19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गैरेली कोसे

कथा नारायण मरासिनी January 1, 2024, 2:25 pm
नारायण मरासिनी
नारायण मरासिनी

मान्छेहरू विपनामा प्राप्त नभएका कुरा सपनाका माध्यमबाट प्राप्त हुन्छ भन्छन् । सबै कुरा सपनाका माध्यमबाटै प्राप्त हुन्छ भन्न त म सक्दिन, तर कतिपय कुरा प्राप्त हुँदारहेछन् । गाउँमा रहँदाबस्दा मैले जे देखेँ, जे भोगेँ त्यसबाट म सन्तुष्ट थिइन । मलाई त्यति बेलाको त्यो यथार्थ अति नै कुरूप लाग्थ्यो, अत्याचारको पराकाष्ठा लाग्थ्यो । दर्दनाक थियो त्यो यथार्थ, असह्य थियो । त्यस्तो असल विचारको मानिस, जसले सम्मान पाउनु पर्थ्यो उसैले जिन्दगीभर अपमान पिएर बाँच्नु पर्‍यो ! म सानै उमेरको र एक्लो पनि थिएँ, सहानुभूतिका साथ टुलुटुलु हेरेर बस्थेँ ! मनमा विद्रोह उम्लिए पनि विरोध गर्न सक्दिनथेँ । कोसेको निरीहता र उसले भोगेको त्यो प्रताडनाले मेरो मनलाई जहिले पनि बिझाइरह्यो । तर आज गएको राति जुन सपना देखेँ, त्यस सपनाले भने मलाई केही हदसम्म सन्तुष्ट बनायो ।
उसको वास्तविक नाम कोषराज उपाध्याय थियो तर गाउँभरिका सबैले ‘कोसे’ भन्ने गर्थे । अझ ‘गैरेली कोसे’ भनेपछि त्यस भेगमा नचिन्ने कोही थिएन । सानैमा बाबु गुमाउन पुगेको टुहुरो कोसेकी आमाको खास नाउँ त के थियो कुन्नि ! उनलाई सबैले ‘राइँदाल्नी’ भन्थे । गाउँमा तिनीहरूका आमाछोरालाई सामान्य खानलाउन पुग्ने जायजेथा थियो ।
त्यतिखेर सिद्धार्थ राजमार्ग खुलिसकेको थिएन । नुनतेलका लागि बटौली जाने चलन थियो । ओरापरीलगायत वर्षभरिलाई चाहिने सामानहरू लिन बटौलीबाहेक नजिकमा अर्को विकल्प थिएन । स्याङ्जाको चापाकोटबाट डुङ्गामार्फत् काली तरेर पाल्पाका डाँडाकाँडाहरूमा उकाली र ओराली गर्दै बटौली झरेर भारी बोकी घर आइपुग्न दस–बाह्र दिनको समय लाग्थ्यो । कोसेका बाबु पनि वर्षमा एकपटक गाउँलेहरूसँगै मिलेर नुनतेलका लागि बटौली पुग्ने गर्थे । पछिल्लोपटक बटौलीबाट डोकाभरि सामानको भारी बोकी फर्कने क्रममा उनलाई बाटोबाटै पखाला सुरू भयो । सबैले हैजा लागेको भने । सकिनसकी घर आइपुगेको तेस्रो दिनमै तिनको इहलीला समाप्त भएको थियो ।
