17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दाह्री

निबन्ध केशव पाठक December 28, 2023, 3:08 am
केशव पाठक
केशव पाठक

'दाह्री किन पालेको ?' करिब ७० वर्षकी सो युनले एकाएक सोधिन् । मसँग धेरै सोधिने तर खासै उपयुक्त र चित्तबुझ्दो जवाफ नभएको प्रश्न थियो हो । मैले यत्तिकै भनेर टारेँ । ती बृद्ध महिलालाई मेरो दाह्रीप्रति निकै नै ठूलो उत्सकुता थियो । उसलाइ मेरो दाह्री फेशनका लागि पालिएको जस्तो लागेन अनि सुहाएको जस्तो पनि लागेन । उसले विषयलाई तन्काउँदै । मानिसले दाह्रीले यत्तिकै चाहिँ पाल्दैन, केही त होला भन्न मिल्ने वा नमिल्ने कारण केही होला तिम्रो ।

मैले ‘पालुँ न भनेर पालि हालेँ काटुँ न जस्तो नलगेर काटेको छैन’ भनेर फेरि टारेँ । उसलाई यो जवाफ चित्त नबुझे पनि चुप लागि । कोरियाबाट अमेरिका जाने प्लेनमा भेटिएकी सो युन अमेरिकन नागरिक हो । तर उसको र मेरो अंग्रेजी सालाखाला उस्तै थियो बल्लतल्ल बुझ्न तथा बुझाउन सक्ने खाले । ११ घण्टा लामो सहयात्रामा उसको कोरियन पतिले पनि दाह्री पाल्ने गरेको तर मेरो जस्तो झ्याप्प दाह्री नभै थोरै थोरै आउने तर सुहाउँदो खाले थियो रे । उसले फेरि पनि मेरो दाह्री नसुहाएको तिर इङ्गित गरी ।

मेरो दाह्रीका बारेमा मेरा बा आमालाई पनि चिन्ता लाग्ने गर्छ । बृद्धवयका मेरा मातापिता मेरो दाह्रीभित्र उदासी, फ्रस्टेसन तथा विरक्ति भेट्नु हुन्छ । यो दाह्रीभित्रको ममा उहाँहरू उमङ्ग, उत्साह भेट्नु हुन्न । बेलाबेला दाह्री किन नकाटेको वा कहिले काट्ने बारे सोधिरहनुहुन्छ ।

मेरै वयका कतिपय साथीभाइ तथा एकाध सिनयरहरू पनि दाह्रीमा एकखाले संसय व्यक्त गरिरहेका हुन्छन् । मेरो साधारणझैँ उत्तर उनीहरूलाई खासै चित्त बुझ्दैन । केहीलाई भने मेरो दाह्री मन पनि पर्छ । उनीहरू यो दाह्रीभित्रको ममा दार्शनिक, लेखकदेखि कलाकारसम्म अनुभूत गर्छन् । नचिनेका केही मानिस पनि यो दाह्रीका कारण देखे देखेझैँ गर्छन् । बोलेर नै हामी कतै भेटिसकेको होँ वा मैले तपाइलाइ देखिरहेको हो भनेर परिचय गाँस्छन् ।

युवावयका धेरैले चाहिँ मेरो दाह्री सुहाएको महशुस गर्छन् । मेरो छोराका वयका तिनिहरू मेरो दाह्री सुहाएको ‘नकाट्नसु अंकल’ भन्छन् । मेरै छोरो अब दाह्री बिनाको म कल्पना गर्न सक्दैन । उ सिधै ‘बा, दाह्रीचाहिँ नकाटिस्यो है’ भन्छ । हरेक दिन कहिँ न कहिँ यो दाह्री को विषय ठोकिहाल्छ । कतै कफिसपमा कफि खाइरहँदा दाह्री देखेर सुहाएको भन्नेहरू पनि भेटिन्छन् ।

रूद्रेश्वरको अरेबिका कफिमा एकदिन नायक राजेश हमालले पनि मेरो दाह्रीमा आँखा लगाएर सोधेका थिए 'तपाइँको दाह्री कति वर्ष पुरानो हो ?' मैले सहीसध्ये उत्तर दिएको थिएँ । उनले दाह्रीभित्र केही राज लुकेको छ जस्तो लाग्यो भन्दै हलिउडका एक कलाकार तथा लेखक एलेक्सी सेइलको कोट भनेका थिए, You can't do comedy with a beard. कलाकार हमालले भनेझैँ दाह्रीमा कमेडीचाहिँ सायद कसैले नभेट्दा हुन् ।

