जीवनी सन्दर्भ:
वि.सं. २०३३ मा प्युठानको दाङवाङमा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका विजयराज आचार्य २०५३/५४ सालतिर भेट भएका हरेक साहित्यकारहरूलाई आग्रह गर्दथे ‘बालबालिकाहरूका लागि पनि केही लेख्नुहोस् न । तपाईँको रचनालाई हामी नव प्रतिभामा छाप्छौँ ।’
उनी थानेश्वर बञ्जाडे र बासुदेव पराजुलीसँग मिलेर ‘नव प्रतिभा’ बालमासिक प्रकाशन गर्दथे । राधा बुढाथोकीको सम्पादनमा प्रकाशन हुने ‘नव प्रतिभा’को उनी कार्यकारी सम्पादक थिए । ओझेलमा परेका बाल स्रष्टाहरूको खोजी गर्दथे र उनीहरूको अन्तरवार्ता पत्रिकामा छाप्थे ।
बालबालिकाहरूको अन्तरवार्ताले स्थान पाएको ‘नव प्रतिभा’ बालपत्रिकाबाट नै हो । त्यस पत्रिकामा छापिएका चौध जना प्रतिभावान् बालबालिकाहरूको अन्तरवार्ता सङ्ग्रह पुस्तकको रुपमा ‘चम्किला चौध कोपिला’(२०६०) कृतिका रुपमा छापियो । यस कृतिलाई नेपाल बालसाहित्य समाजले ‘सर्वोत्कृष्ट वर्ष पुस्तक’को रुपमा नेबासास पुरस्कारद्धारा पुरस्कृत गरेकाले पनि अन्तरवार्ता साहित्यमा यसको महत्त्व बेग्लै थियो भन्ने देखिन्छ ।
अहिलेको स्थापित साहित्यकार झमककुमारी घिमिरेलाई पहिलो पटक धनकुटाबाट राजधानीसम्म ल्याई चिनारी गराउने व्यक्ति विजयराज नै हुन् । १९ अङ्कसम्म निस्किएपछि नव प्रतिभा बन्द भयो । तर, बालबालिकाका लागि केही गर्ने विजयको हुटहुटीले भने पूर्णविराम लिएन । पछि विवेक सिर्जनशील प्रकाशनबाट ‘बाल बगैचा’ बाल पत्रिका प्रकाशन गर्न थाले । त्यो पत्रिका ५२ अङ्कसम्म निस्कियोे ।
कक्षा दश पास गरेपछि कामको खोजमा भारत पुगेका उनी अखिल भारत नेपाली एकता समाजको सम्पर्कमा पुगेपछि समाज परिवर्तनका लागि केही गर्नुपर्ने चेतनाका साथ राजीतिमा सक्रिय भए ।
त्यसो त उनमा विद्रोहको चेत पारिवारिक अवस्थाबाट नै आएको बताउँछन् । आफ्ना बाबु आमाका नौ सन्तान मध्येका सातौं सन्तान उनले आफ्ना बाल्यकालमा परिवारभित्र आपूm अलिक उपेक्षित हुनुपरेको बोध भएपछि उनमा विद्यमान परम्परा विरुद्ध विद्रोहको चेतना विकास भएको हो । त्यो विद्रोहको चेतनाले उनलाई राजनीतिमा आकर्षित ग¥यो र कक्षा आठमा नपुग्दै विद्यार्थी राजनीतिमा होमिए । उनी तेह्र वर्षका हुँदा विद्यार्थी राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनिसकेका थिए ।
भारतमा आपूmले सोचेजस्तो नभएपछि उनी नेपाल फर्किए र छिरे राजधानी । काठमाडौँ छिरेपछि पनि उनी वामपन्थी राजनीतिको एउटा समूह निकट रहेर क्रियाशील रहे भने रोजीरोटीका लागि कहिले पत्रिकाको हकर त कहिले कुनै कम्पनीको बजार प्रतिनिधि हुँदै काठमाडौँका सडक र गल्लीहरू नाप्न थाले । दुवै काममा आत्मसन्तुष्टि नमिलेपछि स्वरोजगार गर्ने सोचमा पुगे । अनि सानो लगानी जुटाएर होमिए पुस्तक प्रकाशनमा ।
झण्डै आधा शताब्दी बालसाहित्यमा समर्पित शान्तदास मानन्धरको प्रभाव विजयमा थियो । बालबालिकालाई सम्मान गरिनुपर्छ भन्ने र त्यही अनुसारको सिर्जना र व्यवहारमा क्रियाशील शान्तदास मानन्धरको सत्कर्मबाट प्रेरित विजयमा यस क्षेत्रमा केही फरक कर्म गर्ने हुटहुटी थियो । तर कसरी ? मेसो पाइरहेका थिएनन् । त्यसैले उनले विभिन्न लेखकहरूलाई बालसाहित्य सिर्जनाका लागि आग्रह गरे अनि आफू प्रकाशक बने । नयाँ लेखकका साथसाथै स्थापित लेखकहरू खगेन्द्र सङ्ग्रौला, जनकप्रसाद हुमागाईं, नारायण ढकाल, शारदारमण नेपाल लगायत थुप्रै लेखकहरूको बाल सामग्री उनले छापे ।
बालसाहित्यप्रति नै उनको आकर्षण बढ्नुको एउटा कारण थियो उनले बोकेको चेतना, देखेको सपना र अनुभूत गरेको यथार्थता । राजनीतिमा लाग्नेहरूको ढोंग उनले देखेका थिए । चिन्तन र व्यवहारबिच असमन्जस्यता देखेका थिए । समाज परिवर्तन गर्न चाहनेहरूको चिन्तन र व्यवहारमा एकरुपता हुनुपर्छ भन्ने उनको सोच थियो । त्यही अनुरुप आफ्नो जीवन र व्यवहार चलाउने प्रयत्नमा थिए उनी । उनलाई लाग्यो भोलिको समाज असल बनाउने हो भने आजका बालबालिकाहरूमा असल विचारको बीजारोपण गर्नुपर्छ । यही विचारबाट निर्देशित भएर उनी राजनीतिबाट विस्तारै टाढिए र समर्पित भए बालसाहित्य प्रकाशनमा ।
२०५८ सालमा आयोजित सिर्जनात्मक कार्यशालामा सहभागीमध्येका एक सर्जकले गफैगफको मेसोमा प्रकाशकहरूलाई सर्जक बनाउन नहुने र सिर्जना गरे पनि प्रोत्साहन गर्न नहुने विचार व्यक्त गरेपछि विजयको सर्जक हृदयमा ‘इगो’ जन्मियो, अनि सिर्जना गरे ‘शान्तिको आत्मकथा’ । यो कथा उनको बालसाहित्य सिर्जनाको पहिलो पाइलो थियो ।
निम्न वर्गीय पात्रले आफ्नो जीवनमा भोग्नुपरेको पीडालाई स्मृतिदंशको रूपमा आत्मकथात्मक शैलीमा लेखिएको ‘शान्तिको आत्मकथा’ले राम्रै प्रशंसा पाएपछि केही समय उनलाई लेख्न डर लाग्यो । उनलाई भय थियो कतै पहिलो लेखाइभन्दा कमजोर हुन्छ कि ?
चित्रकथाको रुपमा वि.सं. २०५९मा छापे उनले । २०६६ सालमा ‘शान्तिको आत्मकथा’ सहित ‘बाटुली’, ‘घरबेटी’ र ‘सिंहराज’ चारवटा बाल कथाहरूको सङ्ग्रह ‘बाटुली’ छापियो । हालसम्म उनका १२ वटा बालकथा सङ्ग्रह प्रकाशित छन् । त्यस्तै ‘परिवर्तन’, ‘नयाँ बस्ती’ र ‘हाम्रो आवाज’ बाल उपन्यास प्रकाशित छन् ।
लोककथाको पुनर्लेखन, काल्पनिक उडन्ते कथा वा मनोरञ्जनका लागि लेखिने उपदेशमूलक लेखन प्रकृयाको बाहुल्यता भएको सन्दर्भमा भुइँमान्छेहरूले भोग्नु परेको पीडाका यथार्थताहरूलाई बालकथाको विषय बनाउने विजयराजका कथाहरूले ताली र गाली दुवै पाएका छन् । बहुसङ्ख्यक रुपमा रहेका निम्न वर्गले भोग्नु परेका विविध समस्याहरूको चित्रण गर्दै बालबालिकाहरूलाई त्यसप्रति सचेत र संवेदनशील बनाउनु र समतामूलक समाजको निर्माणमा विचारको भ्रूण रोप्न खोज्नु उनका कथाहरूको ध्येय देखिन्छ ।
हरेक खालका सामाजिक विभेद विरुद्ध बालबालिकाहरूलाई सचेत बनाउन सक्ने हो भने भोलिको समाज विभेद रहित बनाउन सकिने धारणा उनको रहेको छ । त्यसैले उनका बालकथाहरूमा सामाजिक–आर्थिक विभेदले जन्माएका समस्याहरू, धार्मिक अन्धविश्वास र कुसंस्कारले पारेका प्रभावहरू चित्रण गर्दै बालबालिकाहरूलाई सचेत, साहसी र सङ्घर्षशील बन्न अभिप्रेरित गरिएको हुन्छ । अवसरबाट वञ्चित निम्न वर्गीय बालबालिकाहरूले भोग्नु परेको अभाव र पीडा, अनि गर्नु परेको सङ्घर्षको चित्रणले बालबालिकाहरूलाई जीवनमा सङ्घर्ष गर्नुपर्ने, मेहनत गर्नुपर्ने सन्देश दिन्छ ।
नेपाली बालसाहित्यको क्षेत्रमा फरक स्वादका कथाहरू प्रस्तुत गर्ने विजयराज आचार्य पढ्नु र पढाउनु पर्ने बाल साहित्यकार हुन् । उनका धेरै बालकथाहरू आफ्नै भोगाइको पृष्ठभूमिमा लेखिएका छन् । त्यसैले पनि उनका बालकथाहरू सामाजिक यथार्थमा आधारित छन् । यहाँ उनका कथाहरूको समीक्षात्मक चर्चा गरिने छ ।
बालकथा सन्दर्भः
‘शान्तिको आत्मकथा’ बाट कथा सिर्जनायात्रा थालेका विजयराज आचार्यका १३ वटा कृतिहरूमा ६७ वटा बालकथाहरू प्रकाशित भएका छन् । बाटुलील (२०६६), आमाको माया (२०७०), छोरीको माया (२०७०), बुबाको माया (२०७०), हजुरआमाको माया (२०७०), पाप पखाल्ने गङ्गा (२०७२), स्मार्ट घर (२०७४), आकाश ओढ्ने जिन्दगी (२०७५), रङ्गीन विष (२०७५), कुटी (२०७७), स्वयम्भूका आँखाहरू (२०७८) र मत्स्यकन्या (२०८०) उनले लेखेका कृतिहरू हुन् । केही कथाहरू फरक फरक कृतिमा दोहोरिएका छन् । जेनिसको जन्मदिन (२०७८) अन्य सङ्ग्रहमा प्रकाशित कथाहरूको प्रतिनिधिमूलक सङ्कलन हो ।
१. बाटुली (२०६६)
‘बाटुली’ विगत दुई दशकदेखि बालसाहित्य लेखन र प्रकाशनमा समर्पित विजयराज आचार्यको पहिलो कथासङ्ग्रह हो । साझा प्रकाशनले २०६६ मा प्रकाशन गरेको २८ पृष्ठको यस कृतिमा चारवटा कथाहरू रहेका छन् ।
बाटुली र चुमीलाई मूल पात्र बनाएर लेखिएको ‘बाटुली’ कथामा छोरीलाई पढाउनु हुँदैन भन्ने पहिलाको मान्यतालाई विषयवस्तु बनाइएको छ । छोरालाई जति भने पनि पढाउने तर छोरीलाई पढ्ने अवसर नदिने रुढिवादी परम्पराले अशिक्षित बनेकी बाटुली र चुमी जस्ता पात्रहरूलाई प्रौढशिक्षा मार्फत पढाउन सकिने भाव कथामा रहेको छ । पदम सरले प्रौढशिक्षा पढाउने योजना कथाको अन्तमा आएको छ । यो कथा सामाजिक घटना र विषयसँग सम्बन्धित रहेर पनि समसामयिकभन्दा पुरातनवादी देखिन्छ । नेपाली समाजमा छोरीलाई पढाउन आवश्यक छैन भन्ने विद्यमान पुरातनवादी सोचलाई यस कथाले उजागर गरेको छ ।
‘घरबेटी’ कथा लेखकले आफ्नो भोगाइमा आधारित भएर लेखेका हुन् । यस कथामा भाडामा बस्नेहरूप्रति घरबेटीले गर्ने नकरात्मक व्यवहार र असहयोगलाई देखाइएको छ । घरबेटीको विभेदपूर्ण व्यवहारबाट आजित भएका बालपत्र र तिनको बाबुमार्फत अचानक धनी भएका कतिपय नवधनाढ्य घरबेटीहरूले भाडामा बस्नेलाई मान्छे नै नगने पनि सबै त्यस्ता हुँदैनन् भनेर सकरात्मक सन्देश दिन यत्न गरिएको छ । पञ्चायती शासनको निरङ्कुश समयमा कतिपय नेताहरूलाई आश्रय दिएर घरबेटीहरूले बचाएको प्रसङ्ग कथामा प्रस्तुत गरिएको छ । घरबेटीको भेदभावपूर्ण व्यवहारले बाल पात्रमा परेको मनोवैज्ञानिक असरलाई पनि यस कथामा औँल्याइएको छ ।
‘शान्तिको आत्मकथा’ कथामा प्रथम पुरुष शैलीमा गाउँमा शिक्षिका भएर आएकी कथा नायिका ‘शान्ति’को सङ्घर्षको कथालाई उद्घाटित गरिएको छ । अर्काको घरमा कमारी बसेकी शान्ति मास्टर काकाको सहयोगमा पढन सिक्छे । पछि गाउँ जान्छे र सरकारी स्कुलमा पढेर एस.एल.सी पास गर्छे, अनि मास्टर्नी बन्छे । कथामा शान्तिले आफ्नो कथा बताएकी छे । पूर्वस्मृतिमा मास्टर काका र आपूm सँगै मालिक्नीको घरमा काम गर्ने वसन्तीलाई सम्झन्छे । त्यही समयमा वसन्तीको पत्र आउँछ । पत्रमा मालिक्नीको घरमा काम गर्दा आफूले अपमान गरेकोमा क्षमा माग्दै आफूले पनि मास्टर काकाबाट पढ़न सिकेको कुरा बताएकी हुन्छे । यसले बालबालिकाहरूलाई जीवनमा मिहिनेत गर्नु पर्ने, सङ्घर्ष गर्नुपर्ने सन्देश दिन्छ । जीवनप्रति सकारात्मक सोच प्रस्तुत गर्ने सुन्दर कथा हो यो ।
