१
कता कता लुक्यौ तिमी, तथापि भेट यो भयो
नदेखिने थियौ भने, कि भ्रम हो त भेट यो ?
न मस्क भो न मस्क है न ढाँट मस्कि मस्कि भो
अझैँ तिमी न मस्क भो न घोच चस्स चस्स भो
सवै सवै सँगी सँग, उफ्रि उफ्रि नाच्यौ तिमी
ननाच्ने नै थियौ भने, रमाउदै नाच्थ्यौ तिमी ?
न मस्क भो न मस्क है न ढाँट मस्कि मस्कि भो
अझैँ तिमी न मस्क भो न घोच चस्स चस्स भो
अमुल्य स्पर्श शव्दका, ती हातका ति काँधका
अप्रेम हुन्छ त्यो भने, म हुन्छु प्रेम भावमा?
न मस्क भो न मस्क है न ढाँट मस्कि मस्कि भो
अझैँ तिमी न मस्क भो न घोच चस्स चस्स भो
जगाइ प्रेम हृदमा, अप्रेम झैँ रह्यौ किन ?
अप्रेम नै थियो भने, म शान्त शान्त नै किन ?
न मस्क भो न मस्क है न ढाँट मस्कि मस्कि भो
अझैँ तिमी न मस्क भो न घोच चस्स चस्स भो
म राख्न खोज्छु हृदमा, नराखिने त होइनौ
नराखिने थियौ भने, ढुक ढुकीमा चल्द्थ्यौ?
न मस्क भो न मस्क है न ढाँट मस्कि मस्कि भो
अझैँ तिमी न मस्क भो न घोच चस्स चस्स भो
चरा चरी तरु लता, म हेर्दछु जता जता
बुरुक्क उफ्रिदै तिमी, घुस्रुक्क घुस्दछौ त्यता
जता ततै तिमी हुँदा, लुसुक्क लुक्दछौ किन?
जता ततै तिमी हुँदा, खुरुक्क भेटिन्नौ किन?
न मस्क भो न मस्क है न ढाँट मस्कि मस्कि भो
अझैँ तिमी न मस्क भो न घोच चस्स चस्स भो
भयो बुझे सवै कुरा, न ढाँट मस्कि मस्कि भो
रहेछ शुद्ध प्रेम लौ, न घोच चस्स चस्स भो
लिएर प्रेम हृदमा, सुटुक्क लान्छु म तिमी
ल मस्क है ल मस्क है म लान्छु मस्किदै तिमी
२
अतिरूप !
देखेउ नि अङ्गनाका भाव ।
तिमीलाइ भेटेर
सँग सँगै नाचेर, हाँसेर, गासेँर हृदय पनि
अङ्गना अभिन्न भै त तिमीसँग !
अहिले अङ्गना नाच्दा, हाँस्दा, हिड्दा, बोल्दा
हाँस्छ, हिड्छ, बोल्छ, अङ्गनाको मानस
अङ्गनाले हृदयमा तिमी र तिम्रो प्रेम राख्दा
तिमी र तिम्रो प्रेम राख्छ अङ्गनाको मानस ।
अब अङ्गना र उसको मानस तिमीलाई राख्छन्
तिमीलाई लिएर हिड्छन,
हिड्छन गुनगुनाउदैः
अव दुक्क भयो छन कालु सँगै
नहुँदा मन चै अति खिन्न थियो
अब जान्छु म ता हिमशैल जता
धरणी भरि पूर्ण लता छ जता
किन हो मन यो घरि पुग्छ नदी
शिरमै गइ यो घरि बस्छ पनि
तिनका शिरमा छन् दिव्य छटा
तिनकै तिरमा मन बस्छ सदा
मन बस्दछ कालु हुने शिरमा
तिरमा भिरमा उनकै झिलमा
नभनौ कसरी म त जान्छु भनि
अहिले म छु अंशुमती अघिनै
अनि अंशुमती सुन लौ न कुरा
अति नै नि दियौ कमलो ममता
गर प्रेम सदा दिइ प्रेमतरु
मन होस् सवै धन कल्पतरु
म हिडें अब लौ बस है तिमी चै
न हिडे जसरी बग है तिमी चै
म यहाँ अव बस्दिन अंशुमती
म निबेदन गर्दछु नि प्रणति
म हिडें अब मार्ग तिरै तिरको
पथ हो जुन अंशुमती तिरको
अव जान्छु र वस्छु नदी शिरमा
हिमशैल जहाँ छन् त्यै स्थलमा
मनमा तनमा अनिरुद्ध हुदाँ
मनकै तिर हुन्छन प्रेमसुधा
ति सुधा पिउदै तिरमा नदीको
अनि वस्छु म सुन्छु कथा नदीको
३
कागवेनीको काखमा
कल्प कल्प लाग्ने कालखण्डमा
आनन्दमा अङ्गना अनुभूत गर्दिन समय।
आँखा खोल्दा उ
हिमशृङ्ग हेर्छे
हिम शृङ्गखला तलका सुन्दर अवयव हेर्छे
अझ तलका वन हेर्छे
मुक्तिक्षेत्र हेर्छे
मुक्तिनाथ हेर्छे,
अलि तल गण्डकी देख्छे
आनन्दमा हुन्छे ।
आँखा चिम्लदा ऊ
हिमशृङ्ग देख्छे
हिम शृङ्गखला तलका सुन्दर अवयव देख्छे
अझ तलका बन देख्छे
मुक्तिक्षेत्र देख्छे
मुक्तिनाथ देख्छे,
तिमीलाई देख्छे
आनन्दमा हुन्छे।
झर झर आउने झरी उसको आनन्द हो
कलकल बग्ने खोला पनि आनन्द हो
माथी उड्ने गिद्ध पनि आनन्दै हो
आनन्द हो अत्याउने आँधी पनि ।
त्यै आँधीको आनन्दमा उड्छे ऊ
त्यै आँंधीले ल्याउने हिमनदी प्रवाहमा बग्छे ऊ
आँखा चिम्ली चिम्ली आनन्दको अनुभूतिमा हुन्छे ऊ
गण्डकीमा हुन्छे
गण्डकीमा डुव्छे ऊ ।
आँधीले अङ्गना गण्डकीमा गुल्टिदा
आँधीले मानसलाई परागशेष पुर्याउँछ
अविरल आँधीले त्यो परागशेष पुर्याउँछ
मुक्तिनाथमा चडाएका फूलको गुच्छामा।
आँधीले मानस उडाउनु अघि
मानस सम्झिन्छ
अङ्गना डुब्दै गर्दाका
अङ्गना र उसका भाव
अङ्गनाका आवाजमा ः
आएँ यतै नजिकको गृहद्वार खोज्दै
बासै बसे हजुरको दरवार हेर्दै
बस्नु भयो हृदयमा, मन शुद्ध पार्दै
के खोज्नु नै छ र हृदमा जगतै हुँदा है !
छोड्छु म देह अब, यो रहदैंन हर्दम्
वन्दे महापुरुष ते चरणारविन्दम्* !
(*श्रीमद्भागवत ११ः५ः३४)
लन्डन