17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वर्गद्वारीको रहर पूरा भएपछि

नियात्रा प्रमाण अधिकारी December 28, 2023, 3:13 am
प्रमाण अधिकारी
प्रमाण अधिकारी

पृथ्वीनारायण क्याम्पस, पोखरामा प्रवीणता प्रमाणपत्र तह पढ्दा प्रथम वर्षको परीक्षा दिएपछि २०५९ सालतिर म काठमाडौं गएको थिएँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा व्यवस्थापन विषयमा स्नातकोत्तर तह अध्ययनका सिलसिलामा मेरा दाइ कीर्तिपुर, पाँगामा डेरा लिएर बस्नुभएको थियो । त्यसबेला नेपालको पचहत्तरै जिल्लाका विद्यार्थी स्नातकोत्तर अध्ययनका लागि त्यहाँ भेटिन्छन् भनिने गरे पनि पूर्वदेखि पश्चिमसम्म अधिकांश जिल्लाका धेरै विद्यार्थी भेटिन्थे । पछि म आफैले ६ वर्ष कीर्तिपुर बसाइका क्रममा पूर्वमा ताप्लेजुडदेखि पश्चिम कञ्चनपुरसम्मका साथी बनाउने अवसर पाएँ । त्यसबेला दाइका कोठामा पाल्पा, नवलपरासी, कास्की र प्युठानका साथीहरु बारम्बार आइरहनुहुन्थ्यो । प्युठानका साथी बालकृष्ण भट्ट बेलाबेला कोठामा आउँदा हामीहरुका बीच कुराकानी हुन्थ्यो । आफ्नो जिल्लाको पुग्नैपर्ने ठाउँमध्ये स्वर्गद्वारी पनि एक भएको कुरा उहाँबाट सुनेपछि मलाई त्यहाँ पुग्ने रहर जागेको थियो उतिबेला, जुन करिब बीस वर्षपछि मात्र पूरा भयो ।
२०८० मङ्सिरमा रोल्पाको होलेरी पुगेको मौकामा त्यहाँबाट मात्र २६ किलोमिटर टाढा रहेको स्वर्गद्वारी पुग्ने अवसर यही नै हो भन्ने मलाई लाग्यो । दाङ भालुवाङबाट भिङ्ग्री हुँदै स्वर्गद्वारी आउने र अर्को बाटो दाङ घोराहीबाट रोल्पा होलेरी हुँदै पुग्ने दुई मार्ग रहेछन् । म चाहिँ सहकर्मी मञ्जिल तामाङसँग रोल्पाको होलेरीबाट त्यतातिर लागें । हामी रुन्टीगढी गाउँपालिकाको उघाँ गाउँ हुँदै सुर्पाल बजार पुग्यौं । त्यहाँबाट मसिना भन्ने ठाउँ देखिने रहेछ । पहिले दाङ हुँदै हिँडेरै स्वर्गद्वारी आउने दर्शनार्थी सोही ठाउँमा बास बस्ने गर्दा रहेछन् । रुन्टीगढी गाउँपालिकाको दक्षिणतर्फको सिमाना सकिएसँगै प्युठान जिल्ला शुरु हुने रहेछ । प्युठानको नसः गाउँ पुगेपछि हामी जाँदै गरेको गाडी रोकेर एकजना भक्तजनजस्तै देखिने व्यक्तित्वद्वारा स्वर्गद्वारीसम्म पु¥याइदिन आग्रह गरियो । सहर्ष स्वीकार गरी उहाँलाई पनि साथै लिएर लिएर हामी अघि बढ्यौं । स्वर्गद्वारी नगरपालिका वडा नम्बर– २ को खाल भन्ने ठाउँ हुँदै उकालो लागेपछि हिमालका शृङ्खला रोल्पाबाट भन्दा अझ राम्रोसँग देखिँदो रहेछ । समुन्द्र सतहबाट करिब २३०० मिटर उचाइमा रहेको स्वर्गद्वारी क्षेत्रमा पानीको भने समस्या रहेको जानकारी भयो । पानीको सहज उपलब्धता नहुँदा यज्ञभूमि वा तपोभूमिका रूपमा विकास गर्न खोजिएको क्षेत्रमा मानवबस्ती बस्ने वा फैलने सम्भावना कम हुने हुनाले पनि आश्रमका लागि यो क्षेत्र छानिएको हुन सक्ने कुरा जानकारीमा आयो ।