‘सिंहराज’ यस सङ्ग्रहमा रहेको गैर सामाजिक विषयमा लेखिएको कथा हो । यसमा सामाजिक विषय नभएर कल्पनाको उडान रहेको छ । पञ्चतन्त्रको कथा जस्तो लाग्ने यो कथामा प्रतिकात्मक रुपमा निरङ्कुश राजाले जनतामाथि गर्ने शोषण र अन्यायलाई इङ्गित गर्न खोजिएको छ । तर बालपाठकका लागि त्यस विम्बलाई बुझ्न सहज छैन । त्यसैले यो कथाले पाठकलाई क्षणिक आनन्दभन्दा बढी प्रभाव पार्ने देखिँदैन । त्यसैले यस्तो लाग्छ यो कथा उद्देश्यमूलकभन्दा पनि मनोरञ्जनका लागि लेखिएको हो । तर, अन्यायको विरोध गर्नु पर्ने र न्यायको लडाइँमा अन्याय र अत्याचार अन्ततः पराजित हुन्छ भन्ने सन्देश प्रस्तुत गर्नु कथाको सुन्दर पक्ष हो ।
समग्रमा यस कथासङ्ग्रहमा रहेका चारवटा कथाहरूले बालबालिकाहरूलाई श्रमलाई सम्मान गर्न, जीवनमा सङ्घर्ष गर्न, अन्यायको विरोध गर्न अभिप्रेरित गर्दछन् भने समाजमा असल र खराब दुवै खालका मान्छेहरू रहेकाले मान्छेलाई चिन्नुपर्ने र त्यही अनुसार व्यवहार गर्न जान्नुपर्ने सन्देश दिन्छ । कृतिमा युवक श्रेष्ठले कोरेका १७ वटा सुन्दर कथाहरू समावेश गरिएको छ ।
२. आमाको माया (२०७०)
एकता बुक्स डिस्ट्रिव्युटर्स प्रा.लि.ले २०७० सालमा प्रकाशन गरेको यो कृतिमा छवटा कथाहरू रहेका छन् । गुणस्तरीय कागज र किशोर जोशीको सुन्दर रङ्गीन चित्रले सजिएको यो कृति बालबालिकाहरूका लागि निकै पठनीय रहेको छ ।
‘फुर्से र झक्कले’ बाल मनोविज्ञानमा आधारित कथा हो । एउटा बालकले बाख्राको पाठोलाई गर्ने प्रेमलाई कथाले टपक्क टिपेको छ । फुर्से गरिब परिवारको बालपात्र हो । उसलाई विद्यालय जान रोकेर घरको काममा लगाउनु, मेला पर्व पठाउनु वा गोठालो पठाउनु बाबु आमाको बाध्यता रहेको छ । उसलाई पनि विद्यालय जानुभन्दा गोठालो गएर बाख्रोपाठो झक्कलेसँग रमाउन रमाइलो लाग्छ । मेलापात र गोठालो जानुपर्ने भएपछि उसको विद्यालय छुट्छ । ऊ झक्कलेलाई निकै माया गर्छ । कसैले झक्कलेलाई गाली गरे उसको आँखामा बरबर्ती आँशु आउँछ । झक्कले बोल्न सक्दैन तर पनि फुर्सेलाई मुक माया प्रदर्शन गर्दछ । ठूली भाउजूको साथ लागेर गोठालो गएको दिन झक्कलेलाई चितुवाले खाइदिन्छ । ऊ निकै रुन्छ तर उसको पीडा कसैले बुझिदिँदैनन् । कथामा ग्रामीण परिवेश र ग्रामीण बोलीचालीको भाषा प्रयोग गरिएको छ । आज पनि दुर्गम ग्रामीण क्षेत्रमा अभिभावकहरू छोराछोरीको पढाइ छुटाएर घरको काममा लगाउन बाध्य छन् । यही परिवेशलाई कथाले टपक्क टिपेको छ । बालबालिकाहरू मान्छेलाई भन्दा अन्य प्राणीका बच्चाहरूलाई बढी माया गर्दछन् र उनीहरूसँग मौन संवाद गर्दछन् । बालबालिकाहरूको प्राणीप्रतिको यही अबोध प्रेम र त्यससँग जोडिएको बाल मनोदशाको सटिक चित्रण यो कथाको सुन्दर पक्ष हो ।
‘आमाको माया’ कथा घरको काममा सहयोग गर्ने फुर्सेको बाल मानसिकतामा आधारित कथा हो । जङ्गलको नजिक रहेको ग्रामीण क्षेत्रमा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीहरुले दुःख दिने गरेको यथार्थलाई बाबु छोराको संवादमार्फत देखाइएको छ । खेतमा चरा धपाउन जाँदा अन्य जन्तुको डर हुने कुरा बालसुलभ बोलीमा बाबुलाई सुनाएपछि बाबु चरा हेर्न जान्छन् र फुर्से गोठालो जान्छ । गाई गोठालो जाँदा ढुकुरको बच्चा भेटिएपछि कम्मरमा बाँधेको जाबीमा राखेर घर लिएर आउँछ । सुरुमा पोलेर खाने विचार मनमा आए पनि पछि पाल्ने विचार गर्छ र आमालाई त्यो कुरा बताउँछ । आमाले अँध्यारो मुख लगाउँदै त्यस्ता बचेराहरू चलाउँदा तिनका आमा निकै दुःखी हुने कुरा बताएपछि ऊ आमालाई साथ लिएर बचेरालाई फेरि गुडमा नै राखिदिन्छ । ढुकुरले निकै माया गरेर चारो खुवाएको देखेपछि ऊ फुरुङ पर्छ । ग्रामीण परिवेशलाई चित्रित गरिएकोे यस कथाले आमाको संवेदनालाई कथामा प्रवेश गराउँदै मानवेत्तर पात्रको माध्यमबाट सन्तानप्रति बा आमाको कति धेरै माया हुन्छ भन्ने देखाएको छ ।
‘सारस र मानिस’ पर्यावरणीय चिन्तनलाई प्रस्तुत गर्ने कथा हो । प्रथमपुरुष शैलीमा लेखिएको यस कथामा भाले वा पोथी कुनै एकको मृत्यु भएपछि बाँचेको जोडीले केही नखाई मृत्युवरण गर्ने सारसको प्राकृतिक गुणलाई रोचक ढङ्गले वर्णित छ । सारसको त्यो कथासँगै आएको ‘म’ पात्रको आमाका दुःखद कथा– जसको पतिलाई अन्यायको विरोधमा लाग्दा गोली हानेर मारिएको थियो, कथाको मार्मिक पक्ष हो ।
बाबुको बारेमा आजसम्म अनभिज्ञ ‘म’ पत्र आमाको रुवाइसँगै द्रवीभूत हुन्छ । ऊ आमासँग प्रश्न गर्छ, ‘के तपाईहरूको जोडी पनि सारसको जोडी जस्तै थियो ?’ (पृ. २३) । आमा भन्छे, ‘हो बाबु, हाम्रो जोडी पनि सारसको जस्तै थियो । फरक यति हो, पोथी सारसले बचेरालाई चटक्कै छोडेर जान प्राण त्याग गर्दछे तर म तिम्रो मुख हेरेर बाँचिरहेको छु ।’ यस कथाले मान्छेहरू मात्र होइन अन्य प्राणीहरू पनि प्रेममा समर्पित हुन्छ भन्ने देखाइएको छ । त्यस्तै सहिद परिवारले भोग्नु परेको मानसिक पीडाको विषय यस कथाको मर्मस्पर्शी पक्ष हो । देशको लागि सहिद बनेको परिवारको कारुणिक चित्रण कथामा यसरी आएको छ– ‘मध्यरात थियो । कोठाभित्र आमा छोरा रोइरहेका थियौँ भने बाहिर आँगनमा सारस रोइरहेको थियो । सारस किन रोइरहेछ भन्ने त मैले थाहा पाएँ तर आमा किन रुनुभयो भन्ने कुरा मलाई थाहा थिएन ।’
‘कविताको शीर्षक’ कथामा बालबालिकाहरूले आमाको विषयमा मात्र कविता लेख्नुको कारण के होला ? के सन्तानप्रति बाबुको माया वा उत्तरदायित्व नभएर होला त ? भन्ने विषयलाई उठान गरिएको छ । बालपात्र ‘प्रवृत्ति’ र ‘प्रशन्न’को संंवादमार्फत् आमाले जस्तै बाबाले पनि माया गर्ने र बाबाको मायाको बारेमा पनि कविता लेख्नु पर्ने भाव कथामा आएको छ ।
‘स्कुल नगएको दिन’ विनाकारण चोरीको आरोप खेप्नु पर्दाको बाल मानोविज्ञानलाई चित्रण गर्ने प्रथम पुरुष शैलीमा लेखिएको कथा हो । अकस्मात् विद्यालय बिदा भएपछि आमाको काम सघाएकी ‘म’ पात्र साँचो नलगाइएको छिमेकी काकीको घरमा जिज्ञासावश भित्र पस्दा चोरीको आरोप लाग्छ । आमा रुनुहुन्छ र उसलाई निकै गाली गर्नुहुन्छ । बाबाले काकीसँग गएर माफी माग्न अह्राउनुहुन्छ तर ऊ जान डराउँछे । अन्त्यमा आपूmले गलत आरोप लगाएको महसुस भएपछि काकी आफँै पछुताउनुहुन्छ । राम्रोसँग नबुझी बालबालिकाहरूलाई दोष लगाउन नहुने गहन सन्देश कथाले दिन्छ ।
‘पाहुना चरा’ टौदहको परिवेशमा आधारित पर्यावरणीय कथा हो । दहको घुमघामको प्रसङ्गलाई रोचक ढङ्गले प्रस्तुत गर्दै कथाकारले डा. बरालको माध्यमबाट टौदहमा आउने विभिन्न आगन्तुक चराहरूको बारेमा जानकारी दिएका छन् । ‘विदिशा’ र ‘विवेक’को ख्यालठट्टाले कथामा रोचकता थपेको छ । साइबेरियाबाट टौदहमा कसरी चराहरू आइपुग्छन्, पोखरीको माछालाई किन बचाउन जरुरी छ र कसरी बचाउन सकिन्छ भन्ने कुरालाई कथामा प्रतिविम्बित गरिएको छ ।
३. छोरीको माया (२०७०)
विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको ४८ पृष्ठको कथासङ्ग्रहको शीर्ष कथाको रुपमा रहेको ‘छोरीको माया’ कथामा हुलियाको आधारमा मान्छेको मूल्याङ्कन गर्दै अपमान गर्ने प्रवृतिलाई उद्घाटित गरिएको छ । थोत्रा सामानहरू उठाउँदै हिड्ने गरेको लछुमन आफ्नी सानी छोरी मिनासँग टाढा रहेको हुँदा गाउँको साना नानीहरूमा प्रतिच्छाया देख्छ र नजिकिँदै स्नेहभाव देखाउने गर्छ । तर एक दिन उसलाई बालक चोर्न खोजेको आरोपमा पक्राउ गराइन्छ र यूकेजीमा पढ़ने सानी नानीको बाबाले लछुमनलाई चौकीबाट छुटाउँछ । लछुमनले छोरीको जन्मदिन परेकाले आफ्नी छोरी सुमिना जस्तै देखिने मिनालाई चकलेट दिन बोलाउँदा बच्चा चोरको आरोप लगाइएको बताउँछ । त्यसपछि उनीहरूले विभिन्न सामानहरू दिएर छोरीको जन्मदिन मनाउन लछुमनलाई घर पठाउँछन् । विदेशी कथाको प्रभाव देखिए पनि यो कथाको परिवेश भने नेपाली समाजको रहेको छ । छ वटा आकर्षक चित्र रहेको यो कथा आकारका दृष्टिले अलिक लामो रहेको छ । श्रम गर्ने प्रति सम्मान प्रकट गनुपर्ने, काम ठूलो र सानो नहुने भाव प्रस्तुत गर्नु यस कथाको सकारात्मक पक्ष हो । घरपरिवारबाट टाढा रहेको एउटा बाबुको हृदयमा आफ्नो सन्तानप्रतिको मायालाई यस कथामा मार्मिक ढङ्गले प्रकटन गरिएको छ ।
कथाको भाव अनुसार ४ वटा चित्रहरूले सजाइएको कथा ‘जोगीमुक्त गाउँ’ चरित्र र विषयवस्तुको आधारमा हेर्दा किशोर कथा भन्न मिल्ने खालको छ । एकाबिहानै घरको दैलोमा भिक्षा माग्न आइपुगेको जटाधारी जोगीको कारण छोरी वन्दना डराउँछे । वन्दनाको बुबा रमेशले जोगीलाई हप्काउँछन् र मागेर खानुभन्दा काम गरेर खान सुझाव दिन्छन् । वादविवाद बढेपछि जोगी श्राप दिने कुरा गरेर हिँड्छ । केहीबेरमा पल्लाघरे जीवन आत्तिँदै आउँछ र जोगीको कारण गाउँमा बित्यास पर्न लागेको कुरा बताउँछ । रमेशले जीवनलाई नास्तिका कारणले होइन आस्तिक भनेका पुरेत बाजेका छोरा जयपतिका कारण गाउँमा समस्या परेको कुरा खोतल्छन् । धर्मको नाममा मानिसलाई ठगिएको कुरा भन्छन् । केही दिनपछि गाउँबाट केटीहरू हराउँछन् । उनीहरू भारतीय सिमानामा जोगीको साथमा पक्राउ पर्दछन् । त्यसपछि गाउँलाई जोगीमुक्त गाउँ घोषणा हुन्छ । यस कथामा धार्मिक आडम्बरको नाममा सर्वसाधरणमाथि हुने ठगी र अन्धविश्वासको खरो विरोध गरिएको छ ।
