19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तिम रात

कविता डा. खुमनारायण पौडेल November 5, 2008, 1:51 am

तिम्रो प्रस्थानपछि

जूनले कतै बिसाउनेछ आफूलाई

घामले उम्रिन बिर्सिने छ क्षितिजमा

अँध्यारो झन् अँध्यारोभित्र

साउती मात्र गर्नेछन् चराहरू

शोकाकुल पहाडहरूमाझ

बग्नेछ निशब्द एउटा नीरनदी

तिम्रो प्रस्थानपछि

तिम्रो प्रस्थानपछि

कोठाका हरेक भित्तामा

टाँगिनेछन् शून्यताका क्यालेन्डरहरू

सोफा, मेच र पलङहरूमा

लम्पसार पर्नेछ गहन रिक्तता

कोठाको हरेका कुनाबाट

चियाउनेछ मौनताको निरीह अनुहार

तिम्रो प्रस्थानपछि

अडिने छैनन् आँखा

पुस्तकका पानाहरूमा

देह, सडक-घर, घर-सडक गर्ने

एउटा सटलबस बन्नेछ

मनभरि बास बस्नेछ एउटै उदास ऋतु

झर्नेछन् इच्छाहरू भईभरि

र्झछन् जसरी-

शरदमा म्यापलका पातहरू

अडिनेछन् घडीका सुइहरू

दिक् र काल निर्वासित हुनेछन्

तिम्रो प्रस्थानपछि !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।