संयोगले हामीसँगै यात्रा गर्नुहुने व्यक्ति स्वर्गद्वारीमा रहने २४ पुजारीमध्येका एक हुनुहुँदो रहेछ । यो कुरा थाहा पाएपछि रोल्पामा रहँदा हिमालका नाम चित्त बुझ्ने गरी कसैले भन्न नसकेको प्रसङ्ग याद आयो र यो दुखेसो उहाँसँग पोखेपछि स्पष्ट हुने गरी बताइदिने आश्वासन दिनुभयो । उहाँ प्युठानमै जन्मेर स्वर्गद्वारी आश्रममा रहेको विद्याश्रममा अध्ययन गरी त्यहीं नै हालसम्म आश्रमका विविध काममा संलग्न हुनुहुँदो रहेछ । होलेरीबाट स्वर्गद्वारीसम्म पुग्ने बाटो कतै पक्की कतै कच्ची रहेछ । होलेरीबाट गाडीमा करिब एक घण्टाको यात्रा, धरमपानी (धर्मपानी) कटेर करिब ९०० वटा सिँढीको १५–२० मिनेटको उकालो चढेपछि स्वर्गद्वारी आश्रम पुगिने रहेछ । डाँडामाथि पुगेपछि त्यहाँको शान्त वातावरण, शीतल हावा, हरियाली, सफा मौसम, गौशाला र विशेष गरी एक छेउ देखि अर्को छेउ लहरै देखिने हिमालय पर्वत शृङ्खलाले एक विशिष्ट अनुभूति दिलाउने रहेछ ।
स्वर्गद्वारी आश्रम क्षेत्रमा वि.सं. १९५२ वैशाख पूर्णिमाका दिन शुरु भएको यज्ञको थलो– यज्ञशाला, महाप्रभुले ध्यान, साधना गरेको बाँझवृक्ष, गोबद्र्धन पर्वत, गुफा, गौशाला, विद्याश्रम, धर्मशाला, शिवालय, सिद्धस्थान आदि रहेका छन् । यज्ञ सञ्चालनार्थ आवश्यक घ्यू त्यहीं संरक्षण गरिएका गाईबाट पु¥याउने प्रयत्न हुँदो रहेछ । आश्रम सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापनार्थ दाङमा सयौं बिघा जग्गा आश्रमले लिएको भए पनि कतिपय क्षेत्र अन्य व्यक्ति, समूहले कब्जा गरी लिएको र राज्यले त्यसलाई फिर्ता दिलाउने माग सम्बोधन नगरेको गुनासो पनि त्यहाँ सुनियो । जसले गर्दा आश्रमका गतिविधि पूर्ण रूपमा सहज ढङ्गले अघि बढ्न नसकेको अवस्था अवगत हुन आयो ।
स्वर्गद्वारी आश्रमका स्थापनाकर्ता नारायण गौतम अथवा बालतपस्वी महाप्रभु हंसानन्द गिरी वा विशेष गरी स्वर्गद्वारी महाप्रभुको नामले चिनिनुहुने तपस्वीको जन्म रोल्पाको रुन्टी गाउँ (रुम्टी गाउँ पनि भनिँदो रहेछ) मा वि.सं. १९१६ मा भएको रहेछ । उहाँले बालककालमै गाउँनजिकैको गढीमा गई तपस्या गरेको र त्यहीं कुटी बनाएर बसेको कुरा यात्राका क्रममा पोखरेल थरका पुजारीले बताउनुभयो । रोल्पाको होलेरी पनि समेटेको रुन्टीगढी गाउँपालिकाको नाम उनै बालतपस्वीको जन्मस्थान, रुन्टी, र तपस्या थलो, गढीका नामका आधारमा राखिएको रहेछ । महायज्ञ गर्ने उपयुक्त थलोको खोजीमा महाप्रभु त्यहाँ पुग्नुभएको पोखरेलजीले बताउनुभयो । दुई शरीर धारण गर्नसक्ने, भूत र भविष्यको ज्ञान भएका, डाँडाबाट चारघण्टाको दूरीमा रहेको माण्डवी खोलामा स्नान गरी एकैछिनमा आश्रम आउने, महायज्ञ गर्दा घ्यूको अभाव भएको र माण्डवी खोलाबाट पानी भरेर ल्याउन पठाउँदा पछि उक्त पानी घ्यूमा परिणत भएको जस्ता कुराहरूले उहाँमा अतिमानुष गुण भएको मान्यता रहेको कुरा कुराकानीका क्रममा आयो ।