समाजमा थुप्रै विकृति, विसङ्गतिहरू छन् तर बालकथाको भाषिक र विषयगत सीमाको कारण सबै जस्ताको तस्तै देखाउन वा शब्दमा व्यक्त गर्न उपयुक्त हुँदैन । यसमा लेखकले सावधानी अपनाएको देखिँदैन । पण्डितले साहुको छोरीलाई पेट बोकाएको प्रसङ्ग यथार्थ हुँदा हुँदै पनि बालकथाका पाठकहरूको उमेरजन्य ज्ञानको कारण यस्ता कुराहरू कथामा चित्रण गर्न उपयुक्त नहुन सक्छ । त्यसैले श्रमप्रति सम्मान र रुढिवादी संस्कारको परिवर्तनको अपेक्षा राख्दा राख्दै पनि यो कथा किञ्चित कमजोर बनेको छ ।
‘सजाय घर’ बाल मनोविज्ञानलाई प्रस्तुत गर्ने सुन्दर कथा हो । परीक्षामा राम्रो अङ्क ल्याउन नसकेपछि अभिभावकले होस्टेलमा राखिदिएको बाल पात्र पुष्पकमलको माध्यमबाट सजायको डरले त्रासपूर्ण वातावरणमा पढिरहेका बालबालिकाहरूको मानसिकतालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ कथामा । पढाइ सुधार्ने नाममा इच्छा विपरीत होस्टेलमा राखिदिएपछि पुष्पकमलको मनमा उठेका भावनाका संवेगहरूलाई कथामा उजागर गरिएको छ । होस्टेलको कडा अनुशासन, मायालु वातावरणको अभाव, सजाययुक्त पढाइ आदिको कारण उसलाई होस्टेल जेलझैँ लाग्छ र जेलसँग तुलना गर्छ । बाबुआमा भेट्न आउँदा शौचालयमा लुक्छ, आमाले फोन गर्दा पनि बोल्दैन । उसलाई लाग्छ– बा आमाले आफूलाई माया गर्नुहुन्न । त्यसैले आफूलाई किन जन्माउनुभयो होला भन्ने प्रश्न जन्मन्छ उसको मनमा । छडी लिएर कक्षामा प्रवेश गर्ने शिक्षकहरूको कारण उसको ध्यान पढाइमा भन्दा छडीमा जान्छ । अनुशासन उलङ्घन गरे पाइने सजायको फेहरिस्तले ऊ सधैँ त्रासमा रहन्छ ।
विद्यालयको भिडभाडमा पनि आफूलाई सधैँ एक्लो महसुस गर्ने पुष्पकमल सङ्गीत शिक्षक रमेशको सजाय रहित पढाइ र उत्प्रेरणाको कारण नृत्य प्रतियोगितामा प्रथम हुन्छ । तर, रमेश सरको कारण विद्यार्थीहरू अटेरी र अनुशासनहीन भएको आरोपमा सर विद्यालयबाट निकालिनु हुन्छ । उहाँ नभएपछि होस्टलमा आफूलाई बुझ्ने, आफ्नो कुरा सुन्ने कोही नभएकाले आफ्नो भविष्य नै अन्धकार लाग्छ पुष्पकमललाई । भाव अनुकूल तीनवटा चित्र रहेको यो कथा बालमनोविज्ञानलाई चित्रण गर्ने, बालबालिकाहरूको भावनालाई सम्मान गर्न आग्रह गर्ने सुन्दर कथा हो ।
‘स्कुलमा एक दिन’ कथा हामीले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारहरू कति अवैज्ञानिक छन् भन्ने कुरालाई प्रतिविम्बित गर्ने सुन्दर कथा हो । न्वारन नगरेकै कारण अमितले विद्यालयमा भोग्नु परेको अपमान र मासिक पीडालाई घटनाको बीज बनाएर नामकरण नाममा गरिने कर्मकाण्डीय संस्कार ठगी खाने भाँडो मात्र हो भन्ने कुरालाई देखाइएको छ । कर्मकाण्ड पु¥याएर न्वारन गर्दैमा कसैको जीवन राम्रो हुँदैन भन्ने कुरालाई बाबुको माध्यमबाट अभिव्यक्त गराइएको छ ।
देखासिकीको रूपमा जन्मदिनलाई आडम्बरी र खर्चालु बनाउन नहुने कुरालाई चित्रण गरिएको छ ‘जेनिसको जन्मदिन’ कथामा । अरु साथीले जस्तै तडकभडकका साथ केक काटेर, बत्ती निभाएर आफ्नो जन्मदिन बनाउन चाहने जेनिसलाई उसको बुबाले जन्मदिनलाई फरक ढङ्गले स्मरणीय बनाउन सकिने कुरा बुझाउनुहुन्छ । त्यसपछि एक दर्जन फलफूलको बिरुवा रोपेर जेनिसको जन्म दिन मनाइन्छ । यसरी यस कथाले आडम्बरी र ढोगी आयातित संस्कृतिको सट्टा सन्देशमूलक र संस्कारित संस्कृतिलाई अवलम्बन गर्न आग्रह गरेको छ ।
यस सङ्ग्रहका हरेक कथामा कथाका भाव अनुसार कीर्तिकिशोर जोशीद्वारा बनाइएका आकर्षक चित्रहरू सजिएका छन् । ‘छोरीको माया’ कथामा छालाको रङ र क्षेत्रीयताको आधारमा भेदभाव गर्ने नेपाली समाजको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ भने ‘जोगीयुक्त गाउँ’ मा जोगी, सन्तको भेषमा समाजमा हुने गरेको ठगी, चोरी र अपराधवृत्तिलाई देखाइएको छ । ‘सजाय घर’ मा बालमनोविज्ञान नबुझी अभिभावकले बालबालिकामाथि लाद्ने निर्णयको दुष्परिणामलाई चित्रण गरिएको छ । ‘स्कुलमा एक दिन’ कथाले हाम्रा कर्मकाण्डी संस्कारहरू ढोगी र अवैज्ञानिक रहेको भन्छ भने ‘जेनिसको जन्म दिन’ पश्चिमी संस्कृतिको अन्धानुकरणले आडम्बरी बन्दै गएको संस्कृतिको विरोध गर्छ र नयाँ संस्कृति निर्माणको बाटो देखाउँछ ।
४. बुबाको माया (२०७०)
२०६९ को पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त ‘बुबाको माया’ कथासङ्ग्रह २०७० सालमा विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो । यस कृतिमा ५ वटा कथाहरू सङ्गृहीत छन् । प्रथम पुरुष शैलीमा लेखिएको ‘कृष्ण काकाको घरमा’ कथामा पाठकलाई वातावरणप्रति सचेत गराउन खोजिएको छ । कृष्णकाकाको घरमा पुगेका दाजु बहिनी बिचको संवादमार्फत् सूर्य–चुलोमा खाना पकाउन सकिने कुरा, फालिएका बोतल र माटोबाट कम लागतमा साना घर बनाउन सकिने कुरा देखाइएको छ । लीला काकीको माध्यमबाट रूखमा फल्ने फलफूलहरू बिहान टिप्दा पोसिलो हुने र जमिनमुनि फल्ने दिउँसो १२ बजेपछि टिप्दा बढी पौष्टिक हुने जानकारी दिइएको छ । उमेर समूहका हिसाबले ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने यो कथा वतावरण सम्बद्ध कथा हो । कथामा चारवटा आकर्षक चित्रहरू समावेश गरेर बाल पाठकका लागि रुचिकर बनाइएको छ ।
‘तिनीहरू कहाँ गए होलान् ?’ ग्रामीण क्षेत्रमा विद्यमान अन्धविश्वासलाई विषय बनाइएको कथा हो । बाल पात्र फुर्सेको माध्यारूमबाट ग्रामीण गरिबी र बच्चाले बोक्नुपर्ने पारिवारिक जिम्मेवारी देखाइएको छ । त्यस्तै विरामी अवस्थामा डाक्टरलाई देखाउनुको सट्टा धामी झाँक्रीको भरपर्दा मानवीय क्षति भएको देखाइएको छ । लागोभागो, झाँक्री र मसानमा विश्वास गर्ने गाउँमा एउटा गोरा आएर त्यसप्रति अविश्वास व्यक्त गर्दै विभिन्न क्रियाकलाप गर्दा पनि उसलाई लागोभागो, मसान र बोक्सीले केही नगरेको देखेपछि फुर्सेको मनमा जिज्ञासा जाग्छ– ‘उसलाई किन केही भएन ?’ ऊ डाक्टर बनेर गाउँ फर्केपछि उसका दौतरीहरूले लागोभागो, मसान र बोक्सी गोरा आएर फर्किएपछि सबै भागेको कुरा बताउँछन् ।
विषय वस्तुका हिसाबले ‘तिनीहरू कहाँ गए होलान् ?’ बाल उपन्यास नै बन्न सक्थ्यो । लेखकले लामो समयावधिलाई छोटो कथामा देखाउन खोज्दा कथाभित्र धेरै कुराहरू हराएका छन् । अन्धविश्वास र त्यससँग जोडिएका धेरै घटनाक्रमहरू कथामा अटेसमटेस भएर आउँछन् । पाठकको मनमा प्रश्न जन्मन्छ– गाउँमा कुइरेलाई नै किन ल्याइएको होला ? यो कथा थियटरमा नाटकको रुपमा पनि देखाइएको थियो । र नाटक निकै दिन चलेको पनि थियो । उमेर समूहका हिसाबले यो कथा नौदेखि बाह्र वर्ष बिचका बालबालिकाहरूलाई उपयुक्त देखिन्छ । ग्रामीण क्षेत्रमा विद्यमान अन्धविश्वासका कारण मान्छेहरूले अझै दुःख पाइरहेको यथार्थलाई कथाले घतलाग्दो ढङ्गले चित्रण गरेको छ । कथाको भावलाई प्रतिविम्बित गर्ने ४ वटा चित्रहरू यस कथामा रहेका छन् ।
‘दशैंको टीका’ कथामा मान्यजन हो भन्दैमा आफ्नो कुभलो चिताउनेको हातबाट टीका लगाएर आर्शीवाद माग्नु निरर्थक रहेको कुरालाई लुम्बेनीको बाबु छोराको संवाद मार्फत देखाइएको छ । टीकाको दिन मान्यजनको हातबाट टीका लगाउन फुरुङ परेको लुम्बेनीलाई बाबुले सधँै दुःख दिन चाहने ठूला भन्नेहरूको हातबाट टीका लगाउँदा ठीक आशीर्वाद नपाइने कुरा बताएर संस्कृतिका रुपमा रहेको कुसंस्कारको विरोध गरिएको छ । सन्तानका लागि बाबुले गरेको मिहिनेतलाई नै सबैभन्दा ठूलो आशिर्वाद भएको कुरा देखाएर निधारमा टीका लगाएर भन्दा श्रममा पसिन बगाएर आशीर्वाद दिनु राम्रो हो भनिएको छ । तीनवटा चित्रहरू समावेश गरिएको यो कथाले ढोँगी समाज र श्रमलाई हेर्ने दृष्टिकोण प्रस्तुत गर्दछ । कथामा बाबुको निराशापन भने त्यति स्वाभाविक लाग्दैन ।
कथासङ्ग्रहको शीर्ष कथाको रुपमा रहेको ‘बुबाको माया’ कथामा घरमुलीले नखाए अरुले पनि खान नहुने सामन्तवादी तथा पितृसत्तावादी सोचलाई देखाउँदै एउटा बाबुले आफ्नो कारणले छोराछोरीको रहरलाई मार्न नचाहेकोे भावनात्मक संवेगलाई देखाइएको छ कथामा । शनिबारको दिन घरमा मासु नपाकेको प्रसङ्गबाट उठान भएको कथाको विषय युरिक एसिडबाट थलिएका बाबु सकिनसकी मासु पसल जान लागेका र आफू परिवारमाथि अन्याय गर्ने घरमुली बन्न नचाहेको प्रसङ्ग छ । सामान्य भाषा र विषयको माध्यमबाट बालबालिकामा पितृसत्तावादी सोच खराब हो भने बुझाउनु कथाको उद्देश्य देखिन्छ । यस कथालाई तीनवटा आकर्षक चित्रहरूले सजाइएको छ ।
‘नबोल्ने नानीहरू’ घरेलु बाल श्रमिक बन्न बाध्य साना नानीहरूको कथालाई प्रस्तुत गर्ने कथा हो । सित्लाङपुर घुम्न जाँदा होमेस्टेमा भेटिएका साना नानीहरूको दयनीय अवस्था, बालश्रम शोषण, राणाकालीन समयमा गाडी बोकेर काठमाडौँ पु¥याउने गरेका तिनका बाजे आज गरिबीको चरम अवस्थामा भोग्नु परेको यथार्थलाई कथामा उल्लेख गरिएको छ । चारवटा कथानुकूल सुन्दर चित्र रहेको यो कथामा छुट्टीमा रमाइलो गर्न सित्लाङ्पुर पुगेका दाजुबहिनी एउटा समुदायको जातीय पहिचान नै हराएको गह्रुङ्गो पीडा बोकेर फर्किएको देखाइएको छ । यस कथामा कथाकारले भीमफेदीबाट काठमाडौँमा गाडी बोकेर ल्याउन सहयोग गर्ने तामाङ जातिको विषयलाई उठाएको महसुस हुन्छ । कथाको लक्षित उमेर समूह १० देखि १४ वर्ष रहेको छ ।
पाँचवटा कथाभित्र कथाको भाव अनुकूल सत्रवटा सुन्दर चित्रहरू समावेश गरिएको यस कृतिको कागतको गुणस्तर, भाषा र साजसज्जामा खोट लगाउने ठाउँ छैन । विचारका दृष्टिकोणले हेर्दा वातावरण सचेतना, अन्धविश्वास, सामाजिक आडम्बर, सामन्ती शोषण, पारिवारिक दायित्व आदिलाई विषय बनाइएको छ । नौ वर्षदेखि चौध वर्ष उमेर समूहलाई ध्यानमा राखेर कथा लेखिएको छ । केही ठाउँमा उद्धरण चिह्नहरू छुटेका छन् । ३६ पृष्ठको आयतनमा फैलिएका यी कथाहरूले कतिपय सन्दर्भमा बालपाठकहरूलाई सोच्न बाध्य पार्दछन्, पारिवारिक दायित्व बहन गर्न र अन्धविश्वासबाट मुक्त बन्न आग्रह गर्दछन् ।