कोसेको घर गाउँको बिचतिर थियो । केही गैरामा भएर नै होला सायद् गैरेली भनेको । घर चाहिँ घुमाउने थियो अर्थात् गोलो घर । ढुङ्गामाटाले बनेको, दक्षिण फर्केको । पूर्व, पश्चिम र दक्षिण तिनैतिर खरको छानो भएको पाली हालिएको थियो । धुरीको छानो पनि खरकै थियो । त्यस जमानामा गाउँमा टिनले छाएको घर एउटा पनि थिएन । अन्य घरहरूको तुलनामा त्यस घरको अगाडिको पिँढी केही अग्लो थियो । खँड्करीको दायाँपट्टिको सानो पिँढीमा एउटा मकै दल्ने केही ठुलो र अर्को कोदो पिस्ने केही सानो आकारका गरी दुईवटा जाँता थिए । ढिकरी चाहिँ पश्चिमपट्टिको पालीमुनि थियो । घर निकै पुरानो थियो । कोसेको हजुरबाको पालामा बनेको थियो । घरको पछाडिपट्टिको गाह्रो चर्केको थियो ।
श्रीमानको मृत्यु भएपछि राइँदाल्नीलाई जीवन चलाउन निकै कठिन भयो । छोरो कोसे सानै थियो, आफू पच्चिस–छब्बिस वर्षकी । गाउँका सबै लोग्नेमान्छे राम्रो स्वभावका थिएनन् । कतिपयको नियत नराम्रो पनि थियो । नराम्रो नियतका लोग्नेमान्छेहरूबाट पाइलैपिच्छे जोगिनुपर्थ्यो । कतिपय अवस्थामा राइँदाल्नीलाई आफ्नो अस्मिता जोगाउन पनि कठिन थियो । गाउँका लोग्नेमान्छेको त कुरै छाडौं महिलाहरूले समेत ‘बैंसैमा पोइ टोकेर बसेकी अलच्छिनी राँड’ भनी मेलापात र पँधेरामा कुरा गर्थे । ‘पोइटोकाइ देखिई, साइत बिगारी राँडले’ यस्तोसम्म पनि भन्न भ्याउँथे घरबाट यात्रामा निस्कँदै गरेका त्यस गाउँका कतिपय बुढा बाहुनहरू । गाउँमा उनलाई सहानुभूति दिनेहरू कोही थिएनन् भने पनि हुन्छ ।
आफू विधवा, छोरो सानो । गाउँलेहरूले बेला बेलामा दिने मानसिक तनाव झेल्नुपर्दा दिमागले काम गर्नै मुस्किल । लुकी लुकी भुसाहा तान्थिन् । पारिको घर्ती गाउँमा गएर कहिलेकाहीँ रक्सी पनि पिउँथिन् भन्ने गाइँगुइँ सुनिन्थ्यो । ‘राँडीले रक्सी पारिदेऊ है भनेर पारिकी घर्तिनी माइलीलाई तिन पाथी कोदो दिएकी छ रे !’ गाउँमा कुरा काट्नेहरूले यस्तो पनि भनेका थिए । यद्यपि उनले रक्सी पिउने गरेको दसी वा प्रमाण भने कसैसँग पनि थिएन । छिमेकीहरू अधिकांशले पाइलैपिच्छे खेदो खन्थे । गाउँमा उनीसँग कोही पनि खुलेर बोल्दैनथ्यो । एक्लिनुपर्दाको पीडाले होला सायद् उनले नियमित रुपमा भुसाहालाई साथी बनाएकी !
गाउँलेहरूले बसिखान नदिँदा उनी गाउँलेहरूका विरुद्धमा खनिन्थिन् । ‘तिनीहरूका बाउको के खाएकी छु र मैले, जहिले नि मेरै खेदो खनेका छन्, जसले नि मेरै खेदो खनेका छन् ।’ कहिलेकाहीँ तिनको मुखबाट निस्कने आवाज थियो यो । पछिल्लो चरणमा उनी विद्रोही बन्दै गएकी थिइन् । मुख्य गरी लोग्नेमान्छेहरूले स्वास्नीमान्छेहरूप्रति गर्ने अत्याचारको उनले विरोध गर्न थालेकी थिइन् ।