हाम्रै कास्की जिल्लाको अर्घौं अर्चलेमा जन्मेका कवि शिरोमणि लेखनाथ पौड्याल भर्खर बिहे भएकी आफ्नी जीवनसँगिनीको निधनपछि विरक्तिएर सन्यासदीक्षा लिने उद्देश्यले स्वर्गद्वारी महाप्रभुसँग जानुभएको तर महाप्रभुले पौड्याललाई अहिलेबाटै सन्यास लिने होइन बरू घरगृहस्थी र साहित्य साधनालाई नै निरन्तरता दिन सुझाउनुभएको कुरा पनि त्यहाँ चर्चा भयो । साथै महाप्रभुको जीवनबाट प्रभावित भई पौड्यालले उहाँको जीवनी लेख्न चाहेको कुरा दर्शाउँदा यस कलियुगको अन्त्यपछि अश्वत्थामाले नै जीवनी लेख्ने भविष्यवाणी गरेकाले महाप्रभुले तपस्या गर्नुभएको बाँझको वृक्षलाई बिम्ब बनाएर स्वयं स्वर्गद्वारी महाप्रभुको जीवनी उहाँले ‘तरुण तपसी’ (नव्यकाव्य) मार्फत वर्णन गर्नुभएको कुरा पनि वार्तालापका क्रममा थाहा भयो ।
ध्यान, अध्ययन, तपस्या र साधनाले ज्ञानको प्राप्ति गरेको भूमि भएकाले स्वर्गद्वारी आश्रम तपोभूमि, दिव्यभूमिका रूपमा पनि चिनिने रहेछ । महाप्रभुले स्नानका लागि माण्डवी खोला जान प्रयोग गर्नुहुने गुफामा द्वापरयुगमा पाँच पाण्डवले स्वर्ग जानुअगाडि पूजा गरेर स्वर्गतिर प्रस्थान गरेको विश्वासले गर्दा पनि हिन्दु धर्मावलम्बीका लागि यो स्थान विशेष महत्त्वको हुन गएको रहेछ । स्वर्गद्वारीमा विशेष गरी इण्डियाबाट बढी मात्रामा दर्शनार्थी आउने रहेछन् । आश्रमको आफ्नै स्रोत र दर्शनार्थीबाट प्राप्त दानदक्षिणा तथा स्थानीय तहको केही सहयोगबाट १२८ वर्षदेखि निरन्तर चलिरहेको यस क्षेत्रलाई धार्मिक मात्र नभई पर्यटकीय हिसाबले पनि चिनाउन र प्रचारप्रसार गर्न सकिने रहेछ । १९५२ मा स्वर्गद्वारी महाप्रभुले विश्वकल्याण हेतु शुरु गर्नुभएको भनिएको अखण्ड महायज्ञ हालसम्म निरन्तर चलेको रहेछ । महाप्रभुले भनेअनुसार यस कलियुगको अन्त्यका बेला देवगुरु बृहस्पतिले यस यज्ञको पूर्णाहुति अथवा अन्त्य गर्ने, यज्ञ पूरा गर्ने भन्ने जानकारी पनि मिल्यो । एक शताब्दी बढी इतिहास बोकेको यस क्षेत्रलाई संरक्षण र थप आवश्यक पूर्वाधारको विकास गरी धार्मिक, आध्यात्मिक, पर्यटकीय हिसाबले यसको मौलिकतामा विचलन नआउने गरी प्रचारप्रसार र विकास गर्ने हो भने नेपालका प्रमुख गन्तव्यमध्येको एक हुनसक्ने रहेछ प्युठानको यो स्वर्गद्वारी क्षेत्र ।

रामघाट, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।