सोही कफिसपमा एकदिन लोकगायक प्रेमराजा महत भेटिएका थिए । उनलेचाहिँ अलि दार्शनिक भएर भनेको सम्झन्छु ‘तपाइँ हुनुको गजबको उपस्थिति छ यो दाह्रीमा छ’ । उनले सिधै भने, ‘दाह्री नफाल्नु होला ‘। यस्ता मिश्रितखाले टिकाटिप्पणी मेरा दाह्रीका बारेमा बेला कुबेला भैरहन्छ ।

अहिले संसारभरी दाह्री पाल्ने फेशन नै छ । विशेषगरेर युवापुस्तामा दाह्रीको व्यापक क्रेज छ । कुनै बेला बिहेमा दाह्री काटेर चिटिक्क परिन्थ्यो तर अब दुलाहा दाह्री पालेर बिहेमा जान्छन् । दाह्रीबिनाको युवा सारी बिनाको युवतीजस्तै अपुरो बनिरहेको बेला मेरा दाह्रीका बारेमा यत्ति ठूलो माहात्म्य किन ? भन्ने लाग्ला तर यो दाह्री सेता भएकाले यसले दिन आभा अलि फरक हुँदो रेछ ।

कोरोनाको बेला मास्क लगाएर बुढानीलकण्ठको आसपासमा हिँड्दै थिएँ । मन्दिरको उत्तरतिर एउटा सुकुम्वासीझैँ भनिने बस्ती छ त्यहाँ मुस्लिम परिवार पनि बसोबास गर्छन् । त्यही बाटो हिँडेको एकजना बुढाले ‘अस्लाम वालेकुम’ भनिहाले । मेरा सेतो कपाल सेतो दाह्रीले उनलाई मुस्लिम भाइब्रेशन आएछ । मास्क लगाएकोले उनले मेरो जुँगा देखेनन । मैले पनि ‘वालेकुम अस्लाम’ भनेर हिँडिदिएको थिएँ ।

दाह्रीका यस्ता क़िस्सा कहानी धेरै छन् । देखिन कस्तो देखियो त्यो पृथक विषय हो तर सोधिने प्रश्नचाहि ‘किन पालेको ?’ भन्नेतिर नै इङ्गित हुन्छ । विशेषगरेर आफन्ततिर दारीले उत्साह जगाएको छैन । निस्सन्देह, मानिसको दाह्री केवल एक शारीरिक विशेषता भन्दा धेरै टाढाको विषय हो। धेरै पुरुषहरूको लागि यो तिनीहरूको शैली, व्यक्तित्व, र मनोवृत्ति प्रदर्शन गर्ने तरिका पनि हो। दाह्री राख्ने वा नराख्ने छनोट, साथसाथै यसको लागि छनौट गर्ने शैलीले शक्तिशाली सन्देश पनि दिन सक्छ।

भनिन्छ, पूर्ण र राम्ररी हेरचाह गरिएको दाह्रीले पुरुषत्व र परिपक्वताको छवि स्पष्ट रूपमा व्यक्त गर्न सक्छ। दाह्रीले अक्सर अनुभव र बुद्धि व्यक्त गर्छ पनि भनिन्छ । दाह्री पाल्नेहरूमा गम्भीरता, आत्मविश्वास र शक्ति उत्प्रेरित गर्ने छवि देखिने कुरामा दुइमत छैन ।मान्छेका शैलीले उसको पहिचानको बारेमा धेरै कुरा बताउँछ। दाह्री, जुँगा वा क्लिन शेभ नै किन नहोस् सबै शैलीगत विशेषता हुन् जसले मानिसको हेर्ने तरिकालाई असर गर्न सक्छन्।

जे होस्, दाह्रीले मानिसलाई महशुस गर्न र बढी प्रभाव पार्न सक्छ । यसले अवचेतन रूपमा मानिसको योग्यता, विश्वास र पुरुषत्व दर्शाउँछ । दाह्री आफै पुरुषत्व, प्रभुत्व, शक्ति र परिपक्वता संग सम्बन्धित छ। युनिभर्सिटी अफ हर्टफोर्डशायरका प्रोफेसर रिचर्ड विजम्यानले गरेको एक अध्ययनले दाह्री भएका पुरुषहरू क्लिन-शेभ पुरुषहरूको तुलनामा ३८% कम उदार, ३६% कम हेरचाह गर्ने र ५१% कम हँसिलो हुने देखाएको छ।

लस एन्जल्समा ओर्लिने बेलामा सोन युले मेरा दाह्रीका बारेमा फेरि भनिन्, ‘Keshav, Grow with care, wear with pride' । । मैले धन्यवाद् दिएँ । लस एन्जल्सको एयरपोर्ट LAX मा ओर्लिएपछि इमिग्रेसन पार गर्नुपूर्व लाउरा जेक भन्ने इमिग्रेसन अफिसरले सोधी Tell us about your beard ? अलि रेसिस्ट तरिकाले बोले पनि मैले हम्बल भएर उनलाई भने, Officer, I have dedicated this beard to my Guru(teacher)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।