त्यस समयमा गाउँका बाहुन बुढाहरू आफ्नी स्वास्नीलाई बढी नै कुट्ने गर्थे । लात्तैलात्ताले भकुर्थे । कुनै कुनै बुहारीहरूले चाहिँ सासू र लोग्नेको संयुक्त कुटाइ खानुपर्थ्यो । गाउँभरिमा बुहारी तथा स्वास्नीलाई कुटेरै तह लाउनुपर्छ भन्ने अत्याचारी मानसिकता थियो । कतिपय घरमा आधा रातसम्म बुहारी तथा स्वास्नीहरू डाँकै छोडेर रुँदै बसेको पनि सुनिन्थ्यो । बुहारीहरूलाई खानपानमा कुनै वास्ता हुँदैनथ्यो । तिनीहरूको मुखमा मिठोमसिनो पर्न पनि मुस्किल थियो ।
गाउँका अधिकांश घरहरूमा यो अवस्था देखेकी राइँदाल्नी भित्रभित्रै मुर्मुरिन्थिन् । छिमेकबाट आएको बुहारीहरूको रोदनले असह्य बनाएपछि उनी कहिलेकाहीँ आँगनमा निस्केर चिच्याउँथिन्, ‘स्वास्नी कुटेर पौरख देखाउने थुक्क बज्जिया हो !’ कहिलेकाहीँ पानी लिन पँधेरामा जाँदा पनि भुतभुताउँथिन्, ‘आइमाईलाई कुकुरलाई जति पनि मान नगर्ने यी लोग्नेमान्छे, अझ यिनै ठुलाबडा अरे !’ यसो भनेपछि उनले बाटाको छेउमा पिच्च थुक्थिन् । उनका यस्तै कुरा सुनेर होला सायद् गाउँलेहरू प्रायले उनलाई राइँदाल्नी मात्रै नभनेर ‘बौलाही राइँदाल्नी’ भन्न थालेका थिए । उनलाई 'बौलाही'मा करार गरेपछि गाउँका सबै लोग्नेमान्छेहरूले आफ्ना श्रीमती, छोरीचेली तथा बुहारीहरूलाई राइँदाल्नीसँग बोलचाल तथा उठबस गर्नमा प्रतिबन्ध लगाएका थिए ।
बाबु आफू सानै उमेरको हुँदा मरेका र आमालाई गाउँलेहरू सबै मिलेर एक्ल्याएको अवस्थामा कोसे पनि गाउँलेहरूबाट पीडित थियो । आफ्नो गाउँका अरु केटाकेटीहरूसँग सँगै खेल्न र हिँडडुल गर्न पाउँदैनथ्यो । गाउँका अरु केटाकेटीहरूले ‘बाबुटोकाहा’ भनेर हेप्थे । आफूहरूको नजिक पर्नै दिँदैनथे । उनीहरूसँग सँगै खेल्न भनेर नजिक जान खोज्दा उसकै उमेरको कोहीकसैले भनिदिन्थ्यो, ‘ऊ बाबुटोकाहा आयो !’ आमाको पनि घरिघरि झडङ्ग–झडङ्ग रिसाउने स्वभाव भएको कारण कोसेले घरको वातावरण राम्रो पाएन । स्कुलहरू थिएनन्, पढ्न जाने चलन पनि खासै थिएन । सकिनसकी घरका केही कामहरू भने गर्थ्यो ।
समय बित्दै गयो । समयक्रममा आमा रोगाइन् । खोक्दाखोक्दा भाउन्निएर लड्थिन् । गाउँलेहरूले टिबी भएको अनुमान गरे । थलै परिन् । लगभग छ महिना जति त ओछ्यानमै लडिरहिन् । उपचारको कुनै व्यवस्था भएन । गाउँलेहरू पनि टिबी सर्छ भनेर उनको घरतिरको बाटो हिँड्दैनथे । मर्ने बेलामा अति नै दुःख पाएर मरिन् । मलामी जान समेत त्यहाँका धेरैजसो बाहुनहरू हिचकिचाए बरु पारि गाउँका घर्तीहरू आएर सहयोग गरे ।
