“भेडाहरु जस्तो भएर पार्टीका नेताको पछि लाग्नु मूर्खता हो भनेर फेसबुकमा लेख्दा ज्यान मार्ने धम्की दिए । व्यक्तिगत फाइदाका लागि पार्टीको नेताका पाउ मोल्नु भनेको दास हुनु हो भन्दा मुड्की उज्याए । सर्वत्र भ्रष्टाचार भइरहेको छ त्यसलाई नदेखे जस्तो गर्नु अन्धो हुनु हो भन्दा मलाई घोक्र्याए । भोका, गरिब र न्याय नपाएकाहरुले सहयोग मागिरहेका छन्, तिनको गुहार नसुने जस्तो गर्नुभनेको बहिरा हुनु हो भन्दा कानको जाली फुट्ने गरी हिर्काए । प्रदेश र केन्द्रका सांसद, मन्त्री, सभामुख आदि नामका सेता हात्तीलाई पाल्न हामीले तिरेको करको रकम जान्छ भन्दा मलाई भाटे कारबाही गरे । मजदुरी गर्न विदेश जान पाउँ भन्ने युवाहरुलाई समेत गोली ठोकेर मार्न थाले । मेरो ज्यान खतरामा परेकाले भागेर तपार्ईँको देशमा शरण माग्न आएको हुँ ।” दुवै हात माथि उठाएर मैले शरण मागेँ ।
“ज्यानको सुरक्षा चाहिए आफ्नै देशको प्रहरीसँग माग्नुपथ्र्यो । यहाँ किन आउनुभयो ?” शरणार्थी हेर्ने अधिकारीले मलाई सोधे ।
“जसले मेरो ज्यान लिन लागेका थिए, प्रहरीहरु तिनैका आदेश मान्न विवश छन् ।” मैले भनेँ ।
“अदालतमा गएर किन उजुरी हाल्नुभएन ?” शरणार्थी हेर्ने अधिकारीले अर्को प्रश्न गरे ।
“राजनीतिक पार्टीका कार्यकर्ताहरु अदालतमा न्यायाधीशका रुपमा नियुक्त भएका छन् । तिनले पार्टीको आदेश र स्वार्थबमोजिम मुद्दाको छिनोफानो गर्छन् ।” मैले भनेँ ।
“कुन देशबाट आउनुभएको तपाईँ ?” शरणार्थी अधिकारीले केरकार गरे ।
मातृभूमिको कसरी बेइज्जत गरूँ ? आफ्नो देशको नाम भनौँ कि नभनौँ हुँदै थियो, मनमा ।
“कुन देशबाट आएको हुँ भन्ने कुरा बिर्सेँ, सर !” मैले अकमकिँदै जबाफ दिएँ ।
“त्यसो भए केही समय तपाईँले मानसिक अस्पतालमा बस्नुपर्ने छ । सन्चो भएर स्मरण हुन थालेपछि तपाईँको अर्को अन्तर्वार्ता हुने छ ।” शरणार्थी हेर्ने अधिकारीले भने ।
देशको हालत देखेर खराब नभएको मेरो मानसिक स्वास्थ्य शरण मागेको दिनदेखि झनै बिग्रन थाल्यो ।
मानसिक अस्पतालमै आत्महत्या गरेको व्यक्तिको सिरानीमुनि उल्लिखित विवरण लेखिएको कागज प्रहरीले फेला पारे ।
बेलायत