19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अपराध

लघुकथा शिबु ढकाल January 1, 2024, 6:20 am
शिबु ढकाल
शिबु ढकाल

गाउँमा जघन्य अपराधको घटना घट्यो । यस्तो घटना कि सुन्नेको रौं नै ठाडो भयो । बाठाटाठा मानिने मेसरामको बीभत्स हत्या भयो ।

“कसले गर्यो हत्या ? यति बीभत्स तरिकाले हत्या गर्न सक्ने हत्यारा कति खुङ्खार होला ?” सबैको मनमा त्यही प्रश्न थियो ।

चमेलीले पनि त्यही सोची । कहाँबाट आएको कस्तो राक्षस होला त्यो । कस्तो अनुहार होला त्यसको । कस्तो सैतानी मस्तिष्क होला त्यसको । एउटा साधाराण मान्छेले त्यस्तो दारूण अपराध गर्नै सक्दैन । साधाराण मस्तिष्कले सोच्न पनि नसक्ने आपराधिक घटना ।

“गाँउ छोडेर कोही पनि बाहिर नजानू ।” अनुसन्धान अधिकारीले भन्यो ।

त्यो सुनेर चमेली हाँसी । प्रहरीको यही तरिका उसलाई मन परेन । कहाँबाट आएको अपराधी कहाँ पुगिसक्यो । सीमानामा कडाइ गर्नु पर्ने गाँउलेलाई दुःख दिन्छ ।

तीन दिनमै प्रहरीले अपराधी सार्वजनिक गर्यो । तल्लाघरे चिम्से ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।