अब किशोर वयमा पाइला टेक्दै गरेको कोसे आफ्नै खुट्टामा उभिनु पर्ने अवस्थामा आइपुगेको थियो । पुरानो गोलो घर निकै जीर्ण भएको थियो । एक्लो मान्छेका लागि उक्त घर ठुलो पनि भएको थियो । बढारकुढार, लिपपोत, घरको स्याहार गर्न गाह्रो थियो । वर्षौंदेखि छाइएको पनि थिएन । एकदुईपटक चोर खर लगाएर धुरी मार्ने काम मात्रै भएको थियो । छानाबाट पानी चुहिन थालेको थियो । पछाडिपट्टि चर्केको भित्ताले पनि खतराको जनाउ दिन थालेको थियो । एक किसिमले हेर्दा कुनै पनि बेला ढल्ला जस्तै भइसकेको थियो । कोसेको घरको दुर्दशा देखेर एउटा हिउँदमा पारि गाउँका तिनै घर्ती र घर्ती गाउँसँगै जोडिएको दमै गाउँका दमैहरूले सहयोग गरे । पुरानो गोलो घर भत्काएर त्यसैको काठपात प्रयोग गरी पहिले घर भएको भन्दा माथिल्लो गरामा दुई पाखे सानो घर बनाइदिए । अब भने कोसे नयाँ सानो घरमा बस्न थाल्यो ।
क्रमशः किशोर अवस्था पार गर्नै लागेको कोसेलाई गाउँमा आफ्नै दामलका कसैले पनि साथी बनाउन चाहँदैनथे । ऊ कहिले पारिको घर्ती गाउँमा जान्थ्यो, कहिले दमै गाउँमा पुग्थ्यो । कहिले घर्ती केटाकेटीसँग त कहिले दमै गाउँका आफूसँगैका उमेर मिल्नेहरूसँग खेल्थ्यो । गफ गर्थ्यो, हाँसोठट्टामा भुल्थ्यो । कहिलेकाहीँ त खाना उतै खान्थ्यो र बास पनि उतै बस्थ्यो । विशेष गरी घर्ती गाउँका प्रायः सबैले उसलाई माया गर्थे । डामेको कोदाको रोटो वा भुटेका मकै जे आफूहरू खाँदै हुन्थे, त्यो दिन्थे । उसलाई घर छोडेर अन्यत्र बस्न किन पनि सजिलो थियो भने उसले गाईबाख्रा, भैँसी केही पनि पालेको थिएन ।
कोदो रोप्ने बेलामा सजिलो होस् भनेर उसले घर्ती र दमैहरूसँग पर्म लगायो । उसलाई घर्ती गाउँका बुढा घर्तीहरूले पनि यही सल्लाह दिएका थिए । गोडमेलका क्रममा पनि उनीहरूसँगै पर्ममा हिँड्यो । यसबाट उसलाई आफ्नो अन्नबाली लगाउन, गोडमेल गर्न र थन्क्याउन पनि सजिलो भयो ।
कोसे राति घरमा नआउने र घर्ती गाउँमा मात्र नभई दमै गाउँमा समेत गएर बास बस्ने गरेको कुरा गाउँका बाहुनहरूले मन पराएका थिएनन् । दमैकै घरमा बसेर खान्छ अरे भनेको सुनेर सबैजसो बाहुनहरूले उसलाई छिःछिः र दुरदुर गर्न थालेका थिए । बाहुनहरू उसबाट झनझन तर्किन थाले । उसलाई बाहुन गाउँमा देख्नै नपरे हुन्थ्यो जस्तो गर्न थाले । गाउँका एक जना पुरेतले यसो पनि भने, ‘त्यस्तो पातकीले त हाम्रो गाउँमा मुख नदेखाए पनि हुन्थ्यो नि !’
