिपलको पातको आवाजमा
अङ्गना अव
उठ्छे, उभिन्छे,
अनि आदित्यको लालिमाले
रातो रातो रंगले रंगिएको राप्तीमा
डुबुल्की लगाउँछे,
राप्तीका राता राता आभामा
राप्तीको पानीमा
राता राता पलाशका फुल
तिम्रो लागि अंशुमती तिर बगाउँछे ,
अनि अङ्गना हिद्छे अंशुमतीको अनन्त यात्रामा,
मेरो चिल्लो चिनो च्यापेर !
२.
म को हुँ को हुँ गमिरही,
फुरुक फुरुक परिरही
लम्रक लम्रक लम्रक लम्रक
बन बिच हिडिरही ।
सर्याक सर्याक सुनिरही
पशुबाट बचिरही
खुरुखुरु खुरुखुरु
बनको बाटै बाटो हिँडिरही ।
छिटो छिटो भनिरही
बल गर बल गर भनिरही
तप तप तप तप तप तप तप तप
पसिनै पसिना चुहाइरही ।
नवस नबस भनिरही
ढुंगा ठुला हेरिरही
रातो रातो रातो रातो
घाममा डढ्दै हिडीरही ।
मुसुमुसु हाँसिरही
कालु कालु भनिरही
हस्याङ्ग फस्याङ्ग हस्याङ्ग फस्याङ्ग
खुरु खुरु कुदिरही ।
पुगेँ पुगेँ भनिरही
मेरो तिरमा आइपुगी
चुर्लुम चुर्लुम चुर्लुम चुर्लुम
पानी मुनि डुबिरही ।
मेरो तिरमा उभीई हेरिरही
चरा चरा भनिरही
चिर्बिर चिर्बिर चिर्बिर चिर्बिर
चराको गीत सुनिरही ।
चिर्बिर चिर्बिर पछ्याईरही
कल्प कल्प हिडिरही
फत्र्याक फत्र्याक फत्र्याक फत्र्याक
अंशुमती तिरमा लडिरही ।
३
महापुरुष !
अङ्गना अंशुमती तिरमा लडिरहँदा,
हिमशिखर देखि अंशुमतीसम्म हेर्छे,
अंशुमतीमा आँखा अड्याएर
पुलकित हुन्छे अङ्गना,
आनन्दकी अङ्गना
शिखरिणी अङ्गना
मन मनै बोल्छे ः
अहो ! सौम्या स्निग्धा जन जन कि माता ती सरिता
अगाडि आडैमा अतुलित अलंकार बनका ।
कहाँ पाऊँ मैले ती सुललित सौन्दर्य जगमा
म आउँदै हेर्दै पुलकित अझै हुन्छु मनमा ।।
बनैका माझैका अतल दहमा हाँस कुद्छन
दहैको छेवैमा हरिण हरिणी खोजिहिड्छन् ।
तिनैकै साथैमा पछि पछि कुदेका ती भमरा
नभेटी अड्दैनन सरस झुप्पा कमलका ।।
मनै हर्ने सानो चउर पनि राम्रो छ बनमा
त्यसैमा हिड्दै रम्छन् हरिण नयन झै राज तनया ।
त्यहीँ कालु टुप्लुक्क मुसुमुसु गर्दै आउँछन् भनी
म हेर्छु फर्किदै अविरल उतै त्यो बन भरी ।।
नदेख्छु प्यारा ती जनगणको प्रेम मनको
न देख्छु छायानै ती मनमनका प्रेम तनको ।
कसोरी देखौंला भनि मन जसै पिडित भयो
अचाक्ली मायाले अनुभूति गरेँ स्थिर हुन गो ।
नगम्दा के देख्नु अनुपम सुदृश्य ती मनमा
गमेरै देख्दैछु अतिरूप ती कालु नयनमा।
ती कालानै देख्दैछु अतिरूप ती आए नयनमा
ल भेटें भेटें लौ अब म तिनको हुन्छु नयनमा ।।
लन्डन