५. हजुरआमाको माया (२०७०)
विवेक सिर्जनशील प्रकाशनले २०७० म प्रकाशन गरेको ४८ पृष्ठको यस कृतिम ५ वटा कथाहरू समावेश गरिएको छ । हरेक कथामा कथाको भावअनुसार ३ देखि ६ वटा चित्रहरू समावेश गरिएका छन् ।
कृतिको शीर्षकको रूपमा छनोट गरिएको ‘हजुरआमाको माया’ कथामा सहरमा बस्ने नातिले गाउँमा बस्नुहुने हजुरआमाको मायालाई बुझ्न नसक्दा जन्मिएको समस्यालाई प्रस्तुत गरिएको छ । बा आमासँग सहरमा बसेर पढ्ने बाल पात्र मोहन गाउँबाट हजुरआमा आउने भएपछि फुरुङ् हुन्छ तर उसको त्यो खुसी धेरै दिन टिक्दैन । वृद्ध हजुरआमाको शारीरिक स्वरूपलाई लिएर विद्यालयमा साथीहरूले गिज्याउन थालेपछि ऊ हजुरआमालाई बाहिर ननिस्कन भन्छ । खाना खाँदा हातले मुछेर खाएको देखेर दिगमिगाउँछ । ऊ हजुरआमाबाट टाढिन खोज्छ । जब हजुरआमाले आफ्नो हराएको पुरानो खाम खोज्नुहुन्छ र त्यसमा लुकाएर राखिएको मोहनको जन्मदिनको फोटो देखाएर आफ्नो जीवनको सबैभन्दा बढी खुसीको दिन भएको बताउनुहुन्छ तब ऊ निकै पछुताउँछ । यो कथाले बालबालिकाहरूमा पुस्तान्तरले जन्माएको समस्या कम गराएर वृद्धहरूको ममतालाई बुझ्न सहयोग पु¥याउँछ ।
‘फुर्के फुर्कियो’ कथामा ग्रामीण क्षेत्रका बालबालिकाहरू पढाइभन्दा घरको काममा जोतिनु परेको यथार्थतालाई देखाइएको छ । त्यस्तै पशुविमाको जानकारी दिँदै घरमा पालिने उन्नत जातको बाख्राको बिमा हुने, गोठमा पाल्नु पर्ने भएपछि विद्यालय नियमित जान पाएर फुर्के फुरुङ्ग परेको देखाइएको छ । घरको काममा अल्झँदा फुर्के सधैँ अनुत्तीर्ण हुने गरेको, आमाले छोराको पढाइ राम्रो बनाउन बाख्रा नपाल्न बाबुलाई आग्रह गरेको, बाबुले छोरालाई काम लगाउन बाध्यता रहेको जस्ता कुरा कथामा समावेश गरिएको छ ।
‘म त स्कुल जान्न’ र ‘रमाइलो स्कुल’– दुई कथाहरू फरक फरक वातावरण भएको दुई विद्यालयको परिवेशलाई देखाउने कथा हो । पहिलो कथामा शिक्षकहरूको रूखो व्यवहार, कडा सजायको नियम, शौचालय र खानेपानीको राम्रो व्यवस्था नभएको हुनाले बच्चाहरू विद्यालय जान मन नगरेको देखाइएको छ । दोस्रो कथामा विद्यार्थीहरूसँग राम्रो व्यवहार, सबै सुविधाहरू भएको, खेलसँगै सिकाइको वातावरण, विद्यार्थीहरूको भावनाको सम्मान, आधुनिक प्रविधियुक्त पठन पाठन र फरक शैलीका कारण बच्चाहरू विद्यालयमा नै बढी रमाउने गरेको देखाइएको छ । ‘रमाइलो स्कुल’ कथामा विद्यार्थीको क्षमता जुन जुन क्षेत्रमा छ त्यसैमा लाग्न अभिप्रेरित गर्ने र वातावरण दिने गरेको प्रसङ्ग चित्रण गरिएको छ ।
‘जोखिमको जिम्मा’ कथा विमाबाट जोखिम हस्तान्तारण गरेर ढुक्क बन्न सकिन्छ भन्ने कुरालाई अभिव्यक्ति गर्ने कथा हो ।
यस सङ्ग्रहका कथाहरूमा सरल भाषाशैली, संवाद, स्वाभाविक चरित्र र द्वन्द विकासले कथालाई पठनीय र शिक्षामूलक बनाएको छ । त्यसरी नै विमाको जानकारी, पुस्तान्तर र बालबालिकाहरू हुर्केको परिवेशको कारण अघिल्लो पुस्तालाई बुझ्ने समस्या, परम्परागत शिक्षण पद्दति र परिवर्तित शिक्षण पद्दति रहेका विद्यालयहरू बिचको फरक जस्ता विषयलाई प्रस्तुत गरिएको छ ।
६. पाप पखाल्ने गङ्गा (२०७२)
विवेक सिर्जनशील प्रकाशनले २०७२ मा प्रकाशन गरेको ४० पृष्ठको यो कृतिमा ६ वटा बालकथाहरू समाविष्ट छन् ।
‘रमाइलो छात्रावास’ कथामा विद्यालयको सुविधायुक्त छात्रावासको चित्रण गरिएको छ । ‘चमेरे गुफा’ कथा पोखरामा रहेको चमेरे गुफाको इतिहास र परिवेशलाई देखाउने कथा हो । संवादात्मक शैलीमा बालबालिकाहरूमा चमेरे गुफा बारेको जिज्ञासा र भ्रमण गर्दाको अनुभूतिलाई कथाको विषय बनाइएको छ ।
‘व्रत’ कथामा तीजको प्रसङ्ग उठाउँदै परम्पराको नाममा बसिने व्रत सम्बन्धी अन्धविश्वासलाई चिर्ने प्रयत्न गरिएको छ । व्रत बस्दैमा जीवन सुन्दर नहुने कुरालाई विभिन्न उदाहरणहरू बाल पात्रमार्फत उजागर गराएर त्यस भ्रमबाट मुक्त हुन सुझाइएको छ । विद्यालयको कक्षाकोठाको परिवेशबाट सुरु भएको यस कथामा विरजा, आकृति, स्वीकृति, मोनिकाजस्ता बाल पात्रहरूबिच आउँदै गरेको तीजको व्रतको बारेमा विमर्श गराइएको छ । व्रत बसेर पनि श्रीमान् श्रीमतीबिचको सम्बन्ध राम्रो नभएका नजिकका घटनाहरूलाई छलफलमा ल्याएर व्रतले मात्र परिवारमा सुख, शान्ति र मेलमिलाप नहुने सन्देश दिइएको छ ।
पर्यावरणीय समस्याको कारण भासिन थालेको जमिनको विषयलाई लिएर कसरी अन्धविश्वासले स्थान पाएको छ भन्ने कुरा ‘अर्मला’ कथामा अथ्र्याइएको छ । यो कथा पोखराको अर्मलेमा जमिन भासिन थालेको घटनासँग सम्बन्धित रहेको छ ।
‘पाप पखाल्ने गङ्गा’ कथामा पण्डित र बुद्धको माध्यमबाट गङ्गा स्नान गदैमा पाप नपखालिने कुरालाई रोचक ढङ्गले पस्किइएको छ । भिक्षुको भेषमा गङ्गा किनारमा पुगेका बुद्ध र पण्डितबिच गङ्गा नदीसँग जोडिएका जनविश्वास र अन्धविश्वासलाई उजागर गरिएको छ कथामा । कथाको अन्त्यमा गङ्गामा नुहाउँदैमा पाप नपखालिने तर लोकलाजको कारण गङ्गा नुहाउने गरेको कुरालाई पण्डितले स्वीकार गरेको प्रष्ट्याइएको छ ।
‘तुजुक’ कथामा धनको रवाफ लगाएर साथीहरूलाई होच्याउने गरेको निरज आफ्नै सवारी दुर्घटनामा पर्छ । आर्थिक हैसियत छ भन्दै बालबालिकाहरूको हरेक जिद्दी इच्छालाई पु¥याइदिन हो भने बालबालिकाहरू घमण्डी हुने र दुर्घटनामा पर्न सक्ने कुरा यस कथामा देखाइएको छ ।
यस सङ्ग्रहमा रहेका छ वटा कथाहरूले बालबालिकाहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार बन्न अभिप्रेरित गर्दछन् । त्यस्तै संस्कारको रुपमा रुढिवादी परम्पराको कतिपय भ्रमबाट मुक्त भई बैज्ञानिक ज्ञान ग्रहण गर्न आग्रह गर्दछन् । कथाहरू छोटा छन् । स्वाभाविक संवाद, परिवेश र द्वन्दले कथालाई रोचक रङ दिन्छन् ।
७. स्मार्ट घर (२०७४)
विवेक सिर्जनशील प्रकाशनले प्रकाशित गरेको ३२ पृष्ठको यस कथा कृतिमा ६ वटा कथाहरू समाविष्ट गरिएको छ । कथाको भाव अनुसार २ वटा चित्र समावेस गरिएको ‘स्मार्ट घर’ कथामा एउटा घरलाई कसरी स्मार्ट घर बनाउन सकिन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । घरमा इन्टरनेट, सिसि क्यामरा, विद्युतीयं साइरन, व्यक्तिगत ल्यापटपको व्यावस्था र प्रयोगले नविन प्रविधियुक्त स्मार्ट घर बन्ने कुरा देखाइएको छ । बालपात्र प्रवृक र प्रवृत्तिको माध्यमबाट स्मार्ट घर बनाउन सकिने तरिका र त्यसले पढाइलाई कसरी सहयोग पुयाउँछ भन्ने देखाइएको छ । त्यसैले यो कथा घरलाई कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भनेर देखाउने कथा हो ।
‘सम्पन्नताको मात’ बजारको खानेकुराभन्दा घरका खानेकुराहरू बालबालिकाका लागि स्वस्थकर हुन्छ भनेर देखाउने पोषण विषक कथा हो । देख्नमा राम्रो बजारका खानेकुराहरू बच्चालाई दिन पाउँदा गर्र्व गर्ने अभिभावकहरूलाई सचेत पार्ने कथा हो यो । कतिपय अभिभावकहरू बजारका खाजाहरू बच्चालाई दिन्छन् । अनि, ती बच्चाहरू घरबाट खाजा ल्याउने साथीहरूलाई गिज्याउँछन् र बजारको किन्न नसकेको भनेर होच्याउँछन् । निर्मल, पारस, सविन, रविनजस्ता बालपात्रहरूको माध्यामबाट विद्यालयमा घट्ने यस्तै घटनालाई चित्रण गर्दै बजारको खानेकुराले शरीरलाई कमजोर र रोगी बनाउने कुरा बुझाउन खोजिएको छ ।
‘छाउपडी’ कथामा पश्चिम नेपालमा विद्यमान छाउपडी प्रथाको अन्धरुढिवादी परम्परालाई चित्रण गर्ने कथा हो । शिक्षित भएर पनि त्यो अन्धविश्वासलाई चिर्न नसकेको यथार्थतालाई विद्यालयमा पढाउने रमिला मिसको माध्यामबाट कथामा देखाइएको छ । मासिक धर्मको अवधिमा मिसलाई विद्यालयमा पढाउन नदिइएको प्रसङ्ग, छात्रा विद्यालयमा नआएको प्रसङ्ग, आमा छाउ गोठमा रहेका कारण भोकै विद्यालय आउनु परेको प्रसङ्गबाट छाउपडी प्रथालाई कथामा देखाइएको छ । र, यो गलत प्रथा हो भन्ने सन्देश पनि दिएको छ ।
‘बाघ पूजा’ मगर समुदायमा रहेको बाघपूजा गर्ने चलनलाई देखाउने साँस्कृतिक कथा हो । बाघको पूजा गर्दैमा बाघले बाख्रा खान नछाड्ने हुनाले एउटाको पूजा गर्न अर्को जनावरको बली चढाउन नहुने सन्देश दिदै यो चलन कुसंस्कार मात्र रहेको कुरा प्रष्ट्याइएको छ । बालपात्र लोकबहादुरको सपनामा बाघले बाख्रा लगेको प्रसङ्गबाट सुरु भएको कथामा मंसिर महिनाको पहिलो बुधबार मगर समुदायमा बाघ पूजा गर्नुपर्ने चलन भएको देखाइएको छन् । पूजा बालकले गर्नुपर्ने, सुँगुर बली दिनुपर्ने कुरा देखाउँदै पहिला पूजा गरेपछि सताउन छाड्ने जनविश्वालले पूजा सुरु भए पनि अहिले चाडको रूप लिएको देखाइएको छ ।
‘फूलमती स्कुल गइन्’ कथामा थारु जातिको नयाँ वर्ष माघीको परिवेशको चित्रणसँगै फूलमतीका बुवा कृष्ण थारूले नयाँवर्षको नयाँ योजनाका रुपमा छोरीलाई विद्यालयमा पढाउन लागेको कुरा सुनाउँछन् । यस कथाले थारु जातिमा छोरीलाई शिक्षा दिनुपर्ने चेतना बढ्दै गएको कुरा देखाइएको छ ।
नयाँ प्रविधिको प्रयोग गरेर शिक्षण प्रकृया सञ्चालन गर्ने विद्यालयको योजनालाई देखाउने कथा हो ‘स्मार्ट स्कुल’ । अभिभावक दिवसको दिन प्रधानाध्यापकले आगामी शैक्षिक वर्षमा सूचना, सञ्चार र प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउने योजना कथामा आएको छ ।