उता कोसे कुरकुरे बैँस भरिँदै जाँदा दमै गाउँका युवतीहरूसँग लहसिन थालेको थियो । शारीरिक बनावट पनि आकर्षक, उसले भुन्टे दमैकी छोरी मङ्गलीलाई मन पराउँथ्यो । दुवै लगभग उस्तै उमेरका । कहिलेकाहीँ कामको मेलामा सँगै हुन्थे । प्रत्येक दिनजसो भेटेरै गफ गर्थे । मङ्गली बाख्रा चराउने क्रममा राम्चेको जङ्गलमा पुग्दा कोसे पनि त्यहीँ पुगेको हुन्थ्यो । घाँसदाउराका लागि बटुङ खोल्सामा पुग्दा कोसे पनि त्यहीँ पुगेको हुन्थ्यो । हुँदाहुँदा उनीहरू छुट्टिएर बस्नै नसक्ने अवस्थामा पुगे । बिहे गरेर सँगै बस्ने कसम खाए ।
बाहुन गाउँमा कोसे र मङ्गली बिचमा मायाप्रेम छ भन्ने कुराको गाइँगुइँ चल्न थाल्यो । उनीहरूको बिहे नहुँदै मङ्गलीको पेटमा गर्भ बसेको छ भनेर गाउँभरि हल्ला पिटाइयो । बाहुन गाउँमा सानो कुरा केही हुनु हुँदैनथ्यो, तिललाई पहाड बनाइहाल्थे । यो हल्लाले पनि सुकेको खरबारीमा आगाको रूप धारण गर्‍यो । गर्भ बसेकै थिएन, कोसेले दुइटा वर्षपछि बिहे गर्ने सोच बनाएको थियो । तर गाउँमा मङ्गलीसँग आफ्नो पीरति गाँसिएको हल्ला फिँजिइसकेको हुँदा कोसेले मङ्गलीलाई मन्दिरमा लगी सिन्दूर हालेर आफ्नै घरमा ल्यायो ।
घरजम गरेर बसिसकेपछि कोसेका लोग्नेस्वास्नीले जीवनमा नयाँनौला सपनाहरू देख्न थाले । एउटा भैँसी र केही बाख्रा पाल्ने योजना बनाए । घरनजिकैको बारीमा मात्रै खेती गरिएको थियो । जङ्गलको मुखैमा रहेको पाखो बारीमा खेती गर्न छोडिएको थियो, त्यहाँ पनि घैया छर्ने र कोदोसमेत रोप्ने योजना बनाए र योजनामुताबिक नै अगाडि बढ्न थाले ।
बाहुन गाउँको बिचमा बस्ने उपाध्याय बाहुनको छोरो कोसेले दमिनी भित्र्याएको बाहुनहरूलाई मन परेको थिएन । बाहुनहरू कोसेसँग असाध्यै चिढिएका थिए । बाटामा हिँड्दा होस् अथवा पानीपँधेरो जहाँ पनि र जसले पनि उनीहरूमाथि सत्तोसराप हालेकै हुन्थे । मङ्गलीलाई त पँधेराको पानी छुन पनि दिँदैनथे । बिहानभरि बाहुनीहरूले पानी ओसारेर पुर्‍याएपछि मात्रै कहिलेकाहीँ बिरालाको चालले मङ्गली पँधेरामा जान्थी ।
बाहुन जातिका लोग्नेमान्छेहरूले पानी बोक्ने, भात पकाउने जस्ता कामहरू गर्दैनथे । तिनीहरू त फुर्सद भयो कि बरु पिँढीमा बसेर भुसाहा तान्दै गफ लडाउँथे । कहिले आँगनमा गुन्द्री बिछ्याएर त्यहीँ पाहार ताप्थे । चिया पिउने चलन थिएन । बरु भुसाहाको सट्टामा कहिलेकाहीँ हुक्का गुडगुडाउँदै धुवाँको मुस्लो छोड्थे । बढारकुढार, लिपपोत, लुगा धुने तथा भाँडा माझ्ने जस्ता कुनै पनि काममा लोग्नेमान्छेहरूले हात हाल्दैनथे ।
मङ्गली कहिलेकाहीँ त अरुले थाहा नपाऊन् भन्ने हिसाबले आधा रातमै उठेर पनि पँधेर जान्थी र पानी ल्याउँथी । यद्यपि बिहानमा पानी बोक्ने काम प्रायः कोसेले नै गर्थ्यो, बरु मङ्गली डोको बोकेर भैँसीका लागि घाँस काट्न हिँड्थी ।
