17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अभिलाष

लघुकथा मनिश कुमार शर्मा समित January 13, 2024, 12:52 pm
मनिश कुमार  शर्मा  समित
मनिश कुमार शर्मा समित

प्रश्नकर्ताहरूको प्रश्नको भकारी रित्तियो । प्रत्येक क्षेत्रको ओजिलो प्रश्नहरूको सटिक उत्तर र उसको कार्य प्रति उपस्थित सबै नतमस्तक थिए । यो सफलताले आविष्कर्ताको भुईँमा खुट्टा थिएन ।

"हैन यसको दिमाग त आईन्सटाइनको भन्दा खतरा रहेछ ।" विज्ञानमा रुचित एक व्यक्ति बोले ।

"हैन यो त अष्टाबक्र भन्दा नि चौपट्ट रहेछ ।" एक सन्त प्रकृतिका व्यक्ति बोले ।

"किन नहुनु नि यो त कृतिम बौद्धिकता बोकेको अत्याधुनिक कृतिम मानव हो ।" आविष्कर्ता दङ्दास हुँदै भने ।

भिडमा उत्सुक नजरले हेरिरहेको एक बालक अगाडी सरेर आविष्कर्तालाई प्रश्न गरे-

“अङ्कल यसले सबै प्रश्नको उत्तर दिन्छ?”

“अवश्य । देखेनौ यसले कति सजिलै दिएको उत्तर ।” मुस्कुराउँदै आविष्कर्ताले भने ।

बालकले उत्साहमा कृतिम मानवतिर फर्कदै प्रश्न गरे- "भगवानको घर जानुभएकी मेरी आमा कहिले फर्कनुहुन्छ ?"


मध्यपुर ठिमी, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।