६ वटा कथाहरूलाई ११ वटा चित्रहरूले सजाइएको यस सङ्ग्रहका कथाहरू आकारका दृष्टिले छोटा छन् । छोटो बसाइमा पाठकले कथा पढिसक्छ । अनावश्यक वर्णन कथामा भेटिदैन । मगर समुदायमा रहेको बाघको पूजा गर्ने संस्कृति र थारुको माघी संस्कृतिको चित्रण विजयराजले लेखेका कथाहरूमध्ये फरक सँस्कृति र त्यससँग जोडिएको अन्धविश्वासलाई देखाउने कथा हो ।
८. आकास ओढ्ने जिन्दगी (२०७५)
भूकम्पसँग सम्बन्धित ७ वटा कथाहरू समावेश गराइएको ६८ पृष्ठको यस पुस्तकमा विषय विशेषज्ञ डा. तारानिधि भट्टराई र डा. रामचन्द्र तिवारीको मन्तव्यलाई भूमिकाको रुपमा राखिएको छ । साहित्यकार ठाकुर बेलवासेले ‘विजयको सङ्घर्ष र कर्म’ शीर्षकमा विजयराज आचार्यले २०७२ को भूकम्पमा भोगेका पीडा, उनले देखाएको स्वाभिमान र त्यससँग जोडिएर भूकम्प कथाको सिर्जना सन्दर्भलाई केलाएका छन् ।
घाम, पानी, हुरी, चट्याङ, भूकम्प, डढेलो, बाढी जस्ता मानवेतर वस्तुलाई मानवीय पात्र बनाएर उनीहरू बिच संवाद गराइएको छ । ‘आफ्नो माया आफैँले गर्नुपर्छ’ कथामा नेपालको भौगर्भिक इतिहास, भूकम्पको प्रकृति र विशेषतालाई प्रस्तुत गर्दै मान्छेले भूकम्प प्रतिरोधी संरचना बनाए त्यसको विनाशलाई कम गर्न सकिने कुरा छर्लङ्ग्याइएको छ । रोचक संवादात्मक शैलीमा विषयलाई प्रस्तुत गरिएको यो कथा रङ्गीन विष (२०७४) कथासङ्ग्रहमा पनि समावेश गरिएको छ ।
‘राहत’ २०७२ को भूकम्पपछि राहत वितरणमा देखिएको विकृति र विसङ्गतिलाई चित्रण गर्ने कथा हो । विपतको समयमा राहत वितरणमा विभिन्न समूहले गरेको भेदभाव र उपेक्षालाई कथामा देखाइएको छ । त्यस्तै वास्तविक पीडितले कतैबाट सहयोग नपाएको तर त्यति क्षति नभएका परिवारले भने धेरै राहत जम्मा गरेको प्रसङ्ग कथामा आएको छ । भूकम्प पीडित भएर पनि आफूलाई दिन खोजिएको राहत आफूभन्दा बढी क्षति सहनु परेको परिवारलाई दिन आग्रह गर्ने बुबाको स्वाभिमानी र सहयोगी चरित्रले बालबालिकाहरूमा सहयोगी भावनाको विकास गराउँछ ।
‘काललाई जितेर आई’ कथामा भूकम्पको भग्नावशेषमा पुरिएकी एउटी बालिकाको अनुभूतिलाई समावेश गरिएको छ । घर भत्किएर पुरिएकी बालिकालाई भग्नावशेषबाट निकालेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँमा उपचार पाएकी सिन्धुपाल्चोककी एक बालिकाको यथार्थ घटनालाई कथा स्वरूप दिइएको लेखकको स्वीकारोक्ति छ भूमिकामा । भूकम्पमा चेपिएकी बालिकाको उद्धार र उपचार यात्राको अनुभूतिलाई कथाले सुन्दर ढङ्गले टिपेको छ ।
‘खुल्ला आकाशमुनि’ कथामा २०७२ सालको भूकम्पको विनाशको यथार्थलाई ऐनामा जस्तै छर्लङ्ग देखाइएको छ । कथा पढ्दै जाँदा यस्तो लाग्छ कि– कथा पढिरहेको छैन, मानौँ भूकम्पले हल्लाइरहेको धर्तीमा उभिएको छु र त्यसले मच्चाएको वितण्डा हेरिरहेको छु । २०७२ को भूकम्पको लगत्तै काठमाडौँको विनाशको परिवेशलाई कथाले टपक्क टिपेको छ । घरको भग्नावशेष, कोलाहलको वातावरण र उद्धारको प्रयत्न आदिलाई कथाकारले जस्ताको तस्तै टपक्क टिपेका छन् । तत् क्षणको सबै परिवेशलाई टिप्न खोज्दा कथा भने तुलनात्मक रुपमा केही लामो बनेको छ जुन पढ्नका लागि बाल पाठकले धैर्य नराख्न पनि सक्छन् । कथामा चारवटा जीवन्त चित्रहरू समावेश गरिएका छन् ।
‘धितो घर’ कथामा बनाउँदा बनाउँदैको घर भूकम्पको कारण भत्किएको र त्यही अप्ठेरो परिस्थितिमा आफूले निकै सहयोग गरेको भान्जो र डा. साहेब टेढिएको प्रसङ्ग कोट्याइएको छ । त्रासमय वातावरणमा बालबच्चा छाडेर विवाहमा जान नसक्ने बताएपछि भान्जाले सम्बन्ध टुटेको बताएका छन् । पुस्तकको प्रकाशनका लागि घर धितो राखेर जसको लागि ऋण निकालिएको थियो उसैले तिर्न नसक्ने भनेर धोका दिएपछि ढुन्डी नाम गरेको बाबु पात्र निकै तनावमा पुगेको प्रस्तुत गरिएको छ । कथामा घटनाक्रमको विकास र बहुविषयको संलग्नताले यो कथा कमजोर बनेको छ । भूकम्पपछि पालभित्रको बासमा चितुवाको आगमन कथाका उद्देश्यका लागि त्यति स्वाभाविक लाग्दैन भने डा. साहेबसँगको सम्बन्धपछि ढुन्डीको रक्सी खाने परिवर्तित व्यवहार र कुराकानीहरू पनि जबरजस्ती थोपरिएको प्रतित हुन्छ । यस कथामा विकसित घटनाक्रमलाई दुई भागमा विभाजन गरी पालमुनिको बास र प्रकाशनसँग जोडिएको ऋणको प्रसङ्गलाई समेटेर दुईवटा कथा बनाइएको भए कथा छरितो र सार्थक हुने थियो । यस कथामा चारवटा सुन्दर चित्रहरू भने सान्दर्भिक ढङ्गले राखिएको छ ।
‘सावधानी’ भूकम्पको समयावधीमा बालबालिकाले महसुस गरेको अनुभूतिलाई प्रस्तुत गर्ने सान्दर्भिक कथा हो । भूकम्प गएको ४७ दिनपछि खुलेको विद्यालयमा विद्यार्थीहरूले आफ्नो भोगाइ र अनुभूतिलाई साथीहरूमाझ अभिव्यक्त गरिएको छ कथामा । यही माध्यमबाट उनीहरूले देखे भोगेका कारुणिक र डरलाग्दा क्षणहरूलाई कथामा चित्रण गरिएको छ । भूगोल शिक्षक सामकुमार सरको माध्यमबाट भूकम्प प्रतिरोधी संरचना बनाएर यसको विनाश कम गर्न सकिने कुरा व्यक्त गराइएको छ । कथाको भाव अनुसार तीनवटा सुन्दर चित्रहरू समावेश गरिएको यस कथामा भूकम्प आउँदा बिमको तल बस्नुपर्छ भन्ने गलत शिक्षाका कारण केही मान्छेहरूले ज्यान गुमाउनु परेको कुरालाई पनि देखाइएको छ भने बालबालिकाहरूले भूकम्पको समयमा आफूले भोगेको क्षणलाई संवादात्मक ढङ्गले गम्भीर रुपमा अभिव्यक्त गरेका छन् ।
भूमिकामा कथा बन्न नसकेको स्वीकारोक्ति सहित परिशिष्टमा राखिएको ‘प्लेटको लडाइँ’ कथामा पृथ्वीको आन्तरिक संरचना र भूकम्पको कारणका प्राविधिक पक्षहरूलाई केलाइएको छ । कक्षा कोठामा विद्यार्थीहरूमाझ संवादात्मक शैलीमा भौगर्भिक विषयहरू माथि छलफल चलाइएको छ यस कथामा ।
भूकम्पलाई विषय बनाएर लेखिएका सातवटा कथाहरू मध्ये ‘काललाई जितेर आई’, ‘खुल्ला आकाशमुनि’ र ‘सावधानी’ सामाजिक यथार्थतामा आधारित रहेर बाल अनुभूतिलाई प्रस्तुत गरिएको छ । ‘राहत’ कथामा ठूलाको अनुभूति र ‘धितो घर’ कथामा बालक र ठूला दुवैको अनुभूतिलाई प्रस्तुत गरिएको छ । ‘धितो घर’ सङ्ग्रह भित्रको कमजोर कथा हो भने ‘खुल्ला आकाशमुनि’ र ‘सावधानी’ निकै सुरम्य कथा हुन् ।
९. रङ्गीन विष (२०७५)
नेपाल सरकार, युएनडीपी तथा विश्वव्यापी वातावरणीय सहुलियतको संयुक्त आर्थिक सहयोग र बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा २०७५ सालमा प्रकाशित यस सङ्ग्रहमा वातावरणसँग सम्बन्धित पाँचवटा कथाहरू रहेका छन् ।
‘आफ्नो माया आफैँ गर्नुपर्छ’ कथामा घाम, पानी हुरी र भूकम्पलाई मानवीकरण गर्दै उनीहरू बिचको संवादको माध्यामबाट नेपालको भौगोलिक निर्माण र भूकम्पको विनाश कम गर्न अपनाउन सकिने उपाय बारे टिप्पणी गरिएको छ । घाम, पानी, हुरी, भूकम्प जस्ता मानवेत्तर विषयलाई मानवीकरण गर्दै भूकम्पले बढी विनाश निम्त्याउनुको कारण मान्छेहरूको बेवास्ता र कमजोरी नै कारक रहेको कुरालाई संवादात्मक शैलीमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । प्राकृतिक विपत्तिका कारण मानिएका बाढी, पहिरो, चट्याङ; भूकम्प जस्ता विषयलाई नै कथामा पात्रको रूपमा उभ्याएर सरल भाषामा तिनीहरूको विशेषता, सीमा र बच्न सकिने उपायलाई सटिक रुपमा प्रस्तुत गरिएको छ । ७ देखि १२ वर्ष उमेर समूहका लागि उपयुक्त यो कथाले भूकम्पबाट बच्ने हो भने मान्छेले आफैँलाई माया गरेर नेपालमा पनि जापानमा जस्तै कम विनाश हुने घरहरू बनाउनु पर्ने सन्देश दिइएको छ ।
‘रिचार्ज’ कथा विद्यालयको इनारमा पानी नआएको घटनालाई आधारभूमि बनाएर शिक्षक र विद्यार्थी बिचको संवाद मार्फत इनार सुक्नुको कारण खोतलिएको छ । जमिनबाट पानी निरन्तर निकाल्ने तर जमिनभित्र पानी पठाउने कार्यमा बेवास्ता गर्दा भूमिगत पानीको तह घटेर पानी नआएको कुरा कथामा समेटिएको छ । खुल्ला जमिन र बोटबिरुवाका कारण वर्षामा परेको पानी जमिनमुनि जाने गरेकोमा भवन, सडक निर्माण र वनजङ्गलको विनासले पानीको रिचार्ज कम भएको र भूमिगत पानीको तह घटेको कुरा बताइएको छ । कथाको अन्त्यमा पोखरी खन्ने अभियान चलाएर पानी रिचार्ज गर्ने प्रयत्न गरिएको र इनारमा फेरि पानी आएको देखाइएको छ ।
पुस्तकको शीर्षक दिइएको ‘रङ्गीन विष’ कथामा हामीले रङ्गाउनका लागि प्रयोग गरिने रङमा सिसा प्रयोग गरिने र त्यो हानिकारक हुन्छ भन्ने देखाइएको छ । चाडबाडको नजिक घर रङ्गाउनका लागि तयारी रङको खोजी, विज्ञापनको पछि लागेर रङको छनोट गर्ने प्रवृत्तिलाई सीतारामको बाबुछोराको संवाद र क्रियाकलापमार्फत देखाइएको छ । छोरा उमङ्ग बिरामी भएर अस्पताल पुगेपछि शरीरमा पसेको सिसा निकाल्न नसकिने र त्यसले पछिल्लो पुस्तालाई पनि असर पार्ने कुरालाई देखाएर पाठकलाई सचेत पार्न खोजिएको छ । रङको रसायनले जनस्वस्थमा पार्ने असरलाई प्रस्तुत गर्ने यो कथा ९ देखि १५ वर्ष उमेर समूहलाई उपयुक्त हुने देखिन्छ ।
‘इबुक’ वातावरण जोगाउनका लागि इबुकले कसरी सहयोग गर्छ भन्ने देखाउन तथ्यसहित समावेश गरेर लेखिएको कथा हो । कागज बनाउन रुख काट्नुपर्ने भएकाले कागतविहीन पुस्तक ‘इबुक’को प्रयोगले रुख र वातावरण बचाउन सहयोग गर्ने कुरा देखाइएको छ । कथालाई रोचक बनाउन पुस्तक प्रकाशन गरेर व्यावसाय गर्ने गरेको हरिशरणको चिन्तालाई प्रस्तुत गरिएको छ । प्राविधिक कुराहरूको प्रस्तुतिले कथाको सहज विकासमा बाधा दिएको छ । यो कथा ११ देखि १५ वर्ष उमेर समूहलाई उपयुक्त हुने देखिन्छ ।
‘माछा सर’ टौदहको परिवेशलाई टिपेर हाम्रा पोखरीहरू कसरी प्रदूषित हुँदै गएका छन् र तिनको संरक्षण कसरी गर्न सकिन्छ भन्ने कुरालाई उजागर गर्ने कथा हो । रौदह घुम्न गएका केटाकेटीहरूको भेट माछाको विषयमा डक्टरेट गरेका माछा सरसँग भएपछि पानी र पोखरीको प्रदूषण र स्वच्छता, त्यसको वातावरणीय महत्व र माछा विनासको कारण, सिमेन्टको पर्खाल र रासायनिक मलको असर आदि कुरा बताउदै संरक्षणको महत्व र उपायलाई कथामा देखाइएको छ । ८ देखि १२ वर्ष उमेर समूहलाई उपयुक्त हुने यो कथा घटनाक्रमको सहज विकासका दृष्टिले उपयुक्त कथा हो ।