गाउँका बुज्रुकहरूले उनीहरूलाई गाउँनिकाला गर्न चाहिरहेका थिए तर सहज रूपमा सकेका थिएनन् । कारण, घर्ती गाउँका घर्ती र दमै गाउँका दमैहरूबाट कोसेका लोग्नेस्वास्नीलाई भित्री रूपमा साथसहयोग थियो । बाहिरी रूपमा अर्थात् खुलेरै त घर्ती र दमैहरू पनि बाहुनहरूका विरुद्धमा लाग्न सक्दैनथे, तिनीहरू प्रायजसो बाहुनहरूकै हलो जोतेर आफ्नो परिवारको पालनपोषणमा भरथेग गर्न बाध्य थिए ।
कोसेले मङ्गलीलाई भित्र्याएको वर्ष दिन बितिसकेको थियो । एक वर्षसम्म पनि उनीहरूलाई गाउँबाट खेद्न नसकेकामा बाहुनहरू चिन्तित थिए । मानसिक रूपमा जति नै यातना पाए पनि कोसेका लोग्नेस्वास्नीले घर छोडेनन् । बिहे भएको केही महिनापछि मङ्गली दुई जिउकी बन्न पुगेकी थिई ।
दुवै दिनभरि काममा जोतिन्थे, कामले लखतरान परेर घर फर्कन्थे । बेलुका खानसाना खाई सुत्ने बेलामा भोलि कहाँ के काम गर्ने भन्ने बारेमा योजना बनाउँथे । शारीरिक थकान बढी हुने हुँदा चाँडै नै सुत्थे र निदाइहाल्थे पनि । बिहानमा पनि ढिकी–जाँतो, कुँडोपानीका लागि सबेरै उठ्थे ।
एक रात मस्त निदाएको बेला अर्थात् आधा रातको समय हुँदो हो सायद्, कोसेको घरमा आगलागी भएछ । जल्दै गरेको छानो खसेर ढोकामै थुप्रिइसकेपछि मात्र उनीहरूले थाहा पाएछन् । ढोकाअगाडि थुप्रिएका डाँडाभाटा पन्छाएर बाहिर निस्कँदा केही समय लागेछ । गाउँमा सबै शत्रु नै शत्रु ! आगो फलानाले नै लगाइदिएको हो भनेर उनीहरूले किटान गर्न सकेनन् । आगाले मङ्गलीको शरीरलाई बढी नै असर पुर्‍याएछ । पर्सिपल्टै उसले संसार छोडी ।
मङ्गली मर्दा बाहुनहरू कसैले पनि वास्ता गरेनन् । दमै गाउँका दमैहरू नै आएर मङ्गलीको लास घाटमा लगे । ‘कोसेको घरमा आगो झोस्ने काम कि डाँडाघरे पुरेतको छोराले गरेको हुन सक्छ, कि त माइला पण्डितको छोराले हुन सक्छ !’ दमै गाउँबाट निस्केको यो आवाज हावामै बिलायो । बाहुनहरूसँग सिँगौरी खेलेर जुध्न सकिन्न भन्नेमा पुगे उनीहरू । दसी–प्रमाण केही नभएकाले दमैहरू सबै तैँ चुप मै चुपको अवस्थामा रहे ।
घर्ती गाउँबाट पनि सहानुभूतिको आवाज निस्केको थियो, ‘बाहुनहरू त साह्रै नै पापी हुन् । दोजिया भएकी महिलाको हत्या त नगरेका भा’ पनि हुन्थ्यो नि ! तिनीहरूको केही खाइदिएका थिएनन्, आफ्नै गरेर त खाएका थिए नि ।’ यो आवाज पनि घर्ती गाउँको आकाशभन्दा बाहिर पुगेन । घर्ती गाउँकै आकाशमा मात्रै सीमित रह्यो ।
बाहुन गाउँका बाहुनहरू चाहिँ कोसेको आफ्नै अँगेनाबाट आगो उछिट्टिएर घर जलेको हो भन्नेमा एकमत भए ।
