19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कुलदेवता

लघुकथा रमेशचन्द्र घिमिरे January 13, 2024, 5:27 am
रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे

'आज दाइँ सकियो । धान चाहिँ घरमै पुर्‍याइदिनुपर्छ नि है !'


हातका बोराहरू खलामा राख्दै खेतधनी बोले । दयेँराहरू केही बोलेनन् । नबोल्नुमा लोभको रहस्य थियो ।


'दुई किलो जति ब्वाइलर कुखुराको मासुको व्यवस्था पनि गरेको छु । खाउला नि !'


'हस्' एउटाले बोल्यो ।


'धान चाहिँ सिरान तलामा नै पुर्‍याइदेओ है ? भकारी थापेर राखेको छ ।'


खेतधनीको आग्रहमा दयेँरा फेरि मौन रहे । मौन हुनुमा अप्ठ्यारोको रहस्य थियो । खेतधनीले नसुन्ने गरी एउटाले खुसुखुसु आवाज निकाल्यो, 'बाहुनका तलामा ...'


'ब्वाइलरको सितनलाई पाँच सय रुपियाँ पनि छुट्ट्याएको छु ।' खेतधनीको कुरा सकिन नपाउँदै अको दयेँराले 'हुन्छ' भन्यो ।


खेतधनीले घरमा खबर पुर्‍याए । नाति केटाले सिरान तलाको भकारी देखाइदियो । धान थन्क्याइसकेपछि इमानदारीपूर्वक दयेँरालाई कुखुराको मासु र पाँच सय रुपियाँ दिने काम पनि भयो ।


बेलुका सुत्ने बेलामा नाति केटाले सोध्यो, 'हजुर बा, आज सिरान तलामा कुलदेवता छैनन् है ?'


हजुरबाले नातिलाई थप्थप्याउँदै भने, 'नकराइकन सुत् । भोलिदेखि फेरि आउँछन् ।'


भोर्लेटार, लमजुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।