चिल्लो कागज, प्रत्येक कथामा तीन वटा रङ्गीन चित्र, परिशिष्टमा वातावरण सम्बन्धी जानकारी र कठीन शब्दहरूको शब्दार्थ सूचीले कृतिलाई पठनीय बनाएको छ । परिशिष्ट १ म पृथ्वीका संसाधन र तिनको संरक्षण शीर्षकमा वातावरण सम्बधी जानकारी दिइएको छ । परिशिष्ट २ मा पारिभाषिक शब्दावली दिइएको छ । पुस्तकको आकर्षक साजसज्जा हुँदा हुँदै पनि अक्षर अलि साना आकारमा छापिएकाले बच्चाहरूलाई पढ़न भने सहज नहुने हो कि भन्ने संशय हुन्छ ।
१०. कुटी (२०७७)
विवेक सिर्जनशील प्रकाशनले २०७७ मा प्रकाशन गरेको यस कृतिमा एघारवटा कथाहरू रहेका छन् ।
‘हेर्दै, खेल्दै सिक्दै’ जीव विज्ञानलाई कथ्य विषय बनाइएको कथा हो । कक्षाकोठामा भर्टिब्रेट र इनभर्टिब्रेट प्राणीके बारेमा छलफल गरेर सुरु गरिएको कथामा विद्यार्थीहरूलाई स्वयम्भूमा रहेको प्राकृतिक सङ्ग्रहालयमा पु¥याइएको छ । त्यहाँ धर्म डङ्गोलको माध्यामवाट प्राणीहरूको प्रतिमूर्ति बनाउने कला ‘टेक्सिडर्मी’ विधिको बारेमा जानकारी दिइएको छ । सङ्ग्रहालयमा विभिन्न प्राणीहरू ज्यूँदा जस्तो देखिँदा विद्यार्थीहरू निकै रमाएका छन् ।
कक्षाकोठाभित्र छिमेकीको बारेमा ज्ञान, अनुभव र अनुभूति बारे छलफल चलाइएको ‘छिमेकी’ कथामा छिमेकीको अर्थ र महत्वलाई देखाउँदै धनी छिमेकीका कारण अपमान सहनु परेको कुरालाई देखाइएको छ । शक्तिशाली छिमेकीका कारण भोग्नु परेको दुःख, असल छिमेकीबाट दुःखमा पाइएको सहयोग र खराब छिमेकीका कारण पाइने दुःखको यथार्थतालाई विद्यार्थीहरूको अनुभवको आधारमा सरल ढङ्गले बुझाइएको छ । ९ देखि १४ वर्ष उमेर समुहका लागि उपयुक्त यो कथामा आर्थिक विभेदले सम्बन्धमा फरकपना ल्याउने कुरा छर्लङ्ग्याइएको छ ।
कोरोना कालमा सामाजिक सन्जाल मार्फत कोरोना देवी रहेको अफवाह फैलियो । समाजमा यस्तो अन्धविश्वास थियो कि मान्छेहरूले कोरोना देवीको परिकल्पना गरेर पूजा गरे । कोरोनाबाट बच्न सकिने विश्वास गरेर चर्चमा जम्मा भएका मान्छेहरू अधिकांश सङ्क्रमित भए । मान्छेहरूको यो अन्धविश्वासी कार्यलाई ‘कोरोनादेवी’ कथाले रोचक ढङ्गले प्रस्तुत गरेको छ । ११ वर्षभन्दा माथिको उमेर समूहलाई उपयुक्त हुने यो कथा समाजमा विद्यमान अन्धविश्वासलाई चित्रण गर्ने उत्तम कथा हो ।
कोरोना महामारीले नकरात्मक मात्र होइन केही सकरात्मक प्रभाव पनि पारेको छ भन्ने कुरालाई ‘धन्य कोरोना’ कथामा उद्घाटन गरिएको छ । बन्दाबन्दीपछि पहिलोपटक स्कुल पुगेका विद्यार्थीहरूबिच सम्वाद गराएर कोरोनाले छाडेका सकरात्मक छापलाई समेटिएको छ । वातावरण स्वच्छ भएको, बालबालिकाहरू भान्सा र कृषि कर्ममा आकर्षित भएको, कृषि उब्जनी बढेको, भगवान्ले रक्षा गर्छन भनेर मन्दिर, मस्जिद र चर्च धाउने अन्धविश्वास हटेको जस्ता कुराहरू कथामा रोचक ढङ्गले औँल्याइएको छ । महामारीले साना र ठूला बिचको भेदलाई पनि कम गराएको प्रसङ्ग केलाउँदै समान सामाजिक सद्व्यवहार, श्रमप्रति सम्मान र कृषिप्रतिको आकर्षण कोरोनाले सिकाएको सकारात्मक पाठको रूपमा कथामा आएको छ । ९/१० वर्ष उमेर समूहभन्दा माथिका बालबालिकालाई लक्षित गरी लेखिएको यस कथामा कोरोनाले दुःखमात्र दिएको नभएर मान्छेको सोच्ने तरिकामा नै परिवर्तन ल्याएको कुरा अथ्र्याइएको छ ।
‘जटायुको कुटी सम्मेलन’ कथामा गिद्धलाई पात्र बनाएर मान्छेले प्रयोग गर्ने गरेको पशुजन्य औषधी र अन्य विषादीले गिद्ध सङ्कटमा परेको कुरा देखाइएको छ ।
‘किबोर्ड’ बाल मनोविज्ञानमा आधारित उम्दा कथा हो । बाबु आमाको झगडाले बालबालिकामा पार्ने मनोवैज्ञानिक असर, सम्बन्ध विच्छेदले हुने सन्तानको अन्योल भविष्य र बाल चिन्तालाई निकै मार्मिक ढङ्गले उठान गरिएको छ । पारिवारिक सम्बन्धलाई सन्तुलित राख्न नसक्दा आपसी मनमुटाव, असन्तुष्टि र झगडाको स्थिति पैदा हुँदा बच्चामा पर्ने असरलाई प्रथम पुरुष शैलीमा निकै मर्मस्पर्शी रुपमा प्रष्ट्याइएको छ । यो कथा बालकथाभन्दा पनि १२–१६ वर्ष उमेर समुहलाई उपयुक्त हुने किशोर कथाको रुपमा रहेको छ । सम्बन्ध विच्छेद गर्न तयार बाबु आमा, सहयोगी भूमिका खेल्ने वकिल र प्राचार्यले समेत आफ्नो समस्यालाई बेवास्ता गर्दा एउटा बालकमा परेको असर र त्यसबाट विकास भएको बाल मनोदशालाई भोक्ता बालपात्रको माध्यमबाट प्रथम पुरुष शैलीमा प्रस्तुत गरिएको छ ।
‘कुटी’ स्वर्गद्वारी र अर्घाको बिचमा रहेको सुन्दर पहाडी धरातलको प्राकृतिक सौन्दर्यलाई देखाउने पर्यावरणीय कथा हो । फुर्सदको समयमा हजुरबुबाको साथ लागेर केटाकेटीहरू कुटी क्षेत्रमा पुगेका छन् र त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाउँदै त्यस क्षेत्रसँग जोडिएका केही रोचक ऐतिहासिक विषयलाई र सांस्कृतिक पर्वको बारेमा संवाद गरेका छन् । त्यही क्षेत्रसँग जोडिएको लागो, भुतेओडार गेल र कात्रे खोलाको देवता जस्ता अन्धविश्वासका कुराहरूलाई बाल त्रासको रुपमा देखाएर लेखकले हजुरबामार्फत ती सबै अन्धविश्वास मात्र भएको कुरा अभिव्यक्त गराएका छन् । यो कथा १० वर्षभन्दा माथिका बालबालिकाहरूलाई उपयुक्त हुने देखिन्छ ।
‘लकडाउनको फाइदा’ कथामा दोस्रो बन्दाबन्दीको समयमा बच्चाहरूले घरको काम सिकेको, घरभित्रै एक अर्कालाई सम्मान गर्दै हरेक काममा सबै सहभागी भएर सम्पन्न गर्ने गरेको कुरालाई दर्साइएको छ । बन्दाबन्दीअघि घरको सारा काम र बारीको काम आमाले मात्र गर्ने गर्नुभएकोमा घरधन्दामा बाबु र छोराछोरीले पनि सहयोग गर्न सुरु गरेका र बारीको काम पनि मिलेर गर्न थालेकाले सजिलो भएको झल्काइएको छ । घरभित्र समानताको व्यवहारको विकासमा लकडाउनले भूमिका खेलेका कारण बन्दाबन्दीको समयलाई राम्रो अवसर मानिएको छ । संवादका विभिन्न प्रसङ्गमा आमाको मृदु व्यङ्ग्यले कथालाई रोचक बनाएको छ । घरमा मिलिजुली काम गर्न थालेपछि बुबाले आमालाई बाहिर पनि काम गर्न प्रेरित गर्नुभएको छ । घर पुगेपछि विद्युतीय उपकरणमा मात्र भुल्ने, अनि भान्सा र घरबारीको काम आमाले मात्र गर्नुपर्छ भन्ने मानसिकता बोकेका बालबालिकाहरूका लागि यो कथा व्यवहार परिवर्तनको माध्यम बन्न सक्छ ।
‘परिवारको पुनर्मिलन’ कथा बन्दाबन्दीमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरूले भोगेको कारुणिक अवस्थालाई चित्रण गर्ने विशिष्ट कथा हो । लकडाउन सुरु भएपछि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरू निकै समस्यामा परे । सहरमा भोकभोकै मर्नुपर्ने स्थिति आएपछि हजारौँ मान्छेहरू पैदलै हिँडेर गाउँ फर्किए । त्यसरी काठमाडौँबाट बर्दियासम्म पुगेको एउटा श्रमिक परिवारको यथार्थ अभिलेख हो यो कथा । शहरमा खानेकुरा केही नपाएपछि कहिले पैदल त कहिले ट्रकमा यात्रा गर्दै एउटा परिवार गाउँ पुग्छ । बाटामा कतै प्रहरीको सहयोग, कतै हप्की, कतै सर्वसाधरणको जिज्ञासा र कतै उपेक्षा सहँदै उनीहरू घर पुग्छन् । भोक भोकै हिँड्नु परे पनि धेरै समयपछि पारिवारिक पुनर्मिलनमा बाल पात्रमा देखिएको आनन्दले कथालाई सकरात्मक बनाएको छ । कथामा बाबु आमा र छोरा, छोरीले सहनु परेको दुःख र भोकयात्रा मात्र छैन, अपितु भारतमा काम गर्न जानुभएको ठूलाबाले भोग्नु परेको सास्ती झन दर्दनाक रहेको छ । त्यस्तै आफैले जिताएका जनप्रतिनिधिले गरेको बेवास्ता त्यत्तिकै नरमाइलो रहेको छ । कोरोनाले दुःख दिए पनि लामो समयदेखि बिछोडिएको परिवार सँगै हुन पाउँदा पात्रहरू खुसी देखिन्छन् । १० देखि १६ वर्ष उमेर समूहलाई लक्षित गरेर लेखिएको यो कथाले बन्दाबन्दीको समयमा श्रमिक वर्गले भोग्नु परेको यथार्थ पीडालाई निकै मार्मिक ढङ्गले चित्रण गरेको छ ।
‘बुद्धको न्याय’ कथामा बौद्ध धर्मसँग सम्बन्धित हारती माताको उत्पत्तिको पौराणिक मिथकलाई प्रस्तुत गरिएको छ । बच्चाको अपहरण गरेर मार्ने गरेकी राक्षस्नीलाई सन्तान वियोगको पीडा कस्तो हुन्छ भन्ने बोध गराएर उसको त्यो बानी छुटाएको प्रसङ्ग कथामा अभिव्यक्त छ । यो कथालाई ‘स्वयम्भूका आँखाहरू(२०७८)’ कृतिमा पनि समावेश गरिएको छ ।
‘घर नै स्कुल’ कथामा कोरोनाको कारण विद्यालय बन्द भएपछि घरलाई नै विद्यालय बनाएर अनलाइन मार्फत पढ़ने तयारी रहेको प्रसङ्गलाई झल्काइएको छ । बन्दाबन्दीको कारण पढाइ छुटेका विद्यार्थीहरूलाई अनलाइनले घरमा नै बसी सिकाइलाई पढाइसँग जोड्ने प्रयत्न भइरहेका विषयलाई टपक्क कथाले टिपेको छ ।
यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरूमध्ये पाँचवटा कथाहरू कोरोना महामारी र यसबाट सिर्जित परिवेशलाई समटेर लेखिएका छन् । ‘कोरोना देवी’ ले अन्धविश्वासलाई चित्रण गर्दै त्यसले समाजलाई ठीक ठाउँमा नपु¥याउने कुरा देखाइएको छ भने ‘धन्य कोरोना’ ले बालबच्चाहरूमा सकारात्मक विचार विकास गराएको र श्रमप्रति सम्मान गर्न सिकाएको छ । त्यस्तै सोच्ने शैलीमा परिवर्तन गराएको कुरा पनि चित्रण गरिएको छ । ‘लकडाउनको फाइदा’ कथामा बालबच्चाहरूले घरको काम सिकेको प्रसङ्ग रहेको छ । यस कथामा परिवारको पुनर्मिलन, श्रमिक परिवार र तिनका बालबच्चाहरूले भोग्नु परेको पीडालाई पनि खुलस्त गरिएको छ भने ‘घर नै स्कुल’ कथामा पढाइको वैकल्पिक उपायको खोजी गरिएको छ ।