न जहान, न घर, कोसे एक्लो भयो । उसलाई घर जलेको भन्दा पनि श्रीमती मङ्गली मरेको पीडाले बढी पोल्यो । विरक्त लाग्यो, विरक्तियो । उसलाई गाउँमा बस्नै मन लागेन । एक दिन ऊ गाउँ छोडेर हिँड्यो । कहाँ गयो भन्ने कसैलाई पत्तो भएन । बाहुनहरूका लागि त कोसेले गाउँ छोडेको अवस्थालाई एक किसिमले भन्ने हो भने कुचाले बढार्नुपर्ने कसेर हावाले बढारिदिएको थियो ।
घर छोडेको आठ–नौ वर्षसम्म ऊ त्यस भेगमा कतै पनि देखापरेन । कसैले आसामतिर वा मुग्लान भासिएको शङ्का गरे । कसैले जोगी भएर हिँडेको छ पनि भने ।
ऊ साँच्चै नै जोगी भएर हिँडेको रहेछ । केही समय काली गण्डकीको किनार केलादीघाट र केही समय देवघाटमा बसेछ । देवघाट बस्ने क्रममा उसले साँवा अक्षर चिन्ने अवसर पाएको रहेछ । कनिकुथी दुईचार अक्षर लेख्न जान्ने पनि भएछ । देवघाटमा बस्न छोडेपछि कपाल पालेर सन्यासीकै पहिरनमा घर घरमा पुगेर माग्न थालेछ । यही समयबाट गाँजा तान्न र पछि क्रमशः रक्सी पनि पिउन सिकेछ ।
घर छोडेको लगभग नौ वर्षपछि ऊ सामान्य दौरा सुरुवालको पहिरनमा गाउँमा देखा पर्‍यो । आफ्नो गाउँमा उसले कसैको घरमा पनि मागेन । आफ्नो गाउँमा मात्र नभई त्यस वरिपरिका अन्य गाउँमा पनि उसले माग्ने काम गरेन । जुन घरमा पुग्थ्यो त्यही घरमा ‘आज मलाई यहीँ नै खाना बनाइदिनुस् है’ भन्थ्यो । आएर बसेपछि खान दिन करै लाग्थ्यो र दिन्थे पनि । भित्र पस्न पाउँदैनथ्यो, बाहिरै बसेर खान्थ्यो । आफूले खाएको थालकचौरा माझेर घाममा सुकाइदिन्थ्यो । पिँढीमा सुत्थ्यो । गाउँका बाहुनीहरूले ऊ हिँडेपछि उसले खाएका भाँडाकुँडा आगो हालेर चोख्याएपछि मात्रै भित्र लैजान्थे । गाउँमा घरैपिच्छे पुगेर पालैसान्ति खान्थ्यो, बस्थ्यो । केही समयपछि पुनः गाउँबाट हराउँथ्यो ।
गाउँमा घरघरै डुलेर खाँदा उसले कसको घरमा कस्तो खानेकुरा पाक्छ र कस्तो खाना खान्छन् भन्ने कुराको अनुभव मजैले बटुलेको थियो । कुन बाहुनीले कस्तो पकाउँछिन् भन्ने पनि उसलाई थाहा भयो ।
उसले बोक्ने थैले झोलामा आफ्नो बन्दोबस्तीका सामानका साथमा एउटा कलम र एउटा कापी हुन्थ्यो । कापीमा उसले जानीनजानी केही शायरीहरू लेखेको थियो । उसले कहिलेकाहीँ केही मानिसहरू जम्मा भएको ठाउँमा शायरी सुनाउने पनि गर्थ्यो । मङ्गलीसँगको वियोगलाई उसले शायरीमा उतारेको थियो । छन्द नमिले पनि उसले केही सिलोकहरूसमेत लेखेको थियो र गाउँथ्यो पनि । विशेष गरी रक्सी पिएको बेला ऊ आफ्ना रचनाहरू सुनाउँथ्यो । रक्सी पिएपछि बोल्न पनि बढी नै बोल्थ्यो । ‘मेरी मङ्गलीलाई मेरै दाजुभाइहरूले हत्या गरेका हुन्, तिनीहरूलाई त यसै म कहाँ छोड्छु र !’ अक्सर रक्सीको नसामा चोर औँलो ठड्याएर दाह्रा किटकिटाउँदै उसले भन्ने गर्थ्यो तर नसाले छोडेपछि भने चुपचाप रहन्थ्यो, मुखबाट यस्ता शब्दहरू निकाल्न डराउँथ्यो ।