‘कुटी’ कथा ठाउँ विशेषको प्रकृतिलाई विषय बनाउन खोज्दा उद्देश्यहीन र अन्योलग्रस्त भएको जस्तो देखिन्छ । यस सङ्ग्रहमा वातावरण र विज्ञानसँग सम्बन्धित दुई कथा रहेका छन्– ‘हेर्दै, खेल्दै र सिक्दै’ र ‘जटायुको कुटी सम्मेलन’ । ‘किबोर्ड’ बाल मनोविज्ञानमा आधारित ज्यादै लोभलाग्दो किशोर कथा हो । तैपनि कथाभित्र बाबु आमाका केही व्यवहार भने अलि अस्वाभाविक लाग्छन् । समग्र कथाले समेटेको विषयवस्तुलाई हेर्दा ‘किबोर्ड’ कथा र पौराणिक विषय रहेको ‘बुद्धको न्याय’ यस सङ्ग्रहमा समावेश नगरिएको भए बढी उपयुक्त हुने थियो कि भन्ने भान हुन्छ । ‘परिवारको पुनर्मिलन’ सबै बालबालिकाहरूलाई पढाउनै पर्ने कथा हो । प्रत्येक कथामा तीन तीनवटा सुन्दर चित्रहरू समाविष्ट यस कृतिमा उक्त दुई कथा नराख्दा मोटाइका दृष्टिले पनि बाल पाठकका लागि न्याय हुन्थ्यो कि भन्ने कुरा पटक पटक खड्किन्छ ।
११. स्वयम्भूका आँखाहरू (२०७८ )
२०७८ सालमा विवेक सिर्जनशील प्रकाशनले प्रकाशन गरेको ७२ पृष्ठको यस कृतिमा विजयराज आचार्यका फरकखालका ९ वटा बालकथाहरू रहेका छन् ।
‘उत्पत्ति’ कथामा गौडका राजा प्रचण्डदेव बोधिमार्गमा हिड्ने उद्देश्यले राजकाज त्यागेर काठमाडौँ आएको र मञ्जुश्रीका चेला भिक्षु गुणकरसँग दीक्षित भई शान्तिकराचार्य बनेको देखाइएको छ । गुणकर र शान्तिकराचार्य बिचको संवादको माध्यमबाट मञ्जुश्रीको नेपाल आगमन, काठमाडौँमा रहेको नागदहको पानी निकास खोली बस्ती बसाएको र स्वयम्भूको उत्पत्ति भएको प्रसङ्गलाई प्रस्तुत गरिएको छ ।
मिथकीय घटना र आधुनिक प्रविधिको स्वैरकाल्पनिक मिश्रण गराएर लेखिएको ‘स्तूप’ कथामा शान्तिकराचार्यले स्वयम्भू स्तूप निर्माण गर्नुको कारण, त्यहाँ स्थापना गरिएका विभिन्न बुद्धहरूको वर्णन र स्वयम्भू निर्माण सिद्धान्तको वर्णन गरिएको छ । म्यासेन्जरमार्फत मञ्जुश्री र शान्तिकराचार्य बिचको संवाद देखाएर स्वयम्भूको स्तूपको निर्माण तीन पञ्च सिद्धान्तमा आधारित रहेको कुराको वर्णन गरिएको छ । पहिलो पञ्चमा पृथ्वी, जल, अग्नी, वायु र आकाश, दोश्रो पञ्चमा पञ्चबुद्ध अन्तरगत अमिताभ बुद्ध, अमोघसिद्धि बुद्ध, अक्षोभ्य बुद्ध, बैरोचिन बुद्ध र रत्नसम्भव बुद्धको स्थापना गरिएको बताइएको छ । तेस्रो पञ्च अन्तरगत पञ्चतारा (पाण्डुतारा, आर्यतारा, सप्तलोचनी तारा, बज्रधात्वेश्वरी तारा र मामकी तारा)का मूर्तिहरू स्थापना गरिएको प्रसङ्ग रहेका छ । यो स्वयम्भू निर्माण सिद्धान्त, विम्ब, प्रतीक र मिथकहरूलाई सरल ढङ्गले सविस्तार वर्णन गर्ने उम्दा कथा हो ।
‘पाउमा दुई आँखा’ स्वयम्भू चैत्यमा रहेको दुई आँखाको मिथकीय अर्थ र किंवदन्तीलाई उत्खनन गर्ने कथा हो । मञ्जुश्रीलाई पात्र बनाएर प्रथम पुरुष शैलीमा लेखिएको यस कथामा स्वयम्भूका दुई आँखालाई ज्ञानको प्रतीक मान्नुको मिथकीय सन्दर्भलाई टिपिएको छ । आर्यनामसङ्गितीका व्याख्याता– धर्मश्री मित्र जो पछि ज्ञानश्री मित्रको रुपमा चिनिए, को सम्झना स्वरूप स्तूपको पाउमा आँखा अङ्कित गरिएको प्रसङ्ग कथामा उजागर गरिएको छ ।
शान्तिकराचार्यलाई मूल पात्र बनाएर प्रथम पुरुष शैलीमा लेखिएको ‘शान्तिपुर’ कथामा स्वयम्भूमा रहेको शान्तिपुर स्तूपसँग जोडिएको मिथकीय सन्दर्भ, त्यसको बाहिर रहेको प्रताप मल्लको शिलालेखको सन्दर्भलाई विषय बनाइएको छ ।
‘पञ्चपुर’ कथामा माछा मासु सेवन गर्न पाइने स्वयम्भूको एक मात्र मन्दिर हारती मन्दिरसँग जोडिएको मिथकलाई प्रस्तुत गरिएको छ । मञ्जुश्री, मञ्जुश्रीको चेला गुणकामदेव र गुणकादेवको चेला शान्तिकराचार्य तीन पात्रको उपस्थिति कथामा गराएर उनीहरू बिचको संवादमार्फत स्वयम्भू परिसरमा रहेको पञ्चपुर मन्दिरको निर्माण गरिनुका कारणलाई खोतलिएको छ । स्वयम्भूको रक्षाका लागि पृथ्वीको प्रतीक वसुपुर, वायुको प्रतीक वायुपुर, अग्निको प्रतीक अग्निपुर, नागको प्रतीक नागपुर र आकाश वा शान्तिको प्रतीक शान्तिपुर स्थापना गरी स्वयम्भूको संरक्षण गरिएको मिथकीय सन्दर्भ कथामा समेटिएको छ । त्यस्तै बालबालिकाहरूको संरक्षक मानिएको यक्षिणीसँग सम्बन्धित मानिएको रत्नपुरको निर्माण सम्बन्धी कथा पनि यसमा समावेश छ ।
‘बुद्धको न्याय’ कथामा बच्चा चोरेर खाने गरेकी एउटी यक्षिणी कसरी बाल संरक्षक ‘हारती माँ’ भई भन्ने चित्रण गरिएको छ । यो कथा स्वयम्भूमा रहेको हारती माताको मन्दिरसँग सम्बन्धित रहेको छ । मान्छेके बच्चा अपहरण गरेर हैरान पारेकी यक्षिणीको सय बच्चामध्ये कान्छी छोरी लुकाउन लगाई हराउँदा हुने पीडाबोध यक्षिणीलाई गराए पछि बुद्धले बच्चा चोर्न रोकेको प्रसङ्ग कथामा विद्यमान छ ।
‘हरि हरि हरिवाहन लोकेश्वर’ कथामा शान्तिकराचार्य, गुणाकर र मञ्जुश्री बिचको संवादमार्फत गरुडलाई सिंहले, नारायणलाई गरुडले र अवलोकितेश्वरलाई नारायणले बोकेको मूर्तिका संयुक्त स्वरुपसँग जोडिएको मिथकलाई रोचक ढङ्गको प्रस्तुत गरिएको छ । गरुड, नारायण र अवलोकितेश्वर त्रिदेवलाई सिंहले बोकेको मूर्तिलाई ‘हरि हरि हरि लोकेश्वर’ भनिएको र त्यो मूर्तिको बारेमा प्रचलित मिथक र अनुश्रुतिलाई यस कथामा अभिव्यक्त गरिएको छ ।
‘स्वयम्भूको यात्रा’ कथामा स्वयम्भू घुम्न पुगेका विद्यार्थीहरूमार्फत स्वयम्भूमा रहेको देवधर्म विहार, भुटानी गुम्बा, चैत्य पार्क, चैत्यको प्रकार र निर्माणका कारण, कर्मराजा महाविहार(पहेलो गुम्बा), ज्ञानमाला भजनपाटी, अनन्तपुर र प्रतापपुर, षट्कोण आङ छे घर (गोप्य धर), मङ्गल बहुद्धार चैत्यजस्ता ठाउँ र संरचनाहरूको अर्थ, महत्व र इतिहासलाई उत्खनन गरिएको छ । यस कथामा स्वयम्भू क्षेत्रमा रहेका चैत्य र विहारको अर्थ, इतिहास र महत्वलाई कथात्मक शैलीमा बालपात्रमार्फत पालै पालो व्यक्त गराइएको छ ।
‘पुरानो स्वयम्भू’ कथामा मञ्जुश्रीको चैत्य, आनन्दकुटी विहार, विश्व शान्ति पोखरी, श्रीलङ्का राम चैत्य र वसुबन्ध चैत्य आदिको आदिको बारेमा अवगत गराइएको छ । स्वयम्भू डाँडाको दाँयापट्टि रहेको मञ्जुश्री चैत्य घुम्न पुगेका सृष्टि, पीयूष, जेसु, विज्ञान लगायतका बालपात्रहरू मार्फत त्यस क्षेत्रको भ्रमण सँगै विभिन्न स्थानको जानकारी संवादात्मक शैलीमा दिइएको छ ।
हरेक कथालाई तीनवटा रङ्गीन चित्रले सजाइएको छ । कतै भ्रमण शैली, कतै संवादात्मकता, कतै प्रविधिमार्फत दूरसंवाद आदि समावेश गराउँदै स्वयम्भूसँग जोडिएका थुप्रै मिथक, किंवदन्ती, अनुश्रुति र इतिहासलाई कथामा सरल र बोधगम्य भाषामा समावेश गराइएको छ । स्वयम्भू चैत्य निर्माणसँग सम्बन्धित थुप्रै आध्यात्मिक सन्दर्भ र कतिपय दार्शनिक विषयहरूलाई पनि कथाले समेटेका छन् । कथात्मक आवरणमा स्वयम्भूसँग जोडिएका विविध सूचनाहरूको सम्प्रेषण हेर्दा बालकथाकारले यथेष्ठ मिहिनेत गरेको देखिन्छ । स्वयम्भूसँग जोडिएको कतिपय दार्शनिक र आध्यात्मिक विषयलाई रोचक र सरल ढङ्गले कथामा प्रस्तुत गर्न सक्नु सर्जक आचार्यको सफलता हो ।
१२. मत्स्यकन्या (२०८०)
बि. एस. बुक्स काठमाडौँले प्रकाशन गरेको यस कृतिमा १० वटा कथाहरू रहेका छन् । लेखक तनहँुका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको स्थलगत भ्रमण गरी त्यहाँ प्राप्त भएका मिथक, किम्वदन्ती र ऐतिहासिक घटनाहरूलाई आधार बनाएर लेखिएका कथाहरूको सङ्कलन गरिएको छ यस कृतिमा ।
‘आदिमूल’ कथा तनहुँको महत्वपूर्ण ठाउँ आदिमूलको उत्पत्तिको सन्दर्भलाई उधिन्ने सुन्दर कथा हो । मगर भाषामा ‘डि’ को अर्थ पानी हुन्छ । आदिमकालदेखि ‘डि’ अर्थात पानीको मूल रहेको स्थानको रूपमा ‘आदिमूल’ नाम रहन गएको हुनसक्ने किम्वदन्तीलाई गोठाला गएका हजुरआमा र नातिनीको माध्यामबाट रोचक ढङ्गले देखाइएको छ । सम्भावित किम्वदन्तीमात्र आएको छैन, स्थानीय जनजीवन र लवज पनि आएको छ कथामा ।
तनहुँको सबैभन्दा अग्लो मानिएको छिम्केश्वरीको प्राकृतिक सौन्दय, जनश्रुति र मिथकलाई प्रस्तुत गर्ने कथा हो ‘छिम्का लेक’ । आँबुका बासिन्दा आकास, प्रकृति र अनिल काकाको छिम्का लेकको घुमघामको क्रममा भएको संवाद मार्फत छिम्का लेकबाट देखिने प्राकृतिक दृश्यहरू (नदी, हिमाल, बस्ती), त्यहाँ रहेको छिम्केश्वरी मन्दिर, बुढीदेवी मन्दिर र तिनीहरूसँग जोडिएको किम्बदन्तीलाई कथामा प्रस्तुत गरिएको छ । दिदी बहिनीका रुपमा मादी र सेती नदीसँग जोडिएको किम्बदन्ती पनि कथामा अनिल काकाले बताएका छन् । जङ्गलमा गाइवस्तुहरू छाडा छाडिएको प्रसङ्ग, हिमालहरू देखिने प्रसङ्ग, छिम्केश्वरी माईको पधेरोमा फोहोर गरे खडेरी पर्ने प्रसङ्ग कथामा आएको छ ।
‘सिद्ध गुफा’ २०४४ सालमा कसरी दुईजना गोठालाले सबैभन्दा ठूलो गुफा पत्ता लगाए, कसरी त्यासको प्रचारप्रसार भयो, त्यहाँभित्रका दृश्यहरू के कस्ता छन् भन्ने देखाउने कथा हो । सिद्ध गुफा नेपालको अनेकौँ गुफाहरू मध्ये निकै प्रसिद्ध गुफा हो । गुफाको जानकारीसँगै कथामा ग्रामीण जनजीवन र बोलीचालीलाई पनि टपक्क टिप्ने प्रयास गरिएको छ ।
‘मत्स्यकन्या’ तनहुँको प्रशिद्ध देवी छाब्दी बाराहीसँग जोडिएको किम्वदन्तीलाई चित्रण गर्ने कथा हो । महाभारतमा उल्लेख गरिएको पराशर ऋषि र मत्स्यकन्या बिचको सम्बन्ध, अनि वेदव्यासको जन्मसँग जोडिएको मिथकलाई आधार बनाएर कथावस्तु र चरित्र निर्माण गर्दै छाब्दीलाई जोडिएको छ कथामा । तुलनात्मक रूपमा यस कथामा छाब्दी बाराहीसँग सम्बन्धित स्थानीय किम्वदन्तीलाई टिप्नुको सट्टा महाभारतमा आधारित पौराणिक कथा जस्तो देखिन्छ । कृतिको शीर्ष कथाको रुपमा रहेको यो कथाले अन्य कथामा जस्तो स्थानीय किम्वदन्ती, जनबोली र परिवेशलाई टिप्न भने सकेको देखिँदैन । तैपनि धार्मिक आस्थाको उदयको भौतिकवादी दृष्टिकोण, राजसत्ताको अत्याचारको चित्रण गरिएको छ । महाभारतमा वर्णित मत्स्यकन्यासँग छाब्दीको सम्बन्ध जोडिएको स्थानीय किम्बदन्तीलाई टिप्न सक्नु यो कथाको सुन्दर पक्ष हो ।