रक्सीले टिल्ल भएकै बेला एकपटक उसले भनेको थियो, ‘मैले त मङ्गलीसँग बिहे गरेर जातीय समानतालाई व्यवहारमा उतारेको हुँ । तर गाउँका बाहुनहरू कसैले पनि मलाई मान्छेको दर्जा दिएनन् । उल्टै मेरो खेदो खने, उठिबासै गराए नि ! मेरो औताली खान खोजेका होलान्, खाऊन् ।’
शरीरले साथ दिँदासम्म कोसेले फिरन्ते जीवन नै बितायो । जीवनको उत्तरार्धमा भने उसले गाँजा र रक्सी पिउन छोडेको थियो । जब शारीरिक रूपले कमजोर बन्दै गयो, घरघरमा डुलेर माग्न पनि नसक्ने भयो तब उसले आफ्नै गाउँमा बस्ने सोच बनायो । पहिलेको घरको नामोनिसान थिएन । आफ्नै जग्गा जहाँ पहिलेको घर थियो, त्यही ठाउँमा गाउँलेहरूद्वारा ओतसम्म लाग्ने एउटा सानो छाप्रो तयार गरियो । ऊ त्यहीँ बस्न थाल्यो । अशक्त र बिरामी नै भएपछि गाउँका बाहुनहरूले साँझबिहान पालैपालो उसलाई त्यही छाप्रामा लगेर खाना दिन थाले । डेढ महिना जति थलिएपछि भने त्यही छाप्राबाट ऊ सधैँका लागि अस्तायो ।
बाहुन गाउँमा मरेपछि लास कालीगण्डकीमै पुर्‍याएर जलाउने अथवा गाड्ने चलन थियो । गाउँबाट कालीगण्डकी घाटसम्मको दुरी पैदल यात्रामा छ–सात घन्टाको थियो । गाउँबाट बिहानै लास बोकेर हिँडेका मलामी साँझ अबेर मात्रै घर आइपुग्थे । कोसेको लासलाई कालीगण्डकीको घाटमा पुर्‍याइएन । गाउँभन्दा मुनिको खोलाकिनारमा जलाइएको थियो ।
यसरी इहलीला समाप्त भएको कोसेलाई मैले गए रातको सपनामा देखेँ । मैले देखेको सपनाअनुसार गाउँमा एउटा सम्मानको कार्यक्रम थियो । कार्यक्रम ‘दलित मुक्ति समाज’ले राखेको थियो । सङ्ख्यात्मक रूपमा मान्छेहरूको उपस्थिति राम्रो थियो । मञ्चमा प्रमुख अतिथिलगायत अन्य अतिथिहरू सयपत्री फूलको माला पहिरिएर बसेका थिए । कोसे अर्थात् कोषराज उपाध्याय पनि अतिथिहरूका साथ मञ्चमै थिए । श्रोता दीर्घामा बसेर मैले सबै दृश्य नियालिरहेको थिएँ । सेतो रङको लामो कपाल र उस्तै सफेद दारी पालेका वृद्धावस्थाका कोषराज पुराणहरूमा वर्णित ऋषिमुनिहरू जस्तै धपक्क बलेको चेहरामा थिए । जातीय विभेदका विरुद्ध खडा भएर उहिलेकै जमानामा पनि अन्तरजातीय विवाह गरेको हुनाले कोषराजलाई सम्मान गरिएको थियो । जिन्दगीभर अर्थात् बाँचुन्जेल अपमान तथा तिरस्कार मात्रै प्राप्त गरेका कोषराज सम्मानित भएकामा म औधी खुसी थिएँ । कार्यक्रम सकिनासाथ भीड छिचोल्दै उनलाई भेट्न पुगेँ । ‘गैरेली स्याना बा !’ भन्न मात्रै के भ्याएको थिएँ, बुढाले त मलाई च्याप्प समाएर अँगालै हाले । हो, यति नै बेला म झल्याँस्स ब्युँझेको थिएँ ।

बिरुवा– ६, ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।