‘तामाखानी’ कथामा आँबु नजिकै रहेको तामाखानीसँग सम्बन्धित त्रासद घटनाको उत्खनन गरिएको छ । हजुरबुबा र नातिनातिनी बिचको सम्बाद मार्फत तामाखानी भेटिएको देखि त्यसको उत्खनन् प्रकृया र डिस्को भत्किएर मान्छे पुरिएपछि बन्द गरेको घटनासम्मका कुराहरू कथाकथन शैलीमा प्रस्तुत गरिएको छ । कथाको मूलपात्र सन्तबहादुरलाई नातिनातिनीले कथा सुनाउन आग्रह गरेपछि आफ्नै जीवनमा घटेको त्रासद घटनालाई कथात्मक स्वरूपमा सुनाएका छन् । हरेक ठाउँका आफ्नै इतिहास र कथाहरू हुन्छन् । ती कथाहरूले पछि किम्बदन्तीको रुप लिन पुग्छन् । लेखकले राणकालमा तामा निकाल्ने गरिएको तरपछि बन्द गरिएको तनहुँको तामाखानीको कथालाई यसमा प्रस्तुत गरेका छन् ।
‘भूतले बिराएको खेत’ आँबुखैरेनी नजिकै रहेको तामाजुङ र कानेटारको निर्माण सन्दर्भमा विद्यमान अनुश्रुतिलाई जस्ताको तस्तै रुपमा टिपिएको छ, जुन ठाउँलाई स्थानीयबासीहरू भूतले बिराएको खेतको बारेमा लिन्छन् । मनकामना निवासी कालजैसीलाई मूलपात्र बनाएर घटनाक्रमको बुनोट गरिएको छ । मनकामनाबाट मस्र्याङ्दी झरेर नुहाउने गरेका कालजैसीले पाँच किलो जङ्गलमा भेटिएकी भुतेनीलाई प्रसव पीडाबाट मुक्त हुन सहयोग गरे । त्यसवापत उनले जादुगरी पुस्तक प्राप्त गरे । त्यसको सहयोगले खयरघारीको बिचमा भूतहरूलाई डाकेर खेत बिराउन लगाए । भूतकै कारण आफ्नी बुहारी गुमाउन परेपछि उनले भूतहरूलाई मस्र्याङ्दी किनारको ओडारमा बस्ने आदेश दिएर त्यसरी बिराइएको खेतलाई तामाजुङ र कानेटार नामाकरण गरे । यस कथाले स्थानीय रूपमा रहेको किम्बदन्तीलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।
‘पद्म पुस्तकालय’ ऐतिहासिक घटनाक्रममा आधारित कथा हो । तनहुँको मात्र होइन पश्चिम नेपालकै पहिलो पुस्तकालय बन्दीपुरको ‘पद्म पुस्तकालय’ स्थापना सन्दर्भ, जनजागरण र राणा विरोधी आन्दोलनमा त्यसले खेलेको भूमिका, पुस्तकालय खोल्ने क्रममा झेल्नुपरेका कठिनाइ आदि कथामा संवादात्मक रुपमा चित्रण गरिएको छ । २००० सालमा रामप्रसाद, सूर्यलाल, ज्ञानहरि र शम्भुलालको सक्रियतामा बन्दीपुरमा खुलेको भानु पुस्तकालय २००४ सालमा राणाको कोपभाजनबाट बच्न श्री ३ महाराजको नाममा पद्म पुस्तकालयका रूपमा दर्ता भएको र त्यसलाई केन्द्रबिन्दु बनाएर राणाविरोधी आन्दोलन सञ्चालन गरिएको प्रसङ्ग कथामा चित्रित छ ।
‘सहिदगाथा’ २००७ सालमा बन्दीपुरमा भएको राणा विरोधी आन्दोलन, त्यसक्रममा भएको दमनप्रक्रिया, आम कत्लयामलाई चित्रण गर्ने ऐतिहासिक कथा हो । देशभर राणा विरोधी क्रान्ति चर्किएपछि तनहुँको प्रशासनिक केन्द्र बन्दीपुरमा पनि गोबर्धन पोखरेल, श्रीभद्र शर्मा लगायतको सक्रियतामा क्रान्ति सुरु भयो । कुम्छा कब्जा भएपछि बन्दीपुर कब्जा गर्न अघि बढेको जनसमूहमाथि सेनाले गोली चलाउँदाा धर्मध्वज गुरुङ, चन्द्रबहादुर सार्की, उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ, सन्तबहादुर राना र खङ्गबहादुर गोदारले सहादत प्राप्त गरे । तर सेना टिक्न सकेन । पछि आन्दोलनकारीहरू जनसरकार गठन गरी प्रशासन त्यहीँबाट चलाउन थाले । बन्दीपुरलाई केन्द्रबिन्दु बनाएर गरिएको राजा बिरोधी आन्दोलनको गाथा हो ‘सहिदगाथा’ ।
‘सन्यासी राजा’ पाल्पाका राजा मणिकुन्द सेनको चरित्रलाई चित्रण गर्ने कथा हो । गोरखाका राजा पृथ्वीनारायण शाह र काठमाडौंसँग नराम्रोसँग हार खाएपछि राज्य सञ्चालनबाट वैरागिएका राजा मणिमुकुन्द सेन आनन्दको खोजिमा बन्दीपुरको मुच्चुक डाँडामा आएको, झप्रीफाँटमा एक विधवाको घरमा बासबस्दा मणिमुकुन्द सेनको राज्यसञ्चालनको ढङ्ग खिचडी पाराको भएको कुरा सुनाएपछि आफ्नो खड्गलाई त्यही छाडेर पूर्ण सन्यासी बनेको प्रसङ्ग कथामा देखाइएको छ । कथामा मणिकुन्द सेनले आफ्नो राज्य विस्तार र सञ्चालनको तौर तरिका, अनि वैराग्यको कारणलाई प्रथमपुरुष शैलीमा बताएका छन् । यो कथा खड्गदेवी कथाको पूर्वकथाको रूपमा रहेको जस्तो देखिन्छ ।
मन्दिरभित्र मूर्ति होइन खड्गलाई देवीको रूपमा पुजिने अनौठो मन्दिरको अनुश्रुतिलाई टिपिएको छ ‘खड्गदेवी’ कथामा । खड्गदेवी मन्दिर बन्दीपुरको सांस्कृतिक सम्पदा हो । यस मन्दिरभित्र खङ्गलाई देवीको रुपमा प्रतिष्ठापन गरिएको छ ।
अनुश्रुति अनुसार गोरखाबाट पराजित भएका पाल्पाका राजा मणिामुकुन्द सेनले झाप्री फाँटमा एउटी भट्टराई थरकी विधुवाको घरमा आफ्नो खङ्ग छाडेको, झाँक्रीले तनहुँसुरमा त्यसलाई देवीको रुपमा स्थापित गरेको, तर खड्ग त्यहाँबाट गायब भएर बन्दीपुरमा भेटिएकाले त्यहीँ खड्गदेवी मन्दिर बनाइएको भन्ने मन्दिरको बारेमा रहेको अनुश्रुतिलाई बालपात्र रिदम, रिमा र शर्मिला बिचको संवाद मार्फत देखाएका छ । यसका साथै पूजाविधि र जातीय सभावताका रूपमा नागदेवीलाई पूजा र सम्मान गरिदै आएको कुरा पनि देखाइएको छ ।
८७ पृष्ठको आयतनमा फैलिएको यस कथा कृतिमा चीजकुमार श्रेष्ठ (संस्थापक अध्यक्ष, बन्दीपुर सामाजिक विकास समिति)को भूमिका, कवि अनिल श्रेष्ठ (अध्यक्ष, आबुखैरेनी वाङ्मय प्रतिष्ठान)को मन्तव्य र लेखक आफ्नै कथालेखन सन्दर्भका अनुभूतिहरूलाई पनि समावेश गरिएको छ । १० वटा कथामा समावेश गरिएको युवक श्रेष्ठले बनाएका २८ वटा रङ्गीन चित्रहरूले कथाको भावलाई जिवन्त बनाएको छ । छिम्का लेक र सहिद गाथामा दुईवटा चित्र रहेका छन् भने बाँकी आठवटा कथाहरूमा ३÷३ वटा चित्रहरू रहेका छन् ।
विषयवस्तुका दृष्टिले पौराणिक, ऐतिहासिक र अनुश्रुतिमा आधारित कथाका रूपमा विभाजन गर्न सकिन्छ । स्थानीय अनुश्रुतिले पनि स्थान पाएका छन् । केही स्थानीय ठाउँ विशेषमा आधारित कथाहरूमा तथ्यलाई कथास्वरूप दिएको छ । कुनै कथामा इतिहास, अनुश्रुति र मिथक अन्तरघुलन भएका छन् ।
छाब्दी बाराहीसँग सम्बन्धित कथा ‘मत्स्यकन्या’ पौराणिक कथा हो । ‘पद्म पुस्तकालय,’ ‘शहीद गाथा’ र ‘सन्यासी राजा’ ऐतिहासिक कथाहरू हुन् । ‘आदिमूल,’ ‘छिम्का लेक,’ ‘सिद्धगुफा’ र ‘तामाखानी’ कथा ठाउँ विशेषको तथ्य, महत्व र अनुश्रुतिलाई प्रस्तुत गर्ने कथा हो । ‘छिम्का लेक’ कथामा छिम्का लेकको अनुश्रुति, प्राकृतिक दृश्य र परिवेशलाई बडो सुन्दर ढङ्गले समायोजन गरी चित्रण गर्न सफल भएका छन् कथाकार । स्थानीय लवज, जनविश्वास र. अनुश्रुतिको प्रयोगले कथालाई पठनीय बनाएको छ । ‘खड्गदेवी’ कथा इतिहास अनि जनजीवनमा विद्यमान जनविश्वास र किम्वदन्तीलाई मिश्रण गरेर लेखिएको सुन्दर कथा हो ।
‘भूतले बिराएको खेत’ खास ठाउँको उत्पत्तिको बारेमा जनमानसमा रहेको जनविश्वास र किम्वदन्तीलाई जस्ताको तस्तै चित्रण गर्ने सुन्दर कथा हो । यद्यपि यो कथालाई लेखकले अनि मिहिनेत गरेका भए कथात्मक संगठनका दृष्टिले अझै राम्रो बनाउन सक्ने प्रशस्त ठाउँ थियो । केही कुराहरू निकै हलुकाढङ्गले आएको छ भने द्वन्द विकासका दृष्टिले पनि कथा कमजोर देखिन्छ । यति हुँदा हुँदै पनि स्थानीय विषय चयनका दृष्टिले, पुरानो पुस्तासँग हराउन लागेको किम्वदन्तीलाई टपक्क टिपिएको हुनाले यसलाई यस सङ्ग्रहको प्रतिनिधि कथा मान्न सकिन्छ । हुन त यस खालका जनश्रुति भएका कथाहरू हरेक जिल्लामा रहेका छन् । तर, स्थानीय भेदका कारण हरेक ठाउँका कथाको आफ्नै विशेषता हुन्छन् ।
नेपालका हरेक ठाउँमा आफ्नै खालका लोकोक्ति, अनुश्रुति, किम्बदन्तीहरू रहेका छन् । नयाँ पुस्ता प्रविधिमा भुल्न थालेपछि सुन्ने र सुनाउने परम्परा हराउँदै गएको छ । योसँगै नेपाली समाजमा रहेका ठाउँ बिशेषका अनुश्रुति र किम्बदन्तीहरू पुरानो पुस्तासँगै हराउँदै गएका छन् । यस सन्दर्भमा कथाकार विजयराजले विभिन्न स्थानमा गई स्थानीय विज्ञ र बुढापाकाहरूसँग भलाकुसारी गर्ने र त्यसबाट प्राप्त जानकारीहरूलाई कथाको स्वरुप दिएर प्रकाशन गर्ने जुन प्रयत्न गरेका छन् त्यो स्तुत्य छ । यस कार्यले हराउन लागेका लोकोक्ति, अनुश्रुति र किम्बदन्तीहरूको संरक्षणमा टेवा पुग्नुको साथै स्थानीय संस्कृति नयाँ पुस्तामा हस्तान्तरण पनि हुन पुग्छ ।
तनहुँ जिल्लाको मिथक, किम्बदन्ती, इतिहास र परिवेशमा आधारित ‘मत्स्यकन्या’को दशवटा कथाहरूमा छिम्का लेक, सिद्धगुफा, खड्गदेवी मन्दिर, आँबुखैरेनी, छाब्दीबराही, तनहुँसुर गढी, आदिमूल, बन्दीपुर, तामाखानी, मुच्चुकजस्ता ठाउँहरूको परिवेश, अनुश्रुति र किम्बदन्तीलाई समावेश गरिएको छ ।
स्थानीय ठाउँ विशेषको तथ्यलाई आधार बनाएर कथा लेखिएको हुनाले कतिपय ठाउँको सन्दर्भमा त्यसको महत्वबारे जान्ने जिज्ञासा पाठकको मनमा जाग्दछ तर ठाउँको चिनारी भेटिँदैन कृतिमा । परिशिष्ट राखेर कथामा आएका ठाउँहरूको छोटो चिनारी समावेश गरिएको भए राम्रै हुँदो हो भन्ने कुरा पढ्दै गर्दा मनमा उब्जन्छ ।
‘किशोर कथा’ भनेर नाम दिइए पनि यसभित्रका केही कथाहरू मात्र किशोर कथा बनेका छन् भने केही कथा बालकथा । ‘मत्स्यकन्या’ पूर्णतः किशोर कथा बनेको छ भने ऐतिहासिक कथा ‘पद्म पुस्तकालय,’ ‘शहीदगाथा’ र ‘सन्यासी राजा’ विषयवस्तुका कारण आंशिक किशोर कथा । अन्य कथाहरूलाई ९ देखि १४ वर्षको उमेर समूहलाई उपयुक्त हुने बालकथा मान्न सकिन्छ । स्थानीय संस्कृतिमा विद्यमान अनुश्रुति, किम्वदन्ती र मिथकको खोज, स्थानीय महत्व बोकेका महत्वपूर्ण स्थानको उत्पत्तिको कथाको खोज, स्थानीय इतिहासको चित्रण, कतिपय अपत्यारिला जनविश्वासमाथि भौतिकवादी दृष्टिकोण, नयाँ पुस्ताले बिर्सिसकेको इतिहासको महत्वपूर्ण घटनाको उत्खननजस्ता कुराहरूले कृतिलाई पठनीय बनाएको छ